जन्म दिने माता जननी
फलदिने धर्ती जननी,
भाषा दिने नेपाल जननी
खुशी भराउने प्रेम जननी ।
टेकाई गर्भदेखि माताले
धर्ती जननीमा खेल्दै,
सिकायौ भाषा माताले
नेपाल जननीमा बोल्दै ।
रापताप सबै झेली
सन्ततिको गर्यौ रक्षा,
भोकप्यास सबै बिर्सी
सन्ततिलाई दियौ दिक्षा ।
तिम्रो आँचलभित्रै बेरी
सुन्दर स्वरुप सिर्जित गर्यौ,
आफू नाङ्गो खुट्टा टेकी
न्यानो र स्नेहले भर्यौ ।
तिम्रो उपकार तिर्न भोलि
उठ्नेछुमाथि बिर बनेर,
तिम्रो नामको अमृत पिई
लड्ने भोलि देव झैं बनेर ।
आमा म तिम्रै नाममा चिनिंदै
अमर बनी धर्तीमा छाउँनेछु,
मरे भने यो देशको लागि
लिई जन्म फेरि आउनेछु ।
नेपाल मेरी जननी कर्मकी
गर्नेछु रक्षाकन प्राण दिई,
असत्य, पापी जति भरिएछन्
संहार्छु यिनलाई हतियार लिई ।
जल र वायु, आकाश, धर्ती
तिमी नै हौ सन्ततिकी खानी,
चारैयुग बिती गए कति गए
हुनेछौ सधैँ तिमी युगरानी ।
अनन्त मनमा गरि पूजा तिम्रो
स्वर्गभन्दा स्वच्छ आँचल छ तिम्रो,
चाहिन्न सुख तिमी खुशी भए
चाहिन्न स्वर्ग तिमी साथ पाए ।
उघारी दैलो हेर आँखा खोली
के गर्दैछन् यी सन्तति आज सारा,
लड्दै भिड्दैकन भाइ भाइ
दुश्मन भए जति थिए सब प्यारा ।
यस्कै खाँतिर जन्माई मलाई
सिकाउ युद्ध भगाउँ बैरीलाई,
चेतना फिंजाइ सिंचीत गराऊ
युद्धकलाले परिपूर्ण गराऊ ।
म जस्तै सन्तति जन्मी रहुन्
तिमी जस्ती माता युगमा फिंजीउन्,
युग सत्य आज निर्माण गराऊँ
पाप र लुटपाटदेखि म गराऊँ ।
सबलाई चेत पसोस् जतिछन्
बिचारी मनले पापी कतिछन्,
गरी निर्माण शान्त जननी नेपाल
उठाइ शिर भनुँ जय नेपाल ।
