Skip to content

विश्वासले गुड्ने गाडी र मेरो इतिहास

  • by


“यो गाडी विश्वासले मात्रै गुडिरहेको छ है सर !” यो भनाइ थियो मेरा लेखक मित्र वसन्तकुमार बस्नेतको । झसङ्ग भएँ म र यताउति हेरेँ । साँच्चि नै, माथि पनि भीर, तल पनि भीर । साँगुरो बाटो, हिलैहिलो । न कालो पाटी, न ढुङ्गा-गिट्टी । चक्काका आधाआधि भाग हिलोभित्र आहाल खेलिरहेका थिए । मैले खड्काका झिलमा बाममाछा मारेको सम्झिएँ ।

कुरो कात्तिक, २०६७ को हो । त्यसो त कात्तिक त्यति धेरै पानी पर्ने महिना हैन तर पनि त्यो साता बेमौसम पानी परेकोले बिब्ल्याँटेबाट सुलबुङ जाने बाटो हिलोले भरिएको थियो । निकै चिप्लो, कमेरो पोतिएको बाटो, भैँसीले भर्खर आहाल खेलेर दबदबे बनाएजस्तो । जिपको क्षमताभन्दा दोब्बर मान्छे सवार थियौँ हामी । कोदो र तोरीका बोरा पनि उत्ति नै । बोराको आसन बनाएर बस्न पाउनेहरू भाग्यमानी थिए, मैले मनमनै ईर्ष्या गरेँ । पछाडिबाट कसैले हेर्‍यो भनेँ कतैबाट पनि त्यो जिपगाडी हो भनेर ठम्याउन सक्ने ठाउँ थिएन । त्यो कमिलाका हूलले पानी किराको लास तानेजस्तो दृश्य थियो । अलिकति चिप्लियो भने भीरैभीर तल खोँचमा जान सक्ने सम्भावनाहरू धेरै थिए । वास्तवमा गाडी विश्वासले नै चलिरहेको थियो । विश्वास यहाँबाट चाहिँ खस्दैन भन्ने कुराको, विश्वास यहाँ चाहिँ भास त्यति गहिरो नहोला भन्ने कुराको, विश्वास हामी सबै गन्तव्यमा पुग्छौँ भन्ने कुराको र विश्वास यो ड्राइभर भन्ने जात भगवान्कै अवतार हो भन्ने कुराको ।

मैले मूलतः दुइटा कुरा सम्झेँ । कत्रो नाम छ इलामका नेताहरूको । सबै ठूलैठूला, र उच्च पदस्त । अनि यहाँ गाडी कुद्छ विश्वासले । दोस्रो, मैले वचपनमा स-साना कुरालाई लिएर बुबाआमासँग झिकेको अनावश्यक धौलेको पनि सम्झना गरेँ ।

निकै धौले झिक्थ्यौँ हामी, सानामा । हामी कहिल्यै सन्तुष्ट भएनौँ जिन्दगीदेखि । आँगनकै छेउबाट राजमार्ग कुद्थ्यो । कहीँ कतैबाट आउँदा सरर ठूलो, पक्की बाटोबाट बडो विलासितापूर्ण यात्रा गरेर घर फर्कन्थ्यौँ हामी । गाडी छानीछानी, सिट छानीछानी तर पनि हामी कहिल्यै सन्तुष्ट देखिदैनथ्यौँ । किन यी गाडीहरू हाम्रो घरको आँगनमै रोकिँदैन? त्यो शान्तिपुरको बसस्टप किन राजेनको स्टुडियो अगाडि छ र हाम्रो आँगनछेउँमा छैन ? हाम्रा घरमा किन गाडी छैन? हामी “चन्द्रकान्ता” हेर्न किन बेलबासेकहाँ जानुपर्ने हरेक आइतबार ? किन छालाका जुत्ता छैनन् मेरा तर सानो मदनको मनोज सधैँ किन छालाका जुत्ता लाउँछ ?

जिप गुडी नै रहृयो, निर्वाद । ड्राइभरमा मैलेदेखि नै रहेँ, भगवानको अवतार । जिन्दगी जुवाजस्तो, फिप्टी-फिप्टी । मैले सबै यात्रुका अनुहारमा हेरेँ । कतै देखिँदैन निराशाको तुवाँलो । असन्तुष्टि पनि छैन कतै र गुनासो पनि छैन । सबै अनुहार आलोकित छन्, मन्द मुस्कान छन् जताततै । गाउँले संवाद, तोरी-कोदो फलेनफेलको, भाउ आएनआएको, गाईभैँसी ब्याएनब्याएको, अलैँची कीराले खाएको, दूधको भाउ बढ्ने हल्ला चलेको आदि आदि । मेरो बचपनका धौलेहरू व्यङ्ग्यजस्तै लागे मलाई ।

मेरो जीउ दुखिरहेको थियो कताकता । सहरमा बस्ने मान्छे, लाडसाहेब । चिल्ला सडकमा यात्रा गर्ने बानी, गिलिक्क गर्ने सिट । झ्यालबाट सर्र हावा लाग्नु पर्ने । टेपमा गीत गुञ्जिनु पर्ने, अनि झुम्दै-झुम्दै यात्रा गर्नुपर्ने । कहिलेकाहिँ त गगल्स् पनि लाउनु पर्ने अझ । खुट्टा पसार्नु पर्ने, मिनिरल वाटर खानु पर्ने, डिजिटल क्यामेरामा बाहिरको दृश्य कैद गर्नुपर्ने, सट्ट इयरफोन कानमा लाउनु पर्ने, अनि सट्ट निकाल्नु पर्ने । फोन आए पनि नआए पनि “हेलो, म सेमिनारबाट फर्कंदैछु, भरे फोन गर्नोस् है,” भन्नु पर्ने र भनिसकेपछि पुलुक्क यताउति हेर्नु पर्ने । कसैले सोधे पनि नसोधे पनि अस्ति कोरिया जाँदाको प्रसङ्ग उप्काउनु पर्ने अनि भन्नु पर्ने, “कति हुँदो रहेछ यो जाम पनि । बाहिरका मुलुकहरू कहाँकहाँ पुगिसके । खै त्यो कोरियामा त्यत्रो दिन बस्दा कहीँ कतै देखिएन त जाम ।”

त्यत्रो दिन । कत्रो दिन? तीन दिन । कुरो सडकको या जामको हुँदै हैन । कुरो सूचनाको हो, कोरिया गएको सूचना, कोरिया गएर ठूलो मान्छे भएको सूचना । बेमौसमको बाजा । ती बसहरूमा कसलाई चासो ? किन भन्नु पर्ने ? ठूलो पल्टिनु पर्ने ।

जिपका यात्रुलाई पुलुक्क हेरेँ । कुनै विषाद देखिँदैन कतै पनि । त्यो दिनचर्या थियो, त्यो जिन्दगी थियो । वसन्तलाई पनि हेरेँ । उनको अनुहारमा उही अनन्त मुस्कान । उनको अनुहार, आकृति र आभा, मलाई सधैँ लोभ लाग्ने, ईर्ष्या पनि लाग्ने । मैले उनलाई काठमाडौँमा नै भेटेको हुँ पहिले । विश्वविद्यालयमा स्नातकोत्तर गर्न आएका उनी सम्पूर्ण सभ्यताभन्दा पनि सालिन थिए । सबै कुराबाट सधैँ सुसूचित, साहित्यको चप्पाचप्पा छान मारेका, राजनीतिलाई भित्रैबाट बुझेका । मृदुभाषी, सालिन व्यक्तित्व, कहिल्यै नथाक्ने, कहिल्यै नरिसाउने, “माइ डियर” व्यक्तित्व ।

वसन्तलाई हेरेपछि मलाई लाग्ने गर्थ्यो, यिनी मान्छे सुविधा सम्पन्न ठाउँको हुनुपर्छ । सबै मौसममा फुल्न सक्ने मान्छे, सभ्य, सुसंस्कृत । मेरो ढोँग थियो, आडम्बर थियो, कुपमण्डुकता थियो, मैले गुराँस भीरमा फुल्ने कुरा बिर्सिएको थिएँ । अझ भनौँ, गुराँस भीरमा फुल्छ र विराट बन्छ भन्ने कुरा मलाई थाहै थिएन ।

जिप निकै पर पुगिसकेको थियो । अगाडिको नाक हिलोमा गाडियो । अभूतपूर्व आवाज आयो, सबैले पल्याकपुलुक हेरे । मेरो हात मुटुमा पुग्यो । अरू कसैका अनुहारमा तनाव देखिएन । जिप भास्बाट निस्कियो ।

“क्या खतारा है, वसन्तजी !”

“यो त सामान्य हो सर । उता हाम्रो फुयतप्पातिर त झन् कल्पनै गर्न सक्नुहुन्न सरले । ”

“फुयतप्पा? कति टाढा हो त्यो ?”

“माथि, टाढा । पाँचथरसँगको सिमानामा पर्ने गाविस ।”

माथि, टाढा । यहाँभन्दा माथि, यहाँभन्दा टाढा कहाँ हुन्छ ? सहरमा बसेर धूलो र धूवाँको साम्राज्य हाँकेको अभिमान्, सभ्याताका आडम्बरमा आफ्नै जरा बिर्सँदै गएको, र क्रमशः टुक्रँदै गरेको अनुभूति, भित्रभित्रै, दुख्यो, अन्तष्करणमा कताकति ।

कुन ड्याङको मूला थिएँ म आखिर ? इम्फाल, गुवाहाटी हुँदै काठमाडौँ महानगर आएँ र अहिले काठमाडौँतिर किलो गाड्दैछु भन्दैमा म मेरो इतिहासबाट बिमुख हुन मिल्छ ? हो मेरो इतिहास ।

“ऊ पर, पर, माथि । ऊ त्यही हो सुलबुङ्, सरको पुख्र्यौंली गाउँ । अब केही बेरमा हामी पुग्छौँ,” विश्वासले गुड्ने जिपबाट वसन्तले इशारा गरेर मलाई देखाए मेरो आफ्नो सुलबुङ, मेरो इतिहास । सुरम्य सुलबुङ, तल तराईका सहरसँग विश्वासले गुड्ने गाडीले जोडेको । बिब्ल्याँटे र इलामबजारसँग आँटले, पाउरले र पौरखले जोडेको । एकलासमा बलेको बत्ती मेरो सुलबुङ, निर्दोष, निष्कलङ्कित, निर्मल सुलबुङ ।

इतिहासले उछिट्याएको हो हामीलाई, हामी यसै उछिट्टएिको हैनौँ । म सानै छँदा मेरा हजुरबा बिते, उहाँबाट खासै मैले केही कुरा जान्न पाइनँ । मेरी हजुरआमाबाट र मेरो बुबाआमाबाट सुनेको हुँ मैले यो कुरा । सुलबुङमा मेरो इतिहास छ अरे, मेरो हजुरबा जन्मेको घर छ अरे, मेरी हजुरआमालाई बिहे गरेर भित्र्याइएको घर छ अरे, मेरा बुबा जन्मेको घर छ अरे । हजुरबा मुग्लान पस्दा मेरो बुबा एक वर्षको हुनुनुन्थ्यो अरे । मेरो बुबाले पहिलोपल्ट टेकेको धरती, मेरो इतिहास बोकेको माटो, मेरो सुलबुङ आउनै लाग्दा विश्वासले गुड्ने जिपभित्र मेरो मुटु त्यस जिपको इन्जिनसँग प्रतिस्पर्धा गर्न लाग्यो ।

आयो मेरो सुलबुङ । अस्ति भर्खरैमात्रै आइपुगेको अरे गाडीको बाटो । बिजुली ? छ महिनाजति भयो रे, सूचना पाएँ ।

पैँसठ्ठी वर्षपछि मैले पैल्याएको मेरो इतिहाससँगको मेरो आत्मिक सामिप्यताको अर्कै कथा हुन सक्छ । वसन्तले दिए मलाई त्यो अनमोल उपहार । मेरो मनमा उठेका तरङ्गहरूको कथा भन्छु म यहाँ । घाम अस्ताउनै लागेको थियो । सुलबुङ हाइस्कुलको डाँडोबाट पश्चिम हेरेँ मैले, आत्मविभोर आँखाहरूले । पारि डुब्न लागेको घाम । हो, त्यो त्यही घाम हो मेरो कुप्राबाले, मेरो हजुरबाले र मेरा बाले पहिलो पल्ट देखेको, यसै ठाउँबाट । म पनि हेरिरहेँछु, त्यही घाम । हो, समय फेरियो होला, इतिहास उल्टियो होला, मानवीय सभ्यताले कोल्टे फेर्‍यो होला तर त्यो निर्दोष घाम उही हो, त्यो धरती उही हो । मेरो हजुरबाले पानी पाएको कुवा देखेँ, मेरी हजुरआमाले अदुवा पिँधेको सिलौटो देखेँ, मेरो बुबाको न्वारनमा रोटी पकाउन पीठो कुटेको ढिकी देखेँ, मास पिँधेको जाँतो देखेँ ।

कति अगाडि बढ्यो संसार ? कति फेरियो जुग ? राकेट उडे, पारि क्षितिजका अभेद्य सिमानाहरूलाई भेदन गरी अर्को ब्रहृमाण्ड पत्ता लगाए । हो, जून पनि मिचे, दुवै ध्रुवहरू धुल्याए, समुद्रमाथि बुर्कुसी मारे तर मेरो जाँतो, मेरो ढिकी, मेरो सिलौटो छँदैछ सुलबुङमा, अझै उस्तै । आदिम इतिहास, आदिम सभ्यता, मलाई गर्व छ ।

मेरो सुलबुङ, वसन्तको फुयतप्पा र छ भने तपाईंको पनि गाउँ – हो, त्यो हाम्रो उद्भव, हाम्रो मूल । माईपोखरीको पानीमा छन् हाम्रो सभ्यताका जराहरू । हरेक महान् सभ्यता नदीको स्रोतको समीपमा हुन्छ । विशाल नदी टाइग्रिस, युफ्रिडिस, नाइल, इन्दस् र मिसिसिपीजस्ता ठूला नदीका किनारमा पुगे होला ठूलो राष्ट्रका ठूला इतिहासकारहरू । लेखे होला ती सभ्याताको इतिहास । हाम्रो माईपोखरी पनि हाम्रो टाइग्रिस् हो, युफ्रिडिस हो, नाइल हो, इन्दस हो, मिसिसिपी हो, र हो मुहान हाम्रो प्राणको । हामी लेख्छौ यसको इतिहास – श्रद्धाका पानाहरूमा, मायाको मसीले, गौरवका बुट्टाहरू भरेर । हाम्रो माईपोखरी, र यसैको स्नेह रस पान गरेको हाम्रो बरबोटे, हाम्रो देउराली र हाम्रो सुलबु्ङसँग आत्मीयताको, मायाको, प्रेमको, सद्भावको विराट इतिहास छ । यहाँ सिमेभुमे, बूढीबोजू महारानी, आठाने चाराने, डाकिनी-साकिनी, सिकारी, सगुने, फुर्लुङ्ग, गजो र ढ्याङ्रोको गौरवमयी कथाले पुलकित मेरो विगत र वर्तमान छ । पिल्लो, सिँदूरे, टूनी, गायो, पिउरी, फलेदो, सिमल र अनगिन्ती हाम्रा जङ्गली कुटुम्बहरूसँग छाँद हालेर माया लगाउँदै हुर्किएको हाम्रो गौरवगाथा छ । हाब्रे, लोखर्के, मल्साँप्रो, थार, बाह्रसिँगा, स्याल र सालकहरूसँग खेलेर हुर्केको हाम्रो आदिम संस्कृति छ । यहाँ पक्की बाटो आएन त के भो ? यहाँ बिजुली आएन त के भो ? टुकी बालेर पनि कण्ठस्तै महाभारत सुनाउँछन् विवनाथ हजुरबा । विश्वासको गाडीका पिङ खेलेरै यात्रा गरे पनि प्रसन्न छन् मेरो सुलबुङका मान्छेहरू । सहरमा नश्लको, भाषाको, जातपातको र सम्प्रदायको राजनीति गर्नेहरू गरिरहुन्, यहाँ जातीयताको पर्खाल मिचेर आत्मीय अँगालो बाँधेर सुखमा सँगै हाँस्छन् र दुःखमा सँगै रुन्छन् यस आदिम संस्कृतिका संवाहक, हाम्रा आत्मजनहरू । यिनीहरूले श्रद्धाले पूजा गरीगरी बचाएर राखेका रुखहरूले दिएको हावा पिउँछन् सहरका मान्छेहरू, अनि यिनीहरूलाई अन्धविश्वासको बिल्ला भिराएर विज्ञान पढाउन तम्सिन्छन् । मेरो मिथक, मेरो आदिम सभ्यताको इतिहास, मेरा पुर्खाले पुज्ने गरेका देउरालीका ढुङ्गा र कान्लाका रुखहरू नै हुन् मेरो विज्ञान । यी खहरेमा कलकल बग्ने पानीको गीत हो मेरो सभ्यताको गीत । हामीले अँगालो मारेर साटेका खुसीहरू, हामीले एकअर्काको भक्कानोको भाषासँगै झारेका आँसुहरू नै हुन् हाम्रा अभिलेखहरू । प्रेम र आत्मीयताको दोभान, भाइचारा र बन्धुत्वको सङ्गम, पवित्रताको निष्कलङ्कित धरोहर – हो यही हो हाम्रो विज्ञान, हाम्रो इतिहास । मेरो सुलबुङ र नेपालभरि छरिएका, र कलुशको छायाँले अझ छुन नसकेको असङ्ख्य सुलबुङहरू । विश्वासले गुड्ने गाडी चढेर र धेरै ठाउँमा घण्टौँघण्टा हिँडेर पुगिने, आस्थाका सगरमाथाहरूले पुलकित मेरो प्रिय सुलबुङहरूको गौरवगाथा दुई चार किताब पढ्दैमा, दुई चार सहर घुम्दैमा विस्मृत हुन सक्दैन । म सम्पूर्णतामा ग्रहण गर्न चाहान्छु, मेरो ग्रामीण सभ्यतालाई, जहाँ मेरो वास्तविक गौरव फुलेको छ, नेपाली हुनुको गौरव फुलेको छ । भावुकतामा हैन, पूर्णतया सचेत मस्तिष्कबाट र मायाले चुर्लुम्म भिजेको हृदयबाट सम्झन्छु म विश्वासको गाडी चढेर पुगिने मेरो सुलबुङको सभ्यतालाई र यस्तैयस्तै तपाईंका सुलबुङहरूको सभ्यतालाई !!

मधुपर्क २०६७ चैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *