समयको साइत सधैँ जुर्दैन संसारमा । मानव निर्मितिका असङ्ख्य-अथाह पल हुँदाहुँदै पनि सबै पल जादुवाहक बन्न सक्तैनन् । लामो अन्तरालको झुक्किएको पलबाट मात्र एकाध बिजुलीका झिल्का चम्कन्छनर चमक्क । ज्वारको माथिल्लो तह समुद्रको अथाह भागबाट एकाध पटक बुर्लुक्क उफ्रिएझैँ, तुफानी झोक्काहुरीको सतहबाट क्षणविशेषमा मात्र संसार मडारिएझैँ, इन्द्रेनीको अनुपम छटा-छहराको मध्यभागबाट यदाकदा मात्र क्षितिज छेडेर नीलो आकाशभित्रसम्म सबै बादलुका पर्दा प्वाल पार्दै चक्षुस्पर्श गरेझैँ उदरभट मानव निर्मितिका एकदमै कम स्वणिर्म पलमध्ये एउटा पल हो-देवकोटाको जन्मपल ।
एउटा विकृत भूखण्डको सफायाका लागि असङ्ख्य मानवचेतना परिष्कृतिका लागि वसन्त उदाएझैँ समाजको उल्लासमय आगमन हो-देवकोटेली आगमन । जसले जे भनुन्, त्यति सरोकार रहँदैन-स्फटिक प्रकाशनका लागि, वसन्त विश्वास, आकर्षण र प्राप्तिका लागि । गुलाफ, गुलाफ नै हो सुघ्ने शक्ति हुनेहरू सधैँ सर्वत्र वास्निन्छनर-नहुनु प्रतिभाको दोष होइन । विचरा कति नै छनर र वास्नादार नाकहरू-यस भौतिक दुर्गन्धे माहोलको प्रतिस्पर्धामा । त्यत्तिकै वकएलेको उदरघोष आएको होइन-‘ज्योग्राफिकल मिस्टेकको महिमामण्डित अन्तर्चेतना भिखारी भूगोलको बिमारीको लागि त्यत्तिकै उफ्रँदैन-स्टेथेस्कोप हल्लाएर ।
त्यो शून्यता जहाँ चेतना चम्चासम्म भरिन्नथ्यो-समाजभित्र । ब्राहृमण परम्पराका साइतमा चेतनाका ‘च, छ’ हरू आफैँ उफ्रे । पिताको मुटु खुसीखुसीले धक्धकायो । सायद आमा र दाजुको भौतिक आकर्षण त्यहाँ थिएन । जलन हुन सक्छ यसकै पछि । कुनै नाताका नाममा पगरी गुताएर प्रतिभा छेकिन्न-पर्दाले । भोग्ने अन्तरपीडाका असैह्य भक्कानाहरू आए-घरभित्रै, सामान्यमा यही विष बनेर कुण्ठाको कठघराबाट हिंसाको निकाशमा उत्रनसक्थ्यो । असामान्य व्यक्तित्वको प्रकाशले सङ्कीर्णता नियाल्दैन, निरन्तर प्रकाशित-निर्वाध निरन्तर आकाशमा पखेटा लगाएर पहरोको शिरबाट अन्तररेसासम्म छलाङ मार्नेका लागि पृथ्वीका सतहमा अवस्थित सुकेर कुहिएका पातपतिङ्गरसँग केको लेनदेन !
उतुङ्ग उक्ल्यो-एक्लै । प्रकाशका जादुले चेतनामा मोहनी गाँसेपछि पटना विश्वविद्यालयको विशाल विश्वप्रतिस्पर्धामा उसलाई न कसैको साथ आवश्यक थियो न प्रमुखका सामुको करबद्ध दशाङ्गुली । सर्वोच्च शिखरको साहस र हिमालको पवित्रता बोकेको समय विजुलीलाई सम्झनु थिएन -पत्नीका चाँदीटक्का र राममन्दिरको भजनटोली पनि । सर्वोच्च अङ्क प्राप्तिका डाहले छट्पटाएकाहरू अदालत धाए त के भयो-न्यायालय न्यायाधीश नतमस्तक, अझ व्यक्तित्त्वको उज्यालो निखार ऊ सधैँ सप्तरङ्गी इन्द्रेनी ।
कल्पनाको उच्चाकाश उसका सामु पहाड-तिल बने र हात्तीहरू भुसुना । समयसँग ऊ दोहोरिएन, समयलाई आफरना मुटुमा राखेर हातलाई विद्युत्तारका तरङ्ग बनायो । रङ्गमा रङ्गिएन आफ्नै ढङ्गका साधा जीवनमा विश्व नचायो, परम्परालाई नूतन आधुनिकतामा घोल्यो, अधुनातनलाई अकाट्य प्रकृतिको अपरिवर्तित पक्षमा । डिस्को, रेस्टुराँ छिर्दैन ऊ । पप र डिस्को डान्सलाई आफ्नै तरलतरङ्गमा घोलेर यिनलाई चुमेन चुम्न लगायो । जादु हेर्नुपरेन उसलाई आफैँ जादुको जिउँदो स्वरूपमा सन्सनाएको उसले पेरिस लठ्यायो । तासकन्दको ताजमहल उतारेर अमेरिका झुलायो । बेलायत, उसका हत्केलामा कोलोरिज मुस्कुराएथ्यो, वर्डस्वर्थ, शेक्सपियर एउटै औँलाका दुई पाटा बनेर झुण्डिएकै थिए- लुसी नाँच्नु कुनै आश्चर्य थिएन-उसका लागि । किट्सको नियति बोकेको ऊ खोल्सीमा बहँदै गरेको ‘कुल्कुल’ आवाजको पानी थियो जहाँ हरिया बोटहरू-सरो, कालीलहरा र मालकागिनो बनेर शाकुन्तल लहरायो, सुलोचना मुस्कुरायो, मुनामदन मिठासको फल बनेर शाखाप्रशाखा झुण्डिए जसले जताबाट जसरी खाए पचाए पनि हुने गरी ।
छिपछिपे बौद्धिकताको रसिलो आँप उसलाई जातिको पर्खाल उभिनु थिएन-मेन्दुमा मुस्कुरायो । मानवताका शिखर सेर्पासेर्पिनीसँग-‘म्यामेण्यामे’ मुसारेर माने हल्लियो । जातीय पर्खाल बर्लिनझैँ भत्कायो । धार्मिक अन्धता जसले समाजलाई उचनीचमा, धनीगरिबमा, छुवाछूतमा, सानोठूलोमा, कालोगोरोमा विभाजित गरेको छ, जरैदेखि उखेलेर सदासदाका लागि मिल्काउन एक्लै पसिना चुहायो । त्यो उच्च ललाटी सामान्य कदको देवकोटोले एक्लै समाजभित्रका सडेगलेका झारपातमा आगो लगायो । अन्धताको पर्दा च्यातेर चेतनाको धप्धपाउँदो बत्ती बाल्न औँसीको मध्यरातमा लाइब्रेरी काण्डको तहल्का मच्चायो दण्डित हुन धक नमान्ने ऊ निहुरिन कहिल्यै जान्दैनथ्यो सत्य स्थापनार्थ । बेइज्जती कहिल्यै ठानेन उसले-समाज परिवर्तनका लागि अहिलेका च्याण्टे नेताहरू भुसुनोको खुट्टो निकालेर हात्ती मारेको हुङ्कारमा सिङान चुहाउँछन् । ऊ एक्लै त्रिभुव हात्तीसँग दरवारमा कुस्ती खेल्यो । तरवार चाहिएन उसलाई मस्तिष्कको कलमले जोधाहा साँढेहरूको मुन्टो निहुर्यायो । के के न गरेँ, को गर्वले तैपनि ऊ फुलेन, मात्र कर्तव्यको सानो सिन्कोले दुराचार घोच्दै गरेको स्वानुभवमा जीवनयात्रा निरन्तर उठिरह्यो-अगाडि ।
उसलाई थाहा थियो- पृथ्वीको जग भनेको सौन्दर्य हो । जीवनको मुटुमा सङ्गीत नपसी सौन्दर्यको गहना निर्माण हुनसक्तैन । विनिर्माण, पाइलापाइलाको पहल हो । पदचापमा इन्द्रेनी आकाशगङ्गा छिचोलेर नछिरे भूगोलको रूप स्वरूपमा परिवर्तन आउनसक्तैन । गुन्द्रीमा उपियाँ नाँचे पनि उसको ललाटमा शकुन्तला सुन्दरीहरू छम्छमाइरहे । विना मेनका, उर्वशी र पिङ्गलाका जन्मले अतिवादका विश्वामित्र पराजित हुन सक्तैनन् । रङ्गीन समाजको अखण्ड स्वरूपमा दुष्यन्त तरवार बोकेर हिंसाको रक्तरञ्जित मृगवथान रोक्न मोहनीहार शाकुन्त सुन्दरी सौन्दर्यको पछ्यौरी हल्लाउनै पर्यो । विनाशको कमजोरी भनेकै विकास हो । कार्य, कारण विना सम्भव छैन, त्यसका लागि कारणभावको भाकामा जूनकीरी आफैँ जम्जमाउँथे-देवकोटासँग ।
प्रमेथियन वेदना देवकोटासँग जन्मजात पाकपरम्परा बनेरै आएको थियो । स्वार्थको पिरामिड उभिन चाहेको भए त्रिचन्द्रको पेसाले, भाषानुवाद परिषद्को कवित्व विस्फोटन समयको स्वतः आर्जित अनि ट्युटर पेसाको आकाशे खेतीबाट सम्भावित निरन्तर आर्जित आयबाट समयसीमा र आर्जित आयअवस्था हेर्ने हो भने आधा काठमाडौँ आफैँमा आँक्नसक्ने उनले तर कहिल्यै कहिल्यै पाइला राखेनन् स्वार्थका खेतबारीतिर । मन्त्रीको शिरपेचमा एक सय दश दिनको अवधि उभिएको देवकोटा एघारौँ दिनमा खाली हातमात्र होइन उल्टो पच्चीसौँ हजारको व्यक्तिगत ऋणको भार बोकेर निस्केको पल कस्तो भयो ? तैपनि उसले दुःख मानेन बरू खुसीखुसीको चौडा छाती पहरोजस्तै सुकिलो बनाएर झर्नादार हाँसोमा मुटु हल्लियो ।
अहिलेका मन्त्री महोदयहरू ! एकपटक पुर्खालाई हेर । उनीहरूका पदचाप ठम्याओ । उनीहरूसँग के थिएन-उदारता, समर्पण, परोपकार, स्वाभिमान, विश्वबन्धुत्व, व्यापकमा नवताका चकाचौध मर्करीहरू तर तिमीसँग के छ- हिंसा, अपराध, स्वार्थलिप्सा, साँघुरो मानसिकताको दुर्गन्धे कन्टेनर । यसले अरू सबैलाई जतिसुकै हानी गरोस्, यथास्थानबाट दुई पाइलापछि नै धकेलोस् तर त्यसभन्दा बढी तिमी आफैँ आफ्ना उचाइ खस्काएर जमिनमा गिर्छौं-कहिल्यै उठ्न नसक्ने हिले जमिनमा जहाँ अनेकौँ भ्यागुताहरू ठूलो आवाजले त टर्टराउँछन् तर एक हाते पर्खाल उनीहरूका लागि सगरमाथाको टुप्पो बन्छ । तिमी त्यसमै सुस्ताउँछौ फेरि कहिल्यै नबिउँझने गरी ।
कर्मका रेखा समर्पणका थर्मामिटरले नाप्नेका लागि संसार सानो छ । लिनुको चस्काले छोएपछि दिनुको दुनियाँ देखिँदैन । भण्डारन खोतल्नेहरू आफन्तै हुन्छन् । गोरु बेचेको साइनोले पनि खाग बनाउँछ-स्वनिर्मित अस्तित्वको शिखरलाई । त्यसैले हामी पहाडलाई तिल बनाएर लिन थाल्छौ । त्यसबेलासम्म जतिबेलासम्म दिँदा उठेका अस्मिताका पहाडहरू सिसाका घरझैँ भत्किएर घोच्न थाल्छन् ।
उसले लिनुको संसार देखेन । सङ्कीर्णतामा आफूलाई कतै पाएन । दिनुको पहाडलाई तिल बनायो । आफू सधैँ अघाएको देख्यो-तेस्रो आँखाले । भलै दुई आँखाका भाखामा ऊ सधैँ भोको पेटको सारङ्गी बजेको थियो । नाङ्गो आङको टिठलाग्दो आफू कहिल्यै देखेन-उसले । कस्तुरीले आफ्नै नाभिस्थलमा रहेको वासनादार वस्तु नपाएझैँ । पाउने ध्येयले टाढाटाढा दौडिएर यो जीव समाप्तिन्छ तर उसले आफू रहेरै पाइलापाइलामा अर्काको रित्तो पेटभित्र बजेको सारङ्गी देख्यो, नाङ्गो आङभित्र छुटेको कम्पनको कहालीलाग्दो आवाज सुन्यो, बासको अभावले छरपस्टिएको आर्तकोलाहल आत्मसात गर्यो, तिनै अभावका आँखामा आफूलाई निरन्तर न्यौछावर गरिदियो । दाजु लेखनाथको भौतिक काँध फेरिदिने सपना देखेन उसले । आमाको उद्याम भौतिक यात्राको दिग्विजयी विगुल बजेन उसभित्र । दिनको फराक संसारभित्र सीमा कोरेन उसले । दिइएको संसार फराक भएकैले ऊ संसार विजयी भयो दिग्विजयी, दिगन्त विजयी ।
आँखा झिक्ने विरूद्ध नेत्रदानकै वृन्दाचल बोकेर बम्कियो ऊ । पुस्तकालय काण्ड तीरहरू तेर्छिए उसका सामु तर कुँडिनुको बदला अझ तीखा नेत्रज्योतिका प्रकाशमा दिगन्त यात्रा उभियो । इन्द्रेणी अभियानको सारथी चेतनाको कुरूक्षेत्र अठोटका साथ लडरने अभियानमा मोर्चा समाल्यो एक्लै । पचास वर्षे सामान्य वयमै लिखित/प्रकाशित गरी बाह्रबाह्र महाकाव्यका ठेलीमा लोली भर्नु, रहेका र हराएका गरी चौवीसवटा खण्डकाव्यमा लहरिनु, दुई तर मुटुजस्तै नियन्त्रक निबन्धका न्याना अँगालामा आबद्ध हुनु, गीति, व्यङ्ग्यात्मक, मनोरञ्जनात्मक एकएकवटा कवितासङ्ग्रहमा -पानाभरिभरि अन्तर मानव वेदनाका भक्कानासँग भौतारिनु, उपन्यास, कथा र नाटकसम्मका लेखनले सर्वत्र सबैका चक्षुमा नानी र नानीमा पानी भर्ने प्रयासको त्यस प्रमिथस शरीरले थाके पनि साहस एवं हिम्मतको मनोज्वारले सागर छचल्किएर सागर माथिमाथिबाट सगरमाथा अग्लिरह्यो-सिमसारसम्म पग्लिरह्यो ।
ऊ मान्छे भएर हल्किन चाहेन-तूफान भएर प्रकृतिमा बाँच्यो । सुसेधन्दाको संसारमा झारझैँ जीवनमरणको दोसाँध बनेर बाँचेन-हुरीहुण्डरीले पनि छुन नसक्ने कल्पवृक्ष भएर शाखाप्रशाखा फैलियो । प्रकृतिपुत्र ऊ प्रकृतिको विहङ्गम आँगनमा कसैले छुन/हेर्न असम्भव फैलावट फैलियो । भुसीमा थिएन उसका लागि-बोलीमा, व्यवहारमा, भाषामा, भेषभूषामा, पृथ्वी जहाँसुकैका जोसुकैका अन्तर्धड्कन धुकधुकी बनेरै धक्धकायो । जिब्रो लक्पकाएन उसको अन्तर्धुकधुकीले आवाज पक्रेपछि छन्द आफैँ बन्यो, लयको वस्तादी कसरतमा अभ्यासको आँखाले दीक्षाको दान च्याउनु परेन । उसले भित्री रागबाटै लयले ध्वनि निकाल्यो, ध्वनिले लय ।
भाषाका शब्दकोशका पानाहरू कहिल्यै पल्टाउन चाहेन उसले । आफैँ शब्दकोश बनेर पाखाका पातसँग जुहारी खेल्यो, फूलका पत्रसँग ओठ मुस्कुराए उसका । लहरामा लहरिएर पिङ खेल्यो, पत्थरमा घोरिएर शून्यको संसार घोरिन रोजेन । निराशाले वेदनाग्रस्त बनेका कैयौँ मान्छेका सामु सधैँ आशाका किरण जोरेर उसले ज्योति जगायो । दर्शन देख्ने दिलांशका एकाध पत्थरटुक्रा पनि पग्लिएर ज्योतिभित्रै महाज्योतिका स्वस्वप्नमा ज्वालिए । यस्तो उद्दाम उद्दीप्त मान्छेको मनलाई-‘सामन्त, बुर्जुवा’जस्ता शब्दका कलमले घोच्ने, घनटाउकेहरू देखेर मलाई कत्ति पनि आश्चर्य लाग्दैन । भन्नेहरू त्यसै सङ्कीर्णतामा चित्त बुझाएरै बसुन् । सत्ताका स्वाङमा मस्तीका खेलभित्र जीवन देख्नको संसार त्यसमै सीमित हुन्छ । ‘खानु र लाउनु जीवन भए जीवन जिउँनु के ?’ जस्ता स्वस्फूर्त अनुभूतिको आकाशगङ्गालाई कुनै पगरीको आवश्यकता छैन र कुनै तीखा बाँण निकालेर छुद्रतासँग समय वर्वादको सिगौरी खेल्नु छैन ।
अग्लाईमा फलेको अङ्गुर टिप्न नसकेपछि गुलियो, मीठो, स्वादु त्यसलाई अमिलो भएको, सानो सोचमा दिल बुझाउनेहरू भ्रमको पर्दा ओढेर निर्जीवलाई जीवन ठानुन् । उसका लागि आकाशको अङ्गुर असम्भव थिएन । कल्पिएन ऊ कहिल्यै । दुनियाँ भत्कियोसर, कसले नै थेग्न खोजेर निर्मित भएको छ र संसार । दिग्दिगन्त आकाश, पाताल र पृथ्वीका यावत् संस्मरणका स्वानुभव कल्पनाको सुन्दर खेतीमा उसले सफलताका सबै फल फलायो, बाला झुलायो, भकारी टम्म भर्यो । आफू भोकै रहेर अरूको पेट टम्म भरायो । आफू नाङ्गै रहेर सकेसम्म अरूको आङ ढकायो । त्यस्तो व्यक्तित्वलाई नकारात्मक पगरी गुताउनेहरूले कुन शब्दकोश हेरेका छन् ? मलाई थाहा छैन । मेरो शब्दकोशमा ऊ आकाश/पृथ्वी जोड्ने सप्तरङ्गी इन्द्रेनी हो, समग्रलाई झ्वाम्म पगालेर त्यसभित्रको कञ्चन जीवनको
तरङ्ग तैरने त्यो समष्टि हो जसमा दुनियाँको सबै हुन्छ तर उसमा भएको दुनियाँमा नहुनसक्छ । उसले मानवताको मुटुमा सिन्कोसम्म घोचिन खोजे पनि आफैँ ढाल र मलम दुवै बनेर उभिदियो, लेपन लगाइदियो । त्यस जादुको दुनियाँमा यथार्थको खेतीलाई आदर्शको अम्लानवाटिकासम्म उठाएर सुन्दर जीवनगुलाफ फुल्नेप्रति म निरन्तर नमनः गर्दछु- नतमस्तक नमन, अन्तस्करणको नमन । निरन्तर आस्थाको नमन ।
मधुपर्क २०६८ माघ
