Skip to content


हलुका नीलो रङको साडी र त्यो साडीसँग सुहाउँदो ब्लाउज लगाएकी एउटी महिला भरतपुर विमानस्थलको प्रतीक्षालयभित्र प्रवेश गरिन् । “ए, ऊ त मेरी साथी मृदुला !, कति सफा, सुग्घर र चिटिक्क परेकी ! राम्री । चालीस वर्ष पुगेकीजस्ती पनि नलाग्ने । अनुहार पनि भर्खरकी तरुनीको जस्तो चिन्नै गाह्रो । उससँग हाँसीहाँसी कुरा गर्ने केटा चाहिँ को होला ? सायद उसको देवर होला ! ” मैले मनमनमा कुरा खेलाएँ तर उसले भने मलाई चिन्दैनचिनेजस्तो गरेर अर्कै दिशातर्फ मुख फर्काएर गई । म भने उसलाई हेरेको हेरेकै भएँ ।

मृदुला र म बाल्यकालदेखिकै साथी तर आज मलाई देखेको नदेखेझैँ गरेर गई । मेरो असाध्यै चित्त दुखेर आयो । मृदुला र मेरो घर सँगसँगै जोडिएको थियो । हामी एकदमै मिल्ने साथी थियौँ, हामी एउटै स्कुलमा र एउटै कक्षामा पढ्थ्यौँ । सँगै स्कुल जान्थ्यौँ र सँगै फर्कन्थ्यौँ । हामीलाई सबैले एउटा चिम्टाका दुई हात भनेर जिस्क्याउँथे ।

हामी १० कक्षामा पुग्यौँ । हाम्रो यौवन फूलझैँ फक्रेर आयो । स्कुलभरिका केटाकेटीहरूमध्ये मृदुला सबैभन्दा राम्री थिई । त्यसमाथि उसको चञ्चले स्वभावले गर्दा उसमा झन् हिस्सी थपिएको थियो । देख्नेबुझ्नेहरूका सामु उसको सुन्दरता चर्चाको विषय बन्यो । उसको सुन्दरता र हिस्सीको सुगन्ध उडेर काजी सूर्यमानको घरसम्म पुग्यो । उनी नेपाल सरकारको उच्च ओहदामा पुगेका व्यक्ति थिए । उनका छोरा शरदमानले मृदुलालाई असाध्यै मन पराए । फलस्वरूप शरदमानको घरबाट मृदुलाको हात माग्न आए । मृदुलाका आमाबाबु त्यति धनी घरबाट छोरी माग्न आएकोमा हर्षले गद्गद् भए । केटा र केटीको चिना पनि मिल्यो । केही दिनपछि शरदमानसँग मृदुलाको बिहे धुमधामसँग भयो । सामान्य परिवारकी केटी उच्च वर्गकी बुहारी हुन पुगेकोमा उसको भाग्य देखेर धेरैलाई ईर्ष्या पनि लागेर आएको थियो ।

सुपारी दिनेदेखि मुख हेर्ने दिनसम्म राम्राराम्रा लुगामा सजिएर भोजमा सरिक हुन पाएकोमा उसका साथीहरू पनि सबै मख्ख थिए । मृदुला पनि राम्रो, धनी र शिक्षित केटासँग बिहा भएको हुँदा धेरै नै खुसी थिई ।

पुराना कुरा सम्झँदासम्झँदै म एकाएक झसङ्ग भएँ । हवाईजहाज उड्ने बेला भएको घोषणा ठूलठूलो स्वरमा दोहोरिइरहेको थियो । मेरा आँखाले भने मृदुलालाई नै खोजिरहेका थिए । ऊ मभन्दा केही परपट्टकिो कुनाको एउटा मेचमा बसिरहेकी थिई । उसले मलाई नदेखेजस्तो गरेको कुरा सम्झेर मलाई उसप्रति रिस उठिरहेको थियो तर उसले साँच्चै नै नदेखेकीले त्यस्तो गरेकी पनि हुनसक्छे भनेर मैले चित्त बुझाएकी थिएँ । मेरा पाइला अनायास ऊ भएतिर सरेर गए ।

“मृदुला ! तिमीले मलाई चिनिनौ ?” मैले प्रश्न गरेँ । ऊ खङ्ग्रङ्ग भई । “अनि मलिनो अनुहार लगाउँदै बिस्तारै बोली- त्यस्तो होइन ।”

“किन नचिनेजस्तो गरेकी त ?,” मैले फेरि थपेँ ।

“सबै कुरा थाहा हुँदाहुँदै तिमीले मलाई जिस्काइरहिछौ,” उसले हलुकासँग जवाफ दिई ।

“अहँ, मलाई त केही थाहा छैन,” मैले जिज्ञासा प्रकट गरेँ ।”

“अरूले जस्तै तिमीले पनि मलाई घृणा गरौली भन्ठानेर मैले तिमीलाई नचिनेजस्तो गरेकी हुँ,” उसले स्पष्टीकरण पेस गरी ।

“मलाई तिम्रो बारेका केही थाहा छैन । बरू तिमीलाई यहाँ देखेर मलाई आश्चर्य लागिरहेछ । मैले तिमीलाई प्रत्यक्षरूपमा नभेटे पनि ठूलठूला कार्यक्रमहरूमा तिम्रो श्रीमान्सँगै टी.भी.मा देख्थेँ तर हिजोआज भने किन देखिन छोड्यौ भनेर मलाई खुल्दुली भइरहन्थ्यो,” मैले भनेँ ।

“पन्ध्र वर्ष जति भइसक्यो, मेरो श्रीमान्को भरतपुर शाखामा सरुवा भएको हुँदा म पनि यहीँ छु । यसबीच मेरो कसैसँग पनि भेटघाट भएको छैन । आमाबाबु बितेपछि दसैँतिहारमा माइत पनि गएकी छैन । चाडपर्वहरू पनि यतै मनाउने गरेकी छु । छोराछोरीहरू पनि यहीँको स्कुलमा पढ्छन् । जरुरी काम परेको बेलामा मात्र म उता जाने गरेकी छु । त्यसैले मलाई त्यतातिरको कुरा केही थाहा छैन,” मैले पनि उसलाई आफ्ना कुरा बताएँ ।

“मैले तिमीलाई घृणा गर्नुपर्ने काम के गरेकी छौ र मृदुला तिमीले,” मैले फेरि प्रश्न गरेँ ।

“म मेरो श्रीमान्को घर छोडेर यहीँ भरतपुरको एकजना डाक्टरसँग बसेकी छु,” उसले स्पष्टरूपमा जवाफ दिई ।

उसको जवाफ सुनेर मेरो शरीरमा तातोपानी खन्याएझैँ भयो । “तिमीले यस्तो काम किन गर्यौ

मृदुला ? तिम्रा दुईदुई जना छोरा छन् । तिम्रो श्रीमान् पनि असल नै छन् जस्तो लाग्छ । त्यस्तो सम्पन्न घरपरिवार छोडेर परपुरुषसँग बसेको मलाई त ठीक लागेन । तिमीले यस्तो गरौली भनेर मैले त कल्पना पनि गरेकी थिइनँ । तै पनि तिमीले के कारण त्यस्तो गर्नु पर्यो, भन त ?” मैले फेरि अर्को प्रश्न तेस्र्याएँ ।

“हेर, इन्दु ! तिमी मेरो बाल्यकालदेखिकै साथी हौ । तिमीसँग म के लुकाऊँ ? त्यसैले मनमा उकुसमुकुस भएर बसेका सम्पूर्ण कुरा आज तिमीसमक्ष ओकल्छु ।” यति भनेर गहभरि आँसु लिएर घुँक्कघुँक्क गर्दै ऊ रुन लागी ।

त्यतिबेला हाम्रो एस.एल.सी.को परीक्षा चल्दै थियो । म सत्र वर्षमा टेक्दै थिएँ । म साथीहरूसँग धेरै हाँसखेल गथर्ेें । न्यायाधीशजस्तो ठूलो ओहदा र धनी मानिससँग मेरो विवाह भयो । केटाको उमेर मेरोभन्दा १२ वर्ष बढी भए पनि उनीहरूको सामाजिक इज्जत र वैभवलाई महìव दिएर मेरा आमाबाबुले मलाई उसँग बिहे गरेर पठाए । म पनि न्यायाधीशजस्तो श्रीमान् पाएर ज्यादै खुसी थिएँ । राम्रो घरमा बस्न पाउँदा र महँगामहँगा लुगा लगाउन पाउँदा मेरो मन अत्यन्त रोमाञ्चित थियो । नोकरचाकरबाट पाएको मान र सम्मानबाट म मक्ख परेकी थिएँ । त्यसमाथि पनि श्रीमान्बाट पाएको मायाले गर्दा म यति खुसी थिएँ कि साँच्चै भनूँ भने मेरा पाइला भुइँमा थिएनन् । म आकाशमा कतै विचरण गरिरहेकी हुन्थेँ ।

समयले कोल्टे फेर्यो । बिस्तारै मैले के थाहा पाउँदै आएँ भने देशमा प्रजातन्त्र आएको यतिका वर्ष भए तापनि त्यस घरमा निरङ्कुश शासन चली नै रहेको रहेछ । सासूससुराको अनुमति बिना त्यहाँको एक त्यान्द्रो पराल पनि यताउति चल्न नसक्ने रहेछ । ठूलो स्वरमा बोल्ने र हाँस्ने त के कुरा आफ्नो खुसी र आवश्यकता अनुसार मुख खोल्न र एक पाइला अगाडि पछाडि सार्न पनि समय कुर्नु पर्दो रहेछ । त्यहाँका मानिसहरू सबै निर्जीव प्राणीजस्ता रहेछन् । त्यसैले मलाई त्यो घरमा उकुसमुकुस भएर आउन थाल्यो । मलाई माया गरे पनि मेरो श्रीमान्को कहिलेकाहिँ यसो मीठो कुरा गर्ने र ख्यालठट्टा गर्ने बानी पटक्कै थिएन । त्यहाँ नितान्त आवश्यक कुरा बाहेक अरू कुरा बोल्न निषेध नै थियो ।

“माइतीमा छँदा म एउटी स्वतन्त्र भँगेरी चरी थिएँ ! साथीहरूसँग चारैतिर घुमफिर र हाँसखेल गरी हुर्केकी हुँदा मेरो बानी नै त्यस्तै परेको थियो तर त्यहाँ मलाई हात खुट्टा मात्र होइन, मुख पनि बाँधिराखेजस्तो लाग्न थाल्यो । मेरा आँखाले हेर्ने र देख्ने भनेको वस्तु त्यो घर, त्यहाँका मान्छे र अगाडिको सडक बाहेक केही थिएन । मलाई आफू झ्यालखानाको कैदी भएजस्तो लाग्न थाल्यो । पिँढीबाट बाहिर निस्केर गाडी चढ्ने बित्तिकै सोझै माइतीको घरमा पुर्याएर ओरालिदिन्थे । अरूले देख्दा म असाध्यै भाग्यमानी थिएँ तर सम्पन्न घरमा बस्ने अवसर पाए तापनि पिँजडाभित्र थुनिएको सुगा र मेरो जीवनमा केही फरक थिएन । मेरो चञ्चले र पुल्पुले बानी व्यहोरामा तुषारापात हुँदै गयो । म धेरै गम्भीर हुँदै जान थालेँ । मैले निस्सासिएर सास फेरेको कसैले महसुस गर्न सकेनन् । बिहे भएको पहिलो वर्षमा नै मेरो जेठो छोरो जन्म्यो । ठीक एक वर्ष पनि नबित्दै अर्को छोरा जन्म्यो । दिनहरू बित्दै गए । मेरो श्रीमान्को पदोन्नति हुँदै गयो । मन नलागी-नलागी मलाई उहाँको छायाँझैँ ठूलठूला सभा र भोजभत्तेरहरूमा पछिपछि लाग्नु पर्ने हुन्थ्यो,” (हो, त्यस्तै अवसरहरूमा तिमीले मलाई टी.भी.मा देख्यौ हौली ।) उसले भन्दै गई । “अरूको आँखामा म धेरै सुखी थिएँ तर मेरो मनभित्रको घाउ दुखेको देख्ने आँखा कतै थिएनन् । मैले यिनै घाउका पीडाको अनुपातमा सुखको सास फेरेको अभिनय गर्दै जानुपरेको थियो । मेरा मनभित्रका पीडा तहतह लागेर उचालिँदै गए । मेरो छोराहरू जतिजति हुर्कंदै गए, मेरो श्रीमान् मदेखि उतिउति टाढा हुँदै गए । मेरो अनुहारले हाँस्न बिस्र्यो । आँखा टोलाउन थाले । कालान्तरमा म ओछ्यान परेँ ।

मलाई डा. अनिलकहाँ लगियो । निरीक्षणको क्रममा उसले मेरो रोगको जरो पत्ता लगायो । उसले मसँग रमाइलारमाइला कुरा गर्ने र मलाई मन पर्ने क्रियाकलापहरू गर्न थाल्यो । मलाई निको पारिदेला भन्ने आशयले हुन सक्छ, मेरो श्रीमान्ले एउटा मान्छे लगाएर मलाई उसँग घुम्न पनि पठाउनुहुन्थ्यो । म पुनः हाँस्न र बोल्न थालेँ । मेरो अवस्था स्वाभाविक भएर आयो तर मलाई डा. अनिलको उपस्थितिमा मात्र खुसीको अनुभूति हुन्थ्यो ।”

“मेरो रोग सञ्चो भयो । सबै जना खुसी पनि भए । डा. अनिल मेरो घरमा आउन छोड्यो तर मलाई भने एक दिन पनि ऊसँग कुरा गर्न पाइनँ भने नरमाइलो लागेर आउँथ्यो । म एक दिन उसँग टेलिफोनमा कुरा गर्दै थिएँ । मेरो श्रीमान्ले सुन्नुभएछ । उहाँले मलाई परपुरुषसँग धेरै कुरा गर्नु हुँदैन भनेर धेरै सम्झाउनु भयो तर मेरो पवित्र मन फेरि निराशामा बदलिन थाल्यो,” उसले भन्दै गई ।

एक दिन मैले अनिलकी श्रीमती र बच्चासमेत दुर्भाग्यवस गाडी दुर्घटनामा परेर मृत्यु भएको दुःखद् खबर सुनेँ । मैले उसलाई सान्त्वना दिन उसँग सम्पर्क गर्न खोजेँ तर सम्भव भएन । अचानक धेरै समयपछि एउटा भोजको कार्यक्रममा उसँग भेट भयो । ऊ भरतपुरको सरकारी अस्पतालमा सरुवा भएर आएको रहेछ । ऊसँग कुरा गरेको देखेर मेरो श्रीमान्ले अप्रिय शब्दहरू बोल्नुभयो जसका कारण म अलिकति द्वन्द्वमा परेँ । त्यसपछि घर पुग्ने बित्तिकै उहाँले मलाई आइन्दा डा. अनिलसँग एक शब्द पनि बोलिस् भने मसँग छुट्टएिर उसैसँग जानु पर्नेछ भन्दै चेतावनी दिनुभयो । फलस्वरूप मेरो पनि क्रोधको पारो चढ्यो ।

“मैले नराम्रो काम केही गरेकी छैन । कुरा मिल्ने मान्छेसँग बोल्दैमा के नै बिग्रन्छ र ?” मैले श्रीमान्लाई सम्झाउने प्रयास गरेँ । “तर उहाँले त उल्टै मलाई सम्झाउने भइस् ?” डा. अनिलले तलाईं मोहनी लगायो कि के हो ? तँ अब मेरो घरबाट निस्की हाल् । उसैसँग गएर बस् । उसकी स्वास्नी पनि मरेकी छ, भन्ने कटु वचन लगाउनुभयो । मेरो मन असाध्यै रोयो । त्यो रात रोएरै कटाएँ । बिहान सबेरै घरको पाँचौ तल्लाबाट हाम फालेर मर्ने बिचारले त्यहाँ पुगेर आँखा चिम्लँदै थिएँ, अचानक मेरा कानमा डा. अनिलको आवाज प्रतिध्वनित भयो, “मृदुला ! स्वन्त्रतापूर्वक बाँच्ने मानिसको नैसर्गिक अधिकार हो । जस्तोसुकै दुःख परे पनि बाँच्ने प्रयास गर,” उसको आवाज गुन्जिरह्यो । म निद्राबाट ब्यूँझेझैँ भएँ । औँसीको रातमा म मरेसमान नै थिएँ तर अब सूर्य उदाएपछि किन मरुँ ? मलाई कहिल्यै मर्न नपर्ने गरी बाँच्न मन लाग्यो । यस घरमा मेरो श्रीमान्सँग सम्बन्ध नै के छ र ? मेरो बाध्यता थियो कि मलाई उनको बिछ्यौनाको साथी हुनु परेको थियो । त्यतिमात्र होइन, उनले ‘उठ् भन्दा उठ्ने र बस् भन्दा बस्ने’ । यहाँ मेरो अस्तित्व अलिकति पनि छैन । त्यसैले मेरो अस्तित्व रक्षाका लागि मेरो इज्जत, मेरो घर, मेरो श्रीमान् र छोराहरू त्यागेर भए पनि एउटी स्वतन्त्र नारीको रूपमा मैले बाँच्नु पर्छ भन्ने अठोट गरेँ र म त्यही दिन घर छोडेर यहाँ आएँ । मलाई डा. अनिलले घर फर्कन धेरै सम्झाए तर मैले घरलाई सदाका लागि त्यागिसकेकी थिएँ,” उसले वृत्तान्त सुनाई ।

“आफैँले जन्माएका सन्तानले समेत अहिले मलाई घृणा गर्छन् । म हिँड्ने बाटोहरू सबै बन्द भएका छन् र आज म डा. अनिलको घरको रेखदेख गर्ने सेविका भएकी छु । अहिले म न्यायाधीश शरदमानसँग सम्बन्धबिच्छेद गर्न काठमाडौँ जान लागिरहेछु,” यति भनेर उसले मुक्तिको लामो सास फेरी र म तिर हेरी ।

म उसलाई हेरेर मुसुक्क हाँसे । उसको अनुहार पनि हँसिलो भएर आयो ।

(जलेश्वरी श्रेष्ठको जन्म वि.सं. २००३ सालमा वटुटोल, काठमाडौँमा भएको हो । उहाँले बी.ए.सम्म अध्ययन गर्नुभएको छ । उहाँका प्रकाशित कृतिहरूमा लाभाका वाफहरू, परीको घर, मेहनती गौरी, मौन बिद्रोह, तिसाको जन्मदिन आदि कथा र बालसाहित्य कृति रहेका छन् । उहाँ नेपालभाषा र नेपालीमा पनि कलम चलाउनु हुन्छ । प्रस्तुत कथा नेपालभाषा एकेडेमीबाट प्रकाशित ‘न्हुगु पला’ (मिसा बाखं मुना) कथासङ्ग्रहबाट नेपालीमा अनुवाद गरिएको हो । यस सङ्ग्रहमा नेवारी महिला लेखिकाहरूका कथामात्र समावेश भएका छन् ।)

अनुवादक : रामबहादुर पहाडी

मधुपर्क २०६८ असोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *