Skip to content


अन्ततः मैले एक्लै लामो यात्रा गर्ने निर्णय गरें।

त्यो समयमा सोभियत संघमा विशाल भूगोल टुक्रा-टुक्रा पार्ने गरी राजनीतिक आँधीबेहरी आउनुपूर्वको सन्नाटा थियो। मस्को इन्ष्टिच्यूट अफ सिभिल इन्जिनियरिङका मेरा सहपाठी मित्र भरत शाक्य भर्खरै युरोपेली देशहरूको लामो यात्रा सकेर फर्किनुभएको थियो। युरोपको रेलयात्रा निकै सहज र आरामदायी छ। त्यो बेला सोभियत संघमा अध्ययनरत विद्यार्थीहरूलाई हरेक वाहनको शुल्कमा भारी छुटको व्यवस्था थियो। मस्कोमा युरो-रेलको टिकट किनेपछि युरोपका धेरै देश घुम्न सकिन्थ्यो।

५ जुलाई १९९० को २२;३० बजे मस्कोको लेनिनग्रादरस्की रेल्वे स्टेशनबाट मेरो यात्रा शुरु भयो। च्याम्बरमा चार यात्रुको लागि छुट्टाछुट्टै सुत्न/बस्न मिल्ने ठाउँ भए पनि म बाहेक अरू दुई जना मात्र थिए। उनीहरू मस्कोमा पढ्ने चेक गणतन्त्रका विद्यार्थी रहेछन्। चिनजानपछि हामीले स्याम्पेन खोलेर यात्राको शुभारम्भ गर्‍यौं। भोका आँखाहरूलाई सौन्दर्यपान गराउँदै एकाबिहान धर्तीमा सुनौलो घाम पोखिने बेला हामी हेल्सिन्की पुग्यौं। रेल-स्टेसनमा भेट भएका एक पादरीले मलाई चर्चमा जान निकै अनुरोध गरे, आज भगवानको प्रत्यक्ष दर्शन गर्न पाइने दिन हो भन्दै!

त्यो समयमा अधिकांश सोभियत जनता धर्ममा विश्वास गर्दैनथे। त्यसैले ती धर्मगुरुहरू नास्तिकहरूलाई आफ्नो धर्मप्रति आस्था जगाउन, आकर्षित गर्न यसैगरी रेल-स्टेसनहरूमा बल्छी थापेर बस्थे, खास गरेर सोभियत संघबाट हेल्सिन्की आउने पर्यटकहरूको लागि। मलाई पादरीबाट पिण्ड छुटाएर हेल्सिन्की शहरतिर हेलिन हम्मेहम्मे परेको थियो। सन् १५५० मा राजा गुस्ताभले निर्माण गरेको हेल्सिन्की १९१७ मा फिनल्याण्डको राजधानी भएको इतिहास छ। प्राचीन कलाले सिँगारिएको यो ऐतिहासिक शहरको केन्द्रमा सिनेट स्क्वायर छ। डेढ सय वर्षभन्दा पुरानो हेल्सिन्की चर्च सबैको अवलोकन सूचीमा पर्छ। हेल्सिन्कीका भव्य भवन, विश्वविद्यालय र उद्यानहरू जोसुकैका लागि अविस्मरणीय छन्।

हेल्सिन्कीबाट बाल्टिक सागरको नीलोपन र अथाह क्षितिज नियाल्दै गरिने स्टकहोमतर्फको यात्रामा सर्वाधिक रुचाइने सवारी साधन पानीजहाज हो। मी सिल्या लाइन नामको पानीजहाजमा सवार भएँ। सिङ्गो गाउँ अटाउने जहाजभित्र सुपर मार्केट, क्याफे-रेस्टुरेन्ट, साउना-जाकुजी र केटाकेटीहरूका लागि खेल्ने स्पटहरू थिए। कहिले एउटा छेउको मिनी मार्केटमा टहल्दै त कहिले अर्काे छेउबाट घना जङ्गलयुक्त टापुहरूमा दृष्टिपात गर्दै मैले जहाजको कुना-कुनामा चक्कर मारें। ग्रीष्मऋतुमा स्कान्देनाभियाका देशहरूमा राति बाह्र बजेसम्म उज्यालो हुन्छ, जसलाई ह्वाइट नाइट अर्थात् सेतो रात भन्ने गरिन्छ।

सुत्नको लागि आरामदायी क्याबिन हुँदाहुँदै पनि म राति निकै बेरसम्म जहाजको छतमा थिएँ, चिसो सिरेटोसँग साक्षात्कार गर्दै। यसै पनि यो मेरो पहिलो रोमाञ्चक पानीजहाज यात्रा थियो। साँझ् १७:३० बजे हेल्सिन्की बन्दरगाह छोडेको, बिहान ८:३० मा स्कटहोम पुगियो। जुलाई ७ को दिनभर मैले स्टकहोमको फेरो मारिरहेँ। प्राचीनता र आधुनिकताको मिश्रण स्कटहोम शहरका प्रसिद्ध केन्द्रहरू खासगरी नेचुरल हिस्ट्री म्युजियम, मोडर्न म्युजियम, स्टकहोम चर्च, राजप्रासाद आदिको सौन्दर्य र भव्यतालाई आँखाले नियालें, मनले छामें। त्यसपछि कार्ल्सवर्ग बियरको लागि प्रख्यात डेनमार्कको कोपेनहेगनतिर लागेँ।

धेरै सुत्ने, खाने ठाउँ तर थोरै यात्री रात्रि ट्रेनले बिहान कोपेनहेगनको सेन्ट्रल रेल्वे-स्टेशन पुर्‍यायो। त्यहाँबाट म रोजेनवर्ग चर्चतिर लागेँ, त्यसपछि क्रिस्टियाना गएँ। क्रिस्टियानालाई १७औं शताब्दीको प्रारम्भिककालदेखि नै स्वच्छन्द स्वभावका मानिसहरूले गुल्जार बनाएको शहर मानिन्छ। अहिले पनि गाँजा जस्ता पदार्थहरू सजिलै किनबेच हुँदोरहेछ। शहरमा जताततै स्वादिलो डेनिस परिकार हट डगका स्टलहरू लामबद्ध थिए। क्षणभरमै तयार गरिने यो सुस्वादु परिकार पर्यटकहरूका लागि समेत असाध्यै लोकप्रिय खाना हो। त्यस दिनको मेरो लञ्च पनि हट डग नै भयो।

८ जुलाईको मध्यान्हमा म स्वीट्जरल्याण्डको सिमानामा रहेको बासेल शहरमा थिएँ। उत्तर-पश्चिम स्वीट्जरल्याण्डको राइन नदीछेउको बासेलले सानो तर सुन्दर भन्ने विचारलाई आत्मसात् गरे जस्तो लाग्यो। फ्रान्स र जर्मनीको पनि सिमानामा पर्ने बासेलका इलम सङ्ग्रहालय र चर्च पर्यटकका लागि चुम्बक नै रहेछन्। बासेलबाट जेनेभा जाने ट्रेन पर्खिरहेको बेला मैले एक जर्मन चिकित्सक दम्पतीलाई भेटें। उनीहरूले १० वर्षअघि भारतको राँचीमा स्वयंसेवीको रूपमा काम गरेका रहेछन्। त्यही बेला नेपाल पनि गएका रहेछन्। स्वीट्जरल्याण्डको लागि ट्रेन नआउञ्जेल गफगाफ चल्यो।

स्वीट्जरल्याण्डका अनगिन्ती पहाडहरू छेडेर बनाएका टनेलहरू पार गर्दै मैले कल्पना गरें, हाम्रो देशका अक्षत पहाडहरूभित्र यस्ता द्रूतगतिको ट्रेनले कहिले पूर्व-पश्चिम, उत्तर-दक्षिण गर्लान्? यस्तो प्रगति हाम्रै जीवनकालमा होला? या सन्ततिहरूको पालामा मात्र? यस्ता प्रश्नहरूले हुँडलिरहेका बेला मनभित्र अलिकति अवसादले पनि छोयो। जेनेभा स्वीट्जरल्याण्डको मात्र होइन, अन्तर्राष्ट्रिय रेडक्रसलगायत संयुक्त राष्ट्रसंघका अधिकांश संस्थाहरूको पनि राजधानी हो। फ्रेेन्च, जर्मन र अङ्ग्रेजी यहाँका प्रमुख भाषा हुन्। यहाँका सङ्ग्रहालयहरू हेर्न चार घण्टाको समय हात्तीको मुखमा जिरा हुँदोरहेछ। जाँ हेनरी ड्युनाको समयदेखि वर्तमानसम्मका रेडक्रस गतिविधिहरू जान्न र प्रथम विश्वयुद्धका युद्धबन्दीहरूको कथाव्यथा बुझन भाग्यले साथ दिए अर्को पटक अवश्य आउनेछु भन्दै मन बुझाएँ।

१८८६ मा बनेको जेनेभाको द जेट् दीयू वाटर फाउण्डेसन युरोपकै सबभन्दा ठूलो फोहोरा हो। यसमा प्रति सेकेण्ड ५०० लिटर पानी १५० मिटरको उचाइबाट प्रतिघण्टा २०० किमिको दरले खस्छ। यो अभूतपूर्व फोहोरा (हावा)मा झ्रिरहेको पानी ७००० लिटर हुन्छ। विराट फोहोरालाई जति हेर्‍यो त्यति भव्य देखिँदोरहेछ। चिल्ला सडकमा तीव्र गतिमा हुँइकिरहेका कारहरू पैदल यात्रु देख्नासाथ टक्क रोकिँदा रहेछन्। पैदल यात्रुहरूलाई महत्व दिने यस्तो सभ्यता हाम्रो देशमा कहिले पुग्ला?

जेनेभाबाट हिँडेपछि बासेलको सिमानामा ट्रेन परिवर्तन गरेर एकाबिहानै जर्मनीको फ्राङ्कफर्टमा आईपुगेँ। मेन नदी किनारमा बसेको जर्मनीको सबभन्दा ठूलो शहर फ्राङ्कफर्ट युरोपको प्रमुख पारवहन तथा आर्थिक केन्द्र पनि हो। शीतयुद्धताका यो स्थान अमेरिकी सेनाको प्रमुख किल्ला थियो। फ्राङ्कफर्ट रेल्वे-स्टेशन सम्भवतः युरोपको सबैभन्दा व्यस्त रेल्वे-स्टेशन हो। फ्राङ्कफर्टमा केही समय बिताएपछि अर्को ट्रेनमा बर्लिनतिर लागें।

त्यतिबेला बर्लिन रूसीहरूको व्यापारिक सामग्री किन्ने मुख्य बजार थियो। मैले बर्लिनका चेक प्वाइन्ट चार्ली, पोग्रोम सङ्ग्रहालय, व्राण्डेडवर्ग गेटलगायत केही स्थानको तुफानी भ्रमण गरें। सोभियत संघले सन् १९६१ मा निर्माण गरिदिएको चेकप्वाइन्ट चार्ली पूर्वी जर्मनीमा प्रवेश गर्ने विदेशीहरूलाई सुरक्षा जाँच गर्ने स्थान र शीतयुद्धको साङ्केतिक प्रतिबिम्ब थियो। १९९० मा बर्लिनको पर्खाल भत्काइएसँगै चेकप्वाइन्ट चार्ली इतिहासको गर्तमा विलाएर गयो। यद्यपि, ती कठोर दिनहरूको सम्झ्नास्वरुप त्यो ठाउँमा आज पनि एउटा प्रहरीले पहरा दिइरहेको हुन्छ!

क्षितिजमा सूर्यले बिदा लिने बेला म मस्को जाने रात्रिट्रेन समात्न पूर्वी बर्लिनमा थिएँ। र, बर्लिनबाट ५१६ किमि टाढा वार्सा छिचोलेर मिन्स्क हुँदै मस्को पुगेँ। ग्रीष्म ऋतुकालीन मेरो युरोप ट्रेन यात्रा मौसमका कारण पनि अत्यन्तै मनोहर भयो। १३ जुलाईमा मस्को आइपुग्दा मैले ट्रेन र पानीजहाजबाट युरोपको ५६३८ किमि परिधि तय गरेछु। यो अवधिमा मनले चाहिँ कति फन्को मार्‍यो, गनिसाध्य छैन।

रमाइलो र सुरक्षा अनुभूतिका लागि प्रायः साथीभाइसँग विनोदपूर्ण यात्रा गर्नेलाई एक्लो भ्रमण आफ्नै स्वादको हुँदोरहेछ। न औपचारिकताको बन्धन न तालिकाको यान्त्रिकता। आफूलाई सुसेल्न मन लागे सुसेल्ने, खान मन लागे खाने। हिँड्न मन लागे हिँड्ने, किताब पढ्न मन लागे पानाहरू पल्टाउने। जे मन लाग्यो, त्यै अन्तिम निर्णय!

सामूहिक यात्रामा आफ्नै मन र आँखालाई पनि बण्डा गर्नुपर्छ। एक्लो यात्रामा साँच्चै यायावर शैलीको निजात्मकता मौलाउँदो रहेछ। त्यसैले होला, रहस्यको दुनियाँ पहिल्याउन निस्केका साधुहरूले मर्जीको मालिक र पाइलाको सम्राट हुन एक्लो यात्रा रोजेका!

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६

Leave a Reply

Your email address will not be published. Required fields are marked *