यो समय शक्तिशाली नेपाली कविताले हामीलाई छोइरहेको छ । अलि अघि आरएम डंगोलको दसगजावारि उभिएर आयो, शंकर कोइरालाको निर्वस्त्र नगरीमा, त्यसपछि नवराज सुब्बाको बीच बाटोमा ब्युँझेर । अघिल्लो महिना विमोचित मोहन कोइरालाको अन्तिम काव्य सिमसारका राजदूतले नेपाली कवितामा विशिष्ट उचाइ छोयो । यसैबेला सिमानापारि -सिक्किम) बाट वीरभद्र कार्की ढोलीको समाधि अक्षरहरू, प्रवीण राई जुमेलीको इम्पास्टो अक्षर यहाँ आइपुगे । त्यहीँकी सुधा एम. राई पदचिह्न लिएर आइन् भने शोणितपुर, असमका लक्ष्मीप्रसाद पराजुली माटा र मान्छेका कविता लिएर आए । त्यसैगरी हिजो मात्र कालेबुङका सुधीर छेत्री शिल्पका पखेटासँग, दार्जिलिङका मनप्रसाद सुब्बा र रेमिका थापा किनारिएका आवाजहरू लिएर आए, हङकङदेखि आउने नरेश सनुवारको जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेक्सेलेलेजस्ता संग्रहको चर्चा गर्यौँ । बेलायतदेखिका रक्ष राई सालिक उभिएर गोर्खालीसँग आए । नरेश शाक्यको वर्तमानको क्यानभास, राजेन्द्र शलभको उज्यालोको सर्त, रमेश श्रेष्ठको अक्षरको खेत, केशव सिग्देलको समय-विघटन यिनै हुन् यो समयका पठनीय नेपाली काव्य कविता । यी प्रत्येकमा समय चेतना अत्यन्तै तीव्र र टड्कारो छ । नेपाली कवितामा उनिएको विश्वचेतना पुराना अथवा वर्तमानसँग नजोडिएका पाठकलाई विष्मयकारी र अबोधगम्य लाग्न सक्छ, किनकि शिलाका पखेटाहरू बुझ्न साइवर समालोचना र केही विनिर्माणिक सिद्धान्त बुझ्नु आवश्यक छ, किनाराका आवाजहरू बुझ्न मार्जिनलता के हो ? जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले अनि सालिक उभिएर गोर्खाली बुझ्न एथ्निक सिर्जना र समालोचना, मार्जिनलताको विश्वआवाज र कोलोनिअल प्रतिध्वनि बुझ्नु आवश्यक छ ।
यस मालामा गाँसिएकी अन्तिम थुङ्गा हुन्- विमला तुम्खेवा । आज म उनैलाई छुन चाहन्छु, नेपाली कवितालाई विमला-चेतनाले पढ्न चाहन्छु । त्यसो त विमलाको नदी छाल र तरङ्गहरूमाथि पनि बोलेको-लेखेको सम्भिmन्छु । आज पाँच वर्ष बितेछन् । यी पाँच वर्षपछि प्रकाशित संस्मरण एउटा बूढो रूखको भित्रका कविता पढ्दा विमलाले परिस्कारको दुर्गम उचाइमा पाइला टेकेको देखिन्छ ।
विमलाका कविता भावनाका, कोमलताका र प्रेमले भिजेका सम्झनाका छन् । सेक्सपियरले आफ्ना सनेटमा बारम्बार एउटा रहस्यमय डार्क लेडीलाई सम्बोधन गरेझैँ विमला टाढा पुगेको एक रहस्यमय छायालाई सम्बोधन गर्छिन् । त्यसमै मिल्ने त्यसकै स्मृतिले गलिरहने सम्झनालाई आँसुले धुँदै उसको अनुहार हेर्न खोज्ने विमलाका कवितामा एक अगम्य रहस्य छ, वेदनापूर्ण भक्कानो र समवेदनाको अग्लो पिङ । जवाफमा उनी बोल्छिन्-
जस्तो
ताराहरू आकाशमा देखिइरहेका छन्
जस्तो तिमी मेरो कवितामा बारबार आउँछौ
जस्तो तिमी मेरो आँखाबाट झरेको आँसुमा
बारबार आउँछौ
तर, मसँग यी तमाम प्रश्नहरूको जवाफ छैन ।
धेरै भो यी सुम्निमाले ‘उसको’ घुङ्रिएकेा केश र मुस्कान सम्झिँदै युगहरू प्रतीक्षामा बिताएको । आज उनी आफैँ पारुहाङझै रोइरहेकी छन् । यस्ता कोमल र गोप्य सम्झनाका कविता पढ्दा मलाई एमिली डिकिन्सनको सम्झना हुन्छ । उनका कविता यस्तै छन् । यी आदिवासी युवती अनेक चिन्ता र सम्झनाको राँको बोकेर एक अज्ञातको प्रतीक्षामा उभिएकी छिन्-
कति हुरी सहेर
कति दुःख काटेर
उभिएकी छु तिम्रो सामु रातो गुलाफ लिएर
म भन्छु तिमीसँग पनि मेरो जस्तै सपना होस् ।
विमलाको कला अर्कै छ, उनको कविताले केवल ध्वनि उप्पन्न गर्दछ, अनेक इमेजहरू । पूर्वेली हुनुको, तमोर नजिक बग्दै, पालम र धाननाचको रिदम सम्झेर, सल्लाघारी उकालो चढेर, रित्तिएको ढुङ्गाको फलैँचा नाघ्दै लालुपाते सिउरिएर हिँडिरहेकी एक मायालुको छाया । अतीतको मिथकीय फक्ताङ्लुङ दरबार अनि हाक्पारे गीतहरू छोडेर आज यहाँ पस्यौ निर्जन लाग्ने काठमाडौँमा, तिमी अझ टाढा पुग्यौ केवल सम्झनामा आउने गरेर ।
यसरी विमलाका कविता अलिकति लिम्बू चेतना र अरू भिन्न जगत् छोएर बसेका छन् । हो पनि लिम्बू युवतीमा विमलाको तुलना छैन, अनेक जातीय जनजातीय सर्जकमा तुलना छैन । तर कविता जातीय र जनजातीय मात्र कुरा होइन । त्यो संयोगले देखिएको एक रंग । कविताको स्थायी रंग अन्तरमनको आह्वान हो, भावना, विचार, शिल्प र मनोवेग- शब्दले निर्माण गर्न सक्ने हृदयको एक अनन्त अर्थको स्मारक । विमलाका कविताको परिस्कारले छुँदा मलाई लाग्छ, भावनाका यीभन्दा राम्रा फूल फुल्न सक्तैनन् । यतिखेर मलाई प|mेन्च सिम्बोलिस्ट स्टिफन मलार्मेका वाणीको सम्झना हुन्छ । मलार्मे र पौल भ्यालरी साक्षी नराखी आधुनिक विश्वकविता अर्थिन सक्तैन । एकदिन भ्यालरीको कवित्व-चेतनाको पुनव्र्याख्या गर्दै मलार्मे बोलेका थिए- कविता दृष्टिगोचर शब्द र पृष्ठमा हुँदैन, यो त सबै सपना र गीतभन्दा माथि हुन्छ । अनेक शब्दहरूले निर्मित एउटै शब्द, त्यसको ध्वन्यात्मक समग्रता, त्यो अत्यन्तै नयाँ हुन्छ, त्यो भाषालाई पनि थाहा नभएको एक नयाँ शक्ति र सौन्दर्य एकप्रकारको मन्त्रणात्मक आह्वान हुन्छ, त्यसले वाणीको त्यो विशिष्ट उचाइ प्राप्त गर्छ, जसले एउटा सार्विक सत्यतर्फ संकेत गर्छ, अक्षय मूल्यहरू जन्माउँछ । प्रत्येक शब्दले ध्वनि र अर्थहरू बोके पनि शब्दले कविता बन्दैन, तिनीहरूको योगले बन्छ त्यहाँ अर्थगत यादृच्छिकता हुन्छ, जति पत्र अर्थहरू खोले पनि अझै बाँकी हुन्छ र यस्तो कविता पढ्दा तपाईंलाई लाग्छ, त्यो भाषामा त्यो सौन्दर्य र चेतनाको संयोग यसअघि कहिल्यै पढिएको थिएन । कुनै वस्तुको स्मरण गर्दा- एउटा नयाँ परिवेशको सम्झना गरिएझैं हुन्छ । वास्तवमा नोआम चोम्स्कीले भाषामा देखेको नवीनताको अनन्त स्रोत र शक्ति पनि यही हो ।
आज म सम्झन्छु- स्टिफेन मलार्मेले एक सय वर्षअघि नै विमलाका कविताको परिभाषा गरिदिएका रहेछन् । अब मैले बोल्नुको कुनै औचित्य रहेन । उनको अराजक मुस्कानले अन्तिमपल्ट तानिएर बोल्छु ः
यो कविता लेखिरहँदा मलाई यस्तो लाग्छ
जिन्दगी तिनीहरूको निम्ति हुनुपर्छ
जो आँसु पिएर मुस्कान दिन्छन् ।
हो, विमला तिम्रा कविता तिनै मुस्कान हुन् नत्र म बारम्बार तिनैतिर फर्किरहने थिइनँ, तिम्रो कविताको शक्तिले तानिएर म आज हुरुक्क भएको छु । कसरी रच्यौ तिमीले यी कविता समयको पहरामा सधैँसधैँ प्रतिध्वनित भइरहने सम्झनाका अमर शब्दहरू ।
तिम्रा यी वाणीहरूमा नारीसुलभ कोमलता, रहस्यमयता र एक अज्ञात रमरम लुकेको पाउँछु । फेरि कोमलता नारीसुलभ नै हुनुपर्ने विशेषता होइन । खलिल जिब्रानका रचना पढ्दा प्राप्त हुने प्रेमीप्रतिको, प्रभूप्रतिको अन्तिम ध्वनि, रहस्यमयता र समर्पण भावले कसलाई छुँदैन र ? यतिबेला तिमीलाई… पढ्दा त्यस्तै अलौकिकता र अटल प्रेमप्रति अविचलित आस्था भरिएको अनुभूतिले छुन्छ । तिमीलाई… अर्थात् खलिल जिब्रानका प्रेमपत्रहरू, यसको अनुवादक हुन् उनै सुधा एम. राई । खलिल जिब्रान र उनकी प्रेयसी मे जिदाहबीच चलेको प्रेम प्रसंग । कहिल्यै सशरीर भेट नभए पनि वर्षौंसम्म भावनामा, कल्पनामा, पूजामा, उच्च साहित्यकलाको चिन्तनमा, विमर्शमा केवल पत्राचारले ती आत्माहरू जोडिएरै रहे, मरे । कति छुन्छ, तिमीलाई… पढ्दा । विमलाको त्यो केश घुमि्रएको व्यक्ति त्यस्तै कोही हो कि ? ‘रहस्य खोलेर रहस्य बाँकी’ ।
विमला पढ्दापढ्दै मलाई सुधा एम. राईको पदचिह्नको पनि सम्झना भयो । विमलाको जस्तै भावना, चेतना, र समवेदना उनेर सिक्किमकी सुधा बोलेकी छन्-
आउन मायालु त्यो साँघु तर्दै
हामीमाझ यही यौटै सानो
साँघु बाँचेको छ
माया ओहोरदोहोरको
पदचिह्न पनि यस्तै कोमल फूलहरूको माला । सम्पूर्ण हृदयले लेखिएका कविता । सुधाको मायालु पनि कतै देखिँदैन । उसैको सम्झना र कल्पनाले भिजेका छन् कविता । विमलासँगको एक साम्यता । यतिबेला सुधा सम्झेर म रोकिन्छु-
तिमी छौ,
म छु,
साक्षी छन्- हाम्रा कविता, पीडा र एकान्तहरू
बस !
जीवन भनेको यति नै हो
केही पल केही रंग ।
एकदिन सुम्निमा र पारुहाङको मिलन होला कि ?
