विगतको द्वन्द्व र अशान्तिले एक दशकसम्म मुलुकको हरेक क्षेत्र, वर्ग र संरचनाहरू प्रभावित भए । व्यक्ति, घर र समाज हुँदै सिङ्गो देश नै अन्योलतामा रुमल्लियो । जसले गर्दा आशा र निराशाको दोसाँधमा सारा नेपालीका चाडपर्व मात्र होइन, धर्म, संस्कृति र सहिष्णुतामा समेत फेरबदल आयो ।
२०६२/६३ को जनआन्दोलनको सफलतापछि भने यो अवस्थामा केही सुधार आएको छ । वि.सं. २०६३ यताका पाँच वटा दसैँ द्वन्द्वकालको भन्दा केही शान्तिपूर्ण र सहज बने पनि उमङ्गले ओतप्रोत भने हुन सकेका छैनन् । यो सिङ्गो मुलुकको साझा अनुभूति हो । हेर्दाहेर्दै फेरि यस वर्षको दसैँ समयको गतिसँगै सम्मुख आइपुगेको छ । यस पटकको दसैँ के र कस्तो होला ? सम्पूर्ण मुलुकवासीका अघिल्तिर उभिएर भावना समेट्न सम्भव छैन । यद्यपि त्यो भावनालाई प्रतिनिधिरूपमा समेट्न केही स्रष्टाहरूलाई छानेका छौँ । उहाँहरूका विगतका दसैँ कस्ता थिए र आसन्न दसैँ कसरी मनाउने योजनामा हुनुहुन्छ ? यसमा केन्द्रित रही मधुपर्कका लागि शलिना कार्कीले तयार पारेको केही प्रतिनिधि विचार र दृष्टिकोणहरू ः
मिलनको पर्व हो दसैँ-भुवन ढुङ्गाना
जिम्मेवारीमा बाँधिएर होला दसँैमा पहिलाजस्तो उमङ्ग हुँदैन । पारिवारिकरूपमा पनि सबै जुट्दैनन् । अहिले औपचारिकतामा मात्रै दसैँ मनाइने गरिएको छ । धेरै रौनक पनि छाएझैँ लाग्दैन, समय र उमेरले पनि होला । धेरैले दसैँको मौकामा तीर्थब्रत गरेर मनाएको पनि देखिन्छ ।
अहिले पहिलाजस्तो पारिवारिक संरचना पनि रहेन । अब मानिसहरूले एकल परिवार रुचाउँदै गएका छन् । एकल परिवारमा के पो उत्साह हुन्छ र ? काठमाडौँमै घर भएकाहरूलाई त झन् कुनै उत्साह हुन छोडेको छ । बाहिरका मानिसहरू त दसैँको नाममा एक पटक पुर्ख्यौली थलो टेक्न पाउँछन् । अहिलेको नयाँपुस्तालाई दसैँ भनेको बुझाउनै नसकिएको जस्तो लाग्छ । एकल परिवारको सोच र एकल पारिवारिक संरचनाले थिच्दै गएको छ । तैपनि दसैँ नेपालीको संस्कार हो, यसलाई बिर्सनु हुँदैन । दसैँ भनेको अग्रज, आफन्तसँगको भेटघाटको माध्यमको पर्व हो भन्ने कुरा मात्रै भए पनि बचाउनु पर्छ । टुक्रिँदै गएको, टाढा हुँदै गएको सम्बन्ध नजिक्याउन पनि दसैँ अपरिहार्य छ । सकेसम्म आफन्तसँगको भेटघाटको अवसरकै रूपमा दसैँ मनाउने योजनामा छु ।
मेरो दसैँ मुम्बैमा हुन्छ -अशेष मल्ल, साहित्यकार, नाट्यकर्मी
अचेल त दसैँ पहिलाजस्तो रमाइलो हुँदैन । केटाकेटीमा जस्तो रमाइलो लाग्दैन । त्यसमाथि बाबुआमा स्वर्गे भएदेखि घर नै गएको छैन । धनकुटाको घरमा कोही आफन्त छैनन् । बाँझो जग्गा र खण्डहर घर मात्रै छ । यसपटकको दसैँमा मुम्बै जान्छु । मेरी छोरी सम्पदा फिल्मी पटकथाकारका रूपमा उतै कामकाजी छिन् । विगतका दसैँमा साईबाबाधाम पुट्टपर्ती जाने गर्थें । अब त्यो बाटो पनि बन्द भैसक्यो । जे जस्तो भए पनि यो दसैँ रमाइलोमै बित्ला भन्ने सोचेको छु । सद्भाव, समझदारी, भावना, नाता र आशीर्वादको पर्व हो यो । यसलाई यहीरूपमा मनाउनुपर्छ । तडकभडक र ढोँगी बनाउनु हुँदैन ।
दसैँ एकताको सूत्र हो-जे. बी. टुहुरे
दसैँ नेपालीहरूको संस्कृति नै हो । यसलाई संस्कृतिकै रूपमा लिने गरेको छु । यस अवसरमा वर्षौंदेखि बिछोडिएका आफन्तसँग भेट हुन्छ जसले उत्साहित बनाउँछ । गएका १० वर्षसम्म मानिसहरूमा भरे के हुन्छ ? भोलि के हुन्छ ? भन्ने त्रास थियो । अहिले पनि खुला मनले दसैँ मनाउने वातावरण त छैन । किनकि शान्ति र संविधान बन्ने कि नबन्ने भन्ने चिन्ता नेपालीहरूमा उस्तै छ । सम्पन्न परिवारकाले जसरी पनि दसैँलाई भव्यरूपमा मनाउँछन् । विपन्न र गरिखानेहरूको दसैँ उति उत्साहपूर्ण हुन सकेको छैन । जोडजाममै दसैँ बित्ने गरेको छ ।
यो सबै राजनीतिक नेतृत्व गर्नेहरूको हेलचेक्र्याइँले गर्दा भएको हो । आउँदा दिनमा नेतृत्ववर्गले जनतालाई सुख दिन सकुन् । दसैँलाई बहिस्कार गर्ने पनि लहर चलेको छ । यो सबैले मानिआएको चाड हो । आफ्नो संस्कृतिलाई जोगाइराख्नुपर्छ । विकृति, विसङ्गति फैलने कुरा मात्रै मास्नुपर्छ । जुन संस्कृतिले एकतामा बाँध्न सहयोग गर्छ, त्यो संस्कृतिलाई मास्नु हुँदैन ।
केही सोचेकी छैन-वानिरा गिरि
विगतका दुई वटा दसैँ नराम्ररी बिते । त्यसो त द्वन्द्वमा जेलिएका दसैँ त्यसै नरमाइला भए नै । विगतका दुई दसैँमा लगातार मेरा सासूआमा स्वर्गवास हुनुभो । एक माथि अर्को दुःख आइलाग्यो । त्यसैले यो दसैँका बारेमा पनि त्यत्ति त सोचेकी छैन । देशको अवस्थाले पनि मनमा आगो सल्केझैँ भएको छ ।
एकाविहानै टीभी, पत्रिकामा देखे, पढेको कुरा बेलुका हुँदासम्म फेरिइसकेको हुन्छ । कहिलेकाहीँ त मिडिया नै हावादारी हुन् कि ! भन्ने भ्रम हुन्छ । जुन कुरा वर्षौंअघि मेरो अन्तरमनले भन्थ्यो, त्यही आज सारा विश्वमा भैरहेको छ । यसलाई म लेख्दै पनि छु । दसैँबाट ‘ऐ’ हटेर ‘आ’ अर्थात् दसा हुँदै गएको छ । हाम्रो मात्र होइन, हामीलाई नै सभ्यता सिकाउने विश्वका ठूला मुलुकको पनि हालत यस्तै बन्दै गएको छ ।
दसैँ बाल्यकालमै राम्रो-श्रवण मुकारुङ
एक दशक लामो युद्धले मुलुकका सबै क्षेत्र आक्रान्त बने । त्यो बेला सामाजिक सद्भाव नै खल्बलियो । जाति, जनजातिबीच दसैँ मान्ने र नमान्ने विवाद चर्कियो । कतिले त दसैँलाई नै बहिस्कार गरे । त्यसको प्रभाव हामी साहित्यकर्मीलाई पनि नपार्ने कुरै भएन । द्वन्द्वको असर हामीलाई पनि पर्यो । गाउँमा दसैँ मनाउने र नमनाउने दुई कित्ता भयो । म त्यो विभाजनमा लागिन । त्यसको प्रभाव भने मलाई पनि पर्यो र टीका लगाएर हिँड्न नहुने वातावरण भयो । मैले केही दसैँमा टीका लगाइनँ ।
यस पटकको दसैँ म गाउँ गएर मनाउने तरखरमा छु । मेरो घर भोजपुर हो । सानामा सँगै खेलेका दौतरी, साथीभाइ, भेट्ने आशामा छु । त्यसो त धेरै साथीहरू विदेशमा छन् । कोही गाउँमै पढाउने, खेतीपाती गरेर बसिरहेका छन् । उनीहरूलाई भेट्ने आशामा छु । दसैँ कुनै जात, धर्म, लिङ्ग, सम्प्रदाय विशेषको होइन । हामीले एकअर्काको संस्कृति, परम्परा र पर्वको सम्मान गर्नुपर्छ । पहिचानको कदर गर्नुपर्छ । दसैँमा दुई-चार पैसा दक्षिणा दिन्छु तर पैसाका लागि दसैँ मनाउने चलन नराम्रो संस्कृति हो । पैसाको रवाफ देखाउनु राम्रो होइन ।
अहिलेभन्दा दसैँ बाल्यकालमै राम्रो लाग्थ्यो । किन कि त्यतिवेला बाबुआमाले कहाँबाट मीठो मसिनो र नौलो सुकिलो जुराउनु हुन्थ्यो, हामीलाई ज्ञात हुँदैन थियो । आफूलाई थाहा नभएपछि त्यसको दुःखभन्दा आनन्द नै बढी हुने नै भयो ।
अनुसन्धान पूरा गर्छु -कृष्णराज सर्वहारी,
मेरो घर दाङमा पर्छ । दसैँ गाउँमै गएर मनाउने गरेको छु । दसैँको दिन थारू जातिले गुरुवा छान्ने गर्छन् । पहिला दसैँलाई त्यतिसारो नमनाउने थारू जातिले अहिले रातो टीका लगाएर दसैँ मनाउन थालेका छन् । थारू परम्पराअनुसार सेतो टीका लगाउने प्रचलन छ । त्यो परम्परा बचाउन एउटा पक्ष लागेको छ । मैले यो दसैँ मनाउने मौका पारेर एउटा अनुसन्धान पनि पूरा गर्ने सोच बनाएको छु । अहिले थारू समुदाय मात्र नभएर अन्य समुदायमा पनि दसैँलाई भड्किलो बनाउने गरिएको छ । परम्परागत मौलिकताहरू नासिँदै गएका छन् । त्यसैले आफ्नो मौलिकता बचाउने प्रयासमा हामी सबै लाग्नुपर्छ ।
नयाँ कृतिको सुरूआत गर्दैछु-डा. ध्रुवचन्द्र गौतम
विगतको भन्दा यसपटक दसैँमा रमाइलो गर्ने सोचमा छु । साथीभाइलाई घरमै बोलाउँछु । यसपटक वीरगञ्जमा भएको घरमा पनि जान्छु होला । बाह्य रमाइलो यसरी नै मनाउँछु ।
भित्री रमाइलो भने अर्कै सोचेको छु । दसैँमा नयाँ लेखन थालौँ कि भन्ने मानसिकतामा छु । समयले साथ दिन्छ कि दिँदैन ? पाठकलाई केही दिउँ कि भन्ने पक्षमा छु । सकेसम्म सुरू गर्छु । नभए कृतिको प्लट रच्छु । पूरै देश कस्तोकस्तो भएको छ । सानोमा जस्तो मेला, रमाइलो त अब बाँकी छैन ।
अमेरिकामै मनाइन्छ -महेशविक्रम शाह
म पेसाले सुरक्षाकर्मी हुँ । सधँै फुर्सद हुँदैन । दसैँमा जसोतसो फुर्सद पाइन्छ । त्यसैले धुमधामसँगै मनाउने गर्छु । दसैँ परिवारसँगै मनाउन मन लाग्छ तर सोचेजस्तो त हुँदैन । सकेसम्म आफू जहाँ भए पनि परिवारका सदस्यलाई बोलाएरै मनाउने गर्छु । म भ्याएसम्म बाबुआमाकोमा जाने गर्छु । म साकाहारी हुँ । दुई, तीन वर्षदेखि कुभिण्डो, घिरौँलाको बली चढाउने गरेको छु । जीव हत्या गर्नुहुँदैन भन्ने मेरो मान्यता हो । गत वर्षको दसैँ नेपालगञ्जमा यसैगरी मनाएको थिएँ ।
यो वर्षको दसैँमा भने म अमेरिकामै हुन्छु होला । परिवारसँग हुँदिन । त्यसैले त्यहीँका नेपाली दाजुभाइ, दिदीबहिनीसँग मनाउँछु । दसैँ जहाँ र जसरी मनाए पनि सद्भाव, शालिन र संस्कारपूर्ण ढङ्गले मनाउनुपर्छ । भड्किलो बनाउनु हुँदैन ।
दसैँले प्राकृतिक हाँसो ल्याओस्- विजय सिवाकोटी,
विजया दशमीको दिन मेरो जन्मदिन पनि हो । त्यसैले हरेक दसैँमा म मन्दिर जान्छु । परमात्मासँग आशीर्वाद लिन्छु । दसैँ त वाल्यकालमै पो रमाइलो । त्यतिवेलाका चङ्गा उडाउने साथी आज को कता पुगे ? थाहै छैन । धेरै अतीतका दसैँहरू दसैँजस्तै थिए । यसपटक दीप श्रेष्ठ, दीपक खरेल र ओमविक्रम विष्ट दाइहरूसँग एकसाथ काम गरिरहेको छु । रचनामै व्यस्त हुन्छु होला ।
म माछामासु खान्न । पुराना साथीभाइसँग भेटघाटको अवसर भने जुर्छ कि भन्ने आशामा छु । पाको उमेरमा त व्यावहारिकता, जिम्मेवारीको बोझले च्यापिएको हुन्छ, जिन्दगी । सानोमा त जिन्दगी सपना जस्तै सुन्दर हुन्छ । उमेर ढल्दै जाँदा सपना कम यथार्थ बढी बन्दै जाँदो रहेछ । तैपनि आम मानिस र साहित्य, कलाकर्मीमा केही फरक हुन्छ नै ।
विज्ञानले बाहिरको दुनियाँसँग सरोकार राख्छ । वाङ्मयकर्मीले मानिसका पीडा र कथाव्यथालाई प्रयोगशाला बनाउँछन् । हाम्रो चिन्तन भित्रकै हुन्छ । त्यसैले दसैँको यस्तो अवसरमा हामीले मुलुकको आमअपेक्षा माथि नेता एवं दलहरूको ध्यानाकर्षण गराउनेखालको कार्यक्रम सुरू गर्न सके राम्रो हुन्थ्यो भन्ने ठानेर रचनात्मक कार्यक्रमको आयोजना गर्ने सोचाइमा छु । हेराँै, ईश्वर दाहिने हुन्छन् कि हुँदैनन् ? दसैँ व्यावहारिक होस्, सकिएको भोलिपल्ट तनाव नहोस् ।
धर्मको नामको विकृति मासिनुपर्छ-उर्मिला विश्वकर्मा
द्वन्द्व फैलनु अघिसम्म दसैँ किन र केका लागि मनाइन्छ भन्ने थाहा थिएन । दसैँ हाम्रो चाड हो भन्ने थियो । नेपाल हिन्दू राज्य भएकाले हामी सबै हिन्दु हौं, मनाउनुपर्छ भन्ने मान्यता थियो । द्वन्द्वले त्यो मान्यतालाई चिरिदिएको छ । अहिले यो कसको चाड हो ? किन मनाइन्छ ? कहाँबाट आयो भन्ने खोजी हुन थालेको छ ।
धर्मनिरपेक्ष राज्य घोषणा भएपछि भने दसैँ शान्तिपूर्ण भएका छन् । धर्मनिरपेक्षताले मानिसलाई जातीय, धार्मिक स्वतन्त्रता प्राप्त भएको छ । करकापमा पारेर ‘यो धर्म मान्नै पर्छ’ भन्ने मान्यताको अन्त्य भएको छ । मनाउनेले दसैँ आफ्नो तरिकाले मनाउन थालेका छन् । मन लागेको धर्म अँगाल्न थालेका छन् । हिन्दू धर्ममा भएको उत्पीडन अन्य धर्ममा छैन । अहिले आफूखुसी धर्म मान्दैछन् । त्यसैले अहिले दसैँलाई धक्का पुगेको छ । हिन्दू धर्मलाई सवल बनाउने हो भने यसभित्र रहेका विकृतिहरूलाई सुधार्नुपर्छ । म उत्पीडित वर्ग भए पनि हिन्दू धर्मभित्रै रहेर सङ्घर्ष गर्न मनपराउँछु । गत वर्ष म इलाममा रहेको घरमा गएँ । बूढा ससुरा, सासू हुनुहुन्छ । छोरा, बुहारीहरू छन् । यसपालि भने घर जान्न होला । मेरा छोराबुहारी जालान् । म भने नवीन चिन्तनमा एकाग्र हुन्छु ।
जीवहत्या राम्रो होइन- गोपाल ठाकुर
दसैँ मिलनको पर्व हो । दसैँ मनाउने तरिकाका सन्दर्भमा मधेसबाट हामीले धेरै कुरा सिक्नुपर्छ । पहाडमा एउटा उखान छ,’आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई’ हुनुहुँदैन । मधेसमा यस्तो छैन । मधेसमा दसैँलाई सामाजिक चाडका रूपमा मनाइन्छ । हामी सामूहिक रूपमा दुर्गाभवानीको मूर्ति बनाउँछौँ, सामूहिक पूजापाठ गर्छौं । सामाजिक रूपमा मनाउँदा ‘ढाड’ भाँचिदैन ।
दसैँलाई अध्यात्म चिन्तन भन्दा बाहिर गएर मनाउन थालिएको छ । रामले रावणलाई मारेको कुरा होस् या दुर्गाले दानवलाई मारेको कुरा होस,् यसलाई नराम्रो माथि राम्रोको विजयका रूपमा बुझ्नुपर्छ । पहाडबाट तराईमा मीठो खाने, राम्रो लगाउने चलन सर्दै गएको छ । दसैँ हामीले विरासतका रूपमा रहेको संस्कारअनुसार मनाउने हो ।
बली दिने भनेको त आफूमा रहेका नकारात्मक कुराको हो । पशु बली दिएर जीवहत्या गर्नु हुँदैन । देउताका नाममा पशुपक्षीको हत्या गर्ने प्रचलन नराम्रो हो । तराईका चेलीहरू तान्त्रिक शक्तिमा आधारित झिझिया नाच देखाउने गर्छन् । अहिले यो चलन पातलिँदै गएको छ । विगतका १५ वर्षका सामाजिक असुरक्षाका कारण किशोरीहरूको यो प्रचलन मधेसबाट हट्दै गएको छ । जुनसुकै धर्म, संस्कृतिमा हामी भए पनि एक अर्काको संस्कृतिको सम्मान सबैले गर्नुपर्छ । म साथीभाइलाई घरमा बोलाएर भेटघाटमै दसैँ मनाउँछु । मेरो दसैँ मनाउने तरिका आफ्नै विरासतका रूपमा रहेको सामाजिक परम्परा केन्द्रित हुनेगर्छ ।
मधुपर्क २०६८ असोज
