Skip to content

तिम्रो सन्तति बन्न सकूँ

  • by


जन्म दिने माता जननी
फलदिने धर्ती जननी,
भाषा दिने नेपाल जननी
खुशी भराउने प्रेम जननी ।

     टेकाई गर्भदेखि माताले
     धर्ती जननीमा खेल्दै,
     सिकायौ भाषा माताले
     नेपाल जननीमा बोल्दै ।

रापताप सबै झेली
सन्ततिको गर्यौ रक्षा,
भोकप्यास सबै बिर्सी
सन्ततिलाई दियौ दिक्षा ।

     तिम्रो आँचलभित्रै बेरी
     सुन्दर स्वरुप सिर्जित गर्यौ,
     आफू नाङ्गो खुट्टा टेकी
     न्यानो र स्नेहले भर्यौ ।

तिम्रो उपकार तिर्न भोलि
उठ्नेछुमाथि बिर बनेर,
तिम्रो नामको अमृत पिई
लड्ने भोलि देव झैं बनेर ।

     आमा म तिम्रै नाममा चिनिंदै
     अमर बनी धर्तीमा छाउँनेछु,
     मरे भने यो देशको लागि
     लिई जन्म फेरि आउनेछु ।

नेपाल मेरी जननी कर्मकी
गर्नेछु रक्षाकन प्राण दिई,
असत्य, पापी जति भरिएछन्
संहार्छु यिनलाई हतियार लिई ।

     जल र वायु, आकाश, धर्ती
     तिमी नै हौ सन्ततिकी खानी,
     चारैयुग बिती गए कति गए
     हुनेछौ सधैँ तिमी युगरानी ।

अनन्त मनमा गरि पूजा तिम्रो
स्वर्गभन्दा स्वच्छ आँचल छ तिम्रो,
चाहिन्न सुख तिमी खुशी भए
चाहिन्न स्वर्ग तिमी साथ पाए ।

     उघारी दैलो हेर आँखा खोली
     के गर्दैछन् यी सन्तति आज सारा,
     लड्दै भिड्दैकन भाइ भाइ
     दुश्मन भए जति थिए सब प्यारा ।

यस्कै खाँतिर जन्माई मलाई
सिकाउ युद्ध भगाउँ बैरीलाई,
चेतना फिंजाइ सिंचीत गराऊ
युद्धकलाले परिपूर्ण गराऊ ।

     म जस्तै सन्तति जन्मी रहुन्
     तिमी जस्ती माता युगमा फिंजीउन्,
     युग सत्य आज निर्माण गराऊँ
     पाप र लुटपाटदेखि म गराऊँ ।

सबलाई चेत पसोस् जतिछन्
बिचारी मनले पापी कतिछन्,
गरी निर्माण शान्त जननी नेपाल
उठाइ शिर भनुँ जय नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *