केही दिन अघि एकजना मित्र मेरा बासस्थानमा आई आफूलाई ‘लेखक कवि’ बनाइदिने अनुरोध गरेपछि मन मस्तिष्क दुवै हल्लिन थाले मेरा । हृदयको भित्री भूइंचालो छँदैछ फेरि चर्को अर्काे एकछिन जिल्लिएँ वा आत्तिए, सीधा उत्तरको अभावमा के भनौं र गरौं भो एक्कासी मलाई । यस्तो पनि हुँदोरैछ अनुरोध भन्ने कुराले मेरा सामु साहित्य सस्तो र महँगो दुवै एकैसाथ हुनपुग्यो । ‘लेखन’ को भित्री प्रशिक्षण कुनै शिक्षक वा क्याम्पसले कतै दिए पनि मेरा दृष्टिमा त्यो बाहिरी हो ।
‘लेखक’ प्रयत्न र पैसा खर्च गरी सीधै अरुले बनाइदिने कुरो होइन र छैन भन्छु म । चेतनाको स्तरअनुसार आन्तरिक वलवती इच्छा र प्राकृतिक कारणको नै यसमा ठूलो हात हुन्छ । फेरि हृदय उदात्त सबै न भत्किइकन यस्तो ज्वारभाटा उम्लनु पनि गाह्रो । अक्षर मर्दैन र प्राणवान् एक साहित्यकार कबै घूस र जूसले जन्मिन्न पनि । न ऐश्वर्य न शक्तिले त्यो उमारिने हुन्छ । पद र बलले मात्र त्यो हुने भए भोका नाङ्गा असाधारण प्रकृतिका हाम्रा महाकवि ‘देवकोटा’ जानीन यहाँ कुनै सम्भावना नै थिएन । मुख्यतः साहित्य सट्टा ‘सत्यं शिवम् सुन्दरम्’ को रखबारी गर्छ, यो विज्ञानका झैं अणुको विखण्डनसम्म खोज्दै चरमविन्दुसम्म पुग्दैन । सुन्दर असुन्दर भन्नु विज्ञानका लागि केही छैन । साहित्य र विज्ञानको अन्तर यही । साहित्य संश्लिष्ट र विज्ञान विश्लेषक छाटोमा भन्दा खेरि लौ यहाँ नै भन्नोस् के भनौं म त्यस अनुरोधको जवाफमा । म अवाक् भएर हुन्छु । किन हो किन चाकडीको चाहना गर्नेले यताको बाटो पूरै बिर्सिदिए हुन्छ । सापटी र किनबेच यता चल्दैन ।
यो लेख आत्मकेन्दि्रत छ । छाती न छामी शब्दका सार मेरा त बज्दै बज्दैनन् अर्को मेरो सिङ्गो देशको कुरो गरे विश्वमा ने नपाइने यो अपार सुन्दर छ, धवल धवल हिमालयमाथि जहाँ दिनदिनै सूर्यले आलस्य कत्ति नगरी यथासमयमा नै सुनले कलाकारिताका साथ पोत्छन् सिँगार्छन् । नदीनाला उसैको चरण पखाल्दै समुद्रतर्फ हिँड्छन् कस्तो । जून र घाम दुवै हाम्रा सेता र सुकिला । यो सनातन सम्पत्ति हाम्रो साझा । हाम्रो विराटता । हृदय खोली राम्ररी यति मात्र पनि बुझे कवि लेखक अरूले बनाइदिनु पर्ने आवश्यकता केही छैन । कुनै खाता खोल्ने र डिग्री लिनुपर्ने आवश्यकता पनि पर्दैन । मैले नजानेरै राम्ररी लेख्न प्रस्तुत कमजोर पङ्क्ति भित्रै यसरी लेखिरहेको छु । यस्तोले के बुझाउने र सिकाउने म जिल्ला पर्छु । ‘घाइते’ नभई ‘ताजमहल-रानीमहल’ वा ठूल्ठूला रचना गर्नमा निकै कठिनाइ पर्छ । यो अनुभूत सत्य मेरा । कुनै कारखाना त्यस्तो कतै भए मेरो जानकारीमा छैन है मित्र !
भखरै, घटित एउटा घटना मेरो छाती चिर्ने चर्चरी अरूलाई सानो र त्यो नगण्य लाग्ला तर भई गयो । तै पनि त्यही संवेदनाका मेरा दरिद्र स्वर यथाशक्य शब्दमा कोही यथार्थ सुनाउने यहाँ थोरै घष्टता गर्दैछु । साँचो एक समर्थ साहित्यिकका दृष्टिमा त म ‘पीडाको पिरामिड’ । यस्तो मलाई बुझेर लेख्नेमा आत्मीय जयदेव भट्टराई बाहेक अरु कोही थिएन । हुँदै होइन । पर्दैन । फेरि अनुरोधक मित्र मेरा निराश चाहिँ कति नहुनोस् । यही भित्री अनुरोध त्यता मेरा । धेरै वर्ष ‘प्राध्यापन’ मा गुडाएँ पनि ‘कवि-लेखक’ बनाउने कला वा सिकाउने पाठ्यक्रम वा पाठ्यपुस्तक मैले कतै भेटिन यो साँचो त मेरा यही निधारले कुन्नि कसलाई कहिले कस्तो कुरो लेखाएछ वा भनौं कसैले लेखिदिएछ । म त्यही न पुछिने ‘भाग्यरेखा’ मा दिनरात सकी नसकी दगुर्दो छु । मीठो सपनी फुटी सधैं उभिने यो खराब मेरो विपनी । यसको उजूर गर्ने एउटा अदालतसमेत मैले कतै पाइँन । साँच्चै खुशी बिक्रीमा पो छ सधैं मेरो । सधैं अक्षरलाई चुटीचुटी रुवाएर हिंड्ने गर्छु निर्दयी म । फेरि पाठक Û कति यसमा पीर नमानौं । त्यो सबै भोग मेरामा छाडौं । रेडियो नेपालमा बस्दा पनि सङ्गीत सिकिन् अन्यथा सारेगमले भित्र रेट्थें, हृदयका तार तार सबै । साथमा केवल अबोला अक्षर छ, मेरो साथी अहिले । शुभसाइत् खोजी खोजी बेचैन छु । के गरौं । हो, केही दिन अघि अस्पतालको ठूलो घरमा फुलेको मेरो सानो फूल अस्तायो । ही ‘अनाथ’ मेरो मर्ने मैले राखेको नातिको नाम । हाम्रो संस्कृतिमा न्वारन गर्ने एघारौं दिन, त्यो पनि मिलन उसलाई, यसरी आफैंले राखें ना ‘अनाम-सर्वनाम’ उसको मैले । नामको भित्री र बाहिरी ठूलो शक्ति र भूमिका रहन्छ, हाम्रो समाजमा । म उसको पिताको पनि पिता, नाम राख्ने पूरा हक भो मेरो । त्यो ती पुस्ते हक । सातदिनको कलिलो मुना मेरो प्यारो, भावी वंशको स्वणिर्म रेखा । सास भुलिसक्ता पनि उसका ढलेका सुन्दर अनुहारले रुवायो मलाई ।
सूर्यास्तपछिको आमा । धेरै ‘मुखाग्नि’ दिने पहिले काम गरे आफ्नै ‘मुखाग्निदाता’ को समेत गरें । यो पञ्चतफ्वी काम । यसमा स्थिति केही फरक भई उदायो । यसमा उपचारदाता पूरै हारेर मृत्युदाता विजयी भो । मैले ढल्दो अनुहार अँगालोमा बाँधी उठाइकन हेरे दुवै सजल आँखाले भिज्यो पूरै मेरो अनुहार रसनाले पोती निधार र ओठ उसै जानेको । यस्तो पनि कमजोरी बोक्दै रैछ मान्छेको जाति । एउटै मात्र नातिको कोमल शरीर ढुङ्गा माटाको खाल्डो खनी त्यसैभित्र सुताई शुन्यता बोकी ‘पशुपति’ देखि घर फर्कें म । यही दुख्छ घरीघरी । यस्तो अनुभव पहिलो मेरो लाग्यो अनौठो । म ‘पशुपति मन्दिर’ वरिपरि आँखा डुलाई हेर्न राम्ररी
अहिले सक्तिनं । खरानी पारेका र माटोले पुरेका साना ठूला स्वजन नजिकै उमिन्छन् पहिलेका झै गरी, म लाचार छाया के भनौं र के गरौं ?
अहिले राजनीति पथभ्रान्त र विक्षिप्त बनेको छ हाम्रो नेपालको । घुम्ने मेचमाथि झण्डा हाली बस्नेका हुर्दभ्य कामनाको कुनै दिन अनावरण होला । हुँदैछ, दिन प्रतिदिन । ‘मृत्यु’ एकप्रकार सौगात नेपालीको । चरित्र र चिन्तनको सङ्कट । आज अभभारण्य होइन, भचारण्य छ पूरै नेपाल । अखण्डता र एकता धरापमा पर्दोछ । अब लेखक साहित्यकारको धर्म देशको अखण्डता जोगाउनामा रहेको छ यो विशेष कर्तव्य, सारांशमा रचनाधर्मिता पर्दोछ खाडलको सङ्कटमा । भन्छु मेरो उपस्थित साहित्यका भोकाभित्र ! आफ्नै अन्तरात्माको शङ्खनादको आवश्यकता अहिले हाम्रा सामु छ । सोही उठ्ला मन र कलम छोटी । टाढा खोजी खोजी हिँड्नै पर्नेछैन । होस्, राम्रो ।
शनिबार, गोरखापत्र
मंसीर २०, २०६६
