पश्चिमका थारू जातिको सबैभन्दा महान् चाड र नयाँ वर्षको रूपमा मनाइने यस पर्वले थारूको बीचमा आपसी मेलमिलाप, समन्वय तथा सौह्रार्दपूर्ण वातावरणको सिर्जना गर्ने गर्दछ । थारू यस पर्वमा आफ्ना मान्यजन तथा पुर्खाको हातबाट शुभआशीर्वाद थाप्ने, आपसी मेलमिलाप गर्ने गर्दछन्, नातागोता कुटुम्बका बीच भेटघाट हुने सुअवसर प्रदान गर्ने, आपसी सम्बन्धमा सुधार आउने, चेलीबेटीलाई दानदक्षिणा दिने चलन भएकोले यस चाडको महत्त्व यस समाजमा अझै बढेको मान्न सकिन्छ । विभिन्न मीठा-मीठा परिकार बनाई खाने र नाचगान गरी मनोरञ्जन गरिने यस चाडमा विशेष गरी सुँगुर-बङ्गुरको मासु र ढीक्री, बरिया, सखरखण्ड, मीठाई, तरुल, तीलको लड्डु, रोटी खाने चलन छ । माछा मासुका सौखिन थारू जाति माघीको तयारीका लागि माघी आउनुभन्दा एक हप्ता पहिलेदेखि माछा मारिन्छ । अरू चाडपर्वमा जस्तो मनोरञ्जन यस चाडमा भए पनि थारू यस चाडमा विहानै नुहाइधोई गरेर ठूलाबडाको आशीर्वाद लिई मात्र खानेकुरा खान्छन् । वर्षभरिको हिसाव कितावको लेखाजोखा गर्ने, कामको समिक्षा गर्ने, चेलीबेटीको विवाहको तय गर्ने, कामको जिम्मेवारी बाँडफाँड गर्ने, बडघर (गाउँको मुली), चिरक्या, चौकीदार राख्ने हटाउने, गुरुवा, फलामको काम गर्ने, सिलाइको काम गर्नेलाई राख्ने हटाउने आदि जस्ता महत्त्वपूर्ण कामको निर्णय गरिनाले पनि यस पर्वलाई थारू नयाँ वर्षको रूपमा लिइएको हुनसक्छ ।
चाडको सकारात्मक पक्ष ः
थारू जातिको महान् चाडको रूपमा स्थापित माघीले कामको सिलसिलामा टाढा-टाढा गएकालाई घर फर्काउने, वर्षौंदेखि एक आपसबाट छुट्टएिर अलग-अलग बसाइँसरी गएकालाई एकठाउँमा जमघट गराउने, वर्षौंदेखि झैँझगडाले तितरवितर भएकालाई एकैथलोमा जम्मा गर्ने र रीसराग तथा आपसी द्वन्द्व, बैमनस्यतालाई रूपान्तरण गरी आपसी भाइचाराको सम्बन्ध कायम गर्ने र मेलमिलापको वातावरण सिर्जना गर्ने काम गर्दछ । विवाह गरी अन्यत्र गएका चेलीबेटीलाई गच्छेअनुसार दानदक्षिणा प्रदान गर्ने, उनीहरूलाई माइतमा बोलाई मीठा परिकार खुवाउने, आपसी सुख, दुःखका कुरा साटासाट गर्ने सुअवसर यस चाडले प्रदान गर्ने गर्दछ । यस चाडमा थारू जलदेवतासँग पानी किनेर नुहाउने गर्दछन् । अरूबेला नुहाउँदा निःशुल्करूपमा नुहाए पनि माघीमा सशुल्क नुहाउने चलन छ । नुहाउनुभन्दा पहिले पानीमा आफूखुसी पैसा चढाइन्छ । हैन्डपम्प र धारामा नुहाउँदा जलदेवता खुसी नहुने सोचेर सबै थारू गाउँ नजिक रहेका यस्ता जलाशयमा गई सामूहिक नुहाउने प्रचलन छ ।
माघेसङ्क्रान्तिसँगै मकर सङ्क्रान्ति पर्ने गर्दछ तर यसमा पापकाम नगर्ने हुनाले थारूले पुसको अन्तिम दिनमै मासुका लागि सुँगुरबङ्गुर मार्ने गर्दछन् । जसलाई थारूमा “जिता मर्ना” भनिन्छ । मासु ल्याई पकाउने र विभिन्न परिकार बनाई सामूहिकरूपमा खाने प्रचलन छ । यसरी सामूहिकरूपमा एकै कोठामा बसेर खाँदा आपसी मेलमिलाप र समन्वयको वातावरण निर्माण हुने र सुखदुःखका कुरा साँटासाँट गर्ने अवसर मिल्ने थारू सोच्दछन् । साँझदेखि खाइपिई रमाइलो गर्दै रातभरि जाग्रम बसिन्छ । राति डफुसँग धुमरु र धमार गीत गाइ एकआपसमा रमाइलो गरिन्छ । भाले बासेपछि मात्र नजिकको जलाशयमा गई नुहाइने गरिन्छ । पुरुष राति र महिला दिउँसो मघौटा नाचगरी मनोरञ्जन गर्ने गर्दछन् । यसरी नाचगान गर्दा गाउँ समाज तथा टोल सबै मनोरञ्जनपूर्ण हुन्छ र एक आपसमा सद्भाव र भातृत्वप्रेम बढ्ने जनविश्वास गरिन्छ । नेपाल सरकारले माघीमा माघेसङ्क्रान्तिको दिन मात्र सरकारी बिदा दिए पनि थारू पुसको अन्तिम दिनदेखि माघको पहिलो साताभरी माघी मनाउने चलन रहेको छ ।
‘सखी ए हो माघीक पिली गुरी जाँर’ यो गीतले थारूको पहिचान झल्काउँछ । यसर्थ पनि यो एक लाइनको हरफ प्रायः सबैलाई कण्ठ हुने गर्दछ । केटा र केटीको बीचमा आपसी दोहोरीको रूपमा गाइने गीत विशेष गरी साली-भेनाको बजार मेलापात गर्ने, सामान खरिद बिक्री गर्ने जस्ता शब्दमा गाइने र भिनाले सालीको लागि सरसामान खरिदगरी ल्याउने गीतको बोलबाटै अनुरोध गरिन्छ । दोहोरीको रूपमा गीत गाई मादल ठोकी मघौटानाच गर्ने चलन थारू समाजमा उहिलेदेखिको हो ।
माघीबाटै थारू समाजमा वर्षभरि गरेको कामबापत गुरुवा, बडघर, चौकीदारलाई पारिश्रमिक दिने र तोक्ने, नयाँ कपडा सामूहिकरूपमा हाल्ने, खेत बन्धकी राख्ने, बटैया दिने, किन्ने बेच्ने । कामको लागि घरदेखि टाढा गएका काम गर्न जाने नजाने विषयमा सामूहिक छलफल गरी निर्णय लिने गरिन्छ । यसैले यस चाडलाई थारू विशेष महत्त्वका साथ हेर्ने गर्दछन् ।
नकारात्मक पक्ष ः
माघी आफंैमा जति रमाइलो र महत्त्वपूर्ण छ त्यति नै नकारात्मक पक्षले दिनप्रतिदिन गाँजिदै गएको छ । परापूर्वकालदेखि खानपिनमा सौखिन जाति थारू सबैभन्दा समस्या उसको आफ्नै खानपिनले गरेको देखिन्छ । तराईका आदिबासी थारू उहिले जग्गा जमिन अन्य जातिलाई दान-दक्षिणाका रूपमा दिने गर्दथे । तराईका सबै जग्गा थारूले बनाएको र जनसङ्ख्या पनि कम भएकाले त्यतिबेला पहाडबाट बसाइ सरी तराईमा आएका अन्य जातिलाई विर्ता तथा दानको रूपमा जग्गा दिने काम गरियो । सोझा र इमान्दार पहिचानभएका थारू जाति अधिकांश जाँड रक्सी घरमै बनाइ खाने गर्दछन् । अशिक्षित तथा अनपढ जाति भएकाले जग्गा दर्ता गर्नुपर्छ भन्ने समेत थाहा नपाएर चलाख जाति जो बसाइ सरी तराईमा आएका थिए उनीहरू रातारात जग्गा आफ्नो नाममा गर्न सफल भए । औलोजस्तो महामारी र जङ्गलका बाघ, भालु, हात्ती, विषालु सर्पसँग सङ्घर्ष गरी तराईमा आदिम कालदेखि बसोबास गर्दैआएका जग्गाका मालिक थारू आज आफ्नै जग्गाका लागि तड्पिने अवस्थामा छन् । बस्नलाई एक धुर जग्गा नपाएर हजारौं मुक्त कमैया गाँस बास कपासका लागि एक दशकदेखि छटपटिरहेका छन् ।
माघीजस्तो सौह्रार्दपूर्ण वातावरणको चाड्मा भाइभाइ छुट्टिने चलन यस चाडको नकारात्मक पक्षको रूपमा देखिन्छ । एकातिर पुर्खाको आशीर्वादले सबैसँग भ्रातृभाव र सहिष्णुता कायम गर्ने अर्कोतिर माघ महिनामा नै भाइ-भाइ अलग हुने, छोरा-बुवा छुट्टिने चलन पनि यसै चाडमा गरिन्छ । आफ्नै चलीबेटीलाई मालिकका घरमा दासदासीको रूपमा काम गर्न पठाउने, कम्लहरी राख्ने, पैसाका लागि आफ्नै सन्तानलाई आफूबाट टाढा पठाउने चलन यस चाडमा गरिन्छ । वर्षौंदेखि एकापसमा खाइपिई आएका बीचमा फुट ल्याउने काम गर्नु यस चाडको नकारात्मक पक्ष हो । एकातिर पुर्खाको आशीर्वादले सबै भाइ नाता-कुटुम्ब मिलेर बस्ने आशीर्वाद थाप्ने अर्कोतिर केही दिनमै आपसमा फुटने, धनमाल श्रीसम्पतिको भागबण्डा लगाउने चलन पक्कै नकारात्मक छ । वर्षौंदेखि आफूसँग काम गर्दै आएको लाई हटाउने, घरको मुली परिवर्तन गर्ने, बड्घर भलमन्सा परिवर्तन गर्ने काम पनि एकातर्फ सकारात्मक छ भने अर्कोतर्फ नकारात्मक पनि छ । आफ्नो चेलीबेटीलाई स्कुल पढाउने बेलामा मालिकको घरमा दासबनाई कमलहरी बनाई काम गर्न पठाउने पक्ष नकारात्मक छ । यद्यपि आर्थिक अवस्थाकै कारण छोरी-चेलीलाई अर्काको घरमा सानै उमेरमा काम गर्न पठाउनु बाध्यता रहेको थारू बताउँछन् । २०६५ को माघीबाट दाङ जिल्लालाई कम्लहरी मुक्त जिल्ला सरकारी तवरबाटै घोषणा गरिएको भए पनि कार्यान्वयन फितलो देखिएको छ ।
निस्कर्ष ः
थारू माघीको नकारात्मक भन्दा सकारात्मक पक्ष नै बलियो रहेको देखिन्छ । पुर्खाले उहिलेदेखि नै मनाउँदै आएको यस पर्वले सामाजिक सदभाव, सांस्कृतिक पहिचान तथा धार्मिक महत्त्व पनि बोकेको छ । वर्षभरि गरेको पाप तथा नकारात्मक काम माघीमा पुर्खाको आशीर्वाद लिनाले सबै पाप नष्ट भएर जाने थारू समाजमा गहिरो छाप छाडेको छ । त्यसैले पनि बच्चादेखि वृद्धासम्म माघीमा स्नान गरी पुर्खाको हातबाट आशीर्वाद लिने प्रचलन बढेको मान्न सकिन्छ । समग्रमा यो चाड थारूमा विशेष महत्त्व राखेको भए पनि केही नकारात्मक पक्षलाई माघी महिनाबाट अन्य महिनामा सार्न सकेमा यस चाडको रौनक र महत्त्व अझै बढेर जाने सम्भावना देखिन्छ । भाइ-भाइ अलग हुने जस्ता काम माघीमा नगरेर अन्य महिनामा पनि गर्न सकिन्छ । वर्षभरि गरेको कामको समीक्षा गर्ने, हिसावकिताव र लेखाजोखा गर्नु आफैँमा सकारात्मक पक्ष हो । थारू अनपढ र अशिक्षित भए पनि आफ्नो घरको हरहिसाव र लेखाजोखा उहिलेदेखि नै गर्दै आएका थिए । यसलाई राम्रो पक्षको रूपमा स्वीकार्न सकिन्छ । नाचगान र सांस्कृतिक क्रियाकलापले थारूको पहिचानलाई उजागर गरेको छ । यसलाई अझै परिमार्जित गरी कुतत्त्वलाई हटाई राम्रा पक्षलाई समेटन सकेमा यस चाडको महत्त्व अझै बढ्ने थियो । माघी पर्वमा थारूलाई माघ १ गते माघे सङ्क्रान्तिमा दिएको एक दिने सरकारी विदालाई बढाई तीन दिनसम्म कायम गर्नुपर्ने थारूको मागलाई सरकारले खासै वास्ता गरेको देखिँदैन ।
