Skip to content


दशैँबाट दशैँ हराएको खबर
छ छैन अखबारमा?

शरद भुईंमा र्लेको छ,
स्कूल मावल गइसकेको छ।
केही आएन भन्न असजिलो छ
तथापि,
दशैँ नआएको कुरा कतै
छ छैन शहरमा?

उन्नाइस तोपको सलामीले भर्खरै
टुँडिखेलको मौन घोडा
उन्नाइस पटक तर्सेको ठीक साँचो हो।
क्यालेन्डरको दशैँ छुट्टीमा
यता कार्यालयबाट,
उता जिन्दगीको व्यस्त चोकबाट
समय घर भागिसकेको पनि ठीक साँचो हो।
तरै दशैँ आएकै खबर नै त
ती पनि होइनन्।

रेडियोको मालश्री,
अखबारको सेलेब्रिटी गफ,
सरकारी गजेटको आधिकारिक सूचना…
यिनैमाझ् कतै हराएको छ
दशैँ।

हलक्क हुर्किएको जमरा,
आकाशलाई हुत्याउँदै मच्चिरहेको पीङ,
सुनसान गाउँको बाटोमा अचानक
घर फर्किरहेका मानिसहरूका ताँती,
हृदयजस्तो एकान्त आँगनको
मखमली फूल र बजारको
सपिङ सेन्टरको भीड पछिल्तिरबाट
निस्किसकेको छ दशैँ।

सूचनामा दशैँ आएको कुरा चाहिँ
ठीक साँचो हो।
राष्ट्राध्यक्षको औपचारिक भाषणमा
दशैँ आएको कुरा पनि ठीक साँचो हो।
रङ्गीन पत्रिकाका मोटा विशेषाङ्कहरूभित्र
दशैँ लुकी आएको कुरा पनि ठीक साँचो हो।
तर, दशैँ आएकै कुरा चाहिँ सही होइन।

साँचो कुरा―
युद्धमा मारिएका मानिसका
टुहुरा छोराछोरीलाई थाहा छ।
टाढा मरुभूमिमा हराएका छोरा पर्खेका
जम्मै आमाहरूलाई थाहा छ।

साँचो कुरा―
गरिबका चिसा मझेरीहरूलाई थाहा छ।
विधवाका ऐनाहरूलाई थाहा छ।
जित्नुपर्ने युद्ध
श्रीरामसिंह बस्नेत
जित्नुपर्ने युद्ध त अर्कै थियो
यो कस्तो जित आइ लागेछ

मान्छेका रुझेका गहहरू
पुछ्नुपर्ने हातहरूमा
रगत कट्कटिएर काइ लागेछ।

जित्नुपर्ने त मान्छेको मन थियो
बाटो बिराएर धन पो जितिएछ

जिन्दगीभर गाँसबासकै जोहोमा
पिल्सिएका निमुखाहरूलाई नै
कुन दर्शनको भूत चढेर हो दुश्मन किटिएछ।

जित्नुपर्ने मोर्चा त अर्कै थियो
यो कुन दलदलमा आएर फँसिएछ

बाटोकै विवाद गर्दागर्दै
गन्तव्य नै हराएका यात्रुहरू झै
अनिश्चयको अँध्यारो जङ्गलमा पो पसिएछ।

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६

Leave a Reply

Your email address will not be published. Required fields are marked *