“……… बन्दैन मुलुक दुई चार सपुत मरेर नगए………”
“शहीदको सपना” शीर्षक कवितामा कवि भूपि शेरचनले दुई चार पुत्रहरूको बलिदानबिना मातृभूमिको सम्पन्नता असम्भव नै छ भनेर बुलन्द आवाज प्रतिध्वनित गरेका छन्……
हुन पनि हो आज हामी जुन धर्तीमा अडेका छौ जुन हावा हाम्रो प्राणवायु बनेर बहन्छ अनि जुन जलले हाम्रो तिस्रना मेटाउँछ ती सबमा वीर सपुतहरूको त्याग र बलिदान नै प्रतिविम्बित छ । यो माटोमा सिचित ती विरहरूको रक्त-पसीना नै हाम्रा साँध-सीमाना बनेर रहेका छन्………
कल्पना गरौं त पृथ्वीनारायणको ठडिएको औलाले हामीलाई के को सूचना दिइरहेको होला………? कालु पाँडे बहादुर शाह अनि गोरखाबाट आफ्नो प्राण हत्केलामा राखेर, मुलुकको एकता र संगठनका लागि आफूलाई बलिदान गर्नलाई शीर ठाडो पारेर आएका ती सपुतहरूको योगदान नहुँदो हो त के आज हामी अखण्ड अविभाज्य र सार्वभौमसत्तासम्पन्न मेची र महाकालीको सीमाना अनि सगरमाथा र तराईको साँधमा रहेको करीब डेढ लाख वर्ग किलोमीटरमा फैलिएको यो सुन्दर राष्ट्र्रको सन्तति भएर रहन पाउने थियौं होला त? ती सच्चा शहीदहरूको आहुतिले नै पृथ्वीराजाको मुलुक एकीकरणरुपी महायज्ञ सुसम्पन्न हुन सकेको हो
त्यस्तै यस मुलुकलाई गिद्धे नजर लगाई हिमालयको काखमा आफ्नो साम्राज्य फैलाउने कुचेष्टा गरेर धावा बोल्ने अंग्रेज साम्राज्यवादीहरूको प्रयासलाई निरर्थक बनाउन आफ्नो प्राणसमेत उत्सर्ग गर्न तम्तयार विरहरू भक्ति, बलभद्र, अमरिसंह अदिको योगदान कसरी भुल्न सकिन्छ र?
मित्रराष्ट्र अनि आजका शक्तिराष्ट्रहरूलाई समेत आफ्नो पंजामा राख्न सफल अंग्रेजहरूलाई “सुगौली सन्धि” गर्न बाध्य पार्ने ती महापुरुषहरूलाई श्रद्धा व्यक्त नगरी कसरी हामी सदा स्वतन्त्र राष्ट्रका नागरिक हौ भनी गर्व गर्न सकौला र? त्यसैले त कवि गोपालप्रसाद रिमाल भन्छन् “साम्राज्य दुई हारे हारेन शान हाम्रो ……”
बाहिरी साम्राज्यवादीहरूले गलाउन नसकेको हाम्रो अस्मितालाई हाम्रै राजपरिवारमा रहिरहेको सत्ता-संघर्षबाट फाइदा उठाएर एक भित्र शताब्दीसम्म जहानियाँ शासन चलाएर राणशाहीहरूले कुल्चिदिए । त्यही शताब्दी लामो शासनलाई जरैदेखि उखेलेर फ्याँक्न अनेकौ महामनाहरूले आफ्नो प्राण उत्सर्ग गरिदिए । शव्रुराज धर्मभक्त दशरथचन्द गंगालाल अदि महात्माहरू सदा प्रातः स्मरणीय रहनेछन् रहिरहेछन् । हुकुमी शासनलाई सधैका लागि समाप्त पारेर प्रजातन्त्रको बिहानी ल्याउनका लागि हाँसी हाँसी फाँसीमा झुण्डिन छातीमा गोली थाप्न तयार हुने ती विरहरूको बारेमा एक कविले साँचो कुरा लेखेका छन्,
“आमा मरे म भन्दै ऊ शहीद भएर बाँच्यो ……”
तर ती विरहरूको प्रयास निरर्थक पारिदिए पछि आएका शासकहरूले …………प्रजातन्त्र चिरस्थायी भएन … भुईंफुट्टा नेताहरू लोभ स्वार्थ अनि भ्रष्टाचारको दलदलमा फस्न पुगे ……. अनि त……शिशु प्रजातन्त्रको एक दशकको कलिलो उमेरमा नै घाटी निमोठियो ………। कवि भूपिको भनाइ सत्य साबित भयो,
“…हामीले आफ्नो कर्तव्य बिस्रे इतिहासले धिक्कार्ला …
गोली निलेका शहीदको प्यारो लाशले धिक्कार्ला ……”
ती शहीदहरूले / इतिहासले धिक्कार्यो हामीलाई किनभने आफ्नो प्राण उत्सर्ग गर्ने शहीदको सपना त्यसपछि उदाएका नेता कहलिएकाहरूले लत्याइदिए ……।
तर पनि अरु विरहरूको जन्म भइरहयो यस धर्तीमा ……… कलिलैमा चुडिएको प्रजातन्त्ररुपी कोपिलाको रक्षाका लागि अनि लोकतन्त्रको फुल फुलाउनका लागि विरहरू लगिरहे ……… तीस वर्षे पन्चायती कालरात्रिका बेलामा पनि आकाशमा पिलपिलाउँदो प्रकाश बोकेर ताराहरू उदाइरहे …… ती ताराहरूलाई आकाशबाट धर्तीमा झार्न शासकहरू पनि निरन्तर लागि नै रहे । यज्ञ बहादुर थापा, सरोज कोइराला आदि सपुतहरूले प्राण उत्सर्ग गरे । पछि २०४६मा तिनको बलिदानले फल प्राप्त गर्यो………प्रजातन्त्र पुनस्र्थापित भएरै छाड्यो ………
“एक जुगमा एक दिन” आएरै छाड्यो…… त्यस आन्दोलनले पनि सयौंका संख्यामा शहीदहरू धर्तीमा चढायो हाम्रो माटो ती विरहरूको रगतले सिचित भयो अनि पुन प्रजातन्त्र आयो । एउटा गीतमा गीतकारले भनेका नै छन्,
“नेपाली माटो समाई सुँघेर हेर आज
शहीदको तातो रक्त दिन्छ सुगन्ध आज”
तर लोभीपापीको जमात जहाँ पनिरहिरहन्छन्, शहीदको यत्ति ठुलो बलिदानलाई चटक्क बिस्रेर आफ्नै दुनो सोझ्याउन दिनरात लगिरहे ती …… अनि ५-६ वर्ष पनि नपुगी पुनस्र्थापित प्रजातन्त्र यस धर्तीमा अफाफसिद्ध झैं हुनपुग्यो………
“कोही त भने जहाजमा सरर…
काही त भने पसीना तरर………”
भनेझैं कुर्सीमा पुग्नेहरू अँझ धनी भइरहे तर धर्तीमा पसीना चुहाउनेहरू जहाँका तहीं रहिरहे…. धर्तीमा रगत सिचन गरी स्वर्गवासी भएका शहीदहरू हेरेका हेर् यै भइरहे…….
अनि त गरिब वर्गहरू केही नेताहरूको आव्हानमा भए पनि हतियार बोक्न जंगल पस्न विवश भए…… ती शासकहरूको भ्रष्टाचार, जमिन्दारको अत्याचार अनि साहुहरूको अन्यायबाट बच्न त्यो बाहेक ती गरिब/ कृषक/ शोसित-उत्पीडितहरूको उपाय पनि थिएन । दशक लामो त्यो लडाइँले पनि हजारौं शहीदहरू जन्मायो……… तिनै विरहरूको सत्प्रयासले मुलुकमा गणतन्त्र/ लोकतन्त्रको घाम लाग्यो ।
यसरी पृथ्वी वीरबाट शुरु भएको यस देशको निर्माण कार्य आजसम्म आइपुग्दा अनेकौं शहीदहरूको बलिदानबाट दिन प्रतिदिन चलिरहेको छ अघि बढिरहेछ । ती इतिहासको अनेकौं काल खण्डमा जन्मेका शहीदहरू हाम्रा लागि सदा-सर्वदा वन्दनीय छन् पूजनीय छन्….. भूपिले भनेझैं
“हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको
हामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदको
हाम्रो मुटुको प्रत्येका चालमा छ धड्कन शहीदको
हाम्रो खुशीको प्रत्येक पलमा छ जीवन शहीदको”
तर आज ती शहीदहरूको अवमूल्यन भएको छ किनकि आज “शहीद” शब्दलाई हाम्रा शासकहरूले यत्ति सस्तो यति बिकाउ बनाए कि “……लाईभन्दा देखनेलाई लाज” भनेझै भइसक्यो । आज त सडक दुर्घटनामा मर्नेहरू पनि, आत्महत्या गर्ने कायरहरू पनि अनि ग्याङँ फाइटमा मर्ने कैदीहरू पनि “शहीद” बन्ने योग्यता राख्ने भए………… एउटा हत्यारा कैदीलाई “शहीद” नमानेको भनेर नेतृत्वदायी कहलिएको पार्टीले समेत “नेपाल बन्द”को आव्हान गरेको छ आज….. धिक्कार छ ……भूपिकै वाणी गुन्जिरहेछन् अहिले,
“धर्तीले मुख लाजले छोप्ला आकाशले धिक्कार्ला, शहीद रोलान् हामीले उन्नति गरेर नगए ”
डा. अजय रिसाल
मानसिक रोग विशेषज्ञ
धुलिखेल अस्पताल
