कहाँ खोज्छौ मलाई तिम्रै आसपासमै छु म
छोएर हेर तिम्रै वरपर बग्दो बतासमा छु म।
छाम्न सक्छौ, छु तिम्रै दिलमा, हेर आँखा भरी
कहाँ भेट्छौ मलाई, तिमीले फेर्ने हर सासमा छु म।
जहाँ पुकार्छौ मनले तिमी त्यहीं हुन्छु म
जूनमा छु, तारामा छु, साँच्चै सिङ्गो आकाशमा छु म।
सुखमा छु, दुःखमा छु, छु तिम्रो हरेक भोगाइमा
आँटोमा छु, पीठोमा छु तिम्रो हरेक गाँसमा छु म।
वनमा छु, छु उकाली ‘रालीका तिम्रा सुसेलीहरूमा
पहाडमा छु, खोलीमा छु, पलाँस अनि गुराँसमा छु म।
हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६
