Skip to content

स्याबास कान्छा-कान्छी!

  • by


कान्छाले कान्छीलाई लग्यो
वनको बाटो लाल्टिनै बालेर

स्वर सुहाउँदो स्केल र ६/८ बिट भएको लोकगीत होला, मैले सानो छँदै सुनेको थिएँ । माथिको दुई लाइनबाहेक अरूमा के-के छ, त्यो मलाई थाहा छैन । धेरैलाई सोध्दा अरूहरूलाई पनि थाहा रहेनछ । यसको ट्युन पेन्टाटनिक स्केलमा छ र लाग्छ— यो पहाडवासी नेपाली जनजातिको गीत हो, तर यसको स्वर रचना ‘पुरातन शैली’को लाग्छ । लाल्टिनको आविष्कार भएपछि मात्रै यो गीत रचिएको हुनुपर्छ ।

रोमान्टिक धारामा रचिएको यस गीतका दुई लाइनमा मात्र पनि इतिहास र संस्कृतिको संरचना भने प्रशस्त मात्रामा पाइन्छ । जस्तो— कान्छा र कान्छी भन्नाले केटा प्रेमी कान्छा र केटी प्रेमिका कान्छी भएकी हुनुपर्छ अथवा त्यसो नभएर कान्छाकी अरू जेठी वा माइली संगी भए पनि अर्की प्रेयसी भने ‘कान्छी’ नै हुनुपर्छ । ‘वनको बाटो’ भन्नाले सबै हिँड्ने मूलबाटो नभएर जंगलको बाटो समातिएको हुनुपर्छ ।

फेरि लाल्टिनै बालेर भन्नाले दिन नभएर रात भएको हुनुपर्छ ।

गीतको सार रचनाले के बताउँछ भने कान्छा र कान्छीलाई उनीहरूको मायापि्रतीमा कुनै व्यवधान अथवा त्यस्तै विषम परिस्थिति परेर भाग्न पर्ने अवस्था सिर्जना भएको हुनुपर्छ भन्ने पनि देखाउँछ । विषम परिस्थिति सिर्जना हुनुमा अनेक अनमेल तत्त्वले काम गरेको हुनसक्छ, जस्तो— जातपात, उच-नीच, धनी-गरिब र अरू मतभिन्नताहरू । अर्को कुरा, कान्छा र कान्छीको मायापि्रतीको यो अनुपम उत्सर्गको गीत कान्छा-कान्छीले रचेका होइनन्, द्रष्टाले रचेका हुन् । यो गीत सत्य घटनामा आधारित हुनुपर्छ । घटना हुनु महत्त्वको कुरा हो, द्रष्टा त कति पाइन्छन् कति ! तर घटनालाई सविस्तार बताउने द्रष्टाको पनि उत्तिकै महत्त्व हुन्छ ।

‘ए कान्छा मलाई सुनको तारा’ भन्ने मैले रचेको गीत पनि रोमान्टिक धारको कान्छा र कान्छीकै गीत हो । तर त्यो गीतमा लाल्टिन बालेर जंगलको बाटो जानुपर्ने जस्तो सन्त्रास र द्विविधा छैन । बरु त्यसमा प्रेमी-प्रेमिकाबीच गरिने व्यङ्गय संवाद प्रतिविम्बित भएको छ । रातको अन्धकारमा लाल्टिन लिएर वनको बाटो पस्ने कान्छा र कान्छीका बारेमा विचार गर्दै लैजाँदा तिनीहरूमाथि सहानुभूति पलाउँदै जान्छ । झ्याइँ-झ्याइँ नौमती बाजा बजाएर जन्तीबीच आफू घोडामा चढेर र कान्छीलाई डोलीमा चढाएर मूलबाटोमा देखापर्नुको साटो कुन परिबन्दले उनीहरू वनको बाटो लाग्नुपरेको हो, हामीलाई जान्न मन लाग्छ अथवा तीव्र इच्छा नै हुन्छ ।

आफ्नो फूलजस्तो कलिलो मायापि्रतीलाई बचाइराख्न यी कान्छा र कान्छी प्राणलाई हत्केलामा र भविष्यलाई भाग्य अथवा अनिश्चितताका भरमा छाडेर उत्सर्गको आँधीमा होमिन उद्यत भएका छन्— केही भन्नसक्ने अवस्थामा हामी छैनौं, कमसेकम मचाहिँ छैन । तर यसमा सबभन्दा ठूलो ट्रेजेडी सुनको तारा झार्ने कान्छा र कान्छीको कथा अत्यन्त लोकपि्रय भयो भने वनको बाटो लाल्टिन बालेर जाने कान्छा-कान्छीको त्यही वनको बाटो अन्धकारको गर्तमा ओझेलमा पर्‍यो । तैपनि यो कथा बिर्सिनसक्नुको छ ।

प्रेम भन्ने कुरा अलौकिक त हो नै, तर बेलाबखत यसले यस्तो विचित्र रूप पनि धारण गर्छ । यस घडी त्यति सजिलो प्रेमलाई परिभाषित गर्नसक्ने अवस्थामा म पनि छैन । किनभने म स्वयम्ले प्रेम किन र कसरी गरँे, त्यसलाई स्पष्ट पारेर न म आफूलाई नै सोध्न सक्छु, न त आफैंलाई जवाफ दिनै सक्छु । र यसबेला म विश्वविख्यात प्रेमकथाका पात्रहरू लैला-मजनु, सिरी-फरहाद, रोमियो- जुलियटहरूलाई सम्भिmरहेको छु । के पनि सम्भिmरहेको छु भने प्रेमको वियोगमा आत्महत्या गर्दैमा र प्रेमी वा प्रेमिकाको खुसीका लागि बलिदानीको ताँदोमा चढ्दैमा के प्रेम अमर हुन्छ

र ? तर यी विश्वविख्यात प्रेमीहरू किंवदन्तीझैं भए, अमर भए- तर कसरी ?

आजको यो जमानामा यसको सही जवाफ दिने बूढाबूढीहरू विलीन भइसके । बँचेखुचेकाहरू अर्धस्मृत भइसकेका छन् । कत्रो फसाद भने हामीसित कुनै लिखित अभिलेख छैन । त्योभन्दा कति कारुणिक यथार्थ हाम्रासामु छ भने हामीले हाम्रो संवेदनशीलता कुनै बेला रेष्टुँरा, कुनै बेला बार अथवा मिटिङको टेबुलमा छाडेका हुन्छौं । र मलाई लाग्छ, यो अरू कसैले नगरेको तर हामी आफैंले आफैंलाई गरेको अपमान हो । यहाँ मलाई कहीँकतै धेरैले सुनेको एउटा घटनाक्रम सुनाउन मनलागेको छ ।

कुनै अभावग्रस्त गाउँमा कान्छा र कान्छी रहेछन् । उनीहरूबीच मायापि्रतीको गाँठो कसिएको धेरै भएको रहेछ । तर अनिकाल परेको गाउँमा मायापि्रती बचाइराख्न पनि दुई छाक त जुटाउनैपर्‍यो । त्यो कारुणिक अवस्थामा आमरण एकअर्काका भइरहने वाचाबन्धन गर्दै कान्छा मुगलानिएछ । धेरै समयपछि पनि कान्छा नफर्केको वियोगमा मृत्यु-उन्मुख भएपछि उसले आफ्नी आमालाई भनिछ— ‘म मरेपछि मलाई गाउँको सबैभन्दा अग्लो ठाउँमा गाडिदिनु । कान्छा मलाई भेट्न आउँदै गरेको म त्यहाँबाट देख्न सक्नेछु ।’

केही समयपछि घर फर्केको कान्छाले सधैंका लागि कान्छीले उसलाई छाडेर अर्कै लोकमा गएको थाहा पायो । उसलाई नीलो आकाशबाट आएको चट्याङले छोएझैं भयो । उसलाई लाग्यो, ‘त्यही मायाका लागि गाउँघर त्यागेर मुगलान पसेको थिएँ, उसैका लागि दिनरात रगत-पसिना बगाएँ, आज उही नै यो धर्तीमा छैन भने ममात्रै बाँच्नुको के सार भयो ?’ उसले नजिकैको उर्लंदो नदीमा हामफाल्ने सुर कस्यो । त्यसैबेला उसको पाखुरा जोडले समात्दै एउटी युवती रुँदै र भक्कानिँदै भन्छे— ‘तिमीले के गर्न खोजेको ? तिमी होसमा छैनौ ? दिदी मरेपछि दिदीको पीरले आमा पनि मरिन्, आमाको पीरले बुबा पनि बिते । अब साना-साना भाइ-बैनीलाई हेर्न मबाहेक कोही छैन । अब तिमी पनि गयौ, म पनि मरेँ भने यी भाइ-बैनीको के हालत होला ? माथि डाँडाको दिदीको चिहानमा उम्रेको घाँसपात कसले उखेलिदेला ? वर्षमा एकदिन भए पनि दिदीको चिहानमा दीयो कसले बालिदेला ?’

यसपछि कान्छा एउटा डरलाग्दो सपनाबाट ब्युँझिएजस्तो हुन्छ । ऊ त्यो केटीलाई हेर्छ, जो उसकी कान्छीकी कान्छी बहिनी थिई । केही महिनापछि कान्छाले प्यारी कान्छीकी कान्छी बहिनीलाई सिन्दूरपोते गरेछ । यसलाई म अनुपयुक्त भन्दिन । र कान्छा-कान्छीलाई बधाई दिँदै भन्छु— स्याबास कान्छा, स्याबास कान्छी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *