कवि सिद्धिचरण श्रेष्ठ नेपाली वाङ्मयका मूर्धन्य कवि हुन् । नेपालभाषा साहित्यको श्रीवृद्धिमा पनि उनको योगदान उत्तिकै महत्त्वपूर्ण छ । उनले नेपालभाषामा तीन वटा खण्डकाव्य लुभुनी (ने.सं.११०१), तृष्णा (ने.सं.११११) र उत्तराविलाप (ने.सं.१११३) लेखेका छन् । यी खण्डकाव्यहरूमध्ये ‘तृष्णा’ खण्डकाव्यको सामान्य परिचय र यसमा कविको देशभक्ति पूर्ण भावनाको जागरणबारे अध्ययन गरी खण्डकाव्यको महत्त्व दर्शाउनु यो लेखनीको मूल उद्देश्य रहेको छ । खण्डकाव्यको नेपालभाषाका केही श्लोकहरू आफ्नै प्रयासमा नेपालीमा अनुवाद गरी यहाँ प्रस्तुत गरेको पनि छु ।
‘तृष्णा’ खण्डकाव्यको सामान्य परिचय
यो खण्डकाव्यबारे स्पष्टीकरण दिने क्रममा खण्डकाव्यकार सिद्धिचरणले आफ्नो भनाइ यस प्रकारले उल्लेख गरेका छ -‘तृष्णा’ केही होइन, यो कहीँ भएको पनि होइन । बीचमा आउँछ, बीचैमा हराउँछ । तैपनि यसले धेरै मान्छेहरूको जीवन खसालेको छ भने कतै उचालेको पनि छ । यही कुरा राम्ररी बुझी निर्लिप्त र निःसंग हुनु महानता हो । यही उद्देश्यबाट प्रेरित भई कवि सिद्धिचरणले यो खण्डकाव्य लेखेको बुझिन्छ ।
ने.सं. ११११ मा प्रकाशित यो खण्डकाव्यको भूमिकामा उल्लेख भएअनुसार- यो काव्य उनले ५० वर्षअघि नै लेखिसकेका थिए । वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधानको अनुमान अनुसार यो खण्डकाव्य सिर्जना गर्दा सिद्धिचरण २९ वर्षका रहेछन् । त्यसबेला कवि जेलमा परेकाले त्यहीँ ‘तृष्णा’ को जन्म भयो होला । त्यहाँ अन्य केही नभए पनि रामायणजस्ता संस्कृतिका धार्मिक पुस्तकहरूभित्र पठाउन पाउने स्वीकृति दिएको कुरा सुन्दै आएका हौँ । भतृहरिको नीति शतक पनि त्यस्तै पुस्तक भएकोले जेलभित्र स्वीकृति दिन नपर्ने कुनै कारण भएन । तसर्थ भर्तृहरिको वैराग्य र जेलभित्रको निराशाजनक परिस्थिति दुवैको प्रभाव ‘तृष्णा’ खण्डकाव्य लेखनमा आधार भएको हुनसक्छ ।
भूमिकामा अर्का समालोचक फणीन्द्ररत्न बज्राचार्यले उल्लेख गरेका छन् । कविको जीवनका विविध अवस्थामा उत्पन्न तीव्र इच्छाको एउटा मूर्त रूप यो ‘तृष्णा’ खण्डकाव्य हो । साहित्य सिर्जनाको सन्दर्भमा सिद्धिचरणको एउटा निजी सैद्धान्तिक मान्यता हो- मान्छे जति देवता हुन्, त्यति नै पशु पनि । देवत्व र पशुत्वको बीच मनुष्यत्वको विकास हुन्छ । साहित्य लेख्नेहरूले आफूलाई फकाउनु हुँदैन । उसले जति निर्भय भई आफ्नो देवत्वको कुराहरू गर्छन्, त्यति नै आफ्नो पशुत्वको कुरा पनि गर्न सक्नुपर्छ, आफूलाई छर्लङ्ग हुने गरी देखाउन सक्नुपर्छ, साहित्यिक कुरामा नाङ्गो भएर रहन सक्नुपर्छ । उसले आफूलाई स्पष्ट गरी देखाउन नसकेमा उसको साहित्य त्यति ग्राहृय हुँदैन । राजनीतिमा लाग्नेहरूले पनि आफूलाई छोप्न जसरी विभिन्न वादहरूको वस्त्रले आफूलाई छोप्नुपर्छ, त्यस्तै साहित्यकारले आफूलाई देखाउन कुनै आवरण राख्नु हुँदैन । कामवासनाले प्रेरित भएर आफूले गरेका असामाजिक क्रियाकलाप पनि उनले छर्लङ्ग देखाउन सक्नुपर्छ, लुकाउन हुँदैन । यसरी यो खण्डकाव्यका भूमिकाकारहरू र स्वयं खण्डकाव्यकारकै विचारको अध्ययनबाट खण्डकाव्यकार स्वयंकै अनुभूतिको अभिव्यक्ति हो भन्न सकिन्छ ।
खण्डकाव्यकारमा देशभक्तिको जागरण खण्डकाव्यको सैद्धान्तिक लक्षणअनुरूप खण्डकाव्यमा नायकको जीवनको एकै घटनाको वर्णन हुन्छ, जुन जीवनको कुनै एक पक्षको झलक प्रस्तुत भएको हुन्छ । केटीसितको एकोहोरो प्रेममा चुर्लुम्म डुबेर अन्धो भएका अनाम नायकको उक्त स्थितिबाट पूर्णतः मुक्त भई आफ्नो देशको सम्मानका लागि सङ्घर्ष गर्न कलम चलाउने जनकवि हुनुपर्ने आवश्यकताको बोध यो खण्डकाव्यको नायकलाई भई उनको परिस्थितिमा ठूलो परिवर्तन आएको छ । यतिसम्मको परिवर्तन किन र कसरी भयो ? यसको अध्ययन गर्दा यसमा तीन चरण देखिन्छन्-
प्रथम चरण-पहिलो सर्गको सुरूमा कविले प्रत्यक्षरूपमा आफ्ना अनुभूतिहरू यसरी राखेका छन् ।
कल्याण हुने होइन कुनै कर्म गरी
त्यो कर्म गर्न किन मन अघिअघि
गर्नु हुँदैन यो कर्म पछुताउनु पर्ला पछि
तर हाय यो चित्त अनायास सर्छ अघि
(पहिलो सर्ग, १)
यौवन अवस्थाका कविले कुनै केटीलाई मन पराउनु कुनै अस्वाभाविक कुरा होइन तर कविले आफूलाई तृष्णाबारे थाहा पाएर पनि पहिलो सर्ग यसरी सुरुआत गरेका हुन् । प्रेम अन्धो हुन्छ, प्रेममा परेपछि के उचित, के अनुचित, के लोकलाज कुनै ख्यालै हुँदैन । आफ्नी प्रेमिकासित सधैँ टाँसिएर बस्ने मान्छेको जुन स्वाभाविक तीव्र इच्छा हुन्छ, त्यो कविलाई पनि हुनु कुनै अस्वाभाविक होइन र भयो । आफू केटीको प्रेमजालमा परिसकेको र उक्त जालबाट मुक्त हुन नसकेकोमा कविजी चिन्ता व्यक्त गर्छन् । प्रेमीको आँखामा आफ्नी प्रेमिकाको सबै अङ्गहरू पि्रय नै हुन्छ । यो कविका लागि आफ्नी प्रेमिका बल्छी समान भई आफ्नो आँखा माछोजस्ता भई नित्य छटपटी र आगोको तापमा जलिरहेको जस्तो अनुभूति गर्दछन् ।
राम्रीमा छैन तिमीजस्ती यहाँ आजको यो लोकमा
साँच्चै अपार हिसिको भण्डार नै छ तिमीमा
बल्छी समान भयो तिम्रा आँखा म माछा समान भएँ
हा ! नित्य छट्पट् भई आगोको रापमा रहेझैँ
(पहिलो सर्ग, ४)
आवेगमा आएर कवि भन्छन्-
आऊ तिमी मलाई अमृत चुम्बन पान गराऊ
चञ्चल रहेको मेरो चित्त यो शान्त गराऊ
हे रूपसी, सरस रूप त्यो तिम्रो पिलाऊ
हे कामिनी, मेरो मन यहाँ तृप्त गराऊ
(पहिलो सर्ग, ५)
आफ्नी प्रेमिकाप्रति आफ्नो तृष्णा पूर्ति गर्न आतुर भई आवेगमा भन्छन्-
अहिलेसम्म खोजी हिँडेको तर अझै प्राप्त नभएको
पाएँ जस्तो हुने त्यो वस्तु तिमी भेट जब हुन्छ्यौ
हे सुन्दरी, देऊ मलाई हराएको वस्तु मेरो
गराएर तृप्त दिलको रसपान तिम्रो
(पहिलो सर्ग, १०)
कविलाई थाहा छ -रङ्गरूप भनेको विनाशको जलप हो । तृष्ण बनेको क्षणिकको तस्बिर हो, सहार गर्ने पुतली हो तर पनि तृष्णामै भुलिरहन्छन् र जीवन बर्बाद गरिरहन्छन् । कविलाई तृष्णा जतिको भयङ्कर नदी अरू नभएको र यो नदी पार नगरेसम्म बोधिज्ञान प्राप्त नहुने कुरा पनि थाहा छ । तृष्णाको अन्त्य भएपछि मात्र जीवन सफल हुने र निर्वाण प्राप्त भई शान्ति हुने कुरा पनि थाहा छ तर पनि कविमा तृष्णाको मात्रा बढ्दै गइरहेको हुन्छ । यसरी कविको अचेतन मनमा तृष्णा बढ्दै गए पनि चेतन मनले भने आफ्नो अशान्त चित्तलाई शान्त पार्ने प्रयास पनि गरिरहेको हुन्छ र भन्छन्-
यो मारलाई हराउन नसके हुन्छ तिम्रो ह्रास
हेरहेर पर्खिदैछन् हात उठाउँदै विनाश
(पहिलो सर्ग, ४१)
सचेतन अवस्थामा कवि आफू नीच र भ्रष्ट भएको, पौरुष शौर्य हराएको, आशक्तिले आफ्नो मार्ग भ्रष्ट भएको, सुन्दरी भनेकी आफ्नी पि्रयसी यथार्थमा सुन्दरी नभएकी आदि कुराहरू जानेर, बुझेर पनि तृष्णामा लागिरहेकोले सतर्क गराउँदा कविलाई स्वच्छ ज्ञान प्राप्त भएझै लाग्न थाल्छ । सचेतन मनले कविलाई देशप्रतिको कर्तव्य र अमूल्य जीवनको उत्तरदायित्व सम्झाउँदै कामले प्रमत्त भई कविको लक्ष्य हराएको, आवश्यक परेमा देशका लागि शिरसमेत चढाउने शौर्य प्रण बिर्सेको बारे सचेत गराउँदै भन्छन् ।
नेपाल तुल्य छैन अरू केही कुनै पनि
लिएर जन्म तिर्नुपर्छ यसको मूल्य पनि
अस्तित्व छैन हाम्रो कुनै अतिरिक्त देश
सेवा गर्नु प्रेमले यसको अशेष
(पहिलो सर्ग, ५३)
दोस्रो चरण-तृष्णा खण्डकाव्यको दोस्रो सर्गमा आइपुग्दा आफ्नी प्रेमिकाबाट आफ्नो तृष्णा पूर्ति नभएकोमा कवि तिनीसित अत्यन्त क्रुद्ध हुन थाल्छन् । आफ्नी प्रेमिका आफ्नी नभई अरू कसैकी हुने सम्भावना बढ्दै गएकोले कविले आफ्नी प्रेमिकाको हत्या गर्ने र आफू पनि आत्महत्या गर्ने कबुल गर्दछन् । कविको यस्तो आत्मचिन्तनको द्वन्द्व यसरी अघि बढ्न थाल्छ-
तिम्रो प्राण त्यो तिम्रै होइन मनपरि गर्न पाइँदैन
तिमीलाई बनाउने यो देश देशबिना तिमी नै होइनौ
हुँ म देशवासी तर मेरो प्राण त मेरो नै त हो
त्यसलाई मारी आफ्नो हत्या किन नगरुँ म
(तेस्रो सर्ग, ६)
सुकिगयो कि क्या हो सबै तिम्रो देशप्रतिको भावना
सुहाउँछ र तिमीलाई गर्न यसरी एउटी केटीको कामना ?
सुनेनौ तिमील ? अनुभूत भएन ? देशमा गुञ्जित क्रन्दन
हरे ! एउटी केटीले बनायो सिंहलाई पनि स्याल यो क्षण ।
(तेस्रो सर्ग, ८)
एउटी केटीको लागि यसरी शोक चिन्ता लिई हिँड्दा
लोकले तिमीलाई के भँन्छ होला छैन कि धर्म तिमीमा ?
धैर्य साहस कहाँ गयो तिम्रो सुहाउँछ र तिमीलाई भन
देशप्रति गर्नुपर्ने सबै काम बिर्सेको कसरी भन ?
(तेस्रो सर्ग, ९)
देशको अपमान शोषण भइरहेको देख्दादेख्दै पनि
नबुझेझँै नदेखेझैँ गरी कसरी बस्न सक्यौ तिमी ?
भेद छैन मान्छे र पशु यदि तिमी यस्तै बाँच्ने भए
होओस् जेसुकै, मरेरै जाउ बरू, तुच्छ पशु समान भई
(तेस्रो सर्ग, ११)
तेस्रो चरण-
कवि सिद्धिचरणको ‘तृष्णा’ यहाँसम्म आइपुग्दा उनीभित्रको अन्तरमनको अन्तरद्वन्द्वले चरम सीमा छुन्छ र यतिखेर उनी अत्यन्त सचेत भएर एउटा ठोस निर्णयमा यसरी पुग्छन् –
पानी पर्दैछ छाना चुहिँदैछ भत्किनै लागि सक्यो घरै
जिब्रो निकाल्दै टोक्न आइसके गोमनजस्ता सर्पहरू
तर गाउँदै प्रीतको गीत म कसरी बसिरहेको यहाँ
के भएको हो यो कहाँ गयो मेरो, उध्र्वगामिनी चेतना
(तेस्रो सर्ग, १४)
पतन हुन्छ मान्छे यसरी आज मैले छर्लङ्ग देखेँ
चेतनाको बत्ती निभ्छ यसरी आफँैले नै भोगी हेरेँ
देश नभए हुन्छ म कसरी यहाँ देश बिर्सिदै छु
एउटी केटीको आश गर्दै भष्म हुन लागिरहेकेा छु
(तेस्रो सर्ग, १५)
आगो लागेको देशको छातीमा भोक रोग अज्ञानको
छाती पिट्दै रुन्छन् जनता बाँच्न साहै दुःख भई
हा यस्तो कठिन बेलामा एउटी केटीको ध्यानमा परी
गर्ने हो र आफ्नो जीवन बर्बाद गरी, बर्बाद गरी ?
(तेस्रो सर्ग,१६)
खान, लाउन नपाएका आवाज बनोस् आमजनको
व्यक्तिगत तिम्रो त्यो माया बनाऊ विस्तृत देशको
पाप-शोषणविरुद्ध झण्डा लिई अगाडि बढ तिमी
ज्ञानहीन अन्धकारमा फैलिरहू ज्योति बनेर तिमी
(तेस्रो सर्ग, २६)
यो खण्डकाव्यको पहिलो सर्गदेखि नै कविको वैयक्तिक प्रेम र देश प्रेमबीच कविले लिनुपर्ने पक्षबारे कविको अन्तरमनभित्र अन्तरद्वन्द्व चर्किदैचर्किदै तेस्रो सर्गसम्ममा यो अन्तरद्वन्द्व चरम चुलीमा पुगेको छ । खासगरी यहीँ तेस्रो सर्ग नै कविको जीवनमा आएको तेस्रो चरण हो र कविको वैयक्तिक प्रेम देशप्रेममा बदल्छ र कविको देशप्रेमको उन्नतिले शिखर छुन्छ ।
जनकवि बन सत्य बुझेर कलम चलाएर तिमीले
देखाऊ सार दूध खाएको आफ्नी आमाको तिमीले
देशको सम्मान भएमा हुनेछौ तिमी पनि सम्मानित
देशको अपमान भएमा हुनेछौ तिमी पनि अपमानित
(तेस्रो सर्ग, २७)
तिम्रो कृष्णा तिम्रै हुनेछ प्रेम तिम्रो शाश्वत
देशको निम्ति बाँचिरहने साँच्ने गर सम्मानित
देश बिना तिम्रो केही छैन यहाँ पछि लाग देशकै
देश अझ ब्रहृमाण्ड सारा शक्ति होस् छाँया तिम्रै
(तेस्रो सर्ग, अन्तिम )
तेस्रो चरणको अन्त्यतिर पुगेपछि कवि भएर पनि अन्धो प्रेममा लागेका कविलाई देशप्रतिको कर्तव्यबोधले जनकवि बन्नुपर्ने चेतना खुल्छ । यसरी देशको निमित्त बाँचेमा देशको सम्मान हुने र देशको सम्मान भएपछि आफू पनि सम्मानित हुने ज्ञान प्राप्त हुन्छ । देशकै लागि समर्पित भएर लागिरहेमा ठूलो ख्याति कमाइने र यही ख्यातिले अन्तर्राष्ट्रिय व्यक्तित्व बन्ने कुरा तेस्रो सर्गको अन्त्यमा कविलाई बोध हुन्छ । यही नै कविको जीवन-दृष्टि र जीवन सन्देश हो खण्डकाव्यको पठनपाठनबाट पाठकमा देशप्रेमको महत्त्वबोध हुने भएकोले राष्ट्रिय चेतनाको दृष्टिकोणबाट समेत यो खण्डकाव्यको ज्यादा महत्त्व रहेको छ ।
मधुपर्क २०६८ चैत्र
