नेपाली राजनीतिको बेग्लाबेग्लै कालखण्डमा भिन्दाभिन्दै स्वभाव, चरित्र र वैशिष्ट्यका थुप्रै राजनीतिज्ञहरूको प्रसङ्ग बेलाबखत उठ्छ । राजनीतिज्ञहरू राजनेता नभइदिएका कारण इतिहासमा कैयौँ त्यस्ता सुवर्ण अवसरहरू हामीले गुमाएका छौँ, जसको बारेमा अनेकन् व्याख्या, विश्लेषण र विमति भइरहेकै पाइन्छ । खासगरी मुलुकको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली काङ्ग्रेसको हकमा त आमनागरिकले पटक-पटक मौका र स्थान पाएर पनि अवसरबाट चुकेको पार्टीका रूपमा टिप्पणी गर्छन् । भनिन्छ हाँगाबाट चुकेको बाँदर र अवसर गुमाएको व्यक्तिलाई कहिल्यै क्षम्य र सदाशययुक्त मान्नै सकिँदैन । यही प्रसङ्गलाई उठाएर हेर्ने हो भने नेपाली काङ्ग्रेसले अवसर पाए पनि त्यस पार्टीभित्र कैयौँ यस्ता सम्भावनायुक्त नेता एवं कार्यकता छन्, जसलाई यथोचित अवसर र स्थान दिइएको छैन । यस्ता नेता कार्यकर्ताको लामो फेहरिस्तमा नेपाली काङ्ग्रेसभित्रका बहुआयामिक व्यक्तित्व सूर्यप्रसाद उपाध्याय अग्रपङ्क्तिमा पर्छन् भन्ने ठहर हालै प्रकाशित एक कृतिको अध्ययनपछि पुष्टि हुन्छ ।
युवालेखक महामुनिश्वर आचार्यद्वारा सम्पादित र उर्मिला रिमालद्वारा प्रकाशित ‘प्रजातान्त्रिक आन्दोलनका बहुआयामिक व्यक्तित्व ः सूर्यप्रसाद उपाध्याय नामक सवा चारसय पृष्ठ मोटो कृति नेपाली काङ्ग्रेसका अनेकन् उहापोह, इतिहास-वर्तमान, चक्र-दुष्चक्र एवं वास्तविकताको त्यस्तो दस्तावेज हो जसभित्र नेता सूर्यप्रसाद उपाध्यायको सिङ्गो जीवनी, आदर्श एवं जीवनशैली मात्र समेटिएको छैन सँगसँगै बरू कतिपय पार्टीगत विडम्बना र कार्यकर्तामाथिका ज्यादतिलाई प्रष्ट्याइएको छ । नेपाली काङ्ग्रेसका नेता एवं जननायक बीपी कोइराला र सर्वमान्य नेता गणेशमान सिंहका समवयी नेता सूर्यप्रसाद उपाध्यायका बारेमा त कृतिले थुप्रै नवीनतम् तथ्यलाई सार्वजनिक गराएको छ । नेता उपाध्यायका सोच, संस्कार, शैली, सिद्धान्तनिष्ठता, लगनशीलता, जुझारूपनसँगै अध्ययनशीलता र तार्किकतामाथि एक से एक नामी राजनीतज्ञहरूको दृष्टिकोण एवं आलेख समेटिएका कारण नेता उपाध्यायका बारेमा आधिकारिक तबरबाट न्याय दिन खोजिएको भान हुन्छ । वास्तवमा जे र जसरी नेता उपाध्याय नेपाली काङ्ग्रेसको इतिहास र राजनीतिक मूलप्रवाहमा आशातीतरूपमा चर्चा गरिदैनथ्यो, त्यसलाई कृति प्रकाशनले धेरै हदसम्म सोचनीय र उदाहरणीय तुल्याएको छ ।
अच्युतराज रेग्मी, अर्जुननरसिंह के.सी., आमोदप्रसाद उपाध्याय, श्रीकान्त अधिकारी, श्रीभद्र शर्मा, कीर्तिनिधि विष्ट, गोविन्दबहादुर मल्ल ‘गोठाले’, दमननाथ ढुङ्गाना, देवेन्द्र नेपाली, नवीनप्रकाशजंग शाह, प्रदीप गिरि, पी.एल.सिंह, पुरुषोत्तम बस्नेतदेखि पुरुषोत्तम दाहाल, बेनीबहादुर कार्की, भरतशम्शेर राणा, मार्सलजुलुम शाक्य, योगप्रसाद उपाध्याय, रामहरि शर्मा, रामहरि जोशी, लक्ष्मण घिमिरे, शैलेन्द्रकुमार उपाध्याय, प्रा.डा. सुरेशराज शर्मा, मदनमणि दीक्षित, लीलासिंह कर्मासम्मका ७७ जना नेता एवं आ-आफ्ना विधाका विशिष्ट व्यक्तित्वहरूद्वारा नेता उपाध्यायमाथिको टिप्पणी एवं विश्लेषण कृतिमा समावेश छ । जसका आधारमा हेर्ने हो भने नेता उपाध्याय वास्तविक समाजवादी सोचका त्यस्ता नेता देखिनुहुन्छ, जसलाई नेपाली काङ्ग्रेस आफ्नै पार्टी र नेतृत्वले ‘न्याय’ गर्न सकेन । एकातिर राष्ट्रिय मेलमिलापका सूत्रधार अर्कोतिर कुटनीतिक विद्वताले भरिपूर्ण नेता भएर पनि नेता उपाध्याय जनजन र मनमनमा किन काङ्ग्रेसले बसाएन ? भन्ने प्रश्न कृति अध्ययनपछि उठ्छ । त्यस्तै तत्कालीन अवस्थामा नेता उपाध्यायलगायत अर्का नेता सुवर्णशमशेर राणाले समानान्तररूपमा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईले जस्तै नेपाली काङ्ग्रेसमा भूमिका निर्वाह गरे पनि के/कति कारणले ‘सूर्यबाबु र सुवर्णशमशेर’को भूमिका गौण तुल्याइयो ? भन्ने विवेचना पनि कृतिमा समेटिएको पेचिलो अंश हो । यद्यपि एकाध काङ्ग्रेसका पूर्व नेताहरूको यस्ताखालको टिप्पणीमा भने वहस गरिनु श्रेयस्कर हुन्छ । अन्यथा कृतिले बहुआयामिक व्यक्तित्वका काङ्ग्रेसी नेता सूर्यबाबुमाथि मात्र न्याय गरेको छैन बरू असङ्ख्यक कार्यकर्ता एवं शुभेच्छुकमा काम गरेपछि एकदिन नाम मिल्ने कुरोलाई प्रष्ट्याएको छ । अनि काङ्ग्रेसभित्र विलुप्त अनेकन् सन्दर्भ र प्रसङ्गलाई उठाउँदै र केलाउँदै काङ्ग्रेसको चार तारे मर्मलाई उठाएको ६/६ वर्ष लामो समय खर्चेर युवालेखक आचार्यले तयार पार्नु भएको कृति समसामयिक अन्यायपूर्ण राजनीतिक इतिहासभित्रको त्यस्तो न्यायिक सत्प्रयास हो, जसले जोसुकै नेतालाई पनि राजनेता हुनुपर्ने मर्मबोध गराउँछ । त्यसैले नेता उपाध्यायजस्ता बहुआयामिक व्यक्तित्वमाथि बहुआयामिक दृष्टिकोण समेटिएको प्रस्तुत कृति काङ्ग्रेसको बहुआयामिक इतिहास चिर्न सफल भएको छ भन्नु बढी हुँदैन ।
मधुपर्क २०६८ चैत्र
