Skip to content


बाल्यकालको सम्झ्ना दिलाउने दुङमाली किरात राई मातृभाषी हुनेसँग जोडिएका केही तीतामीठा प्रसङ्ग छन्। पहिलो प्रसङ्ग, मेरी मावली बोजु (हजुरआमा)को। पल्टनमा जमदार बाजेले त्यतिबेलाको नेपालकी मगर्नीलाई पँधेराबाटै तानेर भोजपुरको उदेकलाग्दो गाउँमा पुर्‍याउनुभएछ। रहँदाबस्दा बोजुले गाउँको भाषा, परिवेश र संस्कृति यति आत्मसात् गर्नुभयो, कसैले बाहिरबाट आएको भेउ नै नपाउने भो! दुङमालीले बोजुको मातृभाषा समेत कप्लक्कै निलिदियो।

जीवनकालमा उहाँ एकपल्ट पनि माइत जानुभएन। माइतीको एउटा मात्र चिठ्ठी पनि निधनपछि आइपुग्यो। बोजुले सामना गरेको भाषिक कठिनाई म भन्न सक्दिनँ, तर २०४९-५० ताका मैले केही कठिनाईसँग जुध्नुपरेको थियो। हैरानै भइयो। तर त्यसले बोजुको जस्तै सकारात्मक गति लिनु रहेछ, लियो।

खसे पुकको शक्ति
प्राथमिक शिक्षादेखि नै नेपाली पाठ्यक्रमअन्तर्गत नेपालीमै पढाइ हुने विद्यालयमा बाहिरबाट आएका नेपालीभाषी मास्टरहरू हामीलाई नेपालीमा अभ्यस्त पार्ने अनेक कोसिस गर्नुहुन्थ्यो, तर हाम्रो जिब्रोमा यो भाषा बस्नै मान्दैनथ्यो। फुल पार्ने दशथरी पक्षीको नाम लेख भन्ने प्रश्न कसोकसो बुझ्ेछौं। सबै उत्तर लेख्यौँ, तर आफ्नै मातृभाषामा (अझै पनि म कतिपय चराचुरुङ्गी र बोटबिरुवालाई नेपाली नामले चिन्दिनँ)। कापी जाँच्दा सरले बुझनुभएन। धन्न, ती सरले स्कूल नजिकै बिहे गर्नुभएको थियो; त्यही अन्तरजातीय विवाहले हाम्रो उद्धार गरेछ।

पाँच कक्षाको अङ्ग्रेजीको जाँच घोकेरै दिइयो। नेपालीमा अङ्ग्रेजीको भन्दा कता हो कता धेरै लेखियो, तर के लेखेँ थाहा थिएन। तीनटा प्रश्न बाँकी छँदा नेपाली पढाउने सरले आएर कालोपाटीमा धमाधम उत्तर लेखिदिनुभयो। हामी पास भयौं।

ल्लास्तरीय जाँच थियो, अरू विषय बिगारे पनि नेपालीमा विद्यार्थी फेल भए सरहरूलाई अप्ठ्यारो पर्छ भनेर त्यसो गरिएको पछि मात्र थाह भयो। त्यसबेला अलिअलि हाम्रो मातृभाषा बुझने र बोल्नेलाई मात्र हामी हाम्रो सर ठान्थ्यौं-भन्थ्यौँ, अरू सरहरू अरू हुन्थे। गाउँभरि सबै जातकाले दुङमाली भाषा नै बोल्थे। हाम्रा लागि नेपाली भाषा खसे पुक (खस कुरा) थियो।
मेरो लागि नेपाली, अङ्ग्रेजी, गणित सबै उस्तै थिए। त्यसमाथि एकताका हामीलाई संस्कृत पनि पढाइटोपलियो जस्तो लाग्छ। पाँच कक्षासम्म के के पढेँ भनेर अहिले सम्झँदा हात लाग्यो शून्य हुन्छ। र पनि, नेपाली भाषाको चाम्रो चिउरा चपाउने असली कसरत गर्नै बाँकी रहेछ, जुन जसोतसो पाँच कक्षा छिचोलेर अर्कै माहोलमा पुगेपछि शुरु भयो। मजैले तर्सायो, नेपालीको भूतले। कक्षामा प्रायः सबै साथी नेपाली मातृभाषीथिए। तिनको चुरीफुरी नै अर्को। आफू भने सधैँ अक्क न बक्क। तर जसरी पनि खसे पुक जान्नैपर्ने बाध्यता आइलाग्यो। कनीकुथी बोल्नै पर्दा कसैले बेस्कन घाँटी अँठ्याए जस्तो हुन्थ्यो, आवाजविहीन जिब्रो खाली हल्लने मात्र। अनि साथीहरू खिसी गर्थे, मास्टरहरू हाँस्थे। हामी लाज र लघुताभासले भुतुक्क हुन्थ्यौं। जानेका कुरा पनि मुखैमा अड्किन्थे। कक्षामा सधैं चुपचापबस्थ्यौं। मातृभाषामा उटपट्याङ अर्थ लाग्ने नेपाली शब्दहरू आउँदा अचानक हाँसिन्थ्यो। अङ्ग्रेजी, विज्ञान र गणित पढाउने सरहरू तराईका साह र मण्डल थरका हुनुहुन्थ्यो। अरू साथीका लागि उहाँहरूको नेपाली पनि हाँसोको विषय बन्थ्यो।

तैपनि अरू दुङमाली साथीहरूको भन्दा मेरो नेपाली राम्रो रहेछ। त्यसैले उनीहरू धेरैजसो मामलामा मलाई अगाडि सार्थे। धेरैको प्रेमपत्र पनि लेखिदिएँ। लेखेर स्वाद मानी-मानिकन वाचन गरिदिएपछि मात्र चिठी खामबन्दी हुन्थ्यो। नेपाली लवज राम्रो बनाउन रातभर पाठ्यक्रमका कविताहरू सस्वर वाचन गर्थे। एउटा वादविवाद प्रतियोगितामा पहिलो भएपछि भने मेरो आत्मविश्वास बढेर आयो। पुरस्कारमा गोटाको रु.१ पर्ने तीनवटा कापी पाएपछि खसे पुकको शक्ति थाहा पाएँ।

यति हुँदासम्म पनि, साथीहरूसँग गफगाफ गर्दा बीचबीचमा दुङमाली पसिहाल्थ्यो। कतिपयले जिस्क्याउँथे, “हामीलाईनि सिकाउ न तिम्रो भाषा, तिमीलाईनि सजिलो, हामीलाईनि मजा!” तर म त बिस्तारै घरमा पनि खसे पुक नै बोल्न थालेको थिएँ। शायद म जीविकोपार्जनको लागि गाउँबाट बाहिरिने तयारीमा थिएँ, मेरी बोजुको मातृभाषालाई कुप्लुक्क पार्ने दुङमालीको ठाउँमा म पर्वते नेपालीलाई ठेल्दै थिएँ। अब त गाउँमै पनि हामीमुनिका पुस्तालाई सानैदेखि नेपालीमा बानी पार्ने प्रयत्न शुरु भइसकेको थियो। मातृभाषाको सङ्कुचनसँगै क्रमशः सम्पर्क, सम्बन्ध र सम्भावनाहरूको दायरा फराकिलो हुँदै थियो।

कतिसम्म भएछ भने, धेरैपछि आएर गोरखापत्र को नयाँ नेपाल पातोले मसँग मातृभाषाको परीक्षा लिँदा फेल भएछु। लेख्य परम्परा नभएको दुङमाली पुक बोल्दा मलाई जति मीठो र सहज लाग्थ्यो, गोरखापत्र का लागि एउटा लेख सिध्याउन त्यति गाह्रो भयो। अन्त्यमा, नेपालीमै सरसर्ती लेखेर दुङमालीमा उल्था गरेँ। लेख दुङमाली, भाव नेपाली रह्यो। स्कूले जीवनको त्यो अप्ठ्यारो ठ्याक्कै उल्टिन पुगेछ। यसमा अभ्यासको अभावले काम गरेको थियो। दुङमाली भाषाको वर्ण निर्धारणमा सहभागी भएपछि मातृभाषाको त्यो लेेखमा भएको भाषिक र व्याकरणीय त्रुटि थाहा पाएँ।

अभिव्यक्तिमा मातृभाषा
२०६७ मङ्सिरमा जलेश्वरको एक कार्यक्रममा सीके लालले आफ्नो मातृभाषामा बोलेको क्षण मेरो स्मृतिमा सधैँ नाचिरहन्छ। नेपाली, अङ्ग्रेजी र हिन्दीमा राम्रो पकड भएका सीके सरको मातृभाषा मैथिलीको अभिव्यक्तिमा बेग्लै तागत थियो। त्यसैगरी, सभासद्द्वय रामशिला ठाकुर र इन्द्रावती अधिकारी दनुवारले मसँग गरिरहेको कनीकुथी नेपालीले त्यतिखेर पल्टा खायो जब बीचैमा मोबाइलको घण्टी बज्यो। फोनमा बोल्दा उहाँहरू दुवैले मातृभाषाको वाक्पटुता र कमाल देखाउनुभएको थियो।

दोस्रो भाषा अर्थात् पछाडि करले सिकेको भाषामा आफूलाई भन्न मन लागेको र थाहा भएको कुरा पनि चाहेअनुरुप भन्न सकिँदैन। अर्कोतिर अर्थको अनर्थ नलागोस् भन्ने पिरलो उत्तिकै हुन्छ। राजनीतिक जीवनसँगसँगै नेपाली भाषाको व्यावहारिक अभ्यास थालेका सभासद्द्वयले अझै सिक्दै गरेको बताउनुभयो। यो सिक्ने क्रममा हामी अङ्ग्रेजीतिर कसरी लहसिएका छौं भन्ने वर्णन कसैले गरिरहनुपर्दैन। मेरो आफ्नो अवस्था चाहिँ कस्तो छ भने, अङ्ग्रेजीमा अभिव्यक्त गर्नुपर्ने बाध्यतामा फँस्दा पनि व्यवहारमा बिरानो भइसकेको उही मातृभाषाले साथ दिन खोजिरहन्छ। विदेशीहरू लट्टे पड्के झै अङ्ग्रेजी बोलेको सुन्दा मलाई दुङमालीमा धाराप्रवाह हुन मन लाग्छ। अनि फेरि बोजुलाई सम्झ्न्छु।

छोराले बोलाएपछि उहाँ मलाया घुम्न जानुभयो। एयरपोर्टमा र्लिएपछि एउटा भीमकाय गोराले के-के, के-के सोधेछ। बोजुले अन्दाजकै भरमा आफ्नो कुरा राख्दा पहिला जानी-नजानी नेपालीमा बोल्नुभएछ। गोराले बुझ्ेन। अनि दुङमाली भाषामा भन्नुुभएछ। गोराले अझै बुझेन। बिर्सिसकेको मगर भाषा पनि प्रयोग गर्नुभएछ। गोराले फेरि पनि बुझ्ेन। अब त झवाँक चल्यो, बोजुलाई। उहाँ दुङमालीमा कड्किनुभएछ, “यत्रो मलेवा शहरमा बस्ने साहेपलाई म पाखादेखि झ्रेकी बूढी मान्छेले यत्रो कुरा भन्दा पनि अझ् सोधिरहने?”

अनि चाहिँ गोराले हाँस्दै बाटो देखाइदिएछ। बोजु भन्नुहुन्थ्यो, “मलाई त दुङमाली नै सजिलो।”

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६

Leave a Reply

Your email address will not be published. Required fields are marked *