Skip to content

देवकोटाद्वारा रचित विश्वसाहित्य ‘शाकुन्तल इपिक’

  • by


महाकवि लक्ष्मीप्रसाद देवकोटा साहिँलो छोरो हुनुहुन्थ्यो । उहाँको जेठो दाजु लेखनाथ देवकोटा ‘जिन्सीअड्डा’ भन्ने सरकारी कार्यालयमा काम गर्नुहुन्थ्यो । त्यो अड्डको मुख्य काम नेपालबाट विदेशतिर वस्तुहरूको निकासी र पैठारी गर्ने जिम्मा पाएको थियो । त्यो अड्डाको मुख्य हाकिम अर्थात् आजको भाषामा डाइरेक्टर जनरल प्रधानमन्त्री चन्द्रशमशेरको साहिँलो छोरो केशरशमशेर जङ्गबहादुर राणा थिए तर मैले बाल्यकालमै थाहा पाएअनुसार तिनी कहिल्यै पनि जिन्सी अड्डामा हाजिर भएनन्, अड्डाका हाकिम र सबै कर्मचारीहरू निजको घर केशरमहलमा सातामा एकपटक जाने गर्दथे ।
मेरा पिता जिन्सी अड्डाका हाकिम हुनुहुन्थ्यो । उहाँको दर्जा अड्डाको खरदार भए तापनि लेखनाथ देवकोटाले मेरा पिताको मातहतमा रहेर काम गर्नु पर्दथ्यो । त्यसैबेला लेखनाथ देवकोटाले आफ्नो साहिँलो भाइ लक्ष्मी प्र. देवकोटालाई पढ्न पटना भारतमा पठाए । त्यस्तैमा मेरी माहिली दिदी विमलादेवीको विवाह काठमाडौँको रानीपोखरी तलाउ पश्चिम उत्तरमा रहेको ठूला धनाढ्य परिवारका छोरासित कुरा छिनियो । मेरा पिता निकै प्रसन्न हुनुभयो र त्यो दिन जिन्सी अड्डातिर जान शान्ति निकेतनको आफ्नो जेठो दाजु राममणि आचार्य दीक्षितको घरबाट हिँड्नुभयो ।
चन्द्रशमशेरको अवसानको तीन वर्षपछिसम्म देशका प्रधानमन्त्री हुन पुगेका भीमशमशेरले आफ्नो शासनकालमा काठमाडौँका ५२ ब्राहृमण परिवारलाई निकै नै दुःख दिए । तीमध्ये सबैभन्दा बढी पीडा मेरो पिताले भोग्नुपरेको थियो । त्यस्तै अवस्थामा आफ्नी माहिली छोरीको विवाहको कुरा छिनिएको घटनाबाट निकै प्रशन्नसाथ हिँड्दै डिल्लीबजारतिर जाँदा मेरो पिताले आफ्नो साहिँलो काकाका कान्छो छोरा र केही वर्षअघि मात्र भारतको कलकत्तामा ई.सन् १९२२ मा एम.बी.बीए.स. उत्तीर्ण भई नेपालको पहिलो नेपाली डाक्टर कहलिन थाल्नुभएका डा. सिद्धिमणि आचार्य दीक्षितलाई उहाँको घर अगाडि सडकमा भेट्नु भयो । दाजु लक्ष्मणमणि दीक्षित त्यस्तो प्रसन्न मुद्रामा देखापर्नु भएकोलाई इङ्गित गर्दै- “दाइ, आज यस्तो प्रसन्न मुद्रा किन ?” भनी सोध्नुभयो र त्यो बिहान माहिली छोरीका विवाहको कुरो छिन्ने काम सम्पन्न भएकोबारे थाहा भएपछि डा. सिद्धिमणिले भन्नुभएछ- “दाइ त्यो भण्डारी केटोलाई आफ्नी छोरी नदिनुहोस् । त्यो केटो क्षयरोगले ग्रस्त भई मेरो उपचारमा रहेको छ । मैले अनुमान गरेअनुसार अब त्यसको जीवन पन्ध्र महिना जति मात्र बाँकी छ ।”
डा. भाइबाट त्यस्तो कुरा सुनेपछि मेरो पिता साह्रै आत्तिनुभएछ । त्यसै आतेसमा उहाँ हाल पुतलीसडकको पश्चिमदक्षिण कुनामा रहेको नेसनल ट्रेडिङ कम्पनी (त्यसबेला जिन्सी अड्डा रहेको आफ्नो काम गर्ने कोठामा) पुग्नुभयो । त्यहाँ लेखनाथ देवकोटा हुनुहुन्थ्यो । दुवैबीच गहिरो मैत्री सम्बन्ध थियो । मेरा पिताले एक घण्टा पहिले माहिली छोरीको विवाह छिनिएको र त्यसपछि डा. सिद्धिमणिले बाटोमा बताउनुभएको सबै कुरा लेखनाथ देवकोटालाई बताएर अब आफूले के गर्ने भन्नेबारे रनभुल्लमा परेको बताउनुभयो । लेखनाथ देवकोटाले सान्त्वना दिन खोज्नुभयो तर मेरो पिताको चित्त बुझेनछ । त्यस्तो देखेर लेखनाथ देवकोटाले भन्नुभएछ- “त्यस्तै हो भने मेरो ठाइलो भाइ मित्रनाथ देवकोटा छँदैछ, त्यसको विवाह भएको छैन । दाइले स्वीकार गर्ने भए दाइकी माहिली छोरी मेरो ठाइलो भाइलाई दिनोस्, स्वीकार गर्छु । त्यति सुन्नु के थियो, मेरा पिताको गुमेको होस् फर्कियो । उहाँले लेखनाथ देवकोटालाई सँगै लिएर डिल्लीबजारस्थित उहाँको घर पुर्याई आफ्नो पैतृक घर शान्ति निकेतनमा गएर आफ्ना पितामाता र दाजुभाइ सबैलाई जम्मा गरी त्यो दिनको सम्पूर्ण कुरा र डा. सिद्धिमणिले भन्नुभएको भण्डारीको छोरोलाई क्षयरोग लागेकोबारे बताउनुभयो ।
त्यो दिन बिहान माहिली दिदीको कुरा छिन्दा म पनि शान्ति निकेतन गएको थिएँ । कुरा छिनेपछि म आफ्नो घर विशालनगरतिर फर्किएँ, पिताजी आफ्नो जिन्सी अड्डातिर जानुभएको थियो । साँझमा बत्ती बलेपछि घर फर्किएर पिताजीले माताजीलाई यावत् कुरा बताउनुभयो । लेखनाथ देवकाटोको घरबाट फर्किएर शान्ति निकेतन पुगेपछि परिवारलाई सबै कुरा बताएर आफ्नी माहिली छोरी भण्डारी केटोलाई होइन कि लेखनाथ देवकोटाका ठाइँला भाइलाई आफूले दिने निर्णय गरेको र देवकोटाले पनि स्वीकार गरेको कुरा बताएपछि ‘माहिला पण्डित’ मेराबाजे काशीनाथ आचार्य दीक्षितको परिवारमा रडाको नै मच्चिएछ । कुरा छिनिसकेको ठाउँमा नै छोरी दिनुपर्छ, त्यसो नगरी अर्को ठाउँमा दिएमा तिम्री छोरी वैकल्या ठहरिने छे, कसैले बिहे गर्ने छैन भन्नेमा परिवारका बहुसङ्ख्यक परिवार अडेछन् । काहिँला र ठूलाकान्छा भाइहरू यक्षमणि दिक्षित र नरेन्द्रमणि दीक्षितले भने लेखनाथ देवकोटाका भाइलाई छोरी दिनु उचित छ, क्षयरोग लागेको भण्डारीको छोरोलाई आफ्नी छोरी किन दिने भन्ने आफ्नो भनाइमा अड्नुभएछ ।
यो सबै भएको दोस्रो दिन लेखनाथ देवकोटाले आफ्नो पुरेतसँगै लिएर शान्ति निकेतन आई दुई दिनपछि जन्तिसमेत लिएर आउने र भोलिपल्ट विवाह सम्पन्न भएपछि आफ्नो घर लैजाने निर्णय गर्नुभयो । भयो पनि त्यस्तै तर लेखनाथ देवकोटाले जन्ती लिएर आउने बेलामा प्रधानमन्त्री भीमशमशेर छेउ कसैले “यसरी पकैल्या छोरीको विवाह हुन लागेकोमा रोकी पाउँ” अनि उजुरी गरेछन् । त्यो उजुरी सुनेकै एक जना जिन्सी अड्डाको कारिन्दाले “सरकार यसबेला त लेखनाथ देवकोटा बाजेले जन्ती लिएर शान्ति निकेतन पुगिसके होलान्” भनी जाहेर गरेपछि भीमशमशेर पहिले नै आफूलाई त्यसबारे किन नबताएको भनी उजुरवालालाई हप्काएछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *