पङ्ख खोली बोलाएझै भाले मुजुरैले
उसैगरी बोलाउनुभो मलाई हजुरैले ।
हजुरसँग आँखा जुद्धा केले छोप्यो छोप्यो
बियाडबाट गैह्रीखेतमा प्रीति रोपो रोप्यो
काउँकुती लगाएझैँ कुन्नि कल्लेकल्ले
हजुरले नै रै’ छ भन्ने चिन्यो भित्री मनले ।
आकाशैको गड्याङगुडुङ भुईंको खजुरैले
सुसेलीले बोलाउनु भो मलाई हजुरैले ।
जो बोले नि रन्को आउँछ हजुर नै बोलेझैँ
साँझपख दिलको ढोका मलाई नै खोलेझैँ
हजुरसँग घुम्न पाए मनको रनवन
सयपत्री मखमलीझैँ फूल्थ्यो होला मन ।
जसोगरी सिँगारिन्छ मान्दिर गजुरैले
उसैगरी सिँगार्दिनुस् मलाई हजुरैले ।
पोखरा
मधुपर्क २०६८ माघ
