त्यस्तो केही छैन पहाडमा
जस्को म एउटा कविता लेख्न सकूँ
खासमा केही छैन भने पनि हुन्छ पहाडमा
जस्को कुनै लेखकले एउटा निबन्ध लेख्न सकोस्
जस्तो कि धेरै वर्ष लाहुर खाएर
केही महिनाको छुट्टीमा घर फर्कँदा
बातैपिच्छे भन्ने गर्छन् लाहुरेहरू
‘साला पहाडमे क्या है’
हो केही छैन ‘साला’ पहाडमा
केही छैन तर जरूर केही छ पहाडमा ।
तीसको दशकका एक कविले ‘साला पहाडमे क्या है’ शीर्षक राखेर एउटा कविता लेखे । जुन कविताले निक्कै समयसम्म शीर्षकीय चर्चा पाइरहृयो । पछिल्लो समयमा ती कवि कवितामा बेत बसिसके तर उनको कवित्वलाई त्यही एउटा कविताले हालसम्म बचाइराखेको छ । हुन त धेरै लेखेर पनि हुन्न क्यारे ! बचाउने भनेको त एउटैले नै रहेछ । महाकविले त्यसै भनेका होइन रहेछन् ‘मुनामदन’ बाहेक अरूको काम छैन भनेर । केही समय अघि यो पुस्ताका एकजना निबन्धकारले आफ्नो निबन्धको शीर्षक राखे ‘तपाईंको पहाड कहाँ हो ?’ त्यस निबन्धमा पनि निबन्धकारले पहाडसँगको सामीप्यलाई राख्न खोजेका छन् । पहाडलाई आफ्नो जीवनसँग साट्न खोजेका छन् । एकजना स्नातकोत्तरको शोधार्थीले वर्तमान पुस्ताकै एक कथाकारको जीवनी व्यक्तित्व र कृतित्वको विषयमा शोध गर्न लागेछन् र तिनले उनको पुर्ख्यौली थलो सोध्ने क्रममा साधेछन् ः तपाईंको पहाड घर कहाँ नि ? ती कथाकारको निक्कै पुस्ता तराईमा बितेको हुँदा उनले भनेछन् मेरो पहाड, मधेस भनेको नै सिराहा जिल्लाको राधोपुर हो । त्यस्तै एक दैनिक अखबारका साताको एकपटक स्तम्भ लेख्ने स्तम्भकारले पनि आफू जन्मे हुर्केको पहाडको विषय राखिरहन्छन् । त्यसमा पनि मलाई उनको लेखनको विषयवस्तु असाध्य मनपर्छ ।
एउटा समय थियो पहाडबाट बसाइँ सरेर मधेस, भुटान, दार्जीलिङ, सिक्किम, असम, बर्मा (म्यानमार) र मलायासम्म सुखको खोजीमा भौतारिने क्रम थियो । रोजीरोटी, व्यवसाय, अध्ययन, जागिर आदिका कारणले नेपालका पहाडी वस्तीहरू उजाडिएका थिए । त्यहाँको जीवन निक्कै कष्टप्रद थियो । महिनौँ दिन लगाएर भारी बोकेर सामानहरू ढुवानी गर्नु पर्दथ्यो र मानिस अलिकति सुख प्राप्तिको खोजीमा सुविधायुक्त ठाउँको बसाइँलाई रोज्ने गर्थे । त्यसैको पीडामा हाम्रा ती कविले कविता लेखे ‘साला पहाडमे क्या है’ ।
भौगोलिक बनावटअनुसार हाम्रो देशमा उच्च हिमाली शृङ्खला छ मध्यमा पहाडी भेग छ र तल्लो स्थानमा तराईको समथर मैदान छ । हामी हाम्रा नेताका भाषणहरूमा र योजनाविद्का योजनाहरूमा देख्न र सुन्न पाउँछौ उनीहरू निरन्तर भनिरहेछन् हामीसँग तराईमा अन्नको ठूलो भण्डार छ । पहाडी क्षेत्रमा फलफूल र पशुपालनको प्रचुर सम्भावना छ । हिमाली क्षेत्रमा हामीसँग सधैँभरि हिउँले ढाकिएका हिमालहरू छन् । अझ भनौँ हामीसँग सर्वोच्च शिखर सगरमाथा छ । ती हिमालहरूमा पर्यटनको विकास गर्न सक्यौ भने हामी कोही भन्दा कम छैनौँ । छिट्टै नै हामी सम्पन्न हुन सक्छौँ ।
हाम्रा कविले कवितामा वर्णन गरेजस्तो अब पहाड रहनु हुँदैन भन्ने लाग्दछ । अब पहाडका मानिसहरू पनि शिक्षाबाट अघि बढिरहेका छन् विकासका कुराहरू पनि हामीलाई चाहिन्छ भनेर पहाडले माग्न थालेको छ र समयक्रमसँगै बाँदर लड्ने भीरहरूमा सडकहरू पुगिरहेका छन् । सडक विस्तारका कुराहरू पनि उठ्न थालेका छन् । पूर्वको चियो भञ्ज्याङदेखि सुदूरपश्चिमको झुलाघाटसम्म जोड्ने मध्य पहाडी राजमार्ग जोडतोडले बनिरहेको र तिनका लागि चाहिने पुलपुलेसाहरू बनेको समाचारसमेत आइरहेका छन् । यसबाट सबै नेपालीहरू खुसी छन् भने अझ पहाडवासीहरू झन् खुसी भएका होलान् भन्ने लाग्दछ । पूर्वमा मात्र सीमित भएको चियाखेती र अलैँची खेती यतिबेला कास्की पोखरा तरेर बाग्लुङसम्म पुगेको समाचार छ त्यो अझ महाकालीसम्म फैलिनु पर्छ दार्चुला र वैतडीसम्म पुग्नुपर्छ । जुम्ला र मनाङमा हुने स्याउ खेती अब धनकुटा, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङसम्म ढाकिनु पर्छ । पूर्वको तमोरको कोसेलीले पश्चिमको झुलाघाटसम्म फेरो मार्नुपर्छ पहाडी भेगमा फलेका सुन्तला, जुनार र कागतीले देशदेशावर फिँजाउनु पर्छ । सडकको सञ्जाल भएपछि बर्दियामा उत्पादित चामल सुर्खेतको बाटो हुँदै सिमिकोटसम्म सजिलै पुग्नुपर्छ र सुपथमोलमा पाउनुपर्छ पहाडी भेगमा उत्पादित जडीबुटीहरूले केही सीमित ठेकेदारहरू मोटाएका छन् । राज्यले यसमा विशेष चासो दिएर पहाड र पहाडवासीलाई अझ लाभान्वित गराउनु पर्ने होइन र ? योजनाविद्हरू र नेपाललाई नयाँ बनाउने नेताहरूमा यो सद्बुद्धि कहिले आउने हो ?
अझ पहाडको सबै भन्दा ठूलो उपयोगिता त नेपालबाट निरन्तर बगिरहेका नदीनालाहरूबाट खेर गइरहेको पानीलाई बिजुलीमा परिणत गर्न सक्नुमा रहेको छ । पहाडमा पावरहाउसहरू बनाउन सस्तो र सजिलो हुने कुरा विद्युत् विज्ञहरू बताउँछन् । हुन पनि आजसम्म भएका विद्युतीय आयोजनाहरू हेर्नुहोस् ती सबै नै पहाडमा नै छन् । ती आयोजनाहरू बनाउनका लागि सडक विस्तार गर्दा हाम्रो पहाड कति सुन्दर होला ? आफूले उपभोग गर्न नपाए पनि सन्ततिहरूले उपभोग गर्न पाउने भएपछि को मानिस खुसी नहोला र ।
पहाडमा सामुदायिक वनहरू छन् त्यसबाट पशुपालनको सम्भावना पनि त्यतिकै राम्रो देखिन्छ तर हामी आफ्नो देशमा श्रम गर्न छाडेर खाडी मुलुकका मरूभूमितिर आफ्ना जनशक्तिहरू दलालका माध्यमले बेचिरहेका छौँ र त्यही रेमिटेन्सले देश चलेको छ भन्दैछ सरकार । के सधैँ अर्कैको बाटो हेर्नुपर्ने हामीले ? अब देशमा आर्थिक क्रान्तिको कुरा गरेर नथाक्ने राजनीतिक दल, योजनाविद् र गर्न सक्ने सबैले आ-आफ्ना ठाउँबाट कामहरू गरौँ र देशलाई संवृद्ध पारौँ ।
मेचीनगर-१३,झापा
मधुपर्क २०६८ चैत्र
