Skip to content


जीवन साथी नभए नारी व्यवहार चल्दैन
माटोमा पानी नमिली अन्न कहिल्यै फल्दैन
वर्षन्न त्यसै वर्षामा झरी नभए बादल
दुइटा हात नमिली राम्रो बज्दैन मादल

नर र नारी दुइटा पाङ्ग्रा एउटै रथका
गर्दछौँ यात्रा यात्री हौँ हामी एउटै पथका
यौटाको मात्र द्यौताको पनि हुँदैन सिर्जन
रामकी जोई सीताको पोई को सक्छ बिर्सन ?।।

नर र नारी घाम र पानी जिन्दगी जमिन
आपसमहाँ ममता बाँडी बित्ने छ जीवन
भोलिको वीर लुकेको हुन्छ नारीकै गर्भमा
सृष्टिको फूल फलेर फल पुग्दछन् स्वर्गमा ।।

छोरा र छोरी यौटै हुन् हाम्रा काखका सन्तान
यौटै हो यहाँ आमाको कोख उही हो मन्थन
आमाको दूध नचुसी यहाँ हुर्केको को छ र ?
जीवन साथी नरको नारी नभा’को को छ र ?

पुरुष-नारी सम्बन्ध यहाँ धर्ती र आकाश
नारी नै स्रष्टा सिर्जन कर्ता गर्नुहोस् विश्वास
नारी हुन् आमा, नारी हुन् लक्ष्मी, नारी हुन् सम्पति
नारीको नर, नरको नारी मङ्गल दम्पति ।।

मधुपर्क २०६७ चैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *