Skip to content


वि.सं. १९८५ कात्तिक २९ गते पहिलो पटक यस धर्तीमा आँखा खोलेका इन्दुशेखर चालिसे रामबाबु, रामेश्वर हुँदै नेपाली साहित्यको आख्यान विधामा कलम चलाएर ‘रमेश विकल’ को नामले चर्चित बन्न सफल भए । वि.सं. २००६ सालमा ‘शारदा’ पत्रिकामा ‘गरिब’ शीर्षकको कथा प्रकाशित भएदेखिको उनको लेखनयात्रा जीवभर चलिरहृयो । ‘म लेख्दालेख्दै मर्छु, मैले लेख्न छाडेको दिन मेरो मृत्यु हुन्छ’ भन्ने विकल आफूले भनेजस्तै गरी वि.सं. २०६५ पुस २ गते यस धर्तीबाट भौतिकरूपमा विलिन भए । भनिन्छ-कीर्ति र कृति छोडेर जानेहरू कहिल्यै मर्दैन । हो, रमेश विकल पनि त्यस्तै स्मरणीय नाम बनेको छ नेपाली साहित्यमा । आफ्नै जीवनकालमा आफू बसिरहेको घरजग्गालाई ‘रमेश विकल साहित्य प्रतिष्ठान’ का नाममा घोषणा गरेर उदाहरणीय कार्य गरेकोमा साहित्यिक वृत्तमा उनीप्रति थप सम्मानभाव बढेको थियो । यसै सन्दर्भमा रमेश विकल साहित्य प्रतिष्ठानद्वारा ‘रमेश विकल ः बिम्ब एक प्रतिविम्ब अनेक’ नामक ग्रन्थ प्रकाशितसहित अभिनन्दन गर्ने तयारीकै क्रममा उनको निधन भएकाले सोही तयारीका सामग्रीहरूलाई दुई भागमा बाँडेर संस्मरण खण्ड र समालोचना खण्ड गरिएअनुसार प्रस्तुत ‘रमेश विकल ः विम्ब एक प्रतिविम्ब अनेक’ (समालोचना ग्रन्थ) प्रकाशनमा आएको हो ।

वरिष्ठ आख्यानकार रमेश विकलको समग्र जीवनी, व्यक्तित्व र कृतिमाथि साङ्गोपाङ्ग विवेचना गरिएको प्रस्तुत कृतिमा जम्मा सात खण्ड रहेका छन् । जसअन्तर्गत पहिलो खण्डमा हेमनाथ पौडेलको ‘रमेश विकलको जीवनवृत्त’ शीर्षकको लेख र डा. खगेन्द्रप्रसाद लुइटेलको ‘नेपालीका विशिष्ट साहित्यकार रमेश विकल’ शीर्षकको अर्को लेखले समग्र जीवनी, लेखन र विधागत विशिष्टतालाई केलाएका छन् । दोस्रो खण्डमा विकलका कथाहरूको समालोचनालाई समेटिएको छ । यसमा डा. ईश्वर बराल, कृष्ण गौतम, डा. कृष्णप्रसाद दाहाल, डा. कृष्णहरि बराल, डा. गोपीन्द्र पौडेल, पुरुषोत्तम सुवेदी, सुकुम शर्मालगायतका जम्मा बाइस जना लेखकका कथा कथा केन्द्रित समालोचनाहरू समाविष्ट छन् । उनका कथासङ्ग्रह-विरानो देशमा, नयाँ सडकको गीत, आज फेरि अर्को तन्ना फेरिन्छ, एउटा बूढो भ्वाइलेन आशावरीको धुनमा, उर्मिला भाउजू, शव, सालिक र सहस्र बुद्ध र हराएका कथाहरू रहेका छन् । सबैभन्दा लामो खण्ड पनि यही हो ।

तेस्रो, उपन्यास खण्डमा-प्रा. राजेन्द्र सुवेदी, चैतन्य, कृष्णचन्द्रसिंह प्रधान, रामप्रसाद ज्ञवाली, नेत्र एटमलगायतका जम्मा नौ जनाका समालोचना लेखहरू समेटिएका छन् । विकलका उपन्यास कृतिहरू-सुनौलो, अविरल बग्दछ इन्द्रवती, सागर उर्लन्छ सगरमाथा छुन र बाल उपन्यास विक्रम र नौलो ग्रह हुन् । यिनमा पनि अविरल बग्दछ इन्द्रवती नै विकलको चर्चित उपन्यास कृति हो । र समालोचनामा पनि प्रमुख प्राथमिकतामा परेको छ । नाटक समालोचना खण्डमा डा. केशवप्रसाद उपाध्याय र डा. तुलसी भट्टराईका लेखहरूमा विकलका नाट्यकृतिहरू-सरदार भक्ति थापा, मिल्किएको मणि, मानिस, वैभव र मृत्यु र दुई बाल एकाङ्कीहरू समेटिएका छन् । विकलको कलम नियात्राका क्षेत्रमा पनि सशक्त सावित छ र उनका सात सूर्य एक फन्को र नीलगिरिको छायामा चर्चित कृतिमा पर्दछन् । उनको नियात्राकारितामाथि ठाकुर पराजुली, निर्मोही व्यास, मोहन सिटौला र नर्मदेश्वरी सत्यालका समालोचनाहरू समाविष्ट छन् । बाल साहित्यका क्षेत्रमा पनि रमेश विकल अग्रणी नाम बनेको छ । उनका दुई दर्जन बाल साहित्यिक कृतिहरूको समालोचना डा. जीवेन्द्रदेव गिरी, प्रमोद प्रधान, तेजप्रकाश श्रेष्ठ, रह शर्मा र गोपाल ठाकुरले गरेका छन् । त्यसैगरी ‘मेरो अविरल जीवनगीत’ नामक आत्मकथामाथि जगत् प्रेक्षितले समालोचना गरेका छन् । विकलले अनुवादका क्षेत्रमा पनि कलम चलाएका छन् तर उनको यो पाटोको छुट्टै समालोचनात्मक मूल्याङ्कन भने गरिएको छैन । यस कृतिमा उनका जम्मा ५१ विविध विधाका कृतिहरूको मूल्याङ्कन-विश्लेषण गरिएको पाइन्छ ।

वरिष्ठ साहित्यकार रमेश विकल प्रगतिवादी साहित्यकार हुन् र उनका कृतिमाथि समालोचना गर्नेहरूले पनि यही मूलमर्मलाई समातेर आफ्नो कलम चलाएका देखिन्छ । बहुआयामिक स्रष्टा व्यक्तित्व विकलको समग्र कृतिगत व्यक्तित्व उजागर भएको समीक्ष कृति विश्वविद्यालयीय अध्ययन-अध्यापनका क्षेत्रमा ज्यादै महत्त्वपूर्ण सावित हुने देखिन्छ । साहित्यिक लेखनमा यति धेरै विधामा कलम चलाउने विकलको अर्को जोडा छैन भन्दा पनि फरक नपर्ला । उनले कलम चलाएका प्रायः सबै विधामा आफूलाई अब्बल सावित गराएर भौतिक देहबाट विलिन भएका भए पनि यिनै कृतिहरूले चिरकालसम्म जीवित राख्ने छन् । जीवनकालको अन्तिम क्षणसम्म पनि केही न केही लेखिरहेर उनले आफ्नो कर्मलाई निरन्तरता दिइरहे । यस कृतिले उनको लेखनको समग्र पाटोलाई केलाउन सफल छ ।

कृति ः रमेश विकल ः विम्ब एक प्रतिविम्ब अनेक (समालोचना ग्रन्थ)
सम्पादक मण्डल ः हेमनाथ पौडेल, जगत् प्रेक्षित, के.के कर्माचार्य
प्रकाशक ः रमेश विकल साहित्य प्रतिष्ठान, आरुबारी
प्रकाशन ः २०६७, पुस
पृष्ठ ः ४९६ +१४
मूल्य ः रु. ६००।-

मधुपर्क २०६७ चैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *