सुरुमा प्रसङ्ग अँगाल्दा महाकवि स्वर्गीय लक्ष्मीप्रसाद देवकोटाको ‘शतवाषिर्की’ विशेषाङ्कका रूपमा २०६६ साल कात्तिक महिनाको ‘मधुपर्क’ अङ्क प्रकाशित हुने भएबाट अहिले खुसी र दायित्व दुवै एकैसाथ थपिन आएको ठान्छु, ममाथि । साथै मधुपर्क परिवारको यो अत्यन्त प्रशंसनीय कार्य-योजना भएकाले ‘धन्य’ भन्छु ।
आधा शताब्दी अगि दिवङ्गत भएका महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली भाषा र साहित्य जगत्का अमर स्रष्टा हुन् । ‘नभूतो नभविष्यति’ एक अद्वितीय प्रज्ञापुत्र र महिमाशाली महान् देवकोटा हुन् भन्ने कुरो यस पङ्क्तिकारका भित्री मनले धेरै अघिदेखि स्वीकार्दै आइरहेको छ । स्वदेश र विदेशमा बहुप्रशंसित स्व. देवकोटा थिए । असाधारण काव्य पुरुष साधारणताभित्रको असाधारणता महान् महाकविका विषयमा कुरो चल्दा उठ्ने आफैँ अनेक सँग-प्रसङ्ग । तिनलाई केही नसम्झी फेरि म बिर्सुं र बढेँ अगि कसोरी ? फसाद, तिनको क्रमबद्धता कायम राख्नेसमेत मजस्तोलाई हुने धेरै कठिन फेरि चिनारीका फाँटहरू पनि छन् । बेग्लाबेग्लै दर्जनौँ कृतिको मूर्धन्य स्रष्टा र सृष्टिका बीचको सम्बन्ध अगाध अपार । यसरी, ‘स्मृति’ स्वयं हुने कहिले पवित्र पूजा र कहिले गहिरो पीडा । के ढाँटौँ, रेखी हाल्न नै भो गाह्रो ।
पहिले न चिन्दा र पछि चिन्दा उठ्ने उपेक्षा र अपेक्षाका रङ्ग-तरङ्गले अझ पारिदिने सबै फरक । प्राणान्तसम्म एकनास र सद्भाव, सहभाव र समभाव राख्न सक्ने महामना त्यस सिर्जनकर्ताको विशेष योगदान अपूर्व काव्य धारा । नेपाली मात्रका लागि यही अनमोल सम्पत्ति उनी हाम्रा र हामी उनैका साझा । धरती-पिरती सबै-सबैका आशा गरौँ, खुल्ला हाम्रो तेस्रो आँखा, होला सोच-खोज सबै ।
समयान्तरमा नेपाली भाषा र साहित्यको प्राध्यापन कार्य गरें । ‘त्रिभुवन विश्वविद्यालयका आँगनीमा झण्डै साढे दुई दशक जति विस्तारै नयाँ शिक्षा योजना २०३० ले फेरि दियो, मेरो कार्य दिशा । म पुगेँ अन्यत्र ।
समालोचना, अध्ययन-अनुसन्धानका गहन विषयतर्फ यहाँ नलागि (त्यो अरू समर्थ कलमबाट भैजानेछन्) केवल आफूसँग रहेका तर भोलि ती सबै मसँगै हराउँदै जाने डरले टुटे-फुटेका साना तिनैलाई आˆनो स्मृति-कोष उघारी पोख्नु अहिले उचित ठानी कमजोर कलमका साथ उपस्थित छु वस्तुता यही ।
सात दशक भेट्न दौडिरहेको मेरा यस उमेरले दुई दशक पनि राम्ररी नफाट्तैका त्यस कच्चा उमेरले पालेका दुई स्मृति-बिम्ब सबै अक्षरमा कसरी उत्रेलान् भन्नेमा आफैँ उत्सुक बनिरहेको तथ्य फेरि लुकाऊँ म कसोरी ? उमेरहरू छोपिँदै मेटिँदै जाने गर्छन्, विस्तारै थाहै नपाई । उसैगरी ‘स्मृति’ भित्रका स्मृतिहरू हराउँछन्, धेरै । केही मात्र जमेर बस्छन्, भित्रभित्र ती सक्कली छोयो कि जाग्छन्, आˆनै सुरले र अगाडि आई उभिन्छन् । करिब करिब हालत मेरो छ यही ।
‘संयोग’ आफैँमा अनौठो स्व. लक्ष्मीप्रसाद देवकोटासँगका जीवितावस्थामा हुन पुगेका (केही वर्ष अघि र पछिका) छोटो भेट-दर्शन यही पोल्टामा छन् । तिनको भिन्न कालक्रम, आयतन र चिनारीसमेत छोटा छन् । तिनै स्मृति-बिन्दुमाथि टेकी रचना सिङ्गो उभिने कुरो सुरुमै निवेदन गर्न चाहेँ, छाती उघारी । खासैमा ‘मधुपर्क’ का साथ अहिले सामेलसम्म भएको छु । श्रद्धाका ‘शब्द-कुसुमाञ्जलि’ का साथ यहीँ ।
स्वर्गीय देवकोटा मेरा श्रद्धाका पात्र । भोक-शोक र रोगले ग्रस्त बनी दुर्दमनीय शरीर ढल्यो-ढाल्यो चाँडै । यसरी सङ्गति र सामग्रीको बाहुल्यसमेत हुन सकेन मेरो । भाग्यले साथ दिएन राम्रो भनौँ । तैपनि, पाको आˆनो यस उमेरलाई मूकदर्शक पारी निकै टाढा राखी पुरानाका रेशमी स्मृति तन्तु तान्दैछु । अरू के गरौँ ।
महाकवि देवकोटासँगको मेरो पहिलो भेट एकप्रकार नियमित आकस्मिकता । तिथिमिति र कार्यक्रमबारे केहीबुझी विनायोजना र उद्देश्य कार्यक्रमस्थलमा अकस्मात पुगेछु म । त्यो काठमाडौँ राजधानीको मुटुमा भइरहेको थियो, एक विराट ‘कवि गोष्ठी’ । सर्वप्रथम त्यहीँ देखे अगाडि आदरणीय मूर्ति, अग्लो मञ्चमा विराजमान महाकवि लक्ष्मीप्रसाद देवकोटा । हृष्टपुष्ट शरीरमाथिका उन्नत भाल । धाराप्रवाह वाणीमा ओज र अपूर्व मिठास । एकपछि अर्को तालीको हुने गड्गडाहट फेरि थियो, ठीक त्यसै भवनका सामुन्ने बेलाबेलामा घण्टी बजाउँदै उभिरहेको ‘घण्टाघर’ भित्र हलमा लयबद्ध कविताका सुन्दर पङ्क्तिहरूको एकपछि अर्को कविले गर्ने राम्रो पाठ, वाचित सबै ‘मधु’ ! प्रसिद्ध ‘रानीपोखरी’ को पूर्वी शिरानी र ‘त्रिचन्द्र कलेज’को ठीक पश्चिमपट्ट िभागमा अवस्थित ‘सरस्वती सदन’ भने आˆनो काम निधारैमा लेखी यस गरिमामय क्षण उचाली मुस्कुराइरहेको देखिन्थ्यो । यी सबै क्षण र दृश्यलाई मोह र उत्सुकताले भरेथें, आˆनो सानो हृदय-पटलमा धेरै अगि ।
मेरा तनमन लागे (गोष्ठी सकिनासाथ) महाकविका अघि-पछि, दायाँबायाँ । कति लोभलाग्दो त्यो फुर्तिलो अनुहार, स-सानाकाला मुन्द्रे/घुँघुरिएका कपाल बेलाबेलामा छप्पछप्प हान्न पुग्थे, आˆनै निधारमा । सायद, मेरा त्यस उमेरले यति लोभलाग्दा अनुहार त्यस अघि देखेको थिएन, कतै मेरो राम पुलकित भई उठे । नजिकैबाट कविका हात कसरी कसरी मेरो कुममाथि पुग्दा । छिटै एउटा छाप पर्यो, नौलो र पहिलो । त्यहीँ मेरा भित्री मनको देवकोटाको हस्ताक्षर माग्ने केही क्षण अगिको सुर देवकोटाको त्यस मृदु संस्पर्शले बेसुर भई त्यसै त्यहीँ हरायो । कविता साहित्यको टूना-मोहनी लाग्यो मनमा । त्यसै पल देखिन्थ्यो क्यार ! कुन दिनको अपरान्ह यसरी उज्यालो बन्यो मेरो । सायद यो ‘गोष्ठी’ को कार्यक्रम २०१२।१३ सालतिरको हुनुपर्छ-भन्छु । तिथिमितिको यकीनसाथ हेक्काचाहिँ भएन मलाई । सुधारिँदा मान्छु, राम्रो ।
फेरि, बिस्तारै समय बढ्यो अगाडि । हाम्रा र कविका ‘शरद-वसन्त केही आए-गए, दिन रात र रात दिन बन्यो । रूपान्तरणमा स्थानान्तरण मान्छेको प्रकृति र अनिवार्य नियति । ‘यायाबरी’ रूप छ हाम्रो ।
केही वर्षपछि वर्ष गयो भागेर । केही थोरै वर्षको अन्तरालमा मैले भेटेको सुन्दर रूप सबै भेटियो र त्यहीँ खडा भयो, अर्कै असुन्दर अनुहार । यसबीच स्व. देवकोटाले भोगे हुन्न धेरै कुरा । हामी नेपाली प्रायः मृत्युपछि मात्र ‘मान्छे’ चिन्छौँ राम्ररी । संस्कार र संस्कृति नै बेग्लै । भनौँ ‘शतवाषिर्कीभित्र छ लुकेको एक श्राद्ध यो हाम्रो संस्कृति र श्रद्धाले समर्पित भई गरिने ‘श्राद्ध’ राम्रो । त नराम्रो खबर पुग्यो कानमा कसरी कसरी कुँदेर एक दिन बिहानी नै । महाकविको रोगाक्रान्त, पछिल्लो अवस्थाको पहिलो एक क्षण अस्पतालको ढोकादेखि पाएथे कतै झुलुक्क दर्शन टाढाको त्यो उल्लेख्य कुरो छैन यहाँ । नराम्रो यो खबर पाउनासाथ दौडी म पुगेँ, ‘पाशुपत क्षेत्र’ भित्रैको प्रसिद्ध ‘कविकुञ्ज’, भित्र मृत्युशय्यामा अस्ताउँदैका सूर्यको विदीर्ण छियाछिया कलेबर । दुःसाध्य ‘क्यान्सर’ रोगको आक्रमण ।
त्यतिखेर ‘क्यान्सर’ रोगको सुनिने नाम अत्यन्त कम तर अत्यन्त असहनीय चौबीसै घण्टा पूरै हुने पीडादायी रोग । केही विष यस दुर्नियतिको शिकार बन्नमा पनि होलान् अनेक कार्यका कारणहरू त्यता अहिले नजाआँै । आखिर अपार क्षति त्यो २०१६ साल भाद्र २९ गते महाकविको निधनले हुन पुग्यो ।
साधारणतः अचिन्त्य स्थिति । ठूलाबडा भनाउँदाहरूले उल्टो मबाट जान्न चाहे बाटामा रोकी सबै कुरो । सिधै कोठाभित्र पुग्दा सबै मेरो भयो, विपनी सपनी । एकदम अचिन्त्य प्रतिकूल स्थिति । हाम्रालागि असहृय र अकल्पनीय । तुरुन्त भेटियो, मेरो पुरानो स्मृति-चित्र । अर्कै ‘भावबिम्ब’ खडाभो अगाडि । सिङ्गो देशकै प्रतिष्ठाको यो दुर्दशा भिजे परेली बिग्रे कि सबैका अनुहार त्यहाँ । मभन्दा अघि नै पुग्ने थुप्रै श्रद्धालु अग्रज-अनुजहरू पनि देवकोटालाई श्रद्धा गर्नेमा थिए । सबै चिकित्सक र अस्पतालले माया मारेपछि यता राखेको कुरो सुने विस्तारै गजब छ यो स्मृतिको दोहरी चिनारी पनि कमै हुने गर्छ ।
अनुहार पूरै कविको हाड कङ्कालको मात्र बनेको । आँखा धसिँदै तल भित्र पुगिसकेका । सुकाएछ सबै मांसपेशी । स्वर विस्तारै उकालो चढी मलिनो स्वरमा कविकी धर्मपत्नी (बज्यै) सितको संवादमा थियो । जलाउने काठ र किरिया गर्नका लागि पैसा पुग्छ बज्यै । यस्तै-यस्तै मार्मिक-कारुणिक । भैगो, आँखा र मन मेरो आफैँ लाग्न थाले चूप । सम्झन्छु, यस्तैमा परम्परावादी एक सज्जनले कविको अन्तिम इच्छाबारे सोधे । त्यसैको उत्तरमा कविले ‘मुनामदन’ छोडी अरू सबै जलाइदिँदा पनि हुन्छ भनेको वाक्य त्यो मेरा नजिकैबाट स्पष्टसाथ बाहिर पुग्यो, विस्तारै । महाकविका विरक्त स्वरको यो थियो अन्तध्र्वनि । त्यहाँ सबै छक्कपक्क भयौँ । अब पशुपतिको आर्यघाट धेरै टाढा थिएन क्षण प्रतिक्षण ।
-ल.पु. झम्सिखेल
