Skip to content

एउटा घमाइलो मध्याह्न

  • by


जिन्दगानीसँग छुटाउनै नमिल्ने दुःखसुख जत्तिकै अन्योन्यासि्रत लाग्छन्, अम्बर गुरुङका कालजयी संगीतकर्महरू । तिनले भित्रैसम्म छुन्छन् र निरन्तर छोइरहन्छन् । उनका गीतसंगीतले कहिले ‘ए कान्छा, मलाई सुनको तारा खसाईदेउ न…’ भनुँ-भनुँ पार्छ, कहिले ‘रातो र चन्द्र सूर्य’ गाइरहँदा दबिएको देशप्रेम सुषुप्त ज्वालामुखीझैं मनको सतहमा विस्फोट हुन्छ त कहिले ‘प्रश्नलाई पनि प्रश्न छ’ मेरो भनेर भोगाइको गुढ रहस्यमा अल्झाएर रनभुल्लमा पार्छ । कहिले ‘सम्हालेर राख, सँगालेर राख’ भन्दै छोटो जीवनको बेफुर्सदीमा मायालाई अजम्बरी बनाउने गुरुमन्त्र सिकाउँछ ।

यसरी दुरुस्त आपनै मनोभावजस्ता लाग्ने शब्दका कारण मात्र होइन, सरल तथा विशिष्ट धुनका कारण पनि अम्बर गुरुङका संगीत पि्रय लाग्छन् । एकपटक सुनेपछि उनका गीतहरू कानले टपक्क टिप्छ अनि मनले थपक्क भित्र खोकिलामा लुकाउँछ, सानोमा लालगेडी आँखाभित्र लुकाएजस्तो ।

उहाँ, अर्थात् मेरो युगका एक महान् संगीतसर्जकलाई भेट्न जाँदै थिएँ म त्यो दिन । महाराजगन्जको त्यो कुनामा उत्रनासाथ घरक्क दैलो उघार्दिनुभोे, हच्कँदै प्रणाम गरेँं । पहाडी खोलोभै हाम्रो भलाकुसारी कहिले छङ्छङ गर्दै, कहिले हल्का सुसाउँदै सलल बग्दै गयो । वातावरणको प्रभावले होला, म मनभरि भइरहेकी थिएँ । कहिले मन फुरुङ हुन्थ्यो त, कहिले दंगदास आँखा रसाएर आउँथे । बडो विचित्रको थियो- मेरो छिपछिपे भावुकता, कस्तो-कस्तो मिश्रति मनस्थितिमा थिएँ ।

उहाँ बोलिरहँदा मनको पर्दा उघारेर मिलिक् मिलिक् एउटा हरफले बारम्बार चियाइरह्यो मभित्र, ‘झुक्छ वृक्ष फलफूलले भारी हुँदामा अति…।’ राष्ट्रगानको संगीत भर्ने ऐतिहासिक व्यक्तित्व, एक गरिमामय हस्ती, व्यवहारमा कति सरल सहज र खुलस्त । तर त्यो खुलस्तपनमा पनि एउटा सौम्य शिष्टताको अनुभूति भइरह्यो । अति सूक्ष्म संवेदनाले पनि छोइनु हुँदोरहेछ । युगसचेत मन र आपनो धरातल नभुलीकन संघर्षका दिनहरू सम्भिने उहाँको स्वभाव रहेछ । अम्बर जत्ति नै फराकिलो रहेछ, अरूलाई हेर्ने दृष्टिकोण पनि ।

उत्तम शान्ति पुरस्कारद्वारा सम्मानित उहाँको पुस्तक ‘कहाँ गए ती दिनहरू’ को एउटा प्रसंग उप्काएँ । त्यो एउटा कविताको प्रसंग थियो- ‘आकाशमा लागेको थियो बादल, घरमा बसेर बजाइरहेँं मादल ।’

‘हा हा हा… हो त, ती स्कुले दिनमा आफूलाई स्वघोषित कवि मानिसकेको थिएँ र मैले नै सुझाएका फर्मुला प्रयोग गरेर मेरा जेठानले रचेको कविता हो त्यो’, भन्नुभयो उहाँले । छापामा पढ्न पाइने लेख, गीतसंगीत, श्रष्टाका जीवन-संघर्षबारे चर्चा चलिरहँदा ओ हेनरीबारे एउटा घतलाग्दो कुरा सुनाउनु भो । अभावहरूले टिक्न-खान नदिएपछि ओ हेनरी सम्पादककहाँ अगि्रम रकम अर्थात् एडभान्स माग्न जान्थे रे अनि सम्पादकले खै त कथा ? भन्दा आपनो निधारमा चोर औंलो ठोक्काउँदै भन्थे रे ओ हेनरी- ‘यी, कथा यहाँ छ ।’ हामी खुलेर हाँस्यौं ।

आपनै अनुभव पनि थप्नुभो उहाँले, ‘पर्दैन भन्दाभन्दै पनि भूपिले मलाई एउटा दैनिक पत्रिकाबाट एकपटक त्यसरी नै एडभान्स दिलाइदिएका थिए । त्यो रकम थियो नब्बे रुपैयाँ ।’

‘उबेलाको नब्बे रुपैयाँ भनेको अहिलेको नौ हजारजस्तै हो ।’, मेरा साथीले मुद्रा विनिमय खुलाए ।

‘हो नाई । उबेलाको रुपैयाँ, उबेलाका संगीत-कला-साहित्यको मर्म बुभने शालीन दर्शक/श्रोता पाठक सबैलाई सम्भिरहन्छु म अहिले’, उहाँले पुराना दिनहरू मिस गर्नु भो सायद ।

साँझ ढल्दै गर्दा एउटा अविस्मरणीय मध्याह्नलाई ओझेल पारेर छुट्टनिुपर्‍यो । उहाँलाई सफा स्फटिक पि्रज्मजस्तो मानेंँ मैले र उहाँकै माध्यमबाट अरू धेरै स्रष्टालाई जीवनका विविध रंगमा रंगमंगिएर श्रष्टाधर्म निभाइरहेको आपनो कल्पनाको आँखाले देखेँं । एउटा अर्थपूर्ण उपलब्धि । कतै दाग नलागेको एउटा चोखो हार्दिकताले भर्खरै छोएर गएको थियो मलाई । फुरुक्क पर्दै बाटामा साथीलाई भनेँं, ‘हेर न, कुरामा यस्तरी हराइएछ कि एक चरण गाएको सुन्ने मेरो धोको त सुनाउनै भुले छु ।’

मित्र बोले, ‘मूड चल्नुपर्छ, बेला बुभनुपर्छ । सरस्वती पूजा, गुरुपूर्णे अथवा उहाँको जन्मदिनमा आउनु, गीतै सुन्नुपर्ने भए ।’

ठीकै छ साइत जुराएर एक दिन अनुरोध गर्नुपर्ला, ‘एकपटक गाइदिनुहुन्छ कि, उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला…?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *