पक्की भवनमा हिमालको झैं चुचुरो उठाएर बनेका भवन, बाटो छिचोल्न समस्या पर्ने सडक गल्लीहरू र मानिसहरूको भीडभाडले दैनिक कामको लागि समयमा अफिस वा अन्य ठाउँमा पुग्नु पर्ने यात्रीहरूलाई पनि निकै गाह्रो पर्ने यो गाउँ नभएर एउटा प्रख्यात अनि विश्वमा चिनिएको नामी शहर थियो । यसको नाम राजधानी भनेर चित्रित गरिएको शहर हो । यहाँको जनघनत्व देख्दा यस्तो लाग्दथ्यो कि पुरै देशका मानिसहरू केवल यही शहर भित्र कोच्चिएर बसेका छन् ।
उत्तरतर्फ हिमाली शृंखला देख्न सकिने पहाडको बीचमा अवस्थित यो राजधानी नामको शहरले धेरैलाई गास-बास दिएको छ भने धेरैलाई बरबाद पनि गरेको छ । सरकारी तथा गैर-सरकारी अफिसहरूको सर्वसुलभ र च्याउ झैं उम्रिएका होटल व्यवसायीहरूले पाहुनाहरूलाई खोसाखोस गर्दै कसैले यता त कसैले उता पाखुरामा समातेर तानिरहेको दृष्य देख्न पाइन्छ यो शहरमा । त्यतिबेलाको यो दुर्दशा र फोहोर मैला अनि धुलो धुवाँ बटुलेर बसेको यो शहरमा सयौं वर्षदेखि मानिसहरू बसोबास गर्दै आइरहेका पनि छन् । उनीहरूको लागि यो शहर नै विश्वको अमुल्य ठाउँको रुपमा लाग्नु स्वभावीकै हो किनभने मानिसले जहाँ डेरा जमाएर बसेको हुन्छ त्यो उसको सवैथोक हो भन्ने कुरालाई हामी सबैले मनन् गरेका पनि छौं ।
यस्तै यसै शहरमा करिब करिब १४ वर्षको उमेरदेखि अहिले २२ वर्षको उमेर हुनेसमय सम्म यसै शहरसँग जुद्धै भिड्दै बसेकी ललिताको पनि यो शहरसँग आफ्नो एउटा छुट्टै सम्झना राखेकी छिन् । प्रहरीको जागिरमा सम्मिलीत बनाउन सकेकी ललिता कहिले कामबाट दिक्क भएर विश्राम गर्ने दिनको पर्खाइमा बसेकी हुन्थिन् । हुन त उनले जागिर खाएको पनि ५ वर्ष भैसकेको थियो । उनले काम गर्ने क्षेत्र ठूलाबडाहरूको क्षेत्र भएकोले यहाँ नामी र दामी कारहरूमा कालो टोपी ढल्काएर सुईंकिनेहरूको पनि कमि थिएन भने आफ्नो अफिसमा आउने यस्ता व्यक्तिहरूको स्वागतमा खुट्टा बजारेर सैनीकी अभिवादन (सलाम) गर्दा गर्दा हैरानै भएकी ललितालाई नोकरीबाट दिक्क लाग्नु पनि स्वभाविकै थियो ।
एकदिनको कुरा हो, ललिताले पत्तो नै नपाईकन त्यहाँ इनिस्पेक्टर करण दासको आगमन भयो । उनी ड्यूटी रहँदा कुनैपनि दिन यस्तो लापरवाही गरेकी थिइनन् तर आज उनको ध्यान कहाँ थियो करण दासको आगमनको पत्तो नै पाइनन् । गाडी चालकले एकछिन हर्न पनि बजाइ रह्यो तर यो सोरसराबाको शहरमा उनलाई कारको हर्नको कुनै अनुभव नै हुनसकेन । झन चर्को आवाजमा एकोहोरो बजेको हर्नले ललिताको कानलाई कोलाहालमय बनाइदियो र उनी झस्कीन पुगिन् । “ओहो १” भन्दौ दौडदै गएर गेट खोली फेरि उही अभिवादन खुट्टा बजारेर सलामीको । करण दास आज सिभीलमा आएको हुँदा उनले टाउकामा भाद्गाउँले कालो टोपी लगाएका थिए । उनलाई यस कालो टोपीले निकै स्वभायमान गराएको थियो । साँच्चै यो टोपीले हरकसैको स्थान, मानलाई उच्च बनाइदिन्छ । कति महत्वको टोपी छ यो कालो टोपी ।
केही समय मै ललितालाई बोलाउन एकजना प्रहरी आइपुग्यो र भन्या- “ललिता दिदी, हजुरलाई करणदास सापले अफिसमा बोलाउनु भएको छ ।” उनलाई आश्चर्य लाग्यो, कताकता उनको बढुवा हुने हल्ला पनि चलेको हुनाले हो न हो “आजै मेरो बढुवाको खबर सुनाउन मलाई करणदास सापले बोलाउनु भएको होला । ” भन्ने सोचाइले ललिताका अनुहारमा चमक आउन थाल्यो र खुशी हुँदै उनी करण दासको अफिसमा प्रवेश गर्दै – “सलाम साप, मलाई हुकुम के होला हजुर” भनी विनम्र अनुरोध गरिन् ।
करण दास:- ओक्क्क्क् ललिता, सुन्दर नाम छ , तिमीलाई ड्यूटी निभाउन राम्रो आउने रहेछ । धन्यवाद, तिम्रो ड्यूटीदेखि म अति नै खुशी भएको छ ।
ललिताः- (ललिताको त अब झन खुशीको सीमा नै रहेन ।) मैले जे सोचेको थिएँ आखिर त्यही नै रहेछ । धन्यवाद साप,
करण दासः- म १० मिनेटदेखि गेट बाहिर उभिएको छु, गाडीले त्यतिबेरसम्म हर्न बजाएको बजाएै छ र पनि तिम्रो कानमा आवाज पुगेन, नोकरीदेखि हात धुने विचार छ । तिम्रो बढुवाको हल्ला चलीरहेको बेलामा आफैले आफ्नो गन्त्व्यमा प्रहार गर्ने तिमी कस्तो । आज त म आएको थिएँ, यही ठाउँमा कुनै वदमाशहरू पसि दिएको भए र यहाँको सुरक्षामा कमजोर स्थिति आएको भए के गर्थ्यौ । तिम्रो हातमा भोली बढुवाको होइन सरुवाको पत्र आइपुग्ने छ । ल जाउ आफ्नो ड्यूटी प्रति चनाखो भएर काम गर ।
करण दास रिसले आगो हुँदै बाहिरिए । ललिताले निकै कोसिस गरिन् माफी माग्ने तर एक कान नसुनी करण दास गाडीमा चढेर हुईंकिए ।
रातभरि ललितालाई निन्द्रा नलाग्नु स्वभाविकै हो किनभने उनको एउटा सानो गल्तीले आज कति धेरै कुराहरू सुन्नु पर्यो । पत्र खोली हेर्दा त्यहाबाट सरुवा भई देशको सीमाक्षेत्रमा पर्ने व्यारेकमा पुग्नु पर्ने भयो । पर्सी त उक्त ठाउँमा ड्यूटी गर्न पुग्नु नै पर्ने हुन्छ । यो खबर साथीहरूसँग पनि उनले भनिन र रातभरि उनीहरूसँग गर्दै आएको यात्रा र कुनै समयमा भएको तिता मिठा कुराहरूको समिक्षा गर्दै बिताउन थाले ।
विहानको समय हुँदा नहुँदै आफ्ना सबै सामानहरू बाँधेर यो बर्षौँदेखि बसिआएको प्राणभन्दा प्यारो ठाउँ कोठालाई छोड्नु, साथीहरूको मिलन हुने आशमा पर्खिनु बाहेक अब उप्रान्त अरु कुनै चाहारा नहुनु, बढुवाको आशा र उमंग भरिएको मनमा एकाएक सरुवाको पत्रले झस्क्याउनु आदि इत्यादि सबै कुराहरूको सम्झना गर्दा उनका आँखाहरू रसाइरहेका थिए । साथीहरू गुह्रुँगा हातहरू हल्लाउँदै ूललिता ज्यान टाढा भएपनि मन टाढा नगर्नु है हामीलाई सम्झेर कहिलेकाहीँ यता आउँदा भेट गर्न नभुल्नु है के गर्नु सरकारको नोकरी नै यस्तै हो । सरकारको नुन खाएपछि नुनको सोझो त गर्नेपर्दछ । तर किन यती शक्तिशाली हुन्छ यो सरकारको नुन पनि हामी सिपाहीहरूको लागि मात्रू भन्दै विदाइ गरे । ललिता पनि फर्केर आउने बाचा गर्र्दै दुबै हातले आँसु पुछ्दै त्यो ठाउँ र साथीहरूको नजरदेखि हराउँदै क्षितिजमा लुके झैं आँखाको ओझेलबाट ओझेलिन् पुगिन् ।
८ घण्टाको लामो यात्रापछि उनी उक्त सीमामा आवस्थित व्यारेकमा पुगिन् । नयाँ ठाउँ, नयाँ अनुहार र मद्येशको ठाउँ भएकोले यहाँ शहर बजार जस्तो सफा सुग्घर थिएन, दिशा पिसावको व्यवस्थित स्थिति पनि थिएन, मानिसहरू पनि जुत्राझाम्रा कपडा लगाएर हिंडिरहेका, हातमा विंडी सल्काउँदै सँगै हिड्ने यात्रुलाई पनि दिर्घ रोगी बनाउन तल्लीन हुन कि जस्तो देखिने आदि इत्यादि, धारो, पाटी, पौबाको विकास नभएको बाटोघाटो सांगुरो सायद यस ठाउँमा सरकारको आँखाले देख्न नसकेको भएर होला । धिक्कार छ, एउटै देशमा बस्ने नेपालीहरूमा पनि यति अन्तर बनाउने सरकारलाई पनि । देश सबैको हो र सुविधा सबैले पाउनु पर्छ । जनचतनाको कमिले पनि यो भएको हुनसक्छ । शिक्षामा छोरीलाई पछि सारिने परम्परा बोकेको यो समाजको बारेमा सरकारको ध्यानागोचर नपुगेको नै हो भन्ने हर कोही सहरियालाई लाग्नु स्वभाविकै हो ।
यस ठाउँमा त अफिसमा पनि सबैजना आउट ड्रेसमा असभ्य तरिकाले बस्ने रहेछन् । कसैलाई पनि जनताको दुःखको अनुभूति हुनु त कहाँ उल्टै जनतालाई दुःख दिनु, थर्काएर पठाउनु, कसैको कुरा नसुन्नु, चोरी डकैतीको सुरक्षामा अनिमियतता अपनाउनु र आफू नै सर्वेसर्वा बन्नलाई टाउकोमा कालो टोपी ढल्काएर जुंघा मुसार्नु बाहेक अरु केही थिएन । यस्तो परिस्थिति बोकेको यो ठाउँमा राजधानीबाट आएकी ललितालाई बस्नु कति सम्भव होला यो त भोलीको दिनले नै देखाउछ ।
अफिसमा पस्दाको दर्दनाक स्थिति पनि त्यत्तिकै थियो । फाइलहरू यत्रतत्र फिंजारिएर बसेका, कसैलाई कसैको कुनै वास्ता नै छैन, को आयो को गयो, अनेक प्रकारका घटनादेखि लिएर ज्यान मुद्धा समेतका पुराना पुराना फाइलहरू यहाँ असुरक्षित भएर लडिरहेका थिए । सायद ति सबै मुद्धहरूको फस्र्यौट हुनै बाँकी छ होला । त्यसैले होला आज ड्यूटी गरेको ४ दिन भयो मानिसहरूको ओइरोले झन दिक्क लाग्दो माहौल बनाउदथ्यो । जो आए पनि २ वर्ष अगाडीको घटनाको छानबिनको कुरालाई दोहोर्याउँथ्यो । साधारण जनताहरूलाई त यहाँ कुकुरलाई झैं व्यवहार गरिने कुरा त यथावतै छ । तर यहाँका अफिसरहरू निकै मोटाघाटा देखिन्थे । न त ड्यूटी आउने न त जानेको ठेगान नै । सबै आ-आफ्ना कुरालाई नै ठूलो बनाउथे । भद्रगोल चारैतिर छरिएर रहेका फाइललाई मिलाउँदा मिलाउँदा ललिताको ज्यानै निक्सन लाग्थ्यो र पनि भोली आउँदा सबै फाइलहरू उस्तै छरपस्ट अवस्थामा भएको पाउँदा उनी एक्लैले यसको सुधार गर्न नसक्ने निस्कर्ष निस्कनु अस्भाविक होइन । एक्लैले गरेर देशमा वा समाजमा वा कुनै पनि कार्यलयमा सुधारको स्थिति हुँदैन भन्ने उदाहरण बल्ल थाहा भयो ।
एकदिन साँझ ललिताले आफ्नो ड्यूटी सकेर रुमतर्फ फर्किने क्रममा व्यारेकको गेट बाहिर एकजना बुढी आमासँग भेट भयो । बुढी आमाले ललितासँग प्रश्न गरिन्- “नानी मेरो काम के भयो होला ?” भनेर । बुढीआमाको कुरामा ललिता अलमल्लमा परिन् ।
ललिताः- के काम, कस्तो काम थियो र तपाईँको ?
बुढीआमाः- यत्तिका दिन भयो जसलाई सोध्यो यहि जवाफ दिन्छन् । म बुढीलाई किन दुःख माथिको यो दुःख दिनुहुन्छ नानी ? मेरो काम छिटो गरिदिनुस् न यत्रो खर्च त मैले गरिनै सकेकी छु अब मेरो सामर्थ्य छैन अरु खर्च गर्नको लागि ।
ललिताः- आमा तपाईँले के को लागि पैसा खर्च गर्नुभयो ? अनि तपाईँको समस्या के हो र ? म त भर्खरै आएकी हुँ यहाँको वातावरणमा म नयाँ नै छु । मलाई प्रष्ट तपइको समस्या भन्नुहोस् मबाट हुने भएसम्म म तपाईँको काम छिटोभन्दा छिटो गरिदिउँला ।
बुढीआमाः- खै नानी भन्दा हुने हो कि नभन्दा हुने हो ? जोसँग कामको बारेमा कुरा गर्यो उसैले पैसा माग्छन् । तर आज तपाईँलाई दिनको लागि मसँग एक फुटी कौडी पनि छैन ।
ललिताः- हैन हैन आमा, मलाई केही दिनु पर्दैन । मलाई त तपाईँको समस्याको बारेमा जान्न खोजेकी मात्रै हुँ ।
बुढीआमाः- मेरो छोरालाई गाडीले किल्चेर मारेको आज डेढवर्ष बित्यो । न त मैले उक्त गाडिले दिने छतिपूर्ति नै पाएको छु, न त उक्त ड्राइभरले कुनै सजाय नै पायो । ३ जना सहाबहरू परिवर्तन भैसक्नु भयो यो अफिसमा सबैले हुन्छ, हुन्छ तपाईँको काम बन्द भन्दै पालै पिच्छे ४/५ हजार रुपैया माग गर्दै लिंदै गरे । घरी वकिल साहेबलाई दिनुपर्ने खर्च भनी माग हुन्छ, घरी कर्मचारीलाई भत्ता दिनुपर्छ तपाईँको काम गरेवापत भन्दै माग हुन्छ । ३०/३५ हजार मेरो सक्कियो तर मेरो केसको कुनै फैसला हुन सकेको छैन । मेरो छोरोको लागि न्याय पाउनु त के म आफै झन जोगी भैसकें । अब त आस पनि मर्दै गैसकेको छ नानी ।
ललिताः- ए कुरा त्यसो पो हो आमा । ल ल आज मेरो ड्यूटी सक्किएर घर जान लागेकी हुँ । तपाईँले कसैलाई नभेट्नुस्, भोली म १० बजे आउँछु तपाईँले सिधै मलाई आएर भेट्नु होला म तपाईँको फाइल खोजेर कुरा अगाडी बढाउँला । तपाईँ अहिले जानुस्, यहाँको यो सिलसिलालाई म पनि केही हदसम्म बुझ्ने प्रयास गर्दैछु । ल है आमा भोली आउनुहोला र मलाई नै भेट्नु होला ।
बुढीआमाः- हुन्छ नानी हुन्छ म तपाईँको विश्वासमा परेर बस्नेछु ।
ललिताः- हुन्छ आमा हुन्छ जानुस निर्धक्क भएर मैले कसेको मदत तपाईँलाई गर्ने छु ।
बृद्ध आमाका ति कुराले ललिताको मनमा कालो टोपीप्रति जुन डर र त्रास अनि मान र सम्मानको हेराइ थियो त्यो एकाएक टुक्रिएर बाँडिन थाल्यो । देशो गौरबलाई उच्च शिखरसम्म पुर्याउने ति कालाटोपी वाला विर, शहिद र देशभक्तहरू रित्तिएको जस्तो अहिले साँच्चै नै कालो मन हुनेले कालो टोपी लगाउन थालेछन् । यस विरोधमा मैले केही आँट गर्नैपर्छ । मैले जति काम गरेपनि आखिर मेरो बढुवा नहुने नै भएपछि कम से कम एउटा राम्रो काम गरेर त छोडुँ । अन्ययीको टाउकोबाट कालोटोपी निकाल्न कस्सीनु नै पर्दछ । यसो गर्दा मेरो जागिर नै किन गुमाउनु नपरोस् । एक, दुई जना कालोटोपीको कारणले हाम्रो समेत नाम कालो टोपीमा कालो अक्षरले गाँसिनु कतै राम्रो होइन ।
यस्तै यस्तै कुराहरूले रातभरि ललितालाई छटपटि भैरह्यो । यसो निन्द्रामा जान नपाउँदै उज्यालोले धर्ति जगमगाइ सकेको थियो । सुर्यका किरणले बिहानीको आभास गराइरहेको थियो । अब आजबाटै एउटा नयाँ जोस लिएर हिंड्ने अठोट बोकेकी ललिताले आफ्नो खाना खाइवरी ड्यूटीतर्फ लागिन् ।
बिहानीको ड्यूटीको समय शुरु लगत्तै बुढीआमा टुप्लुक्क आइपुग्नु भयो ।
बुढीआमाः- नानी म त आएँ ।
ललिताः- ठीकै छ नी आमा बस्नुस् है एकछिन् म तपाईँ कै फाइल खोज्दै छु । तपाईँको छोरो नाम के थियो आमा ?
बुढीआमाः- विराद हो नानी ।
केही बेरको खोजतलासीपछि एउटा कुनामा फालिएको अवस्थामा ललिताले विरादको रिपोर्टिङ फाइल भेटिन् । “आमा यही हो त तपाईँको छोरा” भन्दै फाइलमा राखिएको फोटो देखाइन् । आँखाभरि आँसु बनाउँदै बुढीआमाले ईशारामा हो भनेपछि ललिताले उक्त फाइल बोकेर डि.एस.पी. सापको कोठातिर छिरिन् । “सलाम साप, यो एउटा फाइल लिएर आएकी थिए, के म आउन सक्छु भित्र?”
डि.एस.पी.ः- हुन्छ आउनुस्, के छ फाइलमा, अनि कस्को फाइल हो ?
ललिताः- यो एउटा विरादको रोडकेसको फाइल हो । उनकी आमाले सोधेकी हुँदा मैले हजुर समक्ष यो फाइल लिएर आएकी हुँ ।
डि.एस.पी.ः- (यसो फाइल हेर्दै) हुन्छ बुढी आमालाई भित्र पठाइदिनुस् ।
अब कुरा के हो सो त पछि थाहा होला जब बुढी आमा भित्र पसेर बाहिरिने छिन् । ललिताको सल्लाहानुसार बुढी आमा डि.एस.पी. रुममा प्रवेश गर्नुभयो र केही समयपश्चात अँध्यारो अनुहार लिएर सरासर बाहिरिन लागेकी बुढीआमालाई ललिताले रोक्दै आफ्नो कोठा भित्र बोलाइन् ।
ललिताः- आमा के भयो किन सरासर जान थाल्नु भएको तपाईँ ?
बुढीआमाः- नानी भयो भो म यो केसको बारेमा अब अरु खर्च गर्न सक्दिन । धेरै महंगो केस हुने रहेछ । मलाई के थाहा यस्तो हुन्छ भन्ने थाहा पाएको भए मैले छोराको शोकमा रोएरै दिन बिताउँथे । सरकारबाट केही राहत हुन्छ होला भनी गरेको कामले आज मलाई समेत कंगाल बनाउने भयो त्यसैले म यो केसको बारेमा अब कुरा गर्न चाहन्न ।
ललिताः- तपाईँको यो कामलाई म निस्कर्षमा पुर्याएरै छाड्ने प्रण लिएकी छु आमा । तपाईँ नै कमजोर भैदिए त मैले कसरी काम गर्ने ? चाहे मेरो नोकरी नै किन नजाओस्, यस्ता घुसखोरी कालाटोपी वालालाई कानुनको कठघरामा उभ्याएरै सास लिनेछु । तपाईँलाई कुनै पैसाको खर्च गर्नुपर्दैन । तपाईँको फाइल म सँग छ हामी सर्वोच्चमा रिट दायर गरेर यस केसको जरैदेखि छानबिन गर्नेछौं । तपाईँको छोरा मेरेको छ, सरकारले तपाईँलाई निःशुल्क यसको छतिपूर्ति र छानबिन गराउन सक्छ । चन्द गद्दारहरूले गर्दा तपाईँ जस्तो सिधासाधा जनताहरूले दुःख पाइरहनु भएको छ त्यसैले अबको काम तपाईँको छोरालाई न्याय दिलाउनु र तपाईँबाट घुस खानेहरूलाई नाङ्गो गराउनु हुनेछ त्यसैले तपाईँले निर्डर भएर आफूले दिएको र गरेको खर्च क-कसले उपभोग गरेर र यो केस किन यसरी अडिएर रह्यो भन्ने बारेमा बोल्न सक्नु पर्छ । म पनि तपाईँको छोरी जस्तै छु । तपाईँका आँखाका आँसुलाई मैले बुझेकी छु । आखिर नारीले नै नारीको मर्म बुझेको हुन्छ । त्यसैले मलाई भोली ४ बजेपछि बाहिरै भेट्नु होला बाँकी कुरा त्यही गरौंला ।
ललिताका कुराले बुढीआमाको अन्तरआत्मा पनि जाग्यो र पुरा पुरा सहयोग गर्ने बाचा दिएर बुढीआमा घरतिर फर्किनु भयो ।
यो दिन र रात पनि ललितालाई अनेक भूमिका र सोचमा रन्थन्याइ बिताइदियो । कसरी काम गर्ने र यी अनैतिक काम गरेर बस्ने ब्वाँसाहरूको टाउकोबाट इज्जतको कालोटोपीलाई कसरी निकाल्ने ? भन्ने कुराको खानतलासीमा नै उनको दिनरात सीमित रह्यो ।
चाहिने सबै कागजात, बुढीआमाको उजूरी र बयान, क-कस्लाई उनले रकम दिएकी थिइन् उनीहरू सबैको नामावली लगाएत सबै सरजाम र कागजात पोको पारेर उनी भोलीपल्ट ४ बजेपछि बुढीआमालाई लिएर फेरि उही आफूलाई तिरस्कृत गरेको राजधानी सहर फर्किन् ।
त्यहाँ एउटा सानो कार्यक्रमको आयोजना गरी सम्पूर्ण पत्रपत्रिकाका सम्वाददाता तथा प्रेसको भेला बोलाएर प्रत्यक्ष बुढीआमाको रोदनलाई प्रकाश पार्न लगाइन् र आफूले पनि सर्वोच्चमा सम्बन्धित कागजपत्र दाखिला गरिन् । एउटा नारी भए पनि यो देशका कालाबजारी र घोसखोरी तन्त्रलाई निर्मूल पार्नको लागि कम्मर कस्ने ललितालाई झनभन्दा झन जोस र जाँगर भर्ने काम पत्रपत्रिकाले पनि गरेको थियो । पत्रपत्रिका, रेडियो, टेलिभिजन मार्फत बुढीआमाको करुण रोदन र सरकारसँग न्यायको लागि गरेको अपीलले देशभरि नै चर्चा पायो । यसै कुराको मध्यनजर राख्दै सर्वोच्चले पनि दोषीहरूलाई पक्राउने गर्ने उद्रि जारी गर्यो । यसैको वावजुद् घुसखाने प्रहरी, इनिस्पेक्टर, डि.एस.पी., वकिल लागएतका कर्मचारी र उक्त हत्याका आरोपी ड्राइभर प्रमोदलाई पनि सर्वोच्चमा बोलाइयो ।
ठूला ठूला सरकारी वकिलहरूको वहसपछि प्रमाणीत भयो कि- देशको सेवा गर्न, देशको पैसाको तलब खाएर बस्ने कर्मचारीको गल्ती र देशमाथि गरेको गद्दारीको फलस्वरुप सम्बन्धित पोष्टबाट उनीहरूलाई डिसमिस गराइ प्रत्येक घुसखाने व्यक्तिबाट रु. ५ लाखका दरले बुढीआमालाई क्षतीपूर्ति दिनुपर्ने र वस चालकले देशको यातायात कानुनले तोकेको रकम उपलब्ध गराउने र दोषीलाई कडाभन्दा कडा कारवाहीको लागि हिरासतमा राखिनु पर्ने फैसला सुनाइ दियो । ललिताले देखाएको सफल कर्मचारीको यो कार्यप्रति सरकार खुशी हुनुपर्ने र यस्ता राष्ट्रका सेवकलाई सम्बन्धित क्षेत्रबाट डबल पदोन्नती गराइनु पर्ने सर्वोच्चको हुकुमले फेरि एकपटक नारीले पनि केही गर्न सक्छन् भन्ने भनाइलाई यथार्थ सावित गराइदिएको छ ।
ललिताले बुढीआमालाई अँगालो हाल्दै खुशीका अश्रुहरू चुहाइन भने बुढीआमाले आज छोराले न्याय पाएको र ललिताले आफ्नो लागि देखाएको यो अदम्य साहासको कदर गर्दै उनलाई आफ्नो छातिमा टाँसेर “तिमी जस्ती छोरी सबैको घरमा जन्मिउन् । तिमी जस्ती देशभक्ति, सुशील र न्यायप्रेमी छोरी पाएको महसुस गरेकी छु । तिम्रो कार्यकालभरि यस्तै यस्तै उदारणनीय काम गरेर यो देशलाई अब पुरुषभन्दा नारीको खाँचो बढी छ भन्ने कुरा सम्पूर्ण नेपालीको मन र मस्तिष्कमा पुगोस् ” भन्दै एउटा कालो टोपी निकालेर उनको सिरमा लगाइदिंदै ूआजबाट छोरीको सिरमा पनि यो कालो टोपी सजिनु पर्दछ । जसले गर्दा यो कालोटोपीले पनि मान सम्मान पाउनेछ र भोलीको दिनमा सबैले यो कालो टोपीले के गर्छ भन्ने उदाहरण दिएर जाओस् । मेरो शुभकामना छ तिमीलाई छोरी मेरो शुभकामना छ ।
यसरी यो सम्पूर्ण दृश्यवलोकन गरिरहेका अदालतमा उपस्थित सबैले ताली बजाउँदै ललिताको अदम्य साहासलाई स्वागत गर्यो । आज ललिताले घुसमा र अहंकारमा डुब्दै गएको त्यो कालो टोपीलाई फेरि एउटा सफल र सक्षम अनि देशभक्तको सिरलाई शोभा दिनुपर्दछ भन्ने उदाहरण पस्कींदै आफ्नो शिरमा ढल्काएर लागइन् ।
यसरी इनिस्पेक्टरको पोजिसन रहँदा र उनको कार्यकालमा भरिमा यस्ता थुप्रै नराम्रा र कुरीति, कुकृत्य अनि घुसखोरी काला टोपीहरूको यथार्थलाई उदाङ्ग पार्दै उनले स्वच्छ र देशभक्तको सिरसम्म पुर्याउने कार्यलाई निरन्तरता दिंदै रहिन् ।
गरे संघर्ष जसले,
तरे समस्या पन्छाइ उनले,
निश्चय लिनु कर्ममा,
भ्रष्ट नीतिलाई बाँधेर मनले ।।
स्थानः-रुपन्देही, मन्द्राहिनी,
समाप्त
सुरज गिरी (नवलपरासी, नेपाल)
