Skip to content


कक्षा चारमा पढ्ने रविनका साथीहरू उसलाई ‘छुस्के’ स्वभाव भएको मान्दथे । उसका आफन्तहरू पनि उसलाई ‘उपद््रया केटो’ को दर्जामा राख्दथे । उसलाई भने सधैँ नयाँ नयाँ कुरा बुझ्ने, अनुभव गर्ने इच्छा भइरहन्थ्यो । अरूले जुन कुरा गर्नुहुन्न भनेको छ, उसलाई त्यही कुरा गर्न नपाएर छटपटी भइरहन्थ्यो । ऊ अनायासै त्यै ‘गर्न नहुने’ कामप्रति आकषिर्त भइरहन्थ्यो । परिणाम स्वरुप उसले एउटा न एउटा बिघ्न गरेर कहिले आफँै दुःख पाउँथ्यो । कहिले उसका कारणले अरूले दुःख पाउँथे ।

उनीहरू खेल्ने गरेको चउरको नजिकै एउटा ठूलो रूख थियो । त्यो रूखमा फलेको फल खाँदा निद्रा लाग्ने, बेहोस समेत हुने पनि हुन्थ्यो । यो कुरा ऊ र उसका साथीहरूलाई पनि थाहा थियो । त्यसैले उसका साथीहरू त्यो रूखको मुन्तिर जानु पनि हुन्न र त्यहाँ पाकेर झरेका फल पनि खान हुन्न भनेर एक आपसमा बेलाबेलामा कुरा गर्ने गर्दथे । उनीहरू त्यो रूखको मुन्तिर कहिल्यै जाँदैनथे ।

एकदिन लुकामारी खेल्ने क्रममा ऊ त्यो रूख पछाडि लुक्न पुग्यो । उसले रूखको फेदमा पाकेका फलहरू झरेको देख्यो । साथीहरूको चेताउनी सम्झदा सम्झदै पनि उसका हात फलतिर बढे । उसले फल उठायो र पुसपास पारेर हेर्‍यो । उसलाई त्यो फल असाध्यै खाउँ खाउँ लाग्यो र खायो । उसले त्यो फल अलिअलि टर्रो र धेरै गुलियो स्वाद भएको पायो ।

हेर्दाहेर्दै उसका शरीरमा प्वाँख उमि्रएर ऊ एकैछिनमा चरो बन्यो । आफू चरो बनेकोमा दङ्ग पर्दै उसले आˆना पखेटाहरू फड्फडाउन थाल्यो । माथि माथि नीलो आकाशमा हावामा कावा खाँदाको उमङ्ग, रनवन घुमेर डालीडाली चहारेर मीठा मीठा फल र फूलको रस खानपाइने मज्जा, खेतबारी चहारेर छानीछानी मनपरेका अन्नको स्वाद र मिठास, गर्मीको मौसममा हिउँका गुफाहरूमा उडान गर्दाको मजा, लेकमा सल्लाको सुसाइसँगै सल्लाकोे हाँगामा झुल्दाको मजा, नदी, ताल घुम्दैघुम्दै झरनामा नुहाउँदाको आनन्द सम्झेर ऊ पुलकित भयो ।

ऊ पखेटा फड्फडाउँदै चउरमा दगुर्‍यो । आफू हावामा उडेको पाउँदा उसलाई अचम्म लाग्यो । ऊ उड्दा उड्दा माथि माथि हावामा कावा खान थाल्यो । एक्कासि तीखा नङ्ग्रा तेस्र्याउँदै बाजले झम्टा हान्दा उसको सात्तो गयो । ऊ कहालिएर ज्यान जोगाउने क्रममा तल झर्दै थियो, अर्कोतिरबाट चीलले हान्निएर उसलाई गाँज्न खोज्यो । ऊ बत्तिएर तल झर्‍यो र एउटा रूखको डालीमा बस्यो । डरले उसको मुटु कलेजो नै बाहिर आउलाजस्तो भयो ।

संयोगवश ऊ बसेको रूखमा उसले रहरलाग्दा फल लटरम्म फलेको पायो । उसले फल खान भनी ठुङ्गेको मात्र के थियो उसको कानको भूवा नै उड्नेगरी सननन्न आवाज निकाल्दै कुनै वस्तु अगाडिको रूखमा गएर बजि्रयो । उसले मुन्टो बटारेर हेर्‍यो । एउटा व्याधा उसलाई मार्नका लागि पुनः गुलेलीमा मट्याङ्ग्रा अँठ्याउँदै थियो ।

ऊ त्यहाँबाट उडेर एउटा घरको टुँडालमा गएर बस्यो । उसलाई गुलेली बोकेर चरा मार्दै हिँड्ने आˆनो बानीदेखि आफैँमाथि रिस उठ्यो । उसले परबाट चरा खोज्दै गुलेली ताक्दै हिँडेका केटाहरू आउँदै गरेको देख्यो । ऊ सतर्क भयो । उसलाई त्यहाँ पनि कागले ठुङ्न खोजेर दुःख दियो । उसलाई ती केटाहरूदेखि घृणा लागेर ‘ज्यानमाराहरू’ भन्यो । अब आफूले कहिल्यै पनि गुलेली नखेलाउने मनमनै अठोट गर्‍यो ।

डर र त्रासले उसको मुख सुक्यो । ऊ टुँडालबाट उडेर पानी पिउन भनी तल चोकमा झर्‍यो । उसले पानी पिएको मात्र के थियो, नजिकै बसेको पाङ्ग्रे कुकुर र्‍याल चुहाउँदै उसलाई झम्टन आइपुग्यो । ऊ हत्तपत्त उडेर धुरीमा गएर बस्यो । केही समयपछि उसले नजिकैबाट आवाज आएको सुन्यो । ऊ सतर्क हुन खोज्दाखोज्दै ढाडे बिरालोले ऊ माथि झम्टा हान्यो । उसले बच्न खोज्दाखोज्दै पनि उसको एउटा पखेटाका प्वाँखहरू ढाडेले लुछिहाल्यो । ऊ उड्न नसकेर भुइँमा बजारियो ।

रविन झसङ्ग भएर बिउँझियो । ऊ त रूखको फेदमा पो डङ्ग्रङ्ग लडेको रहेछ । ऊ एकछिन जिल्ल पर्‍यो । उठेर लुगामा लागेको धूलो झार्दै उसले मनमनै सोच्यो । अरूले गर्न हुन्न भनेको काम नगरेको भए मलाई यस्तो हुने थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *