मान्छेका स्वभाव आ-आफ्ना हुन्छन् । सबैले सबैलाई मन पराउँछन् नै भन्ने हुँदैन र मन पराउनै पर्छ भन्ने छैन पनि । मानवीय स्वभाव र चरित्र व्यक्तिपिच्छे भिन्नभिन्न हुने भएकैले एक-अर्कामा भिन्नता छुट्टिएको हो । कतिपय व्यक्तिलाई व्यवहारले मन पराइएको हुन्छ, कतिपयलाई उसको कामले मन पराइएको हुन्छ भने कतिपयलाई विभिन्न स्वार्थवश मन पराउन पनि मान्छे बाध्य भइरहेका हुन्छन् । कतिपयको व्यक्तित्व, व्यवहार मन नपराएर पनि मान्छेले उसका कामको भने प्रशंसा नगरी नहुने अवस्था सिर्जना भइरहेको पनि हुन्छ । उहाँका सन्दर्भमा पनि विविध टीका-टिप्पणीहरू साहित्यिक वृत्तमा सुनिन्छन्- “स्वभावले मान्छे जे जस्तो भए पनि उसका कामको भने प्रशंसा गर्नैपर्छ । साहित्यिक क्षेत्रमा उसको संलग्नता र एकपछि अर्को उल्लेख्य कामका लागि उसलाई मान्नैपर्छ ।”
वि.सं. २०३२ मा राष्ट्रिय युवा क्लवबाट प्रारम्भ भएको उहाँको संघसंस्थामा संलग्नताको यात्रा यतिबेला औँला भाँचीभाँची गन्नुपर्ने अवस्थामा आइपुगेको छ । उहाँको संलग्नता दुई माउ संस्था- नइ प्रकाशन र त्रिमूर्ति निकेतनमा गाभिएका संस्थाहरूको सूची निक्कै लामो छ र यी दुई संस्था मातहतमा तीन दर्जनको हाराहारीमा त विभिन्न राशिका पुरस्कारहरू नै स्थापित छन् र निरन्तर उचित पात्रलाई प्रदान गरिँदै आइएका छन् । यसैले उहाँलाई कतिपयले टिप्पणी पनि गर्ने गरेका छन् – नरेन्द्रराज प्रसाई नेपाली साहित्यको ‘डन’ हो ।
वि.सं. २०१२ वैशाख सङ्क्रान्तिमा ताप्लेजुङको हाङपाङमा बुबा जयप्रसाद प्रसाई र आमा भागीरथाबाट जन्मिएका नरेन्द्रराज प्रसाईले गाउँकै विद्यालयमा तीन कक्षामा पढ्दैदेखि निबन्ध प्रतियोगितामा भाग लिएर पुरस्कृत हुनुभई साहित्यिक यात्रारम्भको खुड्किलो टेक्नुभएको थियो । आफ्नो पढाइ र लेखनका सम्बन्धमा उहाँ भन्नुहुन्छ- हाङपाङ, झापा र काठमाडौँको पद्मोदय स्कुलबाट विद्यालयीय शिक्षा पूरा गरेपछि उच्च शिक्षा पनि काठमाडौँमै अध्ययन गर्ने अवसर पाएँ । मेरो औपचारिक लेखन चाहिँ वि.सं. २०२८ बाट अघि बढेको हो । वि.सं. २०४१ मा पहिलो कृति ‘अड्तीस अनौठा अनुहार’ (जीवनीसङ्ग्रह) प्रकाशित भएपछिको लेखन-प्रकाशन यात्राले पाँच दर्जन काटिसकेको छ । यसमा जीवनी, निबन्ध, गीत, समालोचना आदि पर्दछन् ।
उहाँहरूको जोडी अर्थात् ‘नइ’ (नरेन्द्र-इन्दिरा) को सक्रियताले नेपाली साहित्यमा धेरै ठूलाठूला कामहरू भएका छन् । त्रिमूर्ति निकेतन, नइ प्रकाशन र अन्तर्राष्ट्रिय नेपाली भाषा सम्मेलनलाई उहाँ अहिलेसम्ममा आफूहरूले गरेका कामहरूमा चिरस्मरणीय र सुखद मान्नु हुन्छ । देवकोटा शताब्दी महोत्सवको अवसर पारेर गरिएको सम्मेलनका सन्दर्भमा उहाँ टिप्पणी गर्नुहुन्छ- जुन कामको पछाडि फर्किएर हेर्दा अत्यासपूर्ण कहाली लागेर आउँछ । ठूलाठूला पहरा फोर्नुपर्यो यी काम सम्पन्न गर्नलाई । हाम्रो काममा जनरल भूपालमानसिंह कार्की, राजनीतिज्ञ रामबाबु प्रसाई, उद्योगपति सीताराम प्रसाईलगायतका महानुभावहरूको योगदानलाई भुलूँभन्दा पनि कृतघ्न हुइन्छ भन्ने डर लाग्छ । अन्तर्राष्ट्रिय नेपाली भाषा सम्मेलन नेपालमा गर्नु भनेको हाम्रो भाषाको हैसियतको वृद्धि हुनु हो । यो सम्मेलन यहाँभन्दा पहिले अन्यत्र देशमा भएको भए हामीले नाक लुकाउनुपर्ने अवस्था आउँथ्यो । यस कार्यमा नइकै जोसमा हिँड्ने मोदनाथ प्रश्रितदेखि सत्यमोहन जोशीसम्मको जति प्रशंसा गरे पनि धेरै हुँदैन । त्यति मात्रै नभई, त्यो समयमा प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री नभएका भए पनि यो काम सम्पन्न गर्न सहज हुँदैनथ्यो । अझ भन्नैपर्दा गणतन्त्र नआएको भए पनि सायद हामी असमर्थ हुन्थ्यौँ । म राजावादी हुँदाहुँदै पनि धेरै कुरामा त्यो संस्थासँग मेरो चित्त दुखाई थियो । राजसंस्थाले हामीलाई सधैँ रैतीकै व्यवहार गरिरह्यो ।
उहाँलाई ‘यो दरवारीया साहित्यकार हो’ भनेर कित्ता छुट्याएर टिप्पणी गर्नेहरूप्रति पनि उहाँको कहिल्यै गुनासो रहेन । आफ्नो राजदरबारसँगको सान्निध्य र आस्थाका सम्बन्धमा उहाँ खुलेर बताउनुहुन्छ- वि.सं. २०३६ को जनमत सङ्ग्रहदेखि राजदरबारसँग सम्पर्क बढेको हो तर वि.सं. २०२८ देखि नै म राजभक्तिका नाममा प्रवेश भइसकेको थिएँ । त्योभन्दा अघि म कम्युनिस्ट थिएँ । झापा आन्दोलनमा काम गर्दा गाह्रो भएकोले म काठमाडौँ आएँ र त्यसपछि कुनै सिद्धान्तमा फर्किइनँ । म रानी ऐश्वर्यका कविताको एक किसिमले ‘फ्यान’ नै थिएँ । त्यसैले उनका कविताको सङ्कलन, अध्ययन र विश्लेषण पहिलेबाटै गर्दै आएको थिएँ । यस सम्बन्धमा रानीसँग पत्राचार पनि भएको र यो कार्यसम्पादन गर्दागर्दै उनको प्रमुख सचिवले सामाजिक सेवा कोषपट्टिको सदस्यमा राख्ने रानीको इच्छा छ भनेर मलाई बोलाए र म रानीका काममा जोडिन पुगेँ । यसले गर्दा मेरो जनप्रशासनको स्नातकोत्तर तहको पढाइसमेत पूरा गर्ने अवसर पाइनँ तर पछि आएर राजसंस्थाले हामीलाई काम गर्न प्रोत्साहित गरेन र पनि राष्ट्रिय एकता, राष्ट्रिय स्वतन्त्रता र राष्ट्रिय अक्षुण्णताका लागि राजतन्त्र मान्न छोडिनँ ।
कुनै एक वार्ता सन्दर्भमा डा. तारानाथ शर्माले आफूले रानीलाई भनेर ‘सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्’ मा जागिर लगाइदिएको प्रसङ्ग उल्लेख गर्नुभएको थियो । यो प्रसङ्ग कोट्याउँदा उहाँ थप्नुहुन्छ -उहाँको यो भनाइ ठ्याक्कै उल्टो भएको छ । वास्तवमा मैले नै रानीलाई भनसुन गरेर, प्रभावमा पारी तारानाथ दाइको त्यतिबेलाको अवस्थालाई देखेर उत्थान गर्न खोजेको थिएँ । उहाँभन्दा पहिले नै रानी ऐश्वर्यसँग मेरो राम्रो सम्बन्ध बनिसकेको थियो र मेरै कारणले उहाँका छोराहरू राजदरबारमार्फत् दीपेन्द्र प्रहरी स्कुल, साँगामा राखेर ६ देखि १० कक्षासम्म रानीले पढाइदिएकी थिइन् । यसका साथै उहाँले रानीबाट पटकपटक गरी आठ-दस लाख रुपैयाँ आर्थिक सहयोग पनि प्राप्त गर्नुभएको थियो । त्यसबेला डा. तारानाथ शर्मा, कालीप्रसाद रिजाल, सागर तिमिल्सिना र म रानी ऐश्वर्यकै संरक्षणमा मौजुद थियौँ । उहाँले झुठो बोलेर हुँदैन, हामी त्यतिबेलाका सबै जीवितै छौँ ।
नइ प्रकाशन र त्रिमूर्ति निकेतनका तर्फबाट केही ज्यादै महत्त्वपूर्ण र जो कोहीबाट गर्न असम्भवजस्ता देखिने नेपाली साहित्यसँग सम्बन्धित कामहरू सजिलै सम्पन्न गरिएका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल र नाट्य सम्राट बालकृष्ण समका पूर्ण कदका सालिक सञ्चारग्राममा स्थापना गरिएकोमा यसको मूल श्रेय उहाँलाई नै जान्छ । आफ्नो सक्रियताका सम्बन्धमा उहाँ भन्नुहुन्छ- मैले अन्यत्र जागिर, पेसा गरिनँ र लेखनमै लागेँ । यो कार्य सेवामूलक छ, आयमूलक छैन । संघसंस्थाको परिचालन मेरो रुचिले हो । लेखन र संघसंस्था परिचालनमा म अति व्यस्त छु । इन्दिरा र म भएर जीवनमा गरेका महत्त्वपूर्ण कामहरू धेरै छन् ।
हामी दुईमध्ये एक मात्र भएको भए यो स्तरमा काम गर्न पक्कै पनि सकिदैन्थ्यो । हामीले आफ्नो बुताबाट सुरू गरेका यी संस्था अहिले दुई करोडका मालिक भएका छन् । नइमा १५ विभिन्न संस्थाहरू (ईश्वर बराल प्रज्ञा निकेतन, कोइलीदेवी सङ्गीत कोष, रेखा स्मृति परिषद्, चन्द्रधन प्रज्ञा निकेतन, गणेश-दुर्गा प्रज्ञा निकेतन, आदि) र त्रिमूर्ति निकेतनमा तीन संस्था रहेका छन् । सीताराम प्रतिष्ठान, भूपालमानसिंह प्रज्ञाप्रतिष्ठानमा पनि हाम्रो संलग्नता थियो तर यी विशुद्ध साहित्यिक संस्था थिएनन् र अहिले निष्क्रिय अवस्थामा छन् ।
त्रिमूर्ति निकेतनको निर्माण भइसकेपछि यसैगरी ‘त्रिनारी रत्न’ को पनि निर्माण गर्ने सम्बन्धमा केही वर्ष अघिबाटै काम थालिएको भए पनि पूरा हुन सकेको छैन । यो योजना के हुँदैछ भन्ने जिज्ञासामा उहाँ प्रष्ट्याउनुहुन्छ-प्रेमराजेश्वरी थापा, गोमा र पारिजातको पूर्णकदका सालिक निर्माण भइसकेका छन् । प्राज्ञ ओम खत्रीले बनाउनुभएका यी सालिक ‘त्रिमूर्ति’ कै रूपमा उचित स्थानमा जतिसक्दो चाँडो प्रतिष्ठापन गरिनेछ ।
उहाँको संस्था र व्यक्तिगतरूपमा पनि नरेन्द्रराज प्रसाई योजनावद्धरूपले काम गर्ने व्यक्तित्वको छविले चिनिनुहुन्छ । उहाँको लेखन पनि यसैअनुरूपको हुँदैआएको छ । उहाँको अबको योजना के छ त ?
‘एउटा स्रष्टा-सङ्ग्रहालय र साहित्यिक सभागृह बनाउने योजनामा लागेका छौँ । यो महत्त्वाकाङ्क्षी काम सम्पन्न गर्न सकियो भने अहिलेसम्म नइले गरेका काममा अग्रगतिको र उल्लेखनीय भई सम्पूर्ण साहित्य-संस्कृतिकर्मीकै लागि चिरस्मरणीय हुनेछ । लेखनमा चाहिँ जीवनमा धित नमरुञ्जेल कम्युनिस्ट हुन नपाएको तुस ममा रहेको हुँदा एक जना सिद्धान्तनिष्ठ कम्युनिस्टको धित मरुन्जेल जीवनी लेखिसिध्याएँ । ती कम्युनिस्ट नेता हुन्-नारायणमान विजुक्छे । यो कृतिमा नरहरि आचार्य र गोविन्द भट्टले भूमिका लेखेका छन् । दुई सय पृष्ठको यो कृतिको भूमिका नै गोविन्द भट्टको अन्तिम भूमिका भइदियो । यसमा राम्रै मिहिनेत परेको छ । यसपछि नाट्यसम्राट बालकृष्ण सम र बीपी कोइरालाको साङ्गोपाङ्ग जीवनी तयार पार्नेक्रममा पनि छु ।’
उहाँ विशेष गरी जीवनी लेखनमा सिद्धहस्त सावित हुनुभएको छ । आफ्ना अहिलेसम्मका कृतिहरूमा नारीचुली, देवकोटाको जीवनशैली र ठाँगे उक्लेपछिलाई महत्त्वपूर्ण मान्नुहुन्छ । नारीचुलीमा पूरा पृष्ठ तस्बिरसहितका ५२ नारी स्रष्टाको जीवनी र अन्य धेरै नारीस्रष्टाको परिचय समेटिएको छ । देवकोटाको जीवनशैली महाकवि देवकोटासँग सम्बन्धित आलेखहरूको सङ्ग्रह हो भने ठाँगे उक्लेपछि यात्रासंस्मरण हो ।
दुई माउसंस्था नइ प्रकाशनमा २५ वटा पुरस्कार र त्रिमूर्ति निकेतनमा ५ देखि १० वटा पुरस्कार रहेका छन् । अधिकांशमा अगाडि ‘नइ’ जोडिएको छ र पुरस्कार प्राप्त गर्नका लागि धाउने, दवाव दिने, अनुनय-विनय गर्ने साहित्यकारहरूको ताँती लाग्ने प्रवृत्ति नै बनिसकेको अवस्था छ । उहाँको विचारमा-यस्तो हुनु संसारभरका मानवीय कमजोरीमध्येकै कुरा हो । यस्ता कमजोरीलाई भित्रभित्रै पचाउन सक्नु पर्छ । कति जनाले त आर्थिक सहयोग नै माग्छन्, माग्नेले नपाउँदा धमास पनि दिन्छन् । मैले त्यस्तालाई कालोमोसो दल, ठेलागाडामा हालेर घुमाउ बरू तर म नाजायज काम गर्दिन भन्छु । कुनै समय संस्थाका नाममा बैङ्कमा पैसा हुँदाहुँदै र घरमा चुल्होमा सङ्कट हुँदा पनि मैले त्यो पैसा चलाइनँ । साहित्यमा आर्थिक भ्रष्टाचार नहोस् भन्ने मेरो चाहना हो । यो कुरा सबैले बुझिदिए साहित्यिकवृत्त बदनाम हुने थिएन ।
नेपाली साहित्यमा लागिपरेर यसैका माध्यमबाट घरव्यवहार चलाउन सक्नु पनि ठूलो कुरा हो । नइ प्रकाशनमार्फत् कोष स्थापना गराउनेहरू निरन्तर बढिरहेका छन् । आफ्नो संस्थाप्रतिको विश्वासलाई उहाँले जीवनको सबैभन्दा ठूलो आर्जित सम्पति मान्नुभएको छ । राजनीतिक व्यक्तित्वहरू, समाजसेवीहरू, साहित्यकारहरू, जसले पनि साथ-सहयोग दिनसक्ने गरी काम गर्ने खुबी उहाँमा भएकैले यो रूपमा विभिन्न महत्त्वपूर्ण कामहरू हुनसकेका छन् । उहाँ भन्नु पनि हुन्छ -नरेन्द्रराज प्रसाई व्यक्तिगत स्वार्थबाट माथि उठेर सिङ्गो भाषा, साहित्य र संस्कृतिको उत्थानमा समर्पित भएको व्यक्ति हो । टीका-टिप्पणीहरू हुँदै गर्छन्, समयले सबैको मूल्याङ्कन गरिहाल्छ ।
मधुपर्क २०६८ माघ
