Skip to content


थोत्रा नेता किनारामा, थोत्रा विचार झारमा
थोत्रा च्यादरको भाउ हुन्न कैल्यै बजारमा
थोत्रो विचारवाला हो! थोत्रो भई कति बाँच्दछौ?
न तिमी राम्ररी रुन्छौ, राम्ररी न त हाँस्दछौ ।

नेपाली जनता भन्छन्- नयाँ नेपाल चाहियो
पुरानो सोचले गर्दा खानु हण्डर खाइयो
तिमी हौ अगुवा किन्तु विचार जीर्णशीर्ण छन्
पाको भनेर के गर्नु? कामकाज विदीर्ण छन् ।

न पारि पुगियो हामी, न वारि आस भेटियो
बालुवा टल्कियो मात्रै, न कैल्यै प्यास मेटियो
के भयो के भयो कुन्नि? जे भयो नहुँदो भयो
थोत्राथाङ्ना नफाल्नाले देश उराठिँदै गयो ।

तिमी पत्रु बनेका छौं-नयाँको भाउ माग्दछौ
न तिमी घरमा रम्छौ, न तिमी पर भाग्दछौ
फसाद नै बनेका छौ, तिमी तातो विवाद हौ
पूर्वको याद हूँ भन्छौ, परन्तु बरवाद हौ ।

भन्छौ सिद्धान्तवादी हूँ, नातागोता जुटाउँछौ
जित्दा आफै जितेँ भन्छौँ, हार्दा फणा उठाउँछौ
तिम्रा भाषण-भाषामा कीरैकीरा म देख्दछु
किनारियौ तिमी आफैँ-साँचो कुरा म लेख्दछु ।

पुराना पात यी र्झछन्, नयाँ पात पलाउँछन्
विचार पनि त्यस्तै हुन्-नयाँ विचार आउँछन्
नयाँलाई नमस्कार गर्नुपर्छ झुकीझुकी
सत्यसामु नझुक्नेले हिँड्नुपर्छ लुकीलुकी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *