Skip to content

मनमाया यसो भन्छिन्

  • by
BirBahadurThakuri

कवि भएपछि
कविले प्रेम गर्नु हुँदैन,
कविले खुशी मनाउनु हुँदैन,
कसैसँग आत्मीयता बढाउनु हुँदैन
कसैसँग वाचा वन्धन गर्नु हुँदैन ।


कवि भएपछि
ऊ सधैँ भोकाइरहेको हुनुपर्छ,
ऊ सधैँ टोलाइरहेको हुनुपर्छ,
अँसु खसाइरहेको हुनुपर्छ,
युवा उमेरमा पनि
कवि बुढो देखिएको हुनुपर्छ,
ठुलो पावरको चस्मा लगाएर
कविले कविता रचिरहेको हुनुपर्छ ।

तिनको भनाइ अनुसार
कविको पर्सनल लाइफ हुनु हुँदैन,
आफू नरम ओछ्यानमा सुतेर
फुटपाथमा निदाएको कुरा लेख्नु हुँदैन,
कवि रिजर्ब हुनुपर्छ,
कवि घमण्डी हुनुपर्छ
कवि लिडर हुनुपर्छ,
कवि निडर हुनुपर्छ,
ऊ कवि जस्तो भएर हिँड्नु पर्छ,
सोसाइटीमा एक्स्ट्रा अडिनेरी देखिएको हुनुपर्छ,
उसको भाग्यमा

मनमायाको भनाइ अनुसार
कवि अलिक लजाउने हुनुपर्छ
कविताले तरुणीहरूको मन सजाउने हुनुपर्छ,
कविहरू गोष्ठी र
जमातमा उभिएको हुनुपर्छ,
कविले दुइचार शब्द बोलेको हुनुपर्छ
वैरीको पाउ पनि मोलेको हुनुपर्छ ।

कविको कविता
सबैको मन टल्काउने हुनुपर्छ,
सबैको ह्रदय पगाल्ने हुनुपर्छ,
आफू रोएर पनि
कविको कविताले
अरुको मनलाई हँसाउने हुनुपर्छ,
कवि र कविता
मनमायाले चाहेको जस्तो हुनुपर्ने रहेछ ।

बी बी ठकुरी
मिल्टन, कनाडा
20/12/2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *