Skip to content

‘बर्दी’ पहिरिने जगदीश घिमिरे

  • by

उहिले उपन्यास, नाटकले अलि पहिले संस्मरणले उहाँलाई चर्चितै बनाएको हो । नेपाली साहित्यमा दरिलै उपस्थिति जनाउनुभएकै हो उहाँले । बीचको केही दशक हराए हराए जस्तै हुनुभएको उहाँ अहिले चर्चाको शिखरमा हुनुहुन्छ । साहित्यिक कृति र साहित्यिक व्यक्तित्वको यति विघ्न चर्चा परिचर्चा सायदै भएको थियो । साहित्यमा चासो नलिनेले पनि जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’मा दिनुसम्म चासो दिए, साहित्य नपढ्नेले पनि पनि पढे, धेरैले पढे । ‘अन्तर्मनको यात्रा’को चर्चा अझै चलिरहेको छ । चर्चा सँगसँगै जगदीश घिमिरेको लेखन पनि चलिरहेको छ । झन् गतिवान भएर उहाँ लेखिरहनुभएको छ ।

साहित्यबाट टाढिए पनि राजनीतिक विश्लेषकका रूपमा पत्रपत्रिकामा देखापर्नु भए पनि रामेछापमा समाजसेवा गरेर मान्छेका मन मनमा बसे पनि जगदीश घिमिरेलाई चर्चाको शिखरमा पुर्याउने काम साहित्यले नै गर्यो । पहिले लेखेर पाठकको मनमनमा पुग्नुभएका जगदीश घिमिरे ‘अन्तर्मनको यात्रा’को यात्रापछि उहाँ सर्वत्र पुग्नुभयो । चर्चा त उपन्यासकार, नाटककार, कथाकार जगदीश घिमिरेको पनि त्यत्तिकै हुनुपर्थ्यो सावित्री, लिलाम जस्ता उपन्यास, सन्तान जस्ता नाटक प्रकाशन भएर उहाँले चर्चा कमाएकै तीन दशक नाघिसक्यो । हिजोका दिनमा उहाँको त्यति चर्चा नभए पनि आज भएको व्यापक चर्चामा भने सन्तोष लिनैपर्छ ।

जगदीश घिमिरे उत्कृष्ट कथा लेख्ने कथाकार पनि हुन् । बीसको दशकदेखि नै विभिन्न पत्रपत्रिकामा कथा छपाउने उहाँका प्रकाशित कथाहरू सङ्ग्रहित भएर ‘बर्दी’ नाम लिएर देखापरेको छ ।

‘बर्दी’ सार्वजनिक हुने दिन (२०६६ भदौ ) भेला भएका साहित्यकार, पत्रकार, स्तम्भकार, समालोचक प्रायः सबैले उहाँको कथाको मुग्तकण्ठले प्रसंशा गरे । लियो टाल्सटाय, मोपासा, पो, प्रेमचन्द आदिको नाम लिएर अन्तर्वार्ता दिनेहरूले अब जगदीश घिमिरेको साहित्य पढेको छु भनेर गर्व गर्नुपर्ने धारणासमेत राखिएको थियो कार्यक्रममा । नेपाली साहित्यकारहरूको कृति उल्लेख नगर्ने प्रवृत्ति, देखाउनैका लागि मात्र भए पनि कण्ठाग्र १५-२० जना विदेशी साहित्यकारको नाम लिने प्रवृत्ति पुरानै हो । हाम्रा स्रष्टाहरूको लेखन पनि त्यत्तिकै बेजोड छ, त्यत्तिकै सशक्त छ । तर प्रचारप्रसारको कमीले देशको सीमाना छिचोल्न हम्मे परेको हो । हाम्रै स्रष्टा समालोचकहरूले सहजै लिइहाल्ने नाम बन्न सकेका छैनन् ।

साहित्यमा निरन्तरता दिने स्रष्टाहरू छन् हामीकहाँ । कतिपय स्रष्टाहरू भने बीचका केही दशक विश्राम गरेर साहित्यिमा फेरि देखापरेका छन् । उदाहरणका लागि यस पालि जगदीश घिमिरेलाई अघि समेटिएको हो ।

जगदीश घिमिरे लेखेर चर्चामा आउनुभएको हो भन्नेहरूले त रोगले पनि उहाँलाई चर्चामा ल्यायो भन्छन् । जस्तोसुकै र जति नै ठूलो रोग लागे पनि सबै बिरामीको चर्चा गरिँदैन । उत्कृष्ट र मन छुने लेख्न नसक्नेको चर्चा हुँदैन, उत्कृष्ट र मन छुने लेखनकै कारण उहाँको चर्चा भएको हो, सम्मान भएको हो, पुरस्कृत हुनुभएको हो । माथि नै भनियो नि लिलाम (२०२७), सावित्री (२०३२) जस्ता उपन्यास, सन्तान (२०३०) नाटक, जगदीशका कथाहरू (२०२७) कथा सङ्ग्रह, केही कथा, कविता र संस्मरण (२०३४) जस्ता कृतिबाट उहाँ चर्चित भइसक्नुभएको थियो । लामो विश्रामपछि उहाँका ‘अन्तर्मनको यात्रा’ (२०६४), अग्निसूत्र (२०६५) कविता सङ्ग्रह र ‘बर्दी’ कथा सङ्ग्रह (२०६६) समेत प्रकाशित भइसकेका छन् ।

“समालोचकबाट साहित्यको मूल्याङन हुन्छ जस्तो मलाई लाग्दैन । हामी जस्ता नयाँ लेखकहरूले नयाँ पाठकहरू बनाउन सकेका छैनौँ । गत शताब्दीको आदर्शमा हामी अझै बाँच्दैछौँ । सन् १९५० भन्दा पछाडिको (दुई विश्वयुद्ध र हजारौं स-साना युद्धहरू एकसाथ चलिरहेको) यस शताब्दीको उत्तरार्धको यथार्थ बेग्लै छ । नेपालीका अधिकांश लेखकको ‘अपेक्षित’ मूल्याङ्कन भएन भनेर गुनासो गर्दिन । गुनासो छ भने आफैसँग छ । लेख्न सक्थें लेख्न सकिन । …. भन्न खोजेको बुझ्नुभयो होला, ममा लेख्नसक्ने विश्वास थियो र छ पनि तर लेखेर देखाउन सकेको छैन । किन सकिन भनेर सफाइ दिनुमा के अर्थ हुन्छ र ?” (साहित्यकार परिचय र अभिव्यक्ति २०५४)

२० वर्ष अघि उहाँबाट अभिव्यक्त विचार अहिले हेर्दा धेरै फरक भइसकेको छ । २० वर्षअघि लेख्न सकेर पनि सकिन भन्ने जगदीश घिमिरे यतिखेर लेख्न मात्र होइन सक्रिय भएर साहित्यमा लाग्नुभएको छ, नयाँ पाठक प्रशस्त बनाउनु भएको छ, पाउनु भएको छ, उहाँको लेखनको पनि राम्ररी मूल्याङ्न भएको छ अहिलेको सन्दर्भमा । अग्रज र लोकपि्रय कथाकार गुरुप्रसाद मैनालीको नाममा स्थापित ‘मैनाली कथा पुरस्कार’ पाएर उत्कृष्ट कथाकारको रूपमा सम्मानित त्यतिखेरैका कथाकार जगदीश घिमिरेले २० को दशकदेखि २०६५ सम्म लेखिएका कथाहरू, उत्कृष्ट कथाहरू ‘बर्दी’ मा प्रस्तुत गर्नुभएको छ । ‘बर्दी’भित्रको ‘बर्दी’ कथामा ‘बर्दी’को नाममा वा पहिरनमा चरम अन्याय गर्नेमाथि कठोर प्रहार गर्ने जगदीश घिमिरे कहिले उपन्यासकारको ‘बर्दी’ लगाएर, कहिले नाटककारको त कहिले कविको बर्दी लगाएर समाजमा आˆना चोटिला व्यङ्ग्य र सशक्त प्रस्तुति जादुगरी भाषा शिल्पले प्रस्तुत गर्दै आइरहनुभएको छ । यस पटक उहाँ कथाकारको ‘बर्दी’ लगाएर उभिनुभएको छ । अरू ‘बर्दी’ लगाएर अन्याय गर्छन्, लुट्छन् उहाँ ‘बर्दी’ लगाएर भाषा साहित्यिमा न्याय गरिरहनुभएको छ, योगदान दिइरहनुभएको छ, विकृति विसङ्तिको विरोध गरिरहनुभएको छ । ‘बर्दी’ त उहाँले पनि लगाउनुभएको छ तर ६४ वर्षीय जगदीश घिमिरेको ‘बर्दी’को आवरणमा गरिएको कार्य (लेखन) लोभलाग्दो छ, ईर्ष्या लाग्दो छ, उल्लेख गर्न लायकको छ, व्यङ्ग्य र प्रहार गर्न होइन प्रसंशा र सम्मान गर्न लायकको छ ।

‘बर्दी’ त एउटा प्रतिनिधि कथा मात्र हो, यसभित्रका ३० वटा कथा छिचोल्ने हो भने भन्नेपर्छ कथाकार जगदीश घिमिरेको कथा लेखनले चार दशक नाघिसक्दा पनि उही सशक्त छ, उही व्यङ्ग्य छ, उही चोटिलो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *