वि.सं. १९८५ कात्तिक २९ गते पहिलो पटक यस धर्तीमा आँखा खोलेका इन्दुशेखर चालिसे रामबाबु, रामेश्वर हुँदै नेपाली साहित्यको आख्यान विधामा कलम चलाएर ‘रमेश विकल’ को नामले चर्चित बन्न सफल भए । वि.सं. २००६ सालमा ‘शारदा’ पत्रिकामा ‘गरिब’ शीर्षकको कथा प्रकाशित भएदेखिको उनको लेखनयात्रा जीवभर चलिरहृयो । ‘म लेख्दालेख्दै मर्छु, मैले लेख्न छाडेको दिन मेरो मृत्यु हुन्छ’ भन्ने विकल आफूले भनेजस्तै गरी वि.सं. २०६५ पुस २ गते यस धर्तीबाट भौतिकरूपमा विलिन भए । भनिन्छ-कीर्ति र कृति छोडेर जानेहरू कहिल्यै मर्दैन । हो, रमेश विकल पनि त्यस्तै स्मरणीय नाम बनेको छ नेपाली साहित्यमा । आफ्नै जीवनकालमा आफू बसिरहेको घरजग्गालाई ‘रमेश विकल साहित्य प्रतिष्ठान’ का नाममा घोषणा गरेर उदाहरणीय कार्य गरेकोमा साहित्यिक वृत्तमा उनीप्रति थप सम्मानभाव बढेको थियो । यसै सन्दर्भमा रमेश विकल साहित्य प्रतिष्ठानद्वारा ‘रमेश विकल ः बिम्ब एक प्रतिविम्ब अनेक’ नामक ग्रन्थ प्रकाशितसहित अभिनन्दन गर्ने तयारीकै क्रममा उनको निधन भएकाले सोही तयारीका सामग्रीहरूलाई दुई भागमा बाँडेर संस्मरण खण्ड र समालोचना खण्ड गरिएअनुसार प्रस्तुत ‘रमेश विकल ः विम्ब एक प्रतिविम्ब अनेक’ (समालोचना ग्रन्थ) प्रकाशनमा आएको हो ।
वरिष्ठ आख्यानकार रमेश विकलको समग्र जीवनी, व्यक्तित्व र कृतिमाथि साङ्गोपाङ्ग विवेचना गरिएको प्रस्तुत कृतिमा जम्मा सात खण्ड रहेका छन् । जसअन्तर्गत पहिलो खण्डमा हेमनाथ पौडेलको ‘रमेश विकलको जीवनवृत्त’ शीर्षकको लेख र डा. खगेन्द्रप्रसाद लुइटेलको ‘नेपालीका विशिष्ट साहित्यकार रमेश विकल’ शीर्षकको अर्को लेखले समग्र जीवनी, लेखन र विधागत विशिष्टतालाई केलाएका छन् । दोस्रो खण्डमा विकलका कथाहरूको समालोचनालाई समेटिएको छ । यसमा डा. ईश्वर बराल, कृष्ण गौतम, डा. कृष्णप्रसाद दाहाल, डा. कृष्णहरि बराल, डा. गोपीन्द्र पौडेल, पुरुषोत्तम सुवेदी, सुकुम शर्मालगायतका जम्मा बाइस जना लेखकका कथा कथा केन्द्रित समालोचनाहरू समाविष्ट छन् । उनका कथासङ्ग्रह-विरानो देशमा, नयाँ सडकको गीत, आज फेरि अर्को तन्ना फेरिन्छ, एउटा बूढो भ्वाइलेन आशावरीको धुनमा, उर्मिला भाउजू, शव, सालिक र सहस्र बुद्ध र हराएका कथाहरू रहेका छन् । सबैभन्दा लामो खण्ड पनि यही हो ।
तेस्रो, उपन्यास खण्डमा-प्रा. राजेन्द्र सुवेदी, चैतन्य, कृष्णचन्द्रसिंह प्रधान, रामप्रसाद ज्ञवाली, नेत्र एटमलगायतका जम्मा नौ जनाका समालोचना लेखहरू समेटिएका छन् । विकलका उपन्यास कृतिहरू-सुनौलो, अविरल बग्दछ इन्द्रवती, सागर उर्लन्छ सगरमाथा छुन र बाल उपन्यास विक्रम र नौलो ग्रह हुन् । यिनमा पनि अविरल बग्दछ इन्द्रवती नै विकलको चर्चित उपन्यास कृति हो । र समालोचनामा पनि प्रमुख प्राथमिकतामा परेको छ । नाटक समालोचना खण्डमा डा. केशवप्रसाद उपाध्याय र डा. तुलसी भट्टराईका लेखहरूमा विकलका नाट्यकृतिहरू-सरदार भक्ति थापा, मिल्किएको मणि, मानिस, वैभव र मृत्यु र दुई बाल एकाङ्कीहरू समेटिएका छन् । विकलको कलम नियात्राका क्षेत्रमा पनि सशक्त सावित छ र उनका सात सूर्य एक फन्को र नीलगिरिको छायामा चर्चित कृतिमा पर्दछन् । उनको नियात्राकारितामाथि ठाकुर पराजुली, निर्मोही व्यास, मोहन सिटौला र नर्मदेश्वरी सत्यालका समालोचनाहरू समाविष्ट छन् । बाल साहित्यका क्षेत्रमा पनि रमेश विकल अग्रणी नाम बनेको छ । उनका दुई दर्जन बाल साहित्यिक कृतिहरूको समालोचना डा. जीवेन्द्रदेव गिरी, प्रमोद प्रधान, तेजप्रकाश श्रेष्ठ, रह शर्मा र गोपाल ठाकुरले गरेका छन् । त्यसैगरी ‘मेरो अविरल जीवनगीत’ नामक आत्मकथामाथि जगत् प्रेक्षितले समालोचना गरेका छन् । विकलले अनुवादका क्षेत्रमा पनि कलम चलाएका छन् तर उनको यो पाटोको छुट्टै समालोचनात्मक मूल्याङ्कन भने गरिएको छैन । यस कृतिमा उनका जम्मा ५१ विविध विधाका कृतिहरूको मूल्याङ्कन-विश्लेषण गरिएको पाइन्छ ।
वरिष्ठ साहित्यकार रमेश विकल प्रगतिवादी साहित्यकार हुन् र उनका कृतिमाथि समालोचना गर्नेहरूले पनि यही मूलमर्मलाई समातेर आफ्नो कलम चलाएका देखिन्छ । बहुआयामिक स्रष्टा व्यक्तित्व विकलको समग्र कृतिगत व्यक्तित्व उजागर भएको समीक्ष कृति विश्वविद्यालयीय अध्ययन-अध्यापनका क्षेत्रमा ज्यादै महत्त्वपूर्ण सावित हुने देखिन्छ । साहित्यिक लेखनमा यति धेरै विधामा कलम चलाउने विकलको अर्को जोडा छैन भन्दा पनि फरक नपर्ला । उनले कलम चलाएका प्रायः सबै विधामा आफूलाई अब्बल सावित गराएर भौतिक देहबाट विलिन भएका भए पनि यिनै कृतिहरूले चिरकालसम्म जीवित राख्ने छन् । जीवनकालको अन्तिम क्षणसम्म पनि केही न केही लेखिरहेर उनले आफ्नो कर्मलाई निरन्तरता दिइरहे । यस कृतिले उनको लेखनको समग्र पाटोलाई केलाउन सफल छ ।
कृति ः रमेश विकल ः विम्ब एक प्रतिविम्ब अनेक (समालोचना ग्रन्थ)
सम्पादक मण्डल ः हेमनाथ पौडेल, जगत् प्रेक्षित, के.के कर्माचार्य
प्रकाशक ः रमेश विकल साहित्य प्रतिष्ठान, आरुबारी
प्रकाशन ः २०६७, पुस
पृष्ठ ः ४९६ +१४
मूल्य ः रु. ६००।-
मधुपर्क २०६७ चैत
