अङ्ग्रेजी पत्रिका ‘हिमालियन’ को भित्री पृष्ठमा सानो दुई चार हरफको समाचार छापिएको थियो ‘साहित्यकार रहेनन्’ शिर्षक दिएर । समाचार पढेपछि म स्तब्ध भएँ । पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार खगेन्द्र प्रधानाङ्गको ८६ वर्षको उमेरमा निधन भएछ । उनको निधनको समाचारले पत्रपत्रिकामा जुन महत्व र स्थान पाउनुपर्थ्यो त्यो पाएको देखिएन । निरङ्कुश राणाशासनको समयमा धनकुटामा गोकुण्डेश्वर पाठशाला खोलेर शिक्षा र चेतनाको दियो बाल्ने केही अग्रज समाजसेवीमध्ये एक थिए । गजेन्द्रबहादुर प्रधानाङ्ग पिताको पाइलालाई पछ्याएर उनका छोरा खगेन्द्र प्रधानाङ्गले पनि धनकुटाको शिक्षा, साहित्य र संस्कृतिको विकासमा योगदान पुर्याउँदै आएका थिए । यातायात सञ्चारका सुविधा नभएको त्यसबेलाको समयमा धनकुटामा पत्रपत्रिका र पुस्तक पढ्ने परम्परा बसाउने काममा पनि खगेन्द्रले निकै ठूलो योगदान गरेका छन् । राणाकालमा जनताका छोरीछोरीले आधुनिक फेसन गर्न पाइँदैनथ्यो । दार्जिलिङको प्रभाव परेका खगेन्द्रजीलाई छरिकाटेर (कपाल) फेसन गरेको भनेर झण्डै काङ्ग्रेसी भएको बात लागेको थियो खगेन्द्रजस्तै युवाहरूले धनकुटामा आधुनिकताको प्रवेश गराएका थिए ।
खगेन्द्रजीसित मेरो पहिलो भेट २०२० सालतिर काठमाडौँमा भएको थियो । नेपाल साहित्य प्रतिष्ठानले आयोजना गरेको राष्ट्रब्यापी साहित्य सम्मेलनमा भाग लिने सिलसिलामा । त्यसपछि धनकुटा डिग्री कलेजको प्राचार्य भएर गएपछि उहाँसित मेरो घनिष्टता बढ्यो । त्यसबेला धनकुटाको बाटो बनिसकेको थिएन । पैदल हिँडेर जानुपर्थ्यो । सहरबजारबाट एकाएक धनकुटा पुग्दा म नियासि्रएको थिएँ । चिनेको कोही थिएन । बिरानो ठाउँमा म एक्लोपनको अनुभव गरिरहेको थिएँ । छोडछाड गरेर घर फर्कौं जस्तो हुन्थ्यो । कविराज नरपति पोखरेल, पूर्णलाल लप्टन, शिवनारायण श्रेष्ठ, गणेशकुमार कर्माचार्यहरूले मलाई अभिभावकत्व प्रदान गरेर केही हदसम्म सान्त्वना दिलाए । खगेन्द्र प्रधानाङ्ग, रामेश्वरबहादुर श्रेष्ठ र तुलसी दिवस नभएको भए म धनकुटामा बस्न सक्ने थिइन् । उनीहरू पनि गएर धनिष्टमित्र हुनपुगे । मैले साहित्यिक वातावरण पनि पाएँ । अहिले सम्झना भइरहेछ जीवनको एउटा स्वणिर्म समय मैले धनकुटामा बिताएँ । ढुङ्गा छापिएको सडकमा हामी कविगोष्ठी गर्नेगर्थ्यो, धनकुटेलीहरूले मुढा, राडी, चटाइ गुन्द्री ओछ्याइदिन्थे । कुर्सी टेबल, सतरन्जी र प्याट्रोम्याक्सको व्यवस्था खगेन्द्रजीले मिलाइदिनुहुन्थ्यो । त्यसबेला मनोरञ्जनको साधन भनेकै कवि गोष्ठी थियो । बालबृद्ध महिला पुरूष खचाखच बसेका हुन्थे । वरिपरिका गाउँबाट पनि कविता सुन्न आउँथे । हामीले आयोजना गरेको कविगोष्ठीले धनकुटामा साहित्यिक सिर्जनाका लहर नै ल्याइदियो । राष्ट्रिय स्तरमा नाम चलेका धेरै साहित्यकारहरू त्यही कविगोष्ठीका उपज हुन् । फुच्चे अशेष मल्ललाई त्यसबेला मञ्चमा मैले नै बोकेर कविता सुनाउन लगाएको थिएँ । तिनताका खगेन्द्रजी भारत नेपाल अध्ययन केन्द्रमा काम गर्नुहुन्थ्यो । म बराबर किताब लगेर पढ्ने गर्थें । प्रत्येक दिन चार बजे खगेन्द्रजी, रामेश्वरजी, तुलसी दिवस र म चारजना घुम्न निस्कन्थ्यौं । पहाडको टाकुरामा पुगेर साहित्यिक परिचर्चा गर्ने गर्थ्यौं । कहिलेकाहीं काव्यपाठ पनि हुनेगर्थ्यो । धनकुटेलीहरूले हामीलाई चतुर्मुख भनेर नाम राखिदिएका थिए ।
खगेन्द्र प्रधानाङ्ग धनकुटाका अग्रज साहित्यरकारमध्ये एक हुन् । विजयबहादुर मल्ल, श्यामदास वैष्णव, भिमदर्शन रोका, भुपि शेरचनकै हाराहारीमा उनले पनि लेख्न सुरू गरेका हुन् । बहुमुखी प्रतिभाका धनी खगेन्द्रले कविता, कथा, नाटक, उपन्यास हरेक क्षेत्रमा कलम चलाउँदै आएका छन् । दजनौं पुस्तक लेखेर पनि मोफसलमा रहेकै कारण खास चर्चामा आउन सकेनन् । ओझेलमा परे । छोराछोरीलाई पढाउने हुर्काउने घरव्यवहारको काम र उत्तरदायित्व पनि सँगसँगै बहन गर्नुपर्ने अवस्थाले गर्दा साहित्य उनका लागि फुर्सदको समयको सिर्जना भएर रहृयो । धेरै महत्वकांक्षा बोकेका प्रधानाङ्ग एकसुरे स्वभावका थिए । केही नयाँ गरेर देखाउँ भन्दाभन्दै उनको समय त्यसै बितेर गयो । एकताका धनकुटामा स्याउखेती गर्नेतिर लागे । पछि सुन्तला फलाउने भनेर अघि सरे । सफलता हात परेन । किसिम किसिमका फलफूल जडीबुटी लगाउने उद्देश्यबाट कोठेवारीमा उहाँले धेरै प्रयोग गर्नुभयो । एक सम उहाँ ढुङ्गा खोज्ने अभियानमा लाग्नुभएको थियो । किसिम किसिमका ढुङ्गा बटुलेर घोट्ने गर्नुहुन्थ्यो । ढुङ्गालाई परिस्कृत गर्न सकेमा बहुमुख्य रत्नको रूपमा प्रदान गर्न सकिन्छ भन्नुहुन्थ्यो । उहाँले बारीको एक छेउमा ढुङ्गाको उद्यान पनि बनाउनु भएको थियो । अरूको दृष्टिमा उहाँका परिकल्पना र विचारहरू अव्यवहारिक पनि प्रतित हुन्थे तर उहाँ आफ्नो अठोटमा दृढ हुनुहुन्थ्यो ।
स्थानीय भाषा, थेगो र परिवेशलाई प्रयोग गरेर साहित्यिक सिर्जना गर्ने उहाँको प्रवृत्ति थियो । सरल शब्दमा ग्रामीण परिवेशका विषयलाई साहित्यिकला प्रदान गर्ने खुबी खगेनद्रको विशेषता हो । उहाँले धेरै पहिले नै मुक्तक, हाइकु जस्ता शैलीहरूमा कविता लेख्नुभएको थियो । उहाँ धनकुटालाई धेरै माया गर्नुहुन्थ्यो । धनकुटा छोडेर कतै जान मनपराउनुहुन्न्ाथ्यो । छोराहरूले कर गरेर केही दिन काठमाडौँमा राख्न खोजेका थिए तर केही महिनामै उहाँ छट्पटाएर फेरि धनकुटा पुग्नुभयो । जीवनको उत्तरार्धमा उहाँ विराटनगरस्थित छोरीको घरमा बस्ने गर्नुहुन्थ्यो । यसबीच उहाँसित धेरैचोटि फोनमा कुरा हुन्थ्यो । उहाँ फोन छाड्नै चाहनुहुन्थ्यो । कान कम सुन्ने र एकहोरो आफ्ना कुराहरू भन्ने स्वभाव थियो । मनमा भएका सबै कुराहरू फोनमा रित्याउन चाहनुहुन्थ्यो । शायद बुढेसकालको नियती नै यही हो । आफ्नो कुरा सुनिदिने मान्छेको खोजीमा हुन्छ क्यारे वृद्धावस्था ।
उहाँको पछिल्लो उपन्यास ‘हारी’ प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको थियो । मेरो विचारमा आञ्चलिकताको परिवेशमा लेखिएको ‘हारी’ लाई नेपाली साहित्यका केही उत्कृष्ट सिर्जनामध्येमा गणना गर्न सकिन्छ तर ‘हारी’ उपन्यासको खास चर्चा भएन । नेपाली साहित्यले त्यसको उचित मूल्याङ्कन गर्न सकेन । निजी क्षेत्रका प्रकाशकहरूले छापेका कृतिहरूले चाहिँदो भन्दा बढी महत्व र प्रचार पाउँदै आएका छन् । उनीहरू पत्रपत्रिकामा त्यसको प्रवर्धन गर्छन् समिक्षकहरूलाइ लेखाउन लगाउँछन् । विशेष आयोजना गरेर लेखकको हस्ताक्षरसहित पुस्तक बिक्री वितरण गर्छन् तर प्रज्ञा प्रतिष्ठान साझाबाट छापिएका पुस्तकबारे खास चर्चा हुँदैन । त्यसतर्फ प्रयास पनि गरिँदैन । यही भयो ‘हारी’ को सम्बन्धमा पनि । उपन्यास प्रज्ञाप्रतिष्ठानको भण्डारमा थन्किएर रहृयो । यसबाट खगेन्द्रजी केही निराश र हतोत्साहित भएको मैले अनुभव गरेको छु । धनकुटा छोडेर आएका धेरै साहित्यकारहरू धेरै माथि पुगे । धेरै चर्चित भए । नाम सम्मान पाए तर आफ्नो ठाउँ नछोड्ने खगेत्द्रजीको अठोटले गर्दा उहाँ अपरिचित जस्तै भएर हराउनुभयो । खगेन्द्रजीको साहित्यिक यात्रा गुमनाम जस्तै भएर टुङ्गयिो यता आएर धेरै बाटाहरू बने, सञ्चारले ठुलै फट्को मार्यो, समस्त विश्व नै एउटा गाउँ जस्तै भयो तर हाम्रा मोफसलका साहित्यकारका लागि काठमाडौँ अहिले पनि टाढा भएर रहेको छ । आफ्नो गाउँ, जिल्ला र क्षेत्रमा बसेर सिर्जना गर्ने सर्जकहरू सम्म हाम्रो दृष्टि अझै पनि पुग्नसकेको छैन । खगेन्द्र प्रधानाङ्गका कृतिहरूको मूल्याङ्कन समयले गर्नेछ गर्नुपर्नेछ । खगेन्द्रजीको निधनबाट मैले एक अन्तरङ्गभित्र गुमाएँ देशले एउटा अथक साहित्य सेवी गुमायो । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दा म उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु । मोफसलका अरू सर्जकले खगेन्द्रजीको नियती भोग्न नपरोस् !
शनिबार, गोरखापत्र
पौष ११, २०६६
