कहिले जलजलाको आगनमा चुँडिएको
जंगलीपातमा साम्यवादको अक्षर खोप्दै
कहिले माछापुछ्रेको काखमा लुकामारी खेल्ने
बादलको रेसाहरूमा गणतन्त्रको रंगिन सपना बुन्दै
एउटा अटल आस्था बोकेर
असमानताको बाँझो गराहरूमा
समानताको बाउसे बनेर हिँड्ने धनश्याम
आज कठै त्यही गराको साँधमा ढल्यो
कलमलाई संगिन जस्तै तिखार्दै
आजादीको चाँदनीमा लागेको ग्रहण
कलमले उप्काउँदै, उप्काउँदै
हजार मान्छेहरूको भीडमा
एउटा मैलो झोला बोकेर
संसार जित्ने हाँक दिदै हिड्ने
धनश्याम आज कठै
घाम नउदाउँदै क्षितिजको डिलमा ढल्यो
कहिले सेती नदीको किनारमा
रगत बेचेर गाँस साट्ने जिन्दगीहरूसँगै रुन्थ्यो धनश्याम
कहिले पसिनाले संसार जित्नु पर्छ भन्दै
रातो ध्वजा माथी माथी उठाईरहेको हुन्थ्यो घनश्याम
पोहोर साल सडकमा चुँडिएको हात्तीछाप चप्पल खोज्न जाँदा कुटिएको धनश्याम
आज कठै त्यही सडकको किनारमा ढल्यो
आमा
अब आउँदैन धनश्याम
भीरगाँउको बाटो
झोला भरि रातो किताव बोकेर तिमीलाई
विरताको कथा सुनाउन
अब आउँदैन धनश्याम
एक लस्कर नयाँ मान्छेहरूसँगै
तिम्रो दुःखी जोवन फेर्ने भन्दै
ढिंडो र गुन्दु्रक माग्न
तर आमा उ यतै कतै छ
सुनसान औंशीको रजनीमा
उजेलीको मन्द प्रकाश बोकेर हिड्ने
जुनकिरी देख्यौ भने
सम्झिनु धनश्याम उही हो
चैत्रमासको धुपमा जव तिमी
पसिनाले नाङ्गो पैतला भिजाउँदै
देउरालीमा निदाउँछौ
त्यसबेला तिम्रो चाउरिएको निधार पुछ्दै
तिमीलाई थाहै नदिई बहने पवन भेट्यौ भने आमा
सम्झिनु धनश्याम उही हो
मध्य रातमा
तिम्रो भत्किएको छिंडी छिचोल्दै
तिम्रो ममताको न्यानो काखमा
तिमीलाई उज्यालो दिन
पोखिएको एक टुक्रा जुन भेट्यौ भने आमा
सम्झिनु धनश्याम उही हो
ऐंसेलुको काँडामै अल्झिएको
तिम्रो गरिवी पन्छाउँदै
तिम्रो भत्किएको छाना माथी
रातो पैंयू फुल्यो भने
आमा सम्झिनु धनश्याम उही हो
एक दिन
जब तिमी ब्यूँझन्छौ
युगौंको कालो निन्द्राबाट
क्षितिजको निशा चिर्दै
एक जोडी सेतो परेवाले
तिम्रो आगनमा रातो फुल्टिन खसाल्नेछ त्यसबेला
आमा सम्झिनु धनश्याम उही हो
ऊ मरेको छैन
ऊ मरेको हैन
ऊ त यतै कतै हिँडिरहेको छ
एउटा मैलो झोलाभरि अपुरो सपना बोकेर ।
समाप्त
