तातो नेपालगञ्जबाट उडेको जहाज छिर्केमिर्के पर्वत शृङ्खला छिचोल्दै गयो। सुर्खेत, कालीकोट, दैलेख, मुगुका टिलिक्क टल्किँदा दृश्यहरू झ्ल्याकझुलुक देखिए। भर्खर घाम खसेको उत्तरको सेपिलो वन एवं दक्षिणको मुडुलो पठारको खोंचैखोंच रहेछ, जहाज मार्ग। ठिङ्ग उभिएर छेका काटेका अग्ला बाङ्गाटिङ्गा पहाड फटाफट कट्दै गए। कर्णाली, भेरीपछि नागबेली परेको तिला नदीले बतासिँदो जहाजलाई डोर्याउँदै लग्यो। कच्ची सडकको रेखाङ्कनले कोतरेका भूक्षयका विरुप दृश्यहरू देखिए। नाग्मा, तातोपानी र बोहोरा गाउँको विविधतामा आँखा चुर्लुम्म डुब्दै गए। अग्ला पहाडहरूको बीच सानो जुम्ला उपत्यकामा जहाज ‘र्लियो। गर्मीयाममा पनि चिसो सिरेटोले मुटु छोयो।
एकसरो भाङ्ग्रोमा यत्रतत्र देखिन्थे, पुरुषहरू। रैयाँ, हमेल आदिले बेरिएका उदासीन महिला अनुहारले जुम्लाको वास्तविकता खुट्याइरहेको थियो। देशको दुर्गम अनकन्टार कुनामा जन्मिनुको पीडा बुझाउन जुम्लेली अनुहारहरू काफी थिए। दोहोरो घरका गल्लीको हार बसेको दुर्गम जुम्ला बजारमा जहाजबाट ‘र्लनुपूर्वका सौजन्यहरू नबिर्सिंदा थिए।
पश्चिम ढल्केको पाखोमा जुम्ला बजार लम्पसार परेको थियो। मुख्य बजार, बीच बजार, ब्याङ्क रोड उल्लिखित घर, गल्ली माथि झुण्ड्याइएका साइनबोर्डहरूले दिशानिर्देश गर्दथे। खुला नालीमा सुलुलुुलु बग्ने मानव मलमूत्रले नाक छोप्न बाध्य पार्थ्यो। नुनतेल ढुवानी गर्ने कर्णाली जहाज अर्थात् घोडा-खच्चडको लर्को दूरदूरसम्म बाक्लै देखिन्थ्यो। कैयौं दिन लगाउँदै लुर्कुटे कर्णालीमार्ग छिचोलेर गलेका एकदुई धुलाम्मे ट्याक्टर बजारका छेउछाउ किनारा लागेका थिए। माथि थुम्के डाँडोमा चिसोले बितेका सल्लाका चमरहरू झ्म्रक्क ‘इलाएका थिए। चिसो स्याँठले लपेट्ने पातारासी, कान्जीरोवा हिमालका दृश्य स्वर्णिम नूपुर ‘ढेर ठाँटिएका थिए।
तिला नदीलाई पश्चिमी काखमा च्यापेर आफ्नै पहिचान दिइरहेको थियो बजारले। तिलातर्फ ‘र्लिंदा खर्वोटे, हाडे, तुर्कौलेटार आदि रातो मार्सी धानका विशाल फाँटहरूको लहलहले स्वागत गर्थ्यो। पहाडमुनि ब्यारेक, ब्यारेक तल कलेज, कलेज तल एयरपोर्ट, एयरपोर्ट तल सरकारी कार्यालयहरू र तिनको तल बजार ठाँटिएको थियो। कर्णालीको सिङ्गो संस्कृतिको प्रतीक चन्दननाथसँगै मस्टो देवताका लिङ्गोमा ध्वजा फरफराइरहेको थियो। जुम्लाकी धमनी तिला मस्टो मन्दिर तल फाँटको पाउमा गुन्गुनाउँदै उन्मेष वेगमा बगिरहेकी थिइन्।
कान्जीरोवा हिमाल पुत्री तिनै तिलातर्फ फटाफट ‘र्लिएँ, म। कर्णाली बन्ने हतारमा कल्कलाउँदो वेग मारेकी शुद्ध तिलालाई देख्दा म जस्ता असङ्ख्य बटुवाहरू यिनको रुप चियाएर हुरुक्क भए होलान्। अग्ला-अग्ला चट्टानमा ठोकिँदै बुर्कुसिने तिला साँच्चिकै जुम्ला सुन्दरी थिइन्। कतै छिरिँदै त कतै उतारचढावमा डोलिँदै सम्हालिने कर्ममा क्रियाशील थिइन्, तिला। कन्चन छाल ‘ढेर जुरुक्क उठ्दै मन्द गतिमा हुँइकिरहेकी ऊर्जाशील तिलाको वयस्क वेग पार गर्न मेरो के सामर्थ्य!
कार्तिकस्वामी गाउँ जोड्ने तिलाघाटको पुलमा थचक्क बसेर तिलाको कौशिक यात्राको साङ्गोपाङ्गो छालमा एकटक नजर लगाएँ। धन्य तिम्रो सुन्दर रुपको अटुट धीरगति।
पुकुदुम मार्दै तिला तर्ने मेरो उत्कट सुरमा भने स्कूले नानीहरूले सही सल्लाह दिए― “ए बाजे, आँट नगर्नु।” रैथाने ग्वाला सरह छालसँग खेल्ने तिर्सना अधुरै रह्यो। छालले नलपेट्ने पूर्वी किनारमा होसियारीपूर्वक डुबुल्किँदै कर्म सिद्धि गरेँ। पूर्वजहरूको सम्झ्नामा अञ्जुली अर्घ उभाएर सूर्यलाई सङ्कल्प गरेँ।
तिलाको गति सदावहार छ। तिलाको स्पर्श ऐश्वर्यमा एकपल हराउँदा सात समुन्द्र माथिको विजयउत्सवको गर्वानुभूति भयो। कर्णाली यात्राको पहिलो छनोटकी जल अप्सरासँगको मग्नता भङ्ग गर्न समयले चुनौतीको घन्टी बजाइसकेको थियो। पुच्छर डोलाउँदा वस्तुभाउ फाँट चरनमा छोडेर तिलाको छालमा फालहाल्न बुर्कुसिँदै थिए ग्वालाहरू। एकहूल मलामी पुल तलको घाटमा अस्तु सेलाएर गाउँतर्फ उक्लिएको देखियो।
समयको इशारा अनुरुप जुम्लाकी शृङ्गार तिलालाई नमस्कार अर्पेर पलायित भएँ। सग्लो फाँटहँुदै बजार र पहाड उक्लिएँ। डाँफे जुरेली पर्वतमाला उक्लिँदै गएँ। तिला भने आफ्नै गुन्गुनाहटमा अविरल बगिरहेकी थिइन्। हेर्दाहेर्दै तिला र मबीच नागवेली अवरोधहरू तेर्सिन थाले। स्याउका कलिला मुनाहरूले हावासँग नाचेर तिलाको शोभा बढाएका दृश्यहरू खुसुकखुसुक कट्न थाले। केही पल पहिले नमस्कार गरेकी तिला भने मेरा दुवै आँखामा तैरिरहेकी छन्।
हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६
