चेली, कठै मात्र भन्न सक्छु ।
तिमी गयौ ।
यो कविता हैन,
रोएको मनको आवाज मात्र हो ।
कतै
कतै व्यक्त नभएको
१८ वर्षकै उमेरमा गयौ ।
सम्झना मात्र छाडेर गयौ ।
हरे ! दैव, यो के… !
दुःख,
परीक्षाफलले तिम्रो मनमा दुःख थपेछ ।
मलाई परीक्षाफल हेर्दिन भन्थ्यौ,
मैले हेर्न सकेको थिइन,
धिक्कार छ मलाई पनि ।
कतै मैले हेर्न सकेको भए
म तिमीलाई सम्झाउँथेँ कि !
तर,
तर के भनुँ
कठै सपनामा पनि नचिताएको कुरा देख्नु पर्यो ।
भर्खरै ८ मार्च सिद्धिएको छैन ।
चेली, तिमीले यस्तो के निर्णय लियौ ।
आँखाभरि आँसु बनाएर मात्र तिमीलाई नै सम्झी रहेछु ।
तिमी परमात्माकी प्यारी हुनु नै पर्ने थियो त
… किन अविस्मरणीय यादगार हुने व्यवहार गर्यौ
… किन हामीलाई मन दुखाउने काम गरेनौ ?
जानुछ भने घृणा जगाएर जानुपथ्र्यो
बस्नुछ भने मात्र माया जगाउनु पथ्र्यो
तिम्रो सुशील व्यवहार र सौम्य मुहारले
यत्तिखेर मेरोे मन भक्कानी रहेछ…
परमात्माले तिम्रो आत्माको रक्षा गरून्
तिम्रो निर्दोष क्रियाकलापले चोर शिक्षानीतिको शिर छेदन होस्
तिम्रो निर्दोष मुहारले सधैँ सधैँ सताओस्
त्यसलाई
जसले गर्दा तिमी यो निर्णय लिन वाध्य भयौ ।
म तिम्रो
यादमा आँसु खसाइरहेको छु
किनकि मेरी पनि एउटी छोरी छे
गरिमा !
तिमै हातले लगाएको
उसको हातको मेहदी अझै छँदै छ,
तिमीले परीक्षाफल हेर्दिन बोलेको
तिम्रो बोली मेरो कानमा अझै गुञ्जिरहेछ !
तर !
तिम्रो भौतिक शरीर खरानी भइसक्यो !
तिमी इतिहास मात्र भइसक्यौ !
म आँखाबाट अश्रु खसाउन पनि सक्दिन !
तिमीलाई अरू केही भन्न सक्दिनँ !
तिम्रो आत्माले शान्ति भेटोस्
मेरो परमात्मा समक्ष यही कामना !
कठै ! कठै ! कठै !
कलम नै रुक्न मान्दैन…
तिमी अब कहिल्यै आउँदिनौ…
यता रुक्दैन…
मेरो कलम रुक्दैन… !
