Skip to content


शाश्वत सत्य,
देख्दैन अनुहार ऐनामा मानिस ।
कपटी छ, निर्दयी छ, निस्वार्थ त छँदै छैन ।
टाउको काट्दैछन् मानिस मानिसको
तौलिएर हातहरूमा दया नाप्न खोज्छ ।
देख्दैनन् अनुहार,
ऐनामा मानिस त्यसै रुमल्लिन्छ ।

फूलहरूमा प्रतिन्द्धवदिता चल्दैछ ।
उद्यानमा भेटिदैनन् कुमारी फूलहरू ।

***

बिषय के बन्न सक्छ, परिवेशलाई केलाउने प्रयत्न गरे । माथिको कवितालाई कुन बिबिधताले भरिदिने हो, कुन अलंकारले छोपिदिने हो एक छिन त खुब घोरिए ।
मथिङ्गलमा बिभिन्न बिषयमा प्रहसन दौडिन थाल्दै थिए । बिजुलीको झट्का लागेर अचेतन भएर लडेको शरिर जस्तो, दिमागमा उब्जिएका बिभिन्न धाराबाहिक बिचारलाई संश्लेषण गर्दै एकछिन खाटमा पछारिएँ पनि । बस, अँझैँ लेख्नलायक लाइन दिमागमा फुरेन । चित्त बुझ्दो शब्द भेटिएन । नजाने गाँउको बाटो नसोध्नु भन्ने उखानलाई चतितार्थ गर्दै लेख्दा लेख्दैको कलमलाई घँचेडेर अली पर पारिदिए । रोटीको तावा जस्तो रन्किएको दिमाग त्यो पन्छाएपछि झन दबंग बनेर निस्कियो । एक पछि अर्को शब्दले र्हिकाए जस्तो लाग्यो । मैले आफैँलाई भने ‘स्वाँठ लेख्न नजानेपछि केको तारिरहेको’ तर बबुरो मन, फुरेको, फुर्ला फुर्ला जस्तो र घाँटीको प्वालमै आएर कसिएको शब्द निकाल्न आतुर झैँ देखिँदै थियो । तिनै अड्किएको शब्दलाई लिपिबद्ध गर्ने भुखार झनै चड्दै थियो । हरेक मानिसभित्र चुम्बकीय शक्ति हुन्छ, अरुको ईच्छाले जति घुमे पनि पछि आफ्नै घ्रुबतिर फर्किन्छ भने झैँ मेरो पनि हाल त्यही थियो । त्यो पन्नालाई जति पर सार्यो त्यो त्यति नजिक हुँदै थियो । मभित्रको चुम्बकीय ध्रुव पनि त्यही कापीको पन्नातिर तानिँदै थियो । त्यो परिश्रम थियो । त्यो भोक मेटाउने उपाय थियो । साहित्यिक लोभको चक्र थियो । मैले नगरी नहुने थियो, सायदै मेरो सायास प्रयास कसैले मर्म दिएर पढोस् । म जोर लगाउँदै थिए, रच्न खाज्दै थिएँ । ढिकीमा हल्लिएको खुट्टा जस्तो, जाँतोमा पेलीँदै गरेको मसेटो जस्तो बितेको दुई घन्टादेखि एक थलो लाएर खोई के हो उब्जाई रहेथेँ । अँ, कविता, हो म त्यसलाई कविता भन्छु । म कविता लेख्दै थिए ।

दुई लाइन लेखेर अडिएको घन्टा नाघिसक्यो अँझैँ टुप्पीको टुप्पो पनि भेटिएको थिएन । स्वभावत पाठकलाई लाग्ने सहज लेखनको असहज परिस्थितिमा थिएँ । भन्नु पर्दा म मिस्टर स्ष्टिडी(steady) बन्दै थिए । ‘ए’ पछिको ‘बि’ नचिनेर असमञ्न्जसमा रोकिएको बालक जस्तो मुखमा पेन खेलाउँदै थिएँ ।

नरोकिने गरी अब ता पसिना पनि माथाबाट र्झदै थियो । गम्दा गम्दै एउटा कविताको याद आयो, भारतिय महाकवि भुर्तहरिको-
साहित्य संगीत कला बिहिन ।
साक्षात पशु पुच्छर सिङहिन ।

कसैको केही नलाग्ने भयो, म सिङ र पुच्छर नभएको मानिस हुन चाहन्न । मैले जसरी पनि पुरा गर्नु पर्ने भयो त्यो काँट छाँट नमिलेको कविता । फेरि कलम समाएको निकै बेर पछि पनि दिमागको चक्र नघुमेपछि पछाडि फर्केर हेरेँ । मेरो घोडा त अन्तै कुद्धै थियो । कवितालाई धुलिसात् बनाएर निबन्धको बाटोमा पो धुलो उडाउँदै थियो । म छक्क परेर हेरिरहेँ र त्यो कविताको चार लाइनलाई कान्लामुन्तिर फालिदिएँ । अर्को पन्नाको अघिल्तिर पुगेर लेख्न खोजे, निबन्घको नयाँ कुनै शीर्षक ।

अब निबन्ध रच्नु थियो । कविताले पिछा छोडे झैँ मन ढुक्क भयो, कलमलाई बेस्सरी कसेर माया देखाएँ । सुरुवात गरिसकेको कविताको लाइनलाई बिर्सिएर कतै विलुप्त निबन्धको धार समाउँन खोज्दै थिएँ तर फन्टुस कलम अघाडी बढेकै होइन । एक लाइन लेख्न पनि शयौँ शब्द मेटी केरी गरिसकेँ । यो निबन्ध युद्धको शंख्खनाद थियो । मेरो अघिल्तिर कौरब र पाण्डबको युद्ध चर्कीए झैँ लाग्यो । साच्चि नै यो पनि मेरो लागि महाभारतको युद्ध जस्तो थियो । निबन्ध युद्ध । साहित्यिक तृष्णामा अब निबन्ध रचनाको युद्ध । साझ झमक्क बेला भईसकेको थियो । आखाँमा फूलो परेको बुढिया जस्तो म निबन्धको निम्ति शब्द केलाउन थालेँ । कम्तीमा २००० शब्द रचिनु थियो । मलाई स्वाँ-स्वाँ र फ्वाँ-फ्वाँ गरी लेख्दा भ्याई नभ्याई कहिले भएन । म एउटै शब्दमा अडिएर घन्टौ बसिददिन्थे बेमाखमा टाँगाको मुन्तिर लागेको ओट जस्तो । मलाई हतार कहिले भएन । सायदै लेख्न आँउदो हो त म त्यस्तो गर्ने थिई क्यार ! आफ्नै गिल्ला गरे जस्तो लाग्यो ।

लेख्नमा फेरि एकोहोरिन थालेँ । कहिले पुच्छर त कहिले जिउको कुनै भाग समात्न पुग्छु तर टाउको कतै भेटिएको होइन । शब्द नै हराए जस्तो । ‘हरे! मैले यस्तोमा कसरी लेख्नु’ मनले गरेको यत्न फेरि कतै आत्महत्या गर्ने त होइन मनमा डर उब्जियो । मैले भुर्तहरिलाई सम्झिएँ । कठै मनलाई पटक्कै पशु हुन मन थिएन । छेवमा भएको एउटा किताब ताँने । ‘परास्त प्रेम’, भर्खरै बजारमा आएको थियो । मेरो शीर्षकलाई मिल्दो जुल्दो शब्द भेटिएलाकी भनी र्सर्सती पल्टाए तर त्यसबाट पनि कुनै बाहाना निस्किएन । आज त एउटा निबँध नलेखी छोड्दिन । मन र मष्तिष्कले आमोदप्रमोद गरिरहेका थिए ।

दिमागमा अनेक किसिम का पात्रहरू निसास्सी रहेका थिए । कसैलाई राम्रोसँग समात्न सकिरहेको थिइन । कसैलाई पनि कापीको पन्नामा उर्तान सकिरहेको थिइन, लयबद्ध र लिपिबद्धको त कुरै भएन । आफैँमाथि प्रश्न गर्न मन चल्यो । ‘बौलठ्ठी देखाउँदै छस् तँ, किन लेख्नु पर्यो कविता, निबन्ध सिबन्ध’ ? तर मलाई आफ्नो सोचाई तुहिन दिन मन थिएन । किन लेख्छन् मान्छे ? कसरी लेख्छन् ? मनमा औडाहा हुन थाल्यो । कसैले आएर झापु हाने जस्तो लाग्यो । क्रुर नियति देखाए जस्तो लाग्यो । यो पाठकको आँखामा नछाएको भुमीगत लेखक कतै न कतै बिलाई रहेझैँ मात्र लाग्यो । म सारहीन तानाबाना बुन्दै थिए तर निबन्ध भने कतै मष्तिष्क भित्रै रुमल्लिँदै थियो । कतिपय संग्रह सम्झिएँ । देवकोटा सम्झिएँ, शंकर लामिछाने सम्झिएँ, मणी लोहनी र भर्खर देखिएका नगरकोटीलाई सम्झिएँ । तर मेरा लागि तालमेल हुने कुनै किसिमको शब्द भेटिन । लाग्दै थियो त्रि-भुवन चौध लोक घुमिसकेँ तर मेरो निबन्धलाई शीर्षक नै थिएन । म त कतै न कतै अलमल गरिरहेथेँ, निबन्ध लेख्न खोज्दै, क्लाईमेक्सको खोजी गर्दै तर खाली मथिङ्गलको गिदीको वजन बड्दै थियो । पटक्कै कापीमा उतार्न सकेको होइन । एउटा बसिबिँयालो उच्चाट लाग्दो बन्दै थियो । मैले सतही सोच्दै थिएँ । सायद त्यसैले लेख्न सकिरहेको थिइन । अब सोचाईको गहीराई पुग्ने सोच्दै कलम समाए ।

गजब भयो । अब केही लेख्छु भन्ने लागेको थियो । मनमा एउटा तरङ्ग पैदा हुदै थियो । चिच्चाउँदै कोही बाहिर आउँदै झैँ लाग्यो । भीषण संघर्ष गर्दै केही कुरा बाहिर निस्कँदै छ जस्तो लाग्यो । झोलीमा झरिरहेको शब्दको लहरीहरूलाई सुख्खा सतहले पानी पिए जस्तो कापीको पन्नाहरूमा समन गराउँदै थिए । अघि भेटिएका पात्रहरू जो गुम्सिएर मनभित्र हराउँदै थिए, तिनलाई अहिले भव्य र तामझम सहीत कलमको टुप्पोबाट एउटा सफल कामना बोकेको पन्नाहरूमा ह्वार्र ह्वार्रती बिछ्याउँदै थिएँ । एउटा गजबको निबन्धको शरिर कुदिँदै थियो । एउटा निम्सरो बिषय बस्तुमा सभत्ती हुँदै लेखिरहँदा एकतमासले मन आल्हादमा नचिरहेको थियो । एउटा भूमिगत लेखकलाई बिषय फुर्नु र त्यसमै सिङ्गो दुनियाँ देखाउने चाहना भए जस्तो म मनले भेटाएका सबै पात्रहरूलाई, बिषयबस्तुलाई समाबिष्ट गर्दै थिए । एउटा सफल नाटको मञ्चन पछि कलाकारले आफूलाई उभारमा लेराए जस्तो, म अघि शब्द नभेटेर बिचलति हुँदाको मनलाई कतै कुना लगाउँदै आफू पनि माथि चड्दै थिएँ ।

लेखी सिध्याए । एउटा प्रतिभाले नौलो फाँटमा प्रबेश गर्न सानो प्रयासले पर्याप्त्त थिएन । कठैबरा! एउटा ठुलो काम त बाँकी नै राखेको रहेछु । शीर्षक खै त ? तर यसको भने एक पित्को पनि हेक्का थिएन तब फेरि अन्तर्मनमा औडाहा चल्न थाल्यो । मलाई कुनै शीर्षकको तय गर्नु थियो जसले मेरो खिचडी निबन्धलाई ज्यान दिन सकोस् । पाठकको मन चोर्नलाई त्यस्तै कुनै शीर्षकको आवशकता थियो जुन काव्य रसले भरिएको पुर्ण शीर्षक होस् । तर मनले कतै त्यसको आँकलन गर्न सकेको थिएन । अब फेरि मथिङ्गल रन्थनियो । एकै बाजी फेरि त्यसलाई दोहोराएर पढेँ तैपनि हात्तीको पुच्छर अड्किएरै छोड्यो । मेरो निबन्ध बिना मुन्ड झुलिरहेको थियो ।

***
खाना खानु अघि तरकारी के हो भनी सेध्ने मेरो नराम्रो बानी थियो । त्यसैअनुरुप कोठैबाट कराउँदै सोधें ।
-तरकारी के हो ?
-‘क्वाँटीको झोल’ । भान्छाबाट उत्तर आयो ।

***
क्वाँटीको झोलसँग केही गाँस निलेपछि बल्ल यो औतारी मनले हेक्का पायो । मेरो निबन्ध यही हो । खिचडीको बैकल्पिक रुप, क्वाँटीको झोल ।

ईति:

htpp://www.rumanamant.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *