Skip to content

माईलाघरे चन्द्रे, माझाघरे नरे र तल्लाघरे भरते छिमेकी हुन् । आर्थिक हैसियत र सामाजिक सामर्थ्यका आधारमा तुलना गर्दा चन्द्रेलाई रूख, भरतेलाई बुट्यान(पोथ्रा) र नरेलाई झार(घाँस) भनिदिए फरक पर्दैन । एउटा समानता पनि छ यिनीहरूमा । त्यो के हो भने यी तीनै घरको एउटै पेसा कृषि नै हो । कृषक नै भएर पनि असमानता नि छ । माईलाघरे चन्द्रे लाखौँ बिघा जमिनको भूमिपति र तल्लाघरे भरते पनि हजारौं बिघा जमिनको मालिक तर माझाघरे नरेको मात्र पाँच कठ्ठा माटोमा ठड्याएको एउटा काठे कटेरो ।

माईलाघरे चन्द्र आधुनिक तरिकाले खेतिपाती गर्छ र आफ्नै पौरखमा रमाउँछ । अर्काको वास्ता गर्दैन र कसैको आन्तरिक मामिलामा हस्तक्षेप गरेर शक्ति प्रदर्शन गर्दैन तर यसको ठीक विपरीत व्यवहार छ तल्लाघरे भरतेको । ऊ माझाघरे नरेको रिस र डाहा गर्छ, कोलमा तोरी पेलेझैँ पेल्छ, जग्गाको साँध पर पर सार्छ र माझाघरेका छोराछोरीलाई उचालेर घर झगडा गराइदिन्छ । तल्लाघरे भरते, माझाघरे नरेलाई एकपटक सियो दिन्छ र ऊबाट सयपटक फाली छिन्छ । भरतेको घरले सधैँ नरेको घरको घाम छल्छ । हात्तीघरले कमिलो घरलाई खुट्टैले दल्छ ।

माझाघरे नरेको जग्गाको मुहान(जरुवा पानी) बाट तल्लाघरे भरतेले आफ्नो रोपाइँ गर्छ । खेतको रोपोमा टन्न सिँचाइ गर्छ । अनि मात्र माझाघरे नरेले आफ्नो खेतमा रोपाईं र सिँचाइ गर्न पाउँछ । माझाघरेले आफ्नै पानी पनि तल्लाघरेलाई सोधेर अनुमति पाएपछि मात्र प्रयोग गर्न पाउँछ । वर्षाको भलबाढीमा कुलो थुनेर आफ्नोतिर पानी बग्न भरते निषेध गर्छ र नरेलाई पानीमा डुबाउँछ ।

यति मात्र कहाँ हो र ! आफ्नो घरमा आएका अतिथिहरूलाई माझाघर देखाउँदै भरते सगर्व भन्छ- “त्यो मेरो मटान हो, त्यहाँ मेरो नोकर र गोठालाहरू बस्छन् !”

फाक्टाङ-२, खोटाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *