Skip to content


खै ? कताबाट शुरु गरौँ ? म यो कलमको गतिलाई । लेख्ने हातहरू थर-थर काँपिरहेका छन, मनमा एक पछि अर्को गर्दै विगतका धमिला तस्विरहरूले सुनामी ल्याई रहेका छन् । र त म अहिले, यो क्षण यर्थातको धरातलमा भासिन पुगेकी छु । मलाई के थाहा ? संयोगबस मोबाइलमा आएको एक कल फोनले डेढ दशकदेखि गुम्सिएर बसिभूत भएको मेरो विगतलाई शाक्षात्कार गर्ला भनेर । अनायासै भएको हाम्रो जम्काभेटले मलाई बर्तमानमा नराम्रो सँग थप्पड हानेको छ । वितग र बर्तमानलाई मनको तराजुमा राखेर तौलिने प्रयत्न गर्ने कोशिस गर्दैछु । कृपया तिमी नरिसाउनु ल !

प्रिय कन्चन,

तिमीसँग हुन गएको मेरो जम्काभेट चिर परिचित थिएन न त पूर्व योजना अनुरुप नै थियो । विवसताको भारी बोकी फरक गन्तव्यमा हिंडि रहेका दुई यात्री बीचमा सम्बन्धको झोलुङ्गे पुल सावित भई दिएको यो विकासको अवयव मोवाइल नेटबर्कलाई धन्यवाद नदिई रहन सक्तिन म अहिले ।

मेरो मोवाइलमा बारम्बार घण्टी बजिरहेको थियो । म अफिसमा थिए त्यसवेला । लगातारको घण्टीको टड्कारो कर्कस आवाजले काममा अवरोध पुर्याउँदै थियो मेरो । त्यसैले गोजीमा भएको मोबाइललाई छिटो-छिटो हातमा लिएर हेरे, तर अहिलेसम्म कहिले पनि नदेखेको अपरिचित नौलो नम्वर थियो त्यो । मलाई जहिले पनि अपरिचित नम्बरबाट फोन आउँदा मेरो मुटुको धड्कन तिव्र भएर जान्छ । खै ? किन हुन्छ त्यो त मलाई नै थाहा छैन । हो, अहिले पनि त्यही हविगत थियो मेरो र पनि निकै छोटो समयको मनोबाद पश्चात जति सक्दो चाँडो रिसिभ गर्ने निर्णय गरे र हिम्मत बटुलेर त्यो महत्वपूर्ण फोनलाई रिसिभ गरेरै छोडे । तर दुर्भाग्य के परेछ कुन्नि ? त्यो समय तिमीले खोजेको मान्छे म थिईन, तिमी त अर्कैको खोजीमा थियौँ । मैले तिमीलाई तिमीले खोजेको मान्छे म नभएको जानकारी पनि दिएँ । तर पटक पटकको तिम्रो सोधाईले मलाई कता-कता भित्र चिमोटे जस्तो लाग्यो । पहिलो चोटी मेरो कानमा ठोक्किन गएको तिम्रो आवाजले मलाई सपनाबाट झल्यास्स विउँझाए झै गरिदियो । मेरो शरीरमा एक किसिमको तरँग प्रसारित गरिदियो । म अवाक भए, गला अवरुद्ध भयो । थर थराई रहेका मेरा ओठलाई दातले टोक्दै फेरी पनि तिमीसँग म तिमीले खोजेको मान्छे नभएको अनुरोध गरे तर तिमीलाई पत्यार लाग्यो या लागेन मैले एकिन गर्नै सकिन । त्यो क्षण म छाङ्गा बाट खसे झै भए । मैले मेरो वरपर, अगाडीको कुनै पनि चिजलाई देखिन । मानौ मैले त्यसवेला सबैलाई विर्सी दिए । यो सव किन भयो ? थाहा छ कन्चन ? किनकि मेरो कानमा अनयासै ठोक्किन पुगेको तिम्रो आवाज चिर परिचित झै लाग्यो । कता कता सुने जस्तो लाग्यो जुन अहिले पनि मेरो कानमा गुन्जायमान छ ।

समयको बहाव सँगै पूराना स्मृतिहरू मानसपटल बाट एका एक गरि धमीलिदै जाँदा रहेछन् । बल्झिएको घाउँमा समयले मलम लागाईदिंदो रहेछ । तर कन्चन, विस्मृतिमा उर्झाई रहेको मेरो विगतलाई तिम्रो यो आवाजले साच्चिकै बैसाखीको काम गर्यो । आज भन्दा १५ बर्ष अगाडीदेखि सुन्न नपाएको आवाज मैले आज सुन्न पाएकी थिएँ । मेरो मोबाइल कति बेला मेरो हातबाट भुईमा खस्यो त्यो पनि मैले थाहा पाईन । दाँतले च्यापी राखेको ओठ जब बेजेडले टोकियो अनि बल्ल अर्थातको धरातलमा फर्किए हतार-हतार भुईको मोबाइलाई टिपेर गोजीमा राखे । मैले कल्पना पनि गरेकी थिईन कि यो दुई मिनेटको समयाबधिले मलाई यतिसम्म विचलित गराउँछ होला भनेर ।

कन्चन, तिमीलाई के थाहा ? म कुन परिस्थितीमा गुज्रिराखेकी थिए त्यो क्षण । मलाई लाग्छ त्यो क्षण, त्यो समय मेरा लागि धेरै नै महत्वपूर्ण भए पनि तिम्रा लािग सामान्य थियो होला र त त्यसपछि फेरि अर्को पल्ट यो भुल दोहर्याउन चाहेनौ । हो, त्यसपछिका प्रत्येक पल पनि मेरो लागि सारै नै कष्टकर भएर व्यतित भए । विगतका धमिला तस्विरहरू नाटकको दृष्य जस्तै एक पछि अर्को गर्दै तछाड-मछाड भएर प्रतिविम्वित हुन थाले । म मानसिक रुपमा सारै नै असक्त भई सकेकी थिए । मैले भोगेका बेचैनीलाई न त म तिमीलाई सुनाउन सक्थे न त मेरा सहपाठी माझ बाड्न सक्थ्ये । म अफिसबाट कति बेला घर पुगे मलाई नि थाहा भएन । मेरो कोठा सँगैको अर्को कोठामा बस्ने साथिले भान्सामा पे्रसर कुकुरले जोर सँग सुस्केरा हाल्यो अनि मलाई कोठामा पुगेको थाहा भयो । कोठा पुगेर पनि मैले केही काम गर्न नै सकिन । साच्चै भन्नु पर्दा म त्यो रात पनि राम्रो सँग निदाउन सकिन । म कति विचलित भए कि कन्चन, मैले अभिव्यक्त गरेका शव्दले पनि त्यति बोल्न सक्तैनन् होला ।

तारन्तारको मेरो बेचैनीलाई मैले सहन नसकी एकपल्ट जसरी भए पनि तिमीलाई भेट्ने निधो गरे । अस्तव्यस्थ भएको मेरो मनस्थितिलाई म यथास्थितिमा ल्याउन चाहन्थ्ये । मेरो कानमा गुन्जिराखेको तिम्रो आवाजलाई दृष्य सँग एकाकार गर्न मन लाग्यो मलाई । मन मनै अनेक प्रश्नहरूको विजारोपन हुन थाल्यो । के त्यो आवाज भएको मान्छेको स्वरुप पनि उसैको जस्तो होला त ? कतै त्यो मान्छे ऊ नै त होइन ? आदि-आदि अनेक अनुत्तरित प्रश्नहरूले मलाई सताउन थाले र मैले तिमीलाई एक पटक जसरी भए पनि भेटेरै छोड्ने संकल्प गरे । मेरो मानसपटलमा पर्न गएको भ्रमलाई च्यात्न चाहे । त्यसै दिन तिमीलाई नभेटी नछोड्ने दृढता मनमा साँचेर हतार हतार अफिस तिर लागे ।

सदा जस्तै आज पनि अफिसमा कामको चटारो उत्तीकै थियो । आज मेरो ध्यान अफिसको काममा पटक्कै थिएन । म असरल्ल थिए । तर पनि मेरो कर्तव्य त मैले निभाउनु नै पर्दथ्यो । अलि बेर काम गरे जस्तो गरेर मलाई तिमीसँग फोन गर्ने तिब्र इच्छा जागृत भयो । केही समय मै मन थाम्न नसकि हिजो तिमीले मलाई कल गरेको नम्बरमा फोन डाइल गरे । नभन्दै फोन गयो, फोनको गति सँगै मेरो मुटुको धड्कन पनि तिब्र हुदै गयो । मेरो अनुहार तातो भएर आयो । तिमीले फोन सिसिभ गर्यौ । मैले भन्न चाहेको धेरै कुरा भए पनि त्यतिवेला केही भन्न सकिन खाली एतिमात्रै भन्न सके – “मैले तपाईलाई आज जसरी पनि भेट्नु छ समय मिलाएर मलाई तुरुन्त कल गर्नुस है ।” यति भनिसके पछि मैले तुरुन्तै फोन काटी दिए ।

कन्चन, तिमीले त्यो समय के सोच्यौ ? कुन्नि । म त मेरो कुरो भन्न पाएकोमा सारै खुशी भएकी थिए । मन भित्र फेरि शंका र उपशंकाको द्वन्द्ध हुन थालेको थियो । तर पनि समयलाई सुस्केरा सँग गन्दै तिम्रो फोनको प्रतिक्षामा थिए । तिमीले मेरो मनशायलाई बुझेर हो वा नबुझेर हो । पाँच मिनेट मै कल व्याक गर्यौ । हुन त तिमिलाई लाग्यो होला । एउटी केटी त्यो पनि आफै मलाई भेट्न बोलाउँदै छे भने म किन त्यो महत्वपूर्ण समयको भरपूर उपयोग नगरु भनेर । त्यसैले त ठीक चार बजे मैले भनेकै ठाउँमा आफ्नो हुलिया बताउँदै आई पुग्ने बाचा गर्दै फोन राख्यौं ।

तिमीलाई भेट्नुभन्दा पहिलेका समय जुन प्रतिक्षाको समय थियो त्यो, कसैको पखाईको समय थियो त्यो मेरो । मलाई सारै छटपटी भयो । घडीमा हेर्दा हेर्दै लाग्यो त्यो घडीको सुईलाई आफै दुई फन्को घुमाएर चारमा पुर्याई दिउँ तर यतिले मात्रै म त्यो समय, त्यो क्षणलाई प्राप्त गर्न सक्दिन थिए । तिम्रो बारेमा धेरै कुरो सोचे मैले त्ये २ घण्टाको समयमा कतै तिमि त्यही मान्छे त होइनौं ? जो सँग आज भन्दा १५ वर्ष पहिलेका धेरै घण्टा, दिन, महिना र वर्ष वितेका थिए मेरा । जसलाई भेट्नका लागि भए पनि झिनो आशा मनमा पालेर अहिलेसम्म बांचिरहेकी छु म । सोच्दा साच्दै भित्ताको घडीले चार बजेको संकेत गर्यो । म हत्त न पत्त अफिसबाट बाहिरिएर अघि तिमीलाई दिएको लोकेसनमा पुगे, जुन मेरो अफिस नजिकै थियो । ठेलमठेल रोडको भिडलाई छिचोल्दै मेरा आँखा दौडि राखेका गाडी तर्फ तेर्सिन थाले, तिम्रो हुलियालाई खोज्न । नभन्दै एक छिनमै तिम्रो बाइक नजिकैको पार्किङ स्थलमा आएर टक्क रोकियो । तिमीले निकै बेर आफ्ना आँखालाई यताउति घुमार्यौ तर मलाई चिन्न सकेनौँ हुन त कसरी पो चिन्न सक्त्थ्यौ र कन्चन, म त तिम्रो यात्रामा एक्कासी जम्काभेटमा परेकि अपरिचित भित्र पो थिए त । हेलमेटलाई हातमा झुन्डयाउँदै, लुगा टक्टकाउदै गोजीबाट फोन झिकेर मलार्य फोन डायल गर्नु पूर्व नै मैले तिमीलाई डाईल गरिदिएँ । तिमीलाई अव करै लागेर भए पनि मलाई खोज्न बाध्य गाए मैले । तिमीले नियालेर चारै तिर हेर्यौ । मैले हात हल्लाए बल्ल तिमीले चिनेछौ क्यारे बनावटी हाँसोमा आफुलाई मिसाउँदै समर्थनको संकेत प्रस्तुत गर्यौं । एक दिन त सन्नाटा नै छायो हामी विचमा । तर जे जस्तै भए पनि भन्ने पालो मेरो नै थियो किनकी तिमी त्यो ठाउँको लागि नयाँ थियौं । त्यसैले नजिकैको क्याफेमा जाने आग्रह मैले गरे, तिमीले स्वीकार्यौ पनि ।

म भित्र त झन अव विगत र वर्तमानको युद्धको शुरुवात भई रहेको थियो । जुन म तिमीलाई त्यो परिस्थितिमा देखाउँन चाहन्नथे । मलाई खुसीले हो या के ले हो भित्रैबाट भक्कानो फुटेर आएको थियो । परेलीसम्म आई पुगेका आसुलाई बल्ल तल्ल भित्र फर्काउने प्रयास गरे । हो, तिमी त कन्चन, मेरो जीन्दगीको एकलासे यात्राको क्षणिक सहयात्रीको प्रतिरुप थियो । जस सँग आज भन्दा पन्ध्र वर्ष पहिले नै त्यो दोवाटोको चौतारी नपुग्दै अनयासै मेरो साथ छुटेको थियो । मनमनै सोचें भगवान पनि हँदा रहेछन् र त मेरो पुकारा सुनेछन् । मलाई यतिबेला ऊ नभए पनि ऊ जस्तै तिमीलाई भेटाई दिएको थियो त्यो क्षण मेरो भगवानले । त्यतिबेला मलाइ तिमीले कसरी बुझ्यौँ ? म मन परे या परेन ? या म तिम्रो साथी हुन लायक थिए या थिईन , त्यो मलाई थाहा छैन । हुन त हो म मा तिमीमा जस्तो बैशको लाली थिएन । न त यो शहरको उछृङकलताले गोडमेल भई पोसिएकी आधुनिक युवती नै थिए । तर एउटी नारीमा हुनु पर्ने सबै थोक म मा विधमान नै थियो र छ पनि ।

क्याफेको टेवलमा बस्दा मलाई तिमीलाई पढ्न धेरै सहज भएको थियो । तिमीले पनि मलाई एक तमास हेरी राखेका थियौं । बेला-बेला म तिम्रो हेराईलायई उत्साहजनक बनाउन लजाई दिन्थे पनि । सम्मुख भएर टेवलमा बस्दा मैले तिमीलाई नियालेर हेर्ने मौका पाएँ । तिम्रो मन्द मुस्कान, ती नसालु नयन, अनारका दाना नझै मिलेका ती दन्त लहर र मिलेको जिउ डाल यी सारा कुराले मेरो वर्तमानलाई विर्साई दिएको थियो । थाहा छ ? कन्चन, त्यो समय, त्यो क्षण, मैले तिमीमा पन्ध्र वर्ष पहिलेदेखि हराएको मेरो त्यो माया पाएँ । जसलाई पाउनका लागि म अहिलेसम्म भौतारी रहेकी छु । पल प्रति पल विगतका धमिला तस्वीरहरूलाई मुटुमा साजएर तड्पी रहेकी छु । झिनो आशाको तान्द्रो बुनेर बाँच्नकै लागि भए पनि बाँची रहेकी छु । कन्चन, त्यति बेला मैले तिमीलाई खुवै हेरे । मेरा आँखाले अघाउन्जेलसम्म हेरे । तिमीले सोध्यौ पनि किन मलाई तयसरी हेर्दै छौं ? मैले कुनै अपराध त गरिन भनेर स्वाभाविक थियो तिम्रो सोधाई । पहिलो भेट मै आँखा जुधाउने आँट सबैलाई हुदैन पनि । मैले तत्काल तिम्रो प्रश्नको उत्तर दिएर तिमीलाई स्पष्टकरण दिएकी थिए । होइन, तिमी अपराधी होइनौं । तर मेरो सामुको यो तिम्रो हुलियाको अनि हिजोदेखि मेरो कानमा गुन्जिराखेको तिम्रो आवाज चिर परिचित झैं लाग्यो । तिमीलाई मैले यो भन्दा पहिले कतै भेटे झै लाग्यो, त्यसैले हेरेको भने । शायद, तिमीलाई अचम्म लागेछ । क्यारे ! त्यतिवेला तिमी हास्यौ पनि ।

हाम्रो मिलनको त्यो पन्ध मिनेटको समयबधिले मैले अहिलेसम्म व्यतित गरेका पन्ध्र बर्षलाई तुहाई दिएको थियो । त्यस पछि हामी छुट्टियौ । अर्को भेटको आशा मनमा संगालेर विदाईका हात हल्लार्यौ । कन्चन, तिमीले हाम्रो असम्भाविक मिलनलाई कसरी लियौ त्यो मलाई थाहा छैन तर मैले मेरो अनुभूति तिमीलाई सुनाउँन चाहे । थोरै भए पनि मेरो विगत र तिमी सँगको मेरो भेटबारे तिमीलाई परिचित गराउन चाहे त्यसैले अहिले तिम्रो व्यस्त समयलाई मैले हस्तक्षेप गर्न खोजे । कृपया, मलाई माफ गर्नु ल ।

तिमीलाई दुखाउँने र तिमी उपहास गर्ने कुनै हातलमा पनि मेरो मनशाय होइन र हुने छैन पनि । तिमी स्वतन्त्र छौ । जस्तो पहिला थियौ । मेरा अभिव्यक्तिले यदि तिमिलाई मित्रताको हात अगाडी बढाउनमा उत्पेरित गर्छ भने यसमा मेरो पूर्ण समर्थन नै रहनेछ । यदि तिमिलाई मन नै लागेन भने पनि मेरो तिमी प्रति कुनै गुनासो रहने छैन । साच्चि कै भन्नुपर्दा कन्चन, तिम्रो आफ्नो जीन्दगी छ र मेरो आफ्नै किसिमको पट्यचारलाग्दो वर्तमान छ । परिवन्धमा पारेर मेरो नियतिको शिकार तिमीलाई बनाई विवशताको भारी कदापि बोकाउँन चाहदिन म । तिमीसँग गुनासो गर्नु पर्ने कुनै ठाउँ पनि छैन । तिमी न त हिजो मेरो थियौ न त आज नै छौ तर परिस्थितिले भन्छौं या भाग्यवशले खै कसरी ? हाम्रो मिलन हुन पुग्यो । यसलाई त जिन्दगी कै एउटा अवशरका रुपमा लिएकी छु मैले । जिन्दगीका गाल्छेडालाई छिचोल्ने क्रममा अनायासै संयोगले भएको हाम्रो यो जम्काभेट मेरो मानसपटलमा सदा अविस्मरणीय भएर सजिने छ जसरी प्रन्ध बर्ष पछिले देखिका मेरा स्वर्णीम अतित सजीएका छन् ।

अब अन्तमा, कन्चन ! तिम्रो यसमा केही दोष छैन । तिमी तिमीसँग गाँसिएको तिम्रो सुन्दर नाम जत्तिकै निर्मल, स्वच्छ र पवित्र छौं । साच्चिकै मनदेखि नै भन्छु तिमी कन्चन नै छौं र सदा सदाका लागि कन्चन नै रहने छौं ।

पार्वती शाही

२०६८, फागुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *