Skip to content


नेपालको इतिहासमा विद्यार्थीलाई काजी अमरसिंह थापाको नाम नौलो हो होइन तर एकै समयमा पश्चिम नेपालमा दुई जना काजी अमरसिंह थापाहरूले सेनापति भएर सैनिकको नेतृत्व गरेको विषय भने कमैले हेक्का गरेको देखिन्छ । ती सेनापतिहरूमध्ये वि.सं. १८०८ मा जन्मेका अमरसिंह थापा एक थिए । उनलाई ‘काजी’ दर्जा दिइएको थियो । अर्का अमरसिंहभन्दा जेठा भएकाले इतिहासमा उनलाई सजिलोसँग चिन्नका लागि कतिपयले ‘बडा काजी’ अर्थात् बडाकाजी अमरसिंह थापा भन्ने गरेको पाइन्छ । जीवनको उत्तरार्द्धमा उनी अङ्ग्रेजविरुद्ध युद्धका लागि नेपालको सुदूरपश्चिमी क्षेत्रमा खटिएका थिए ।

उनीभन्दा आठ वर्षपछि १८१६ सालमा अर्का अमरसिंह थापाको जन्म भएको थियो । यी भीमसेन थापाका बाबु हुन् । उमेरका हिसाबले कान्छा भएकाले उनलाई ‘साना’ अमरसिंह थापा भन्ने पनि गरिन्छ । उनलाई पनि ‘काजी’ दर्जा दिइएको थियो । जीवनको उत्तरार्द्धमा उनलाई ‘सेन राज्य’ पाल्पा विजयका लागि खटाइएको थियो । पाल्पालाई नियन्त्रणमा लिएपछि उनै काजी अमरसिंह थापालाई त्यस गौंडा -जिल्ला) को तैनाथवाला -प्रशासक) बनाइएको थियो । यहाँ पाल्पा गौंडाका पहिलो प्रशासक उनै काजी अमरसिंह थापाले अङ्ग्रेजसँग युद्धको उद्घाटन गरेकोे सन्दर्भ चर्चा गरिएको छ ।

काजी अमरसिंह थापा तैनाथवाला भएका समयमा पाल्पा गौंडाको प्रशासनिक क्षेत्र पहाडका अतिरिक्त तराईतर्फ वर्तमान भारतको गोरखपुरसम्म फैलिएको थियो । त्यसबखत बि्रटिस इस्ट इण्डिया कम्पनी सरकार अर्थात् अङ्ग्रेजले भारतलाई नियन्त्रणमा लिएर शासन सञ्चालन गरेको थियो । त्यसै कारण पाल्पा गौंडाको दक्षिणी सिमाना कम्पनी सरकार नियन्त्रित क्षेत्रसँग जोडिन पुगेको थियो । पाल्पाको प्रशासनिक क्षेत्रअन्तर्गतका तराई क्षेत्रहरूमा खासगरी ‘बुटवल चारतप्पा’ अर्थात् बुटवलका अतिरिक्त माझखण्ड -भैरहवा), पाल्ही -परासी), खजहनी -तौलिहवा) र स्युराज -बहादुरगन्ज) थिए । यी क्षेत्रहरूलाई अङ्ग्रेजले नियन्त्रणमा लिन चाहन्थ्यो । त्यसैले ती भू-भागहरू आˆनो भएको तथा तिनलाई नेपालले मिचेको आरोप लगाउँथ्यो । हुनतः तराई प्रदेशका अन्य क्षेत्रको जमिनमाथि पनि अङ्ग्रेजको दाबी थियो । तथापि उनीहरूले पहिले पाल्पाली सेन राजाले उपभोग गर्दै आएको र त्यसपछि नेपालको नियन्त्रणमा रहेको बुटवल चारतप्पालाई नै मुख्य मुद्दाका रूपमा उठाउँदै आए ।

कम्पनीका तर्फबाट शासन सञ्चालन गर्न १८७० सालको असोजतिर भारत पुगेका नयाँ गवर्नर जनरल माक्विर्स अफ हेस्टिङ्गस्ले बुटवल चारतप्पा क्षेत्रको मुद्दालाई चर्काउन लागे । भारत पुगेको केही महिनापछि उनले नेपाल सरकारलाई स्युराज र बुटवल छोड्नका निम्ति पत्र पठाएका थिए । निर्धारित समयभित्र नछाडे बल प्रयोग गरी ती क्षेत्र कब्जा गर्ने कुरासमेत पत्रमा उल्लेख थियो । वास्तवमा अङ्ग्रेज नेपालसँग युद्ध गर्न कटिबद्ध तथा तयारसमेत भइसकेकोले सो पत्र अङ्ग्रेजको युद्ध थालनी गर्ने एउटा बहाना मात्र थियो ।

निर्धारित समय सकिनासाथ १८७१ साल वैशाख महिनाको दोस्रो हप्तामा गोरखपुरबाट तीन कम्पनी अङ्ग्रेज सैनिक बुटवल पुगेको थियो । अप्रत्याशितरूपमा आएको सो फौजले बुटवलमा तैनाथ नेपाली सुरक्षाकर्मीमध्ये दुई/चार जनालाई मारिदिए । त्यति मात्र नभएर सुरक्षाचौकी स्थापना गरी सो क्षेत्रबाट मालपोतसमेत उठाउन सुरु गरे । पूर्वजानकारीविना नै अङ्ग्रेज फौज आˆनो क्षेत्रभित्र प्रवेश गर्दछ भन्ने कुरा सम्भवतः अमरसिंह थापाले सोचेका थिएनन् । त्यसैले तिनका विरुद्ध प्रत्याक्रमणका लागि उनी तयार थिएनन् । फेरी अङ्ग्रेजको तीन कम्पनी सैनिकसँग मुकाबला गर्न सक्ने फौज पनि तत्काल उनीसँग थिएन । यस्तो अवस्थामा उनले कुनै प्रतिकार नगरी मौका पर्खेर बसे ।

अर्कातर्फ विश्व विजेताका रूपमा रहेको आˆनो शक्तिको प्रतिकार गर्न नसकेर नै नेपाली सेना बुटवल क्षेत्रमा नआएको हो भन्ने अङ्ग्रेजको ठहर थियो । यसका अतिरिक्त अङ्ग्रेजले अब पनि नेपाली सेना प्रतिकारका निम्ति फर्केर आउँदैनन् भन्ने ठानेर चौकीहरूमा केही सैनिक छाडी बाँकीलाई गोरखपुरतर्फ फर्कायो ।

बुटवल क्षेत्रभित्र प्रवेश गरेको अङ्ग्रेज फौजमाथि तत्कालै आक्रमण गर्नुभन्दा उनीहरूको शक्ति एवं अवस्था बुझेर मात्र आक्रमण गर्नु उचित हुने कुरा अनुभवी सेनापति काजी अमरसिंहले बुझेका थिए । त्यसै कारण सात हप्ता जतिको तयारीपछि मात्र उनले आˆनो सेनालाई पाल्पाबाट बुटवल पठाए । यो सेनाले रातको समय पारी अङ्ग्रेज सुरक्षाचौकीहरूमाथि आक्रमण गरिदिए । अप्रत्याशित रूपमा गरिएको यो आक्रमणका लागि अङ्ग्रेज सेना तयार थिएन । त्यसका अतिरिक्त तयार नै रहेको भए तापनि ठूलो सङ्ख्याको नेपाली सेनाका विरुद्ध उनीहरूको केही लाग्दैनथ्यो । फलस्वरूप यस आक्रमणबाट अङ्ग्रेजतर्फका १८ सैनिक मारिए भने छ घायल भए । यो पराजय उनीहरूका निम्ति अपमानसमेत थियो । यसपछि पनि बुटवल क्षेत्रमा नै बसेका खण्डमा नेपाली सेनाले पुनः आक्रमण गर्न सक्ने देखेर बाँकी रहेका अङ्ग्रेज सैनिकहरू त्यहाँबाट भाग्न बाध्य भए ।

अमरसिंह थापाले अङ्ग्रेज सेनालाई निकै सुझबुझका साथ आˆनो क्षेत्रबाट पराजित गरी लखेट्न सफल भए । उनीहरू भागेपछि अमरसिंहले गुमेको आˆनो भू-भाग पुनः नियन्त्रणमा लिए । नेपालको पश्चिमी क्षेत्रबाट अङ्ग्रेजका विरुद्ध लडिएको यो पहिलो सफल लडाइँ थियो । जर्मन सम्राट् नेपोलियन ‘बोनापार्ट’ समेतलाई पराजित गर्न सफल विश्वविजेता अङ्ग्रेज सैन्यलाई पराजित गर्नसक्नु अमरसिंह थापाका निम्ति गौरवको विषय पनि थियो । स्मरणीय कुरा के पनि छ भने बुटवल एउटा मात्र क्षेत्र हो जहाँ अङ्ग्रेज जनरल उडको नेतृत्वको फौजसमेत नेपाली सेनाले पराजित गरेका थिए ।

अमरसिंहको यो आक्रमण जेठ महिनाको अन्त्यतिर भएकाले नेपाली सेनाका विरुद्ध युद्धको तयारी गर्न अङ्ग्रेजलाई केही समय अवश्य नै लाग्थ्यो । यतिञ्जेलसम्म वषर्ायाम सुरु भइसक्दथ्यो । वषर्ायाम पहाडी तथा तराईसमेतमा युद्ध गर्नका लागि प्रतिकूल मौसम थियो । वषर्ायाम सुरु भइसकेकाले अमरसिंह थापाविरुद्ध युद्धका लागि तत्काल अङ्ग्रेज सेना बुटवलमा आएन । यति भए तापनि यो घटनाले नेपाल र अङ्ग्रेजबीच युद्ध अवश्यंभावी बन्न गयो । अझ भन्ने हो भने अमरसिंहको आक्रमण नै नेपाल-अङ्ग्रेज युद्धको उद्घाटन थियो । यो घटनापछि शत्रुपक्षेको गतिविधलाई निगरानी राख्दै भावी युद्धको तयारीमा जुटेका बखत १८७१ साल असोज शुक्ल अष्टमीका दिन पाल्पामा नै अमरसिंह थापाको मृत्यु हुन गयो । उनको यो असामयिक निधनबाट मुलुकले युद्धकालको असहज परिस्थितिमा अङ्ग्रेजलाई पहिलो कदममा नै पराजित गराउने वीर सेनापति गुमाउन पुग्यो, जुन अपुरणीय क्षति थियो । यस्ता वीरहरूकै बलिदानबाट नेपाल आजसम्म स्वतन्त्र र अविभाज्य रहेको छ । काजी अमरसिंह थापा जस्ता वीर/वीरङ्गनालाई सदासर्वदा सम्मान गर्नु राज्यको पनि दायित्व हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *