Skip to content

अरिष्ट र गरिष्ट हुँदै वरिष्ठ भएँ

  • by


सुन्ने र पढ्नेलाई प्रस्तुत रचनाको शीर्षक देखेर अवश्य अनौठो लाग्न सक्छ । म आफैँलाई पनि त्यस्तो लाग्न सक्छ किन कि मैले जे भन्न खोजेको छु त्यो अनौठो नै छ र खासगरी म व्यक्तिसँग सम्बन्धित छु । अर्थात् मेरो आफ्नै बारेको, खासगरी बाल्यकालदेखि सङ्घर्ष गर्दै आएर जवानीसम्म पुगेको कुरा । खास गरी मैले यसमा तीनवटा त्यस्ता विशेषण बुझाउने शब्दलाई मेरो आफ्नै जीवनमा प्रयोग गरें ।

जुन बेलादेखिको कुराको उठान गरेको छु त्यति बेला हाम्रो ठूलो परिवार, एउटा गाउँको सम्पन्न जमिन्दार परिवार भनिन्थ्यो । जमिन्दारीमा कति गाउँ समावेश त्यो अहिले भन्न सक्दिन तर मेरो पिताका छ दाजुभाइको त्यो संयुक्त परिवार ठूलो थियो र पुरुष परिवार सदस्यमा मेरा पिताजीको स्थान पाँचौँमा पर्थ्यो । जेठाबा पहिले नै परलोक भएकोले परिवारको हर्ताकर्ता जेष्ठताको नाताले माइलाबा हुनुहुन्थ्यो भने संरक्षकमा मेरी बज्यै गुप्त कुमारी । हाम्रो त्यो पारिवारिक घरमा बिहान खलबलसँगै उज्यालो हुन्थ्यो भने रात चाहिँ उक्त हल्ला शान्त भएपछि पर्थ्यो ।

भर्खरै तिहार सिद्धिएको थियो । ठूलो आँगनमा चटाई ओछ्याएर आमा पार्वती र भाउजु घाम ताप्दै साँझको लागि तरकारी काट्ने र केलाउने काममा व्यस्त हुनुहुन्थ्यो । आमाको काखमा सानी बहिनी निदाइरहेकी थिई । चार वर्षे उमेरको म आमाको काखमा बस्न सारै लालायित थिएँ । बहिनीलाई उठाएर भए पनि आमाको काख कब्जा गर्ने मेरो सुर थियो तर सकिरहेको थिइँन । त्यसैबेला भाउजूले आमासँग भन्नुभो, ‘भन बाबु साह्रै नै उपध्य्राहा भए । आमाले पार्वतीलाई भन्नु भो, ‘ए पार्वती अहिले यो तरकारी छोडिदेऊ र यो अरिष्टलाई बाहिरतिर लगेर अल्मल्याऊन् । ए आज त हाट पनि लाग्छ होइन ? यो साह्रै नै अरिष्ट भएर गो । न अरूलाई काम गर्न दिन्छ, न त आफू सुत्छ, दिनभरि यत्तिकै छ । आमाले मलाई पर धकेल्दै भन्नु भो ए, अरिष्ट अलि पर जा न । आमाले भनेको यो अरिष्ठ शब्दले किन मलाई आकषिर्त गर्‍यो, म घोक्न थालेँ । अल्छि, अलिष्ट,’ । आमाहरू हाँस्न थाल्नु भो, पार्वतीले मलाई उचालिन र बोकेर हिँडिन्, म रुन्चे शब्दमा घोक्न थालेँ अलिष्ट अलिष्ट घोक्दै, आफ्नो मञ्जुरी बिना जबरजस्ती आफूलाई बोक्ने पार्वतीको गालामा एक चड्कन दिएँ । उनी ऐया र आत्थु गर्दैै आमाको दिनु भएको चवन्नी (चार आने सिक्का) टिपेर ‘मन बाबु पर्ख तिमीलाई’ भन्दै हिँडिन् । यसरी त्यो दिनको अरिष्ट काण्ड सकियो ।

मेरो बाल्यकाल यस्तै वातावरणमा बित्यो । मैले बाल्यकाल यही आफ्नो ठूलो परिवार र घरको कोठा चहार्दै दिन गुजारेँ । किनभने, बेलुकी साँझ परेपछि म कसको कोठामा निदाउँथे ठेगान थिएन । कसले मेरी आमाको काखसम्म पुर्‍याउँथ्यो थाहा पाउन्नथेँ, तर बिहान चाँडै उठ्नेमा । आफू उठेपछि बाहिर निस्कनै पर्ने बानीले ढिलो सुत्ने मेरी आमालाई मैले बाल्य कैशोर्य कालमा धेरै दुःख दिएको छु । त्यतिमात्र होइन, यस्तै दुःख मैले मेरी बज्यै (हजुरआमा) र माइलाबालाई पनि दिएको छु ।

मेरो उमेर छ वर्षको भएदेखि व्रतबन्ध गर्ने कुरा उठेको मलाई थाहा छ, तर तराईको त्यो ठाउँमा पण्डित नपाइने भएकोले रोकिएको थियो । त्यो अवधिमा मेरो प्रमुख काम थियो । बिहान सबेरै उठेर भैंसीको दूध र फरुही खाने, अनि छडी माष्टरको स्कूलमा बसेर तीन घण्टा बाह्रखरी घोक्नु । ‘छडी माष्टरको स्कूल’ यो मेरो काल्पनिक भनाइ होइन । मुख्य गाउँभन्दा अलि बाहिर, बरहम बाबाको पूजाघरको नजिकै दुईवटा लामो टहरा थिए । त्यसलाई स्कूल परिसर सम्झे हुन्छ । एउटा टहरामा बाहिर ओसारा र दुई कोठा सहितको र अर्को चाहिँ लामो तर दुई खुल्ला ढोकाबाट भित्र पस्न सकिने कक्षा कोठा सहितको टहरा थिए । पहिलो दुई कोठा दुई शिक्षकको आवासको लागि थियो भने अर्को खुला चाहिँ कक्षा कोठा थियो । त्यतिबेला स्कूलमा करिब तीस जति छात्र छात्रा थिए । ती दुई शिक्षक प्रति छात्र छात्रा रु. दुईका दरले मासिक पाउँथे र हरेक शनिवार ढक्कीमा चामल, गुड (सक्खरको डल्लो) फूल र एक आना पैसा लैजाने चलन थियो । यसलाई शनिश्चरा भन्थे । त्यो दिन पढाइ हुन्थ्यो केवल प्रार्थना गराएर विद्यार्थी छोडिन्थे । शनिवार शिक्षक घर जान्थे । आइतबार छुट्टी हुन्थ्यो ।

हाम्रो घरबाट केवल दुई जना त्रिपुरा (साइँलाबाकी छोरी) र म मात्र त्यस स्कुलमा पढ्न जान्थ्यौँ । जेठाबाका छोरा कृष्ण दाइ, माइलाबाका छोरा बलदेव दाइ बनारसमा पढ्नु हुन्थ्यो भने साइलाबाका छोरा प्रदुम्न दाइलाई घरैमा पढाउन माष्टर आउँथे । गाउँका केटाकेटी ज्यादा नै उपध्रा थिए । शनिवार स्कूल छुटेर घर जाने बेलामा सधैँ एउटा गीत जस्तो गाएर माष्टरलाई चिड्याउँदै भाग्थे । सुरुसुरुमा मलाई थाहा थिएन । के भन्छन् भनेर म अलिमलिन्थे । पछि त मलाई पनि रमाइलो लाग्यो र भनेर उफ्रन थालेँ । त्यो गीत यस्तो थियो – ‘गुरुजी गुरुजी चौँ चटिया, गुरुजी मरगेल उठाओ खटिया’ ।

मैले झण्डै दुईवर्ष अघि, आमाबाट पाएको पगरी धेरै दिनसम्म घोकेकोले बिर्सिएको थिइन ‘अरिष्ट’लाई । शनिवारको दिन थियो । दिउँसो बलदेवले तीन वटै भैंसी फुकाए, चराउन लैजाने बेला भएको थियो । त्यो दिन हरिया पनि हाम्रै घरमा थियो । सुखदेवले एउटा भैंसीको डोरी समायो हरिया र मलाई सान गर्‍यो । बेला त्यस्तै मध्यान्ह जस्तै थियो । हरिया पछाडि, म बीचमा र सुखदेव अगाडि चढ्यौँ मैँसी खेततिर लाग्यो । आहालनिर पुग्ने बेलामा भैँसीले सर्प देख्यो कि अरू नै केही यसरी उफ्रियो हामी तीनै जना आहालको पानीमा । पहिलो वेगमा हामी तीनै जना एक खेप डुब्यौं पनि । मैले त झण्डै त्यो आहालको दुई घुट्का हिले पानी निलेँ पनि तर तुरुन्तै भैँसीबाट ओर्लिएर बलदेवले हामी तीनै जनालाई आहालबाट झिकेर घरतिर खेदे ।

सुखदेव आफ्नो घर गयो । हरिया र म डराउँदै घरको आँगनमा पस्थेँ । खलबल सुनेर आमा आफ्नो कोठाबाट निस्कनु भो र हाम्रो विरूप देखेर कराउनुभयो । त्यो दिनको घाम पनि निकै कडा थियो । खलबल सुनेर बैकुण्ठ दाइ कोठाबाट निस्कनु भयो । हाम्रो गति देखेर पैले त हाँस्नुभयो । अनि पछि आमातिर हेरेर भन्नुभो ‘यो केटोले सुख चाहिँ नदिने भो तपाईंलाईं । यो मान्छेलाई बाबुसँग राखेमात्र सप्रन्छ । मलङ्गवा नै पठाउनुपर्छ ।’ मलाई त्यो रात जरो आयो । हरिया र सुखदेवलाई के भो थाहा भएन ।

माघ महिनामा काठमाडौँ पुर्‍याएर जेठी फुपू भैरवीको घरबाट मेरो व्रतबन्ध भयो, तर व्रतबन्ध पछि हामी आफ्नै पुख्र्यौली घरमा सर्‍यौँ । त्यो घरमा पिताजीका काइँलाबा भानिज बा र मलाई गाउँ लैजान आउनु भएका कान्छा बा बसेका थियौँ । एकदिन बिहान शहर घुमेर फर्किँदा हलुवाई पसलमा देखेको पेडा खान मन लागेर मैले आफ्नो कोठामा सुतेका कान्छाबाको खल्तीबाट दुई मोहर चोरें, यो मेरो जीवनको पैलो चोराइ थियो । म समातिएँ र कान्छाबाबाट दुई चड्कन पनि पाएँ र औषधि मूलो गर्ने भानिज बाले त मलाई ‘यो केटो सारै ‘गरिष्ट’ भएर गो सानो बाबु यसले अब त खल्ती पनि मार्न थाल्यो’ भन्नु भो । यसरी आमाबाट ‘अरिष्ट’ दर्जा पाएको म एक दर्जा अर्को उक्लिएर भानिज बाबाट एकसिँढी ‘गरिष्ट’ मा पो उक्लन पुगेँ ।

कान्छा बासँगै म तराईको पारिवारिक मोडमा प्रवेश गरेँ । आमाको र पिताजीको काखमा पुगेँ । बाल सखासखी सबैसँग भेट भयो । र दुई चार दिन त रमाइलै भयो । तर केही दिनपछि नै हाम्रो परिवारमा राहु ग्रहको प्रवेश भयो । हाम्रो सम्पत्तिमाथिको गिद्दे दृष्टिले काम गर्‍यो हाम्रो सर्वस्व भयो । यतिसम्म कि मेरी बज्यै हजूर आमाको दाइजोसम्म छोडेन । एक व्यक्तिको सेतो दाह्रीको कूचोले बढारेर सबै आफ्नो ढुकुटी भर्‍यो । परिवारको विचल्ली कैयौँ दिनसम्म सीतामढी धर्मशालाको बास, त्यसपछि बनारस प्रस्थान । अब हाम्रो त्यो ठूलो सङ्गठित परिवार विच्श्रृङ्खल बन्यो । सबैको मायावरी जीवन सुरुभयो । त्यो अवधिमा म धेरै थोक बनेँ, सामाजिक कार्यकर्ता, शिक्षक, राजनीतिज्ञ, सरकारी जागिरे, लेखक के बनिन । एकदिन देखेँ गोरखापत्र पढ्दा एउटासानो खबर छापेको थियो । लेखेको थियो ‘वरिष्ठ कवि एवं साहित्यकार फणीन्द्रराज खेतालाले पनि कविता पाठ गर्नुभएको थियो’ किनभने मैले २०२१ सालमा सरकारी जागिरेको रूपमा भ्रमण गरेर पाल्पाबाट र्फकंदा भस्थामको ओरालो आेलिर्दा मैले भट्टराई थर त्यही छोडेर ‘खेताला’ बनेको थिएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *