दु:खको थुप्रो-खरको झुप्रो हिमाल पारी छ
सपना बोक्ने डोकोमा हेर पिरको भारी छ
विपना रोप्छु-सपना रोप्छु जोतेर खेतमा
गरेर खाने यै अतिकति फापर बारी छ
भिजेको चुल्हो-फाटेको दौरा दशैको बेलामा
आङमा तिम्रो पियारी उही पुरानै सारी छ
आँखाकी नानी-दिलकी खानी चन्द्रमा-तारा यी
धरती देखी आकाश राख्ने सपना घारी छ
आदत छैन दयामा बाँच्ने भरिया ‘सूर्य’को
झरीमा होस-घाममा होस आफैँ छहारी छ
