आँखाले शासन गरेको सीमासम्म तैनाथ
बालुवाका सैनिकहरू
दिनभर यो मरुभूमिको रक्षार्थ
डटेर युद्ध गर्छन्
आतङ्कवादी घामका लडाकुहरूसँग
ती घाइते सैनिकहरूका पिल्सिएको देहभरि
दिव्य मलम दलिदिन्छन्
चन्द्रयानबाट ओर्लेर आएका
शीतल किरणका पारदर्शी बस्त्रमा सुसज्जित
परिचारिकाहरू
हीराझँै चम्किन्छ परिचारिकाको प्रेम
सैनिकका अनुहारमा
सम्यक साक्षी भएर हेरिरहन्छ ऊ
रातको भित्तामा झुण्डिएको
प्रेमको यो स्वर्गिक ऐना
र त्यसमा प्रतिविम्बित
आधा ओछ्यान खाली छोडेर एउटा उमेर
हरेक रात
आफ्नै आगोको समुद्रमा डुब्दै उत्रदै गरेको
भयावह दृश्य
….र दृश्यान्तरमा क्रमशः क्रमशः
पुरानो खोकीका आँधीमा हल्लिरहने धमिलो छायाँ
रहरहरूको हत्या गर्न पल्केको विक्षिप्त सिउदो
अचानक स्कुल बस आउन छाडेको अर्थ नबुझ्ने
बालकको हैरानी
सनकीहरूले बेला न कुबेला ढाल्ने गरेको
उन्मादको रुखले बन्द सडक
अनि, तानाशाह अभावका जेलमा बन्द
स्वतन्त्रताका योद्धाजस्ता
आफ्ना बिद्रोही सपनाहरू ……।
मधुपर्क २०६८ बैशाख
