मझपच्छियूँ सल्यानको त्रिभुवन माविमा ७ कक्षामा ‘म जुजुमान’ कथा पढियो । उतिबेलै लाग्याथ्यो-‘यति मज्जाको कथा लेख्ने गोविन्दबहादुर गोठालेलाई काठमाडौं पुगेँ यदि कहिल्यै भने जरुर भेट्नेछु ।’ बीए पैलो वर्षको जाँच दिन मात्रै काठमाडौँ छिरियो जिन्दगीमा पैलोचोटि । उता हुँदा केके न गर्छु भनी सोचेको त काठमाडौँमा कहाँ पो सकिँदो रै’छ र, हातमुख जोर्नै चटारो जहिल्यै । त्रि-चन्द्रबाट बीए पास भएँ । एमए कीर्तिपुरमा पढ्ने रहर भए पनि अनेकौँ कारणले गर्दा त्रि-चन्द्र कलेजमा पढ्ने भइयो । नेपाली स्नातकोत्तर कार्यक्रमको वाषिर्क साहित्यिक जर्नल ‘आकुञ्चन’को सम्पादनको जिम्मा मैले नै पाएँ । सोचँे- ‘अब केही नयाँ र स्मरणीय खुराक त पस्किनै पर्यो, के गर्ने होला त ?’ गोडा चारेक दिन सोच्ोपछि साथीहरूसित प्रस्ताव गरेँ, ‘नेपाली साहित्यका केन्द्रीय प्रतिभा महानायक महाकवि देवकोटा सय वर्ष पुगेकै बेला उनीसित प्राध्यापकीय र सिर्जनशील साइनो गाँसिएको ऐतिहासिक कलेजमा पढ्न पाइएको छ । त्यसैले यस वर्षको जर्नललाई देवकोटा विशेष बनाउने र, उहाँका समकक्षी पाँच जना विधानायकहरू-९२ वर्षका डायमनशमशेर राणा, ९१ वर्षका माधवप्रसाद घिमिरे, ८८ वर्षका गोविन्दबहादुर मल्ल ‘गोठाले’, ८५ वर्षका कृष्णचन्द्रसिंह प्रधान र ८० वर्षका कमल दीक्षितसित अनौपचारिक गफ गरी निवार्ता छाप्ने । उहाँहरूकै हातबाट एकेडेमीमा विमोचन गर्ने । साथै, उहाँहरूलाई क्रमशः उपन्यासशमशेर, कविताप्रसाद, नाटकबहादुर, निबन्धचन्द्र र साहित्यिक सँस्थामणिका रूपमा सम्मान गर्ने एकैथलोमा । यसो गर्दा जर्नल निकाल्दा लागेको केही खर्च पनि उठ्छ र, उहाँहरूलाई सम्मान गर्न पनि पाइन्छ ।’ प्रस्ताव सर्वसम्मत स्वीकृत हुन एक छिन पनि लागेन ।
वि.सं. २०६६ साल कात्तिक २५ गते फोनविनै सोध्दैपुछ्दै गोठालेबाको निवासमा पुगियो । उहिल्यैदेखिको सपना पूरा भो केही हदसम्म । समय मिलाइयो भोलि कुरा गर्न आउने गरी बल्लतल्ल । इन्द्रीयहरू निस्क्रियजस्तै भइसकेकाले कुरा बुझाउनभन्दा हाम्लाई बुझ्न पो गारो । किनकि यी बा त आफैँ पनि मनको अध्ययन गर्न सिपालु अक्षरकार हुन् नि त । भोलिपल्ट २६ गते सहपाठी शेखर र म फेरि पुग्यौँ प्रश्नका पुन्तुरासहित बाकोमा । चार घण्टासम्म बासित मौन र नाटकीय वार्ता भो । (निवार्ता आकुञ्चनमा छापिएकाले यो प्रसङ्ग यत्ति नै) । २०६६ फागुन ५ गते प्रज्ञा भवनमा आकुञ्चनको विमोचन गर्यौँ । वार्ता गरिएका सबै विधानायक आउनुभो तर नाटकबा आउन सक्नुभएन । सुपुत्र उमेशबहादुर मल्लले ‘नाटकबहादुर’को अभिनन्दन ग्रहण गर्नुभो । बाबुको अस्वस्थताबारे केही बोल्नु पनि भयो ।
वि.सं. २०६७ मङ्सिर १ देखि २१ सम्म राजधानीको आरोहण गुरुकुलमा देशविदेशका नाटक देखाइँदै थियो काठमाडौँ अन्तर्राष्ट्रिय नाटक महोत्सवका नाममा । साथी शैलेश पोख्रेल र म नाटक हेर्न पुगेका थियौँ । गुरुकुलको प्राङ्गणमा रहेको एउटा भव्य मूर्तिले मगजमा क्लिक गर्यो । त्यहाँ थियो, यिनै गोठालेबाको भव्य र स्वाभिमानी मूर्ति । सोचेँ, जीवितै अवस्थामा आरोहणले सम्झनु कति राम्रो ! कति राम्रो सम्मान ! यो मूर्ति र घरमै थला परेका गोठालेबामा खासै फरक पनि त कहाँ छ र ? देशविदेशका नाटक भव्य मञ्चन भइरहेका बेला गोठालेबा स्वास्थ्यका कारण बेखबर छन् । एकपटक फेरि भेट्नुपर्यो र लेख्नुपर्यो-‘गुरुकुलमा रहेका र रविभवनमा रहेका गाठालेमा क्यै फरक छैन ।’ भेट्न त भेटेँ तर, इन्द्रीयहरू निस्क्रिय भएका कारण वार्तालाई अगिल्लो वर्षजस्ता प्रश्नोत्तर शैलीमा लेख्ने चाहना हुँदाहुँदै सम्भव भएन । नाटककारसितको वार्ता नाटकीय र मौन भयो । जिउँदै छँदा वार्ता छाप्ने रहर हुँदाहुँदै १० दिनपछि त खबर आयो गोठाले रहनुभएन । मैले भेटेको भोलिपल्टै उहाँ अस्पताल भर्ना हुनुभएछ कहिल्यै घर नफर्किने गरी ।
वि.सं. २०६७ मङ्सिर १५ गतेको बुधबार हामीले नाटक हेर्यौँ । नाटक हेर्न हामी गुरुकुल हैन, रविभवन पुग्यौँ । पर्दा खुलेन । हामीले नै ढक्कढक्यायौँ । अब खुल्यो । नायक देखियो । ऊ रङ्गमञ्चमा हैन । बाक्लो र न्यानो ओछ्यान पसारिएको खाटमा थियो । दुइटै गोडा भुइँमा टेकाइएको थियो । साँच्चै भनूँ, छुवाएको थियो । तालु पूरै खुइलेको थियो । चिल्लो तालु र अनुहारभरि नै कालाकाला कोठी छपक्कै थिए । राताराता सुन्निएकाजस्ता आँखा पिलपिल थिए । टाटेपाटे ऊनी कमिजले जीउ ढाकेको थियो । पुक्क उक्सेकाजस्ता गाला झोल्लिएका थिए । सेता र काला बराबर हुँदा हुन् दारी लामा र झुसिल्ला । माथिल्लो ओठ, अहँ पटक्कै देख्दै देखिएन, तल्लो ओठले च्यापेको च्याप्यै ।
साथी सच्युतराज र म खासमा नाटक हेर्न आका । यसलाई अभिनय हेर्न र सुन्न आका भने पनि हुन्छ तर अहँ, उसले अभिनय त पटक्कै गरेन । वाचिक (बोलेर) त के हाउभाउ अभिनयसमेत गरेन उसले । हामीले कत्ति अनुरोध गर्यौँ-‘गोठालेबा ! अलिकति भएनि गर्दिनपर्यो ।’ उसले सुन्दै सुनेन रे । सुने पनि बुझेन रे । बुझे पनि सक्दैन रे । सके पनि अब गर्दैन रे । गरे पनि हेर्दिने र सुन्दिने को छ र ? किन गरोस् । उसले गर्नु जति नाटक सबै गरिसक्यो रे । भन्छन् नि, ‘जीवन एक नाटक हो । सँसार एक नाट्यशाला हो । हरेक मान्छे एक अभिनय हो ।’ यस्तैयस्तै अरू पनि कतिकति । उही दृश्य, उही नायक, उही अभिनय, उही नाटक, सबथोक उही ! हामीले हेर्यौँ-सात/आठ वर्षदेखि निरन्तर मञ्चन भइरहेको विश्व रेकर्डवाला सबैभन्दा लामो संवाद दर्शकविहीन नाटक !
जिज्ञासाका आशा धेरै थिए । प्रश्नका पेटारा थुप्रै थिए तर के गर्ने ? नायक सुन्न, बोल्न, हिँड्न, देख्न, सम्झन सक्तैन । इन्द्रीयहरू निष्क्रिय छन् । सोचेँ, मनोवैज्ञाजिक लेखक हुन्, यस्तै कुरा गर्नु पर्यो । नायकले त हाम्रा प्रश्न सजिलै बुझ्ला रे तर के हामी उसको इन्द्रीयइतर अभिनय बुझम्ला र ? अहँ, बुझ्ने छाँटकाँट रौँजत्ति पनि छैन हामीमा । गोठालेबाको रातदिन स्नेही गोठालो गर्दैआएकी बुहारी रश्मिलाले भनेको त कहिलेकाहीँ क्यैक्यै कुरा सम्झनु पनि हुन्छ रे । जेठी बुहारी सरलाले भनिन्- ‘अस्ति मात्रै हामी भोजमा गएर आएपछि त केके खायौ, कोको थिए भनेर पनि सोध्नुभो ।’ पुख्यौर्ँली थलो गणबहाल छोडेर यिनी अहिले छोरा उमेशसित रविभवनमा बस्दै आएका रैछन् । पोहोर साल असोज ६ गते दौलतविक्रम विष्ट आख्यान सम्मान ग्रहण गर्न गएपछि बा कतै गाका छैनन् रे । गत वर्ष फागुनमा त्रि-चन्द्रका विद्यार्थीहरूले प्रज्ञाप्रतिष्ठानमा बालाई ‘नाटकबहादुर गोठाले’ भनी गरेको अभिनन्दनमा छोरा उमेश गए । कुलपति बैरागी काइँला मुख्य अतिथि भएको कार्यक्रममा छोरा उमेशले बाको स्वास्थ्य कमजोर भएकाले आफू आउनु परेको भनी भाषण पनि गरे । यति भन्दाभन्दै पनि राज्यबाट त परैको कुरा लेखक, पत्रकार, साहित्यकार, नाटककार क्वै आएको छैन रे ।
गोठालेबाका गोठालाहरू ऐले धेरै छन् । जसको गुनिलो र स्नेहपूर्ण स्याहारबाट यी नाटकबा तङ्ग्रिरहेछन् । माइली छोरी उषा रङ्गमञ्च छिरिन् । ‘दाजुभाउजू सबैले बालाई सारै माया गर्नुहुन्छ’ सर्टको कलर मिलाइदिँदै उनले भनिन् ‘पैलेभन्दा ऐले त कता हो कता राम्रो हुनु भाको छ ।’ कालो फ्रेम भएको डल्ले चश्मा लाइदिएपछि मैले क्यामेरा देखाएँ । जहाँ थियो- आरोहण गुरुकुलमा भएको गोठालेबाको ठूलो मूर्तिको फोटो । मूर्तिको गलाले माला पहिरेको थियो । काखमा थियो पुष्प गुच्छा । अन्तर्राष्ट्रिय नाटक महोत्सवका सहभागीले गरेको सम्मान । जीवित छँदै गुरुकुलले गरेको सम्मान चश्मापथबाट देखेपछि बाका ओठ एकअर्काबाट टाढिए । फुस्रा थिए, फरफराए । माथिल्लो ओठ बल्ल देखियो तर निमेषभर । तल्लो ओठले च्यापेको च्याप्यै ।
देश-विदेशका नाटककारहरू एकै ठाउँ भएका छन् । काठमाडौँ मैना दिनसम्म नाटकमय तर हाम्रा जिउँदा नाटकबहादुर गोठाले घरमै । ९० वर्ष पुग्न एक वर्ष बाँकी छ । सत्यमोहन जोशी र माधव घिमिरेजस्तै ठमठम्ती हिँड्न सक्दा हुन् त यिनको बासै गुरुकुलाँ हुँदो हो । कति रमाउँदा हुन् ! कानसम्म मुख च्याती कस्तरी हाँस्दा हुन् ! कति, कति…तर गोठालेबा भनिरहेछन्, ‘मभित्र सल्केको भुसको आगो ननिभ्नुमा दोष कसैको छैन । पल्लो घरको झ्याल न ढोका, कसैको गल्ती छैन । गुरुकुल अगाडि पनि म मूर्ति, घरमा पनि म मूर्ति । आखिर जहाँ भए नि म जुजुमान ।’
‘आमा (श्रीमती गोठाले) खसेको पुसमा दुई वर्ष पुग्छ । आमा खसेको दुई महिनामा कान्छो छोरा (रमेशबहादुर मल्ल) खस्नुभो । डेढ वर्षअगि जेठी छोरीका श्रीमान खस्नु भो । बाका भाइ डा. फत्तेबहादुर मल्लकी श्रीमती खसेको एक वर्ष भो । फेरि पैतालीस दिनपछि लक्ष्मी दिदीकी छोरी … ।’ लाग्थ्यो हामी कुनै भयानक दुःखान्त नाटकका सूत्रधारलाई सुन्दैछौँ । केही क्षणमा नाटक मञ्चन हुँदै छ । हामी प्रेक्षालयमा उपस्थित छौँ । त्रासदी नै त्रासदीपूर्ण यी घटनापछि त गोठालेबाको साहित्यिक मन कमलो, झन् कमलो, र अझ बढी कमलो हुँदै गयो रे ।
मैले ‘पल्लो घरको झ्याल’ देखाएँ ।
ओँठ एकअर्काबाट टाढिए । फरफराए । सायद केही बोल्न खोजे । आवाज त आयो तर एकदमै अस्पष्ट र धोद्रो । कति कुरा खेल्दा हुन् मनमा ? कति उकुसमुकुस हुँदो हो ? कलम समातिरहने औँला कुँजिए हुनन् सायद ।
बाले सकी नसकी बिस्तारै दुवै हात उठाए । नमस्कारको भूमिकामा रहे । कति विनम्र नाटकबा जहिले नमस्कारै नमस्कारको भूमिकामा । मलाई लाज लाग्यो । भुइँतिर हेरेँ एकछिन ।
बाको दायाँ हात उठाएँ । कलम हातैमा दिएँ । ‘पल्लो घरको झ्याल’ मा नाउँ लेखिदिन इशारा गरेँ । विख्यात मनोवैज्ञानिक नाटककार, कथाकार, उपन्यासकारले मेरो कुरो सजिलै बुझे । हात थरथरी कमाउँदै ‘पल्लो घरको झ्याल’ को पैलो पेजमा ‘गोविन्द’ लेख्दै । तीन अक्षर लेख्न बालाई सय सेकेनजति लाग्याथ्यो । अक्षर त मदिरा सम्राट् हरिभक्त हिँडेजस्ता छन् । ओँठ चुच्याएर च्वाप्प म्वाइँ खाएँ । खुसीको सीमै रहेन । बाका दुवै हात आफ्ना टाउका माथि उठाएँ । राराजस्ता टलपल टलपल आँखा र बोल्न खोजेझैँ गर्ने फुस्रा ओँठ आँखाअघि नाचिरहेछन् । ‘मैले सरिताको हैन, सँवा(द)र्शकविहीन नाटकको हत्या गरेँ’ तै पनि बा भन्दै थिए-‘दोष कसैको छैन’ ।
स्वर्गे हुनुभन्दा ११ दिन पैले भेटेथँे तर अल्छी गरेँ यी अक्षर बनाउन । समय कति बलियो रैछ । समयका अगि कठै ! कसैको केही नलाग्दो रैछ । कम्तीमा जीवित छँदै …। त्यत्तिका दस दिनसम्म पनि मैले लेखिनछु, छापिनछु । २७ गते दिउँसो १ बजे साथी माधवराज तिवारीको आवाज बिजुलीपथबाट सुनेँ- ‘नाटकबा त बिते ।’ आकाश तलतिर र धर्तीमाथि उलटपुलट भएझैँ भो । साथी लक्ष्मण कार्कीलाई उत्निखेरै फोन गरेँ । उसकै भट्भटेमा चढी प्रज्ञा भवन कमलादी पुगेँ । मेरो कामकाजी अड्डा मार्टिन चौतारीदेखि कमलादीसम्मको बाटाभरि गोठाले कतै उभिएझैँ, कतै दौडिएझैँ, कतै ठडिएझैँ लागिरहृयो । पछुताइरहेँ । बर्बराइरहेँ एक्लैएक्लै । प्रज्ञा परिसर पुगेँ । थुप्रै लेखक, साहित्यकार, सम्पादक, पत्रकार जम्मा भाका थिए । शवयात्रा र पशुपति आर्यघाट, नाटकबालाई कतै छोडिनँ । ‘भूसको आगो’ जलेर भर्भराउँदो खरानी कसरी बन्दो
रैछ ? हेरूँ नि म पनि भन्दै ‘पल्लो घरको झ्याल’ बाट चिहाइरहेँ । राति १० बजेतिर त एक्कैछिनमा नेपाली नाटकका एक मात्र ‘गोठाला’ले पनि हामीलाई छाडेर गए । सम, तिवारी, रिमाल र मल्ल बन्धुको ‘भोको घर’को ‘च्यातिएको पर्दा’ कहिल्यै नजोडिने गरी ध्वार्ररर टुक्रियो । दुइटा भएर, चारोटा भएर….।
मधुपर्क २०६७ फागुन
गोविन्द गोठाले विशेष

ma Jujuman
ma jujuman bhane katha B.P.Koirala le lekheko katha ho…..suruma nai gobinda gothale le lekheko dekhera aru padhana mann lagena…