आकाश झन्डै झन्डै बौलाउन लागेको थियो । कहिले गडयांगगुडुंग गर्छ, कहिले हावा हुण्डरी चलेर टुडिखेल वरिपरिका लहरे पिपलका रुखहरू भाचौला झैँ गर्छ । यसो पानी परी गयो भने ओत लागौला भनेर म न्यूरोड छेउको नैन बसेरा नजिकै पुगेको थिए । अगाडि पट्टिबाट रातो साडीमा सजिएर आएकी बशुन्धरालाई मैले देखे । मलाई लख काट्न निकै धौ धौ पर्यो । पहिले त ऊ यसरी साडीमा सजिएर हिडेको कहिल्यै देखेको थिईन । तीन चार जना अरु एकै उमेरका जस्ता देखिने महिलाहरूसँगै ऊ अगाडि बढ्दै आई । पहिले मलाई हो कि होइन, हो कि होइन जस्तो लागेको थियो । उसको गालाको सानो दागले बसुन्धरा नै हो भन्ने पक्का भयो ।
म फेरि पुरानो घाउ बल्झाउन चाहन्नथे । अतित जे भयो भयो, अब बाटो तताउदै ठीक भन्ने सम्झेर म फोटो कन्सर्नतिर लागे । ऊ भीडमा हराएकी थिई । म ठूलो सास फेर्दै बल्ल उम्कियो भन्दै गर्दा पछाडिबाट कुममा समाउदै कता भाग्या नि मिस्टर ! भन्ने शब्दले म खतत्र्याक खुत्रुक भए । उही बसुन्धरा ! चानचुन एक यूग आगाडि कि बसुन्धरा !! मेरो वाक्य फुटेन । एकोहोरो हेरी रहे । सियाको टुप्पोले आखा घोच्दा पनि आखा चिम्म नहोला जस्तो भएको थियो । टिल्पिलिएका आखाले मतिर हेर्दै सबैका सामु जोडसँग अंगालो मारी । सबै उस्तै, शारीरिक चालहरू उस्तै, आखाको हेराई उस्तै, बोलिचाली उस्तै । म के गरु, के गरु भएर अक्क न बक्क परे । उसले मतिर गहिरिएर हेर्दै भनी “भगवानको इच्छा रहेछ भेट भयो ” । तिमीलाई खुशी लागेको छैन होला, तर म त खुशी भए । आज गंगा उल्टो बहेकी छिन् । खैर सँगै बसेर चिया पिऊ । केही आपति त नहोला नि ? मैले समस्या छैन एक सर्तमा भने । के सर्त हो त्यो भन्दै उसले आश्चार्य मान्दै सोधी, मैले भने पैसा म दिन्छु, उसले के मसँग भएको पैसा चल्दैन र भनी ?
अगाडि बढ्दै जादा मैले भूगोल पार्कमा बेच्न राखेको महात्मा गान्धीको जीवनी किताबमा हात बढाए, उसले मेरो हात समातेर तिम्रो किताब पढ्ने बानी त उस्तै रहेछ, पछि हेरौला भनेर मेरो हात तानेर अगाडि बढी । हामी न्यूरोडको आगन रेस्टुरेन्टमा पस्यौ । सारै भीड रहेछ । त्यस पछि अगाडि भएको नंग्लोतिर जाऊ भने, त्यति तिर लागियो । मैले कुनाको एउटा टेबुल रिजर्ब गरे, ऊ एकातिर बसी म अर्कोतिर बसे आमने सामने । मेरो मनोविज्ञानको अध्यान गर्नेहरू भन्छन, म बडो घमण्डी जस्तो छु, दम्भी, क्रुर स्वभावको, शरीर जर्खरिएको, अनुहार कहिले नखुले जस्तो, आखाले टाढा टाढा केही खोजिरहे जस्तो, असन्तोषले भरिएको अनुहार, औसी पूर्णियामा मात्र हास्छस भन्छन… । म उसका सामु केही नबोल्ने पक्षमा थिए । मेरो बुझाईमा मैले ऊबाट ठूलो धोका खाएको थिए । समय र परिस्थिति नबदलिएको भए म उसलाई पक्का पक्की बिहे गर्थे । म चूप लागेर बसेको देखे पछि उसले नै कुरा निकाली, के छ कसो छ भनेर । मैले सबै ठीक भएको भने । उसका बारेमा सोध्दा बडो खुशीका साथ जिन्दगी चलेको बताई । बिहे गर्यौ त ? मैले सोधे, अ बच्चा पनि दुई जना छन, छोरा र छोरी ! हुर्किन पो लागे जवाफ आयो । श्रीमान नि ? उसले भनी जागिर नै हो, घर बनायौ कि कही ? मैले सोधे, बानेश्वरमा छ । भगवानले सुन्दर र सुखी परिवार दिएछन, खुशी लाग्यो भने । उसले हास्दै जवाफ दिई, मलाई थाहा थियो ” अरुको खुशीमा तिमी रमाउछौ भन्ने” तिमी अच्चम्मको मान्छे ! आफैलाई आफै दुखि बनाउछौ । सधै निरास जिन्दगी कति बाच्न सक्छौ ? उमेर छ जीवनलाई परिवर्तन गर्न सिक…म चूप लागेर बसी रहे ।
उसले चिया पिउदै भनी, तिमी त यतिका वर्ष सम्म कुनै परिवर्तन नभएको, हेराई, बोलाई सबै उस्तै उस्तै, बडो गम्भिर मान्छे भन्दै मेरो दायातिरको गालामा उसका हातले यसो मुसारी । म चाहन्थे उसले अब मलाई केही नगरी दिए हुन्थ्यो । उसका आखा फेरि टलपलाए, अलि कति आक्रोशित मुद्रामा भनी, तर दुई कुरामा परिवर्तन भएछौ । तिम्रो स्वार्थ र आदर्शमा ठूलो परिवर्तन आएछ । म रायोको साग गले जस्तै लल्याक लुलुक गले । त्यति बेला उसको अनुहार बिचित्रसँग आक्रोशित भई सकेको थियो । मैले नम्र भाषामा भने बसु ! म धेरै दुखि छु र केही पनि बोल्न चाहन्न । कृपा गर ! तिमी र तिम्रो परिवारलाई भगवानले खुशी राखून !!
तिमी बोल्न सक्दैनौ भने सुन्न त सक्छौ ? रुखो भाषामा ऊ आगाडि बढी । मैले के नै गरिन र तिमीलाई ? मन पेट दिए, दु:ख सुखमा साथ थिए, मैले आफूलाई तिमी प्रति समर्पण गरेकी थिए । के पाप गरे र मलाई यसरी तड्पायौ ? ममा के कुराको कमि थियो ? उसले आफू भित्र नारीमा हुने सबै शारीरिक गुण छन् भन्ने प्रमाण दिन खोजी । प्रतिशोध लिने कारण थियो भने मलाई भनेको भए हुन्थियो । सारा मान्छेका आगाडि के के बकी के के । उसको कर्कस आवाज सुनेर मेरो पारो निकै चढेको थियो । एक मनले उसको कपाल सपाल सबैका सामु भुत्ल्याई दिउ कि जस्तो लागेको थियो …आइमाई मान्छे, हात लगाउनु हुन्न आफ्नै ईज्जत जान्छ भनेर म चूपचाप लागेर सुनी रहे । निकै बेर रोएर तिमी दुखि भएकोमा मलाई कहिले खुशी हुन्थ्यो र भन्दै उठेर फेरि अंगालो मारी । आज के को भुंग्रो आई लागेछ भनेर म हतास भएको थिए । भगवानको कसम खादै भनी, म तिमी दुखि भएको हेर्न चाहन्न । याद राखे ! जीवन भरी मैले तिमीलाई समर्पण गरेकी छु ।
मैले भने बशु ! परिस्थिति बुझ, म तिम्रो घर बर्बाद भएको हेर्न चाहन्न । उसले फेरि रुदै भनी, मेरो घर संसार केही छैन, न परिवार छ, न छोरा छोरी छन्, खाली तिमी थियौ…उसैको पर्खाईमा बसी रहे, बसी रहन्छु । सधै गरिब र दुखिहरूको सेवा गरे, तर भगवानले म माथि नै लाठी बर्साई दिए । यो कस्तो प्रतिफल हो, कस्तो न्याय हो ? निकै विलौना गरेर भगवान माथि आक्रोस पोख्दै रोई रही । पीडाले खाग भएको उसको अनुहार अहिले पनि उतिकै चम्किलो र सुन्दर थियो । रातो साडीमा सजिएकी, कपाल आगाडि अलि कति काटेकी रहिछ, नाकमा फूली लगाउन छोडिन, आखा उस्तै सुन्दर ! रातो गुलाफको फूल माथि कालो भमरा बसे जस्तो, शरीरका हरेक अङ्गहरू वर्णशंकर गरे जस्ता, एक हिसाबले भन्ने हो भने आगनको मठमा बिहानीको कलिलो घामसँगै फूलेकी मखमली फूल थिई बशुन्धरा ।
त्यस बेला मलाई सच्चा प्रेमको मूल्य र त्याग कस्तो हुने रहेछ भन्ने कुरा थाहा भयो । आत्मा दुखेको पीडा कति गहिरो हुने रहेछ । मानिसहरू त्यसै मर्ने होइन रहेछन । प्रसव पीडाले छटपटटिए जस्तै मलाई असैह्य बेदनाले च्यापेको थियो । मेरो घाटीमा घिक घिक गर्दै हिक्का छुट्न थालेको थियो । आवाज बाहिर निकाल्न हुन्न थियो । मलाई नेपाली पढाउने गुरु श्रीहरी रुपाखेतीले भन्नु हुन्थियो “प्रेम भनेको जवानीको तातो तातो जोश होइन, मुटुको न्यानो सपना हो । यसले त्याग दिन्छ, बदला लिदैन’’ । वास्तवमा उसका हृदयमा सच्चा प्यार थियो र आखामा सुन्दर सपना सजाएकी थिई । उसले सोचेकी थिई होला । हामी दियोमा हालेको तेल र बाती भएर सँगै बल्ने र सँगै निभ्ने । तर परिस्थितिले कहाँ त्यसो हुन दियो र ?
साहूको दोकानको भित्तामा झुन्डिएको मोनालिसाको तस्बिरतिर हेर्दै म अतित तिर डुबे । काठमाडौँको यात्राको लागि म झापाको बिर्तामोडबाट अजिमा ट्राभलको टिकट काटेर बसको आगाडिको दोश्रो लाईनको झ्यालतिरको सिटमा बसेको थिए । चार – पाच जना केटीहरू म बसेतिर आए । उनीहरूमा एक जना पचास जतिकी देखिने भद्र महिला पनि थिईन । खैरो रंगको सलवार कुर्ता लगाएकी अलिक भद्दा देखिने एक महिलाले मेरो नजिकै आएर त्यो सिट मेरो हो भनी । मैले भने, तपाइको नाम लेखेको छ र ? ऊ रीसले आगो हुदै के तरीकाको जवाफ हो यो भनी । ऊसँग आएका मैयाहरू मसँग एक छिन खनिए । मैले बसको काउन्टरमा गएर कराउ भने पछि चूप भए । उसले कन्डक्टरलाई बोलाएर ल्याई सिट परिवर्तन गर्नको लागि । मैले उसलाई भने, तिमी गाडी आगाडि बढाऊ मेरो परिचय नखोज भने पछि कन्डक्टर हिड्यो । उसकी आमाले मलाई नम्र भाषामा भनिन, बाबु मेरी छोरीलाई बसमा यात्रा गर्दा बान्ता हुन्छ, झ्यालतिर बस्न पाए हुन्थियो ! मैले भने आमा मलाई पनि हुन्छ, धन्दा नमान्नुस् । म राम्ररी लिएर जान्छु । ऊ मतिर फेरि खनिई । ‘माइन यूर ल्यान्वेज’ मिस्टर’ ! मैले मलाई अंग्रेजी आउदैन भन्दै बहाना गरी दिए । यसो ख्याल गरी दिनु है बाबु ! भन्दै बूढी मान्छे र चरीहरू हिडे । म उसलाई यादै नगरी बाहिरतिर हेर्दै थिए, यतिकैमा उसले मेरो जिउमा अढेश लाग्दै झ्यालमा हात लगेर भनी यो खोल्न मिल्दैन ? मैले भने, किन नमिल्नु ? खोल्न र बन्द गर्न त बनाएको हो नि । कस्तो मान्छेको फेला परिएछ भन्दै आफ्नो ठाउँमा बसी ।
म ऊ तिर फर्किएर उसको कपाल, आखा, नाक, मुख नियाल्दै घाटी तलतिर गएर रोकिए । उसले चुन्नीले शरीरको आगाडिको भाग छोप्दै भनी, किन त्यहाँ पुगेर रोकिनु भो मिस्टर ? आक्रोस मिसिएको प्रस्न गरी । मैले भने ‘’स्पीड ब्रेकर रहेछ’’ । असभ्य मानिसहरूको जिब्रो झिक्न सकिदैन भन्दै मुख छोपर खोके झैँ गरी । बस आफ्नो गतिमा अगाडि बढी रह्यो, उतातिरबाट अध्यारोले सडक निल्दै आए जस्तो भान हुन्थियो । मेरो विचारमा उसलाई अलिक असजिलो हुन थाल्यो । कहिले पाउ खान्छे । कहिले दालमोट खान्छे, सायद वाक्ने सुरमा छे । निकै छटपटाउन थाले पछि मैले सोधे, केही समस्या पर्यो कि । वान्ता आउन लाग्यो उसको जवाफ सुनेर म बसेतिर उसलाई बस्न भने । झ्यालमा के पुगिथि, वाक्न शुरु भयो । पेट फर्किउन्जेल बान्ता गरी, आठ दस पटक गरे पछि मैले दिएको मिनरल वाटरले मुख कुल्ला गरी र आधा जति पिई । आफूसँग भएको रुमाल भिजाएर मैले उसको निधार पुछी दिए । आलस्य भए जस्तै गरी उसको टाउको मेरो कुममा एकछिन राखेर बसी । म चूप लागेर बसे । घर कहाँ पर्यो सर ? अलिक व्यंगात्मक भाषा बोले जस्तो गरी । म त मूसाफिर हु, न घर न ठेगाना …भन्दै गर्दा मेरा कुममा एक मुक्का बर्साएर भनि, कति नापिएको मान्छे ह ?
बस आगाडि गुडी रह्यो आफ्नो गतिमा । ऊ बिस्तारै मतिर ढेसिएर निदाउन शुरु गरी । मैले सोचे यो विचारी आलस्य भएकी छे सुतोस भनेर के के सोचाईमा मग्न रहे । जादै गर्दा बस ढल्के बर पुगेर खाना खानको लागि रोकियो । खलासीले सबैलाई खाना खाने उर्दी गर्यो । एक एक गर्दै मान्छेहरू बसबाट ओर्लिए । बसुन्धरा गहिरो निद्रामा नै थिई । मैले मेडम खाना खाने होइन भने ? उसले जवाफ दिई । कल मि बशुन्धरा ! माई नेम इज बशुन्धरा । मैले भने म कुनै बशुन्धरा सशुन्धरालाई जान्दिन । फेरि अर्को मुक्का खाए । हामी बसबाट ओर्लिए पछि एक एक वटा चाउचाउ खायौ । मैले जवरजस्ती गरे पछि एक एक वटा कोक पनि खाइयो । उसले पैसा तिर्न निकै जिद्धि गरी । मैले काठमाडौँमा पछि तिर्नु भन्दा उसले भनी कसले फेरि भेट गर्छ र राजा यस्ता निचोरिएको मान्छेसँग ? सामान्य कुराहरू भए । फेरि ऊ निदाउन शुरु गरी, ऊसँग भएको मजेत्रो झोलाबाट झिकेर आधा उसले ओढी र आधा मलाई ओढाउन लागी । मैले भने भयो हौ, यति धेरै माया गर्नु पर्दैन । उसले भनी भ्रममा नपरौ सर ! यो माया हो भनेर । आरामले मलाई सिरानी लगाएर ऊ सपना देख्न थाली । बिहानको रिम रिमतिर हामी नौबिसे पुगिसकेका थियौ । बस रोकियो । दिसा पिसाप चिया नास्ताको लागि । त्यहाँ सामान्य चिया नास्ता गरियो । उसले आफू परिवार नियोजन सम्बन्धि आइ एन जी ओमा काम गर्छु भनी । कलंकी पुगे पछि ऊ अर्को बस समातेर घट्टे कुलोतिर लागि । म किर्तिपुरतिर हिडे । जाने बेलामा फोन न दिएर गई ।
निकै समय सम्म मैले कुनै सम्पर्क गरिन । पछि एक दिन के भन्छे भनेर फोन गरेको, फोन उठाउदै भनी ओहो हो सर ! याद त रहेछ । फूर्सद मिलाएर आउनु नि यसो सँगै बसेर चिया खाउला । मैले भने म त चिया खादिन, पिउने गरेको छु, उसले हास्दै भनी फेरि त त्यस्तै कुरा ? पछि मैले बागबजारको पि के क्याम्पसबाट बाहिर निस्कदै गरेको बखत उसलाई भेटे । पि के क्याम्पसको यूनिफर्ममा सजिएकी बशुन्धरा निकै राम्री रहिछे । म मक्ख पर्दै उसलाई हेर्दै थिए, मेरो ध्यान भंग गर्दै भनी उही बसमा हेरे जस्तै ? म लाजले रातो हुदै होइन त भने, तर सत्य कुरा कहाँ लुक्थियो र । उस दिन पछि हामीले अलिक नजिक नजिक भेट गर्न थालियो । कहिले ककनी, कहिले नगरकोट, कहिले गोदावारी हुदै कहिले काहिँ सिनेमा हल तिर पुगियो । भेटघाट र हाम्रो सम्बन्ध सँगसँगै अघि बढे । उसका दुई तीन वटा कुराले म निकै प्रभावित भए । पढाइ, पत्रकारिता, राजनीतिक र समाज सेवामा पोख्त मान्छे थिई । कहिले काहिँ असामान्य तरिकाले रिसाउन खोज्थी । भालुको पित्त खाए जस्तै मसँग दुई तीन पटक निकै रिसाई । एक पटक कोठामा बसेको बेलामा मैले उसका सुन्दर आखामा हात लगेर तिम्रा यी आखा मलाई देउ न भनेर यसो छुन लागेको थिए, उसले मेरा हात चुडिने गरी भित्तामा ठटारी दिई । अर्को पटक मदन भण्डारीको मृत्युको रिक्तता पछि सम्म रही रहने छ भन्दै निकै अफसोस गरी । मैले असभ्य भाषामा भने, यो चिन्ता त विध्या भण्डारीलाई बढी हुनु पर्ने किन तिमीलाई यत्रो चिन्ता भनेको के थिए, उसले मेरो अनुहार कोपरेर झन्डै घाउ पारी । अर्को दिन के कुरामा हो एक जग पानी मेरो टाउकोबाट खन्याई दिई ।
आपसमा हाम्रा दु:ख सुख साटासाट भए, एक अर्कामा सहयोग पनि भए । काठमाडौँमा ऊसँग मेरा दिनहरू धेरै रमाइलोसँग बिते । रंगिन रातहरू पनि बिते भनौ । मेरो पढाइ सकी सकिएको थियो । राम्रो कामको खोजीमा म पाल्पाको एउटा मिसन स्कूलतिर लागे । उसले निकै कर गरेकी थिई । काठमाडौँमा नै काम खोज्नको लागि । तर तलब सुबिधाको लोभले गर्दा मैले उसलाई छोडे । म छुटीमा काठमाडौँ आउदा प्राय: ऊसँगै बस्ने घुम्ने गर्थे । समय बित्दै जादा उसको तालिमको लागि अमेरिकाको कोलोराडो भन्ने ठाउँबाट निमन्त्रणा आयो । ऊ छ महिनाको लागि उतातिर लागि । म आफ्नो काम तिर । छुटीको बेला म कहिले पर्वतको रोधी, कहिले गुल्मीको दोहोरी भाकातिर लागे । काठमाडौँ धेरै समय आइन । ऊसँग मेरा चिठी-पत्रहरू र सम्पर्क हराए । के कुरा थियो भने विचमा म काठमाडौँ आएको बेला उसकी साथीले भनी ‘’ बशुन्धराले अर्कैसँग बिहे गरी’’ । म छागाबाट खसे र आफ्नै कामतिर लागे । बशुन्धराले मेरो बारेमा सोध्दा पनि उसकी साथीले उसले बिहे गरी सक्यो पर्खिनु आवश्यता छैन भनेर भिलेनको भूमिका खेलिछे । सम्बन्ध त्यहिबाट बिग्रियो । बूढापाकाले भने जस्तो लेखेको कुरा मात्र पाइन्छ भनेको ठीक हो जस्तो लाग्छ…
एल एन सुवेदी ”हस्ती”
दूबई – यू ए ई
