Skip to content


रमेश अफिसबाट घर आइपुग्यो । भित्र पस्दापस्दै श्रीमती उषासँग एक गिलास पानीको निवेदन गर्‍यो । मोटरसाइकलको चाबी र हेलमेट टेबुलमा राख्दै थियो-उषाले पानी ल्याइपुर्‍याई । पानीको गिलास समाउँदै रमेशले भन्यो- उषा, त्यो पल्लोघरमा बस्ने शोभा छैन हेर न, आज मोटरसाइकलमा गोदावरीतिर जाँदा बेहोस भएर बाइकबाट नै झरी त विचरा…..।

रमेशकी श्रीमती उषाले सहानुभूतिसहितको यति घटना के सुनेकी थिई, आँखीभौं र मुख खुम्च्याउँदै खाली गिलास लिएर उठी । काम गर्ने केटी मंगलीलाई रमेशका लागि चिया पकाउने आदेश दिएर जेठानी रमाको घरतिर गई । रमा करेसाबारीमा  साग टिप्दै थिइन् । ‘दिदी, खुर्सानी नै सिद्धिएछ, दुई चारवटा छ भने दिनुहोस् न’ भन्दै उषा बारीमै पुगी । ‘हेर न, बारीको बोटमा त फलेकै छैन । भित्र भान्सामा होला हेर्छु है’ भन्दै रमा बारीबाट निस्की, उषा पनि पछिपछि लागि । रमा भान्साघरभित्र पस्न आँटेकी थिई, उषाले रमाको पाखुरा ट्याप्प समातेर भनिहाली ‘हौ दिदी  तपाईंले एउटा कुरा सुन्नुभयो ?’ ‘हँ के कुरा ?’ रमाले प्रश्नसूचक दृष्टि उषातिर फ्याँकी ।

‘मैले त भर्खरै मात्र थाहा पाएँ…। अनि दिदीलाई सुनाइहालूँ भनेर आएकी म त……।’ पल्लोघरमा बस्ने त्यो शोभा त नि दिदी, आज कसको हो कुन्नि मोटरसाइकलमा बसेर गोदावरीतिर पो जाँदैथी रे’ त ….। अनि खोइ के भएर हो कुन्नि मोटरसाइकलमै पो बेहोस भएर लडेकी । रमेशले त आफ्नै आँखाले पो देखेको । आम्मै….., हो र भन्या ….. । रमाले पनि आँखा उचाली । ‘अँ दिदी,  नभन्नू है फेरि कसैलाई पनि, रमेशलाई चिया दिनुपर्ने….म त गएँ है दिदी’ भनेर उषा हिँडिहाली । रमाले खुर्सानी झिक्न भान्सामा पस्नै परेन ।

रमा भान्साभित्र पसेर ग्राग्री हेरी । गाग्रीमा पानी भरी नै थियो । डेक्ची, बाल्टिन, जग सबैतिर हेरी । सबैमा पानी भरी नै थियो । तैपनि गाग्री जुरुक्क उठाएर बाहिर निस्की’ अनि गाग्रीको पानी बारीतिर फ्याँकिदिई र हिँडी-अलि परको ढुंगेधारातिर….। धारामा मास्टर्नी र वकिल्नी पालो पर्खेर बसिरहेका थिए । धारामा भीडभाड थियो । वैशाखको खडेरीमा धारा सुकेर नाममात्रको थियो । रमाले गाग्री लाइनमा राखेर उनीहरूसँग गएर उभिई । अनि दिक्क मानेको अभिनय गर्दै भनी- ‘हेर्नुहोस् न ! घरमा एकथोपा पानी नभएर लिन आएकी झमक्क साँझ पर्न आँट्यो । यहाँ त कस्तो भीड पो रहेछ…।’

‘त्यही त भन्या ! हेर्नुहोस् न हामीहरू पनि १ घन्टा हुन आँटिसक्यो आएको अझै पालो आएको छैन’ वकिल्नीले दुवैजनाको प्रतिनिधित्व गरिन् ।  ‘साँच्चै तपाईंहरूले एउटा कुरा थाहा पाउनुभयो ?’ रमाले कानेखुसीको भन्दा अलिक ठूलो स्वरमा भनी । दुवै मुखामुख गर्दै भने- कसको…..के कुरा हो……?’

‘त्यही क्या त शोभाको बारेमा…! अहिलेसम्म सुनेकै छैन…? कुरा भने अलिक गहिरै छ क्यार….।’ ‘कुरा के रहेछ हौ दिदी….।’ दुवैले उत्सुकता देखाए । कुरा हामीबाट बाहिर नजाओस् है …। मलाई पनि भर्खर मात्र उषाले भनेकी….। अनि कुरा त्यो शोभाको हो क्या….। त्यो शोभाको त चालामाला ठीक छैन जस्तो छ ।….। आज दिउँसो ऊ एउटा को मान्छेसँग हो, मोटरसाइकलमा पछाडि बसेर जाँदैथी रे’ । त्यो मान्छेलाई च्याप्प पकडेकी थिई अरे उसले….। दुवै गोदावरीतिर पो जाँदैथे रे त ……। कुरा सुन्दा त गडबड नै पो देखिन्छ होइन…? हाम्रो रमेश बाबुले आफ्नै आँखाअगाडि देख्नुभएको धन्य….! ऊ बेहोस भएकीले बाबुलाई चिनिनछ….राम्रै भयो….।’ यति कुरा रमाले एकैसासमा भनिसकी । यतिखेरसम्ममा मास्टर्नीको पानी थाप्ने पालो आइसकेको थियो । तर रमाको मुख्य काम सिद्धिसकेकाले अत्तालिएजस्तो गरेर भनी- ‘तपाईंहरू त दुईजना हुनुहुन्छ । मलाई अलिक हतार पनि छ, म पहिले पानी थाप्छु है….’ भन्दै ऊ गाग्री थापेर बाटो लागिहाली ।

वकिल्नी र मास्टर्नी पनि शोभाको बारेमा सकेसम्म कुरा गर्दै पानी भरेर आ-आफ्नो घरतिर लागे । वकिल्नी घर पुग्दा साँझ परिसकेको थियो । हिँजो-अस्ति यतिखेर खाना पाकिसक्थ्यो, तर आज त…..। उसले हतार-हतार तरकारी काटेर ओइरिई । तरकारी पाकुन्जेलको समय सदुपयोग गर्ने विचारले दिनभरि गफ जोतेर एकक्षणअघि मात्र घरतिर लागेकी उसले ललिताको फोन थिची- आफूभित्रको उकुसमुकुस ओकल्न । उताबाट ललिताले फोन उठाई । वकिल्नीले भनी- ‘ए दिदी, कतिखेर पुग्नुभो भनेर फोन गरेकी….’ ए त्यहाँबाट हिँडेपछि चोकमा शान्ति र विना भेटिए । एकक्षण तिनीहरूसँग गफ भयो । अनि त हिँडिहालंे नि…।’ साँच्चै…., आज त निकै रमाइलो भयो नि हगि… । आनन्दले दिनभर गफ गर्न पनि पाइयो । तिमीले बनाएको तरकारी त अझ मुखमै झुन्डिइरहेको छ । ललिताले वकिल्नीलाई फुक्र्याई । फुरुक्क पर्दै वकिल्नीले सोधी- ‘अँ साँच्चै त दिदी….बाटामा शान्ति र विनाले तपाईसँग केही कुरा गरे….?’

‘के विषयमा …? ललिताले पुनः प्रश्न गरी । ‘त्यसो भए तपाईंलाई थाहा छैन…? उनीहरूले पनि सुनेकै रहेनछन् कि के हो…? कुरा के भने नि दिदी….त्यो थापाजीको घरभाडामा बस्ने शोभा छ नि…?  ‘अँ ….अँ त्यो विधवा होइन ? एउटा छोरा पनि छ होइन त्यसको……?’ ‘हो…त्यही शोभा ….।’ ‘के भयो त त्यसलाई..? ‘के भएन भन्नु न बरु…? त्यो आइमाईको त कोसँग हो, लसपस पो छ अरे त ….। बाहिर हेर्दा त कति सोझी र भलाद्मी देखिन्छे….तर त्यो त खत्तम पो रहिछे । भित्र-भित्र त्यो त नाठो पो खेलाउँदी रहिछे त …।’ हो र…..। त्यस्ती होलीजस्ती त लाग्दैन त …..। ललिताले प्रतिक्रिया जनाई ।

अँ दिदी…..।’ हेर्दा त लाग्दैन…..। तर कुरा त अर्कै पो छ रे’ त…. ।

‘के छ अरे हँ ?’ ‘के हुनु नि…. । नकच्चरीले त भुँडी पनि पो बोकेकी छ अरे त….।’ ‘राम… राम …राम… राम ..। हो र भन्या….।’ ललिताले आश्चर्य प्रकट गरी । आज दिउँसो मोटरसाइकलमा दुवैजना गोदावरीतिर जाँदैथे अरे….। बाटैमा उसलाई रिंगटा लागेर मोटरसाइकलबाट पछारिई अरे अनि बेहोसै पो भएकी अरे त….।’

अघि पँधेरामा रमाले भनेकी….।’ उसको देवर रमेशले त आँखैले पो देखेको….। भुँडी नबोकेको भए यस्तो हुन्छ त दिदी….?

‘छि…..। त्यस्ती आइमाईलाई पनि के घरमा राखेका होलान् थापाजीले पनि’ ललिताले भनी । ‘त्यही त भनेको नि दिदी…. के गर्नु ? हामीलाई पो लाज लाग्छ….।’

भान्साबाट तरकारी डढेको गन्हाएपछि बल्ल वकिल्नीले कुरा छोट्याई…..’कतिबेला पुग्नुभो भनेर मात्रै फोन गरेकी । म त भान्सामा तरकारी बसाएर आएकी थिएँ, राखूँ है त दिदी….। फेरि गरूँला नि ….। शोभाको बारेमा वकिल्नीले भनेको कुरा सुनेपछि ललिताको पनि पेट हुँडल्न थाल्यो । खाना बनाएर राखी । परिवारका सदस्यलाई पस्केर खान दिई । अनि आफै थपेर खाने अनुरोध गर्दै हातमा कचौरा लिएर तल्लो तल्लामा बस्ने सरिताको कोठामा गई । ‘के अचार बनाएको छ बहिनी….? हेरन, आज आफूलाई तरकारी नै पुगेन…., त्यसैले अतिकति अचार छ कि भनेर आएकी….।’ अनि के छ त नयाँ समाचार….?’

‘खोइ के हुनु नि दिदी….? दिनभरि कतै जान पाउने होइन’ नानीले गर्दा….। सबै पुरानै त हो नि….।’ सरिताले स्पष्टसँग भनी ।

‘त्यसोभए नयाँ कुरा सुनेकी छैनौ….?’

‘अहँ …के कुरा हो दिदी..? सरिताले उत्सुकता देखाई । ‘त्यही के त शोभाको क्या….। त्यो आइमाई त…..’ पो रहिछे नि… भन्न पनि लाजमर्दो….।”हो र दिदी….। होइन होला…. । उत सोझी पो देखिन्छे त…..?

‘अँ सोझी भनिराख….। हँसियाभन्दा सोझी….सम्भिmराख तिमी के को सोझी नि…। त्यो त बाहिर-बाहिर लोकाचार, भित्रभित्र पोकापार ! यसो तिमीले विचार गरेकी छैनौ ? हिँजोआज त्यो खिसि्रक्क परेजस्तो लाग्दैन त ….? कोसँग हो हिँड्न पो आँटेकी छे रे त….। कतिपटक त क्युरेट गरेर भुँडी पनि फ्याँकेकी पो रे त….। उसको त एउटा बच्चा पनि छ होइन दिदी…?

‘अँ त…छ त…. एउटा छोरा । तर अब त्यो छोरालाई पनि छोडेर पो हिँड्छे होला….। कस्ती वाइफाले आइमाई…..। त्यो छोराको पो माया लाग्यो मलाई त ….। ल है त तिमीहरूले त खाना खाइसकेछौ, मेरो त खाना पनि चिसो भैसक्यो होला….। म गएँ है…..। ललिता पुनः रित्तो कचौरा बोकेर हिँडी । उसलाई अचार चाहिएकै थिएन….।’

सरिता पनि कोठामा गएर नानी सुताउन थाली । उसको श्रीमान् दिनेश टीभीमा समाचार हेरिरहेको थियो । शोभाको कुरा उसलाई सुनाऊँ कि जस्तो लागेको थियो सरितालाई । तर उसलाई राम्ररी थाहा छ….. दिनेशले त्यस्ता आइमाई कुरा सुन्दैन भन्ने । त्यसैले नानी उठ्छ कि….एकछिन हेरिदिनुहोस् है….. म एकछिन ट्वाइलेट गएर आउँछु, कस्तो कटक्क पेट पो दुख्यो….’ भनेर सरिता फुत्त बाहिर निस्किई अनि सरासर पल्लो घरकी उर्मिलाकहाँ पुगी । उर्मिला एक्लै टीभी हेरेर बसिरहेकी थिई । छोराछोरी सबै बाहिरै बसेर पढ्थे । श्रीमान्को घर आउने बेला भएको थिएन । सरिता ढोकाबाटै बोलाउँदै भित्र पसी अनि आफू आउनुको खास प्रयोजन लुकाएर नाटकीय भावमा अभिनय गरी ।

‘एउटा सिटामोल छ होला काकी…? हेर्नुहोस् न, उहाँलाई टाउको दुख्यो अरे…। मसँग त सकिए छ ।’ झूटो रोगी बनाई सरिताले लोग्नेलाई….।’ ‘खै म हेर्छु है त भनेर उर्मिला उठ्दै थिई, सरिताले मौका छोपिहाली….। ‘हैन काकी….. । तपाईंले हाम्रो गाउँको नयाँ कुरा सुन्नुभो ?’

‘के नयाँ कुरा ? सुनेकी छैन त …।’ उर्मिलाले भनी । ‘आ…. त्यस्ता कुरा त नसुनेकै राम्रो…..।’ ‘के कुरा हो नानी त्यस्तो….? सुन्नै नहुने…रे । ‘त्यो थापाजीको घरमा डेरा गरी बस्ने शोभा छ नि काकी….कस्ती झिंगे काम पो गर्छे रे’ त …।’ होटल हुँदो पनि पूरै रात पो बिताउँछे रे ….. कति जनासँग लसपस पनि छ अरे ….। कतिपटक त भुँडी पनि फ्याँकेकी रे…..।’ अहिले त झुक्किइछ क्यारे र्झन पो आँटेको छ अरे त…। आज दिउँसो पनि एउटासँग गोदावरीतिर जाँदैथिई रे मोटरसाइकलमै बेहोस भएर लडेकी रे ….। आफ्नो लोग्ने नभएर के भयो र ? झन् धेरैवटा पो छन् अरे त माया गर्ने….। गाउँमा यस्ता आइमाई बसेपछि हाम्रा छोरीचेलीलाई जोगाउन गाह्रो पर्छ है काकी…। सरिताले सम्भावना पनि व्यक्त गरी ।

‘होइन….त्यसका अरू आफन्त पनि कोही छैनन् कि के हो ? उर्मिलाले चासो देखाई ‘खै काकी…..। त्यस्ती चरिखाने आइमाई पनि आफन्तसँग बस्छन् र ? आफूखुसी गर्न नपाएर लोग्नेलाई पनि मारेकी होला नि त्यसैले…।’ सरिताले शोभालाई हत्यारा पनि बनाइदिई । ‘ल है त काकी नानी पनि राम्ररी सुतेकै थिएन…. उठिसक्यो होला…. म गएँ है भन्दै सरिता निस्किई । कुरा गर्दा गर्दै उर्मिलाले सिटामोल निकालेर हातमा बोकिरहेकी थिई । सरिताले नलगी जाँदा बोलाउँदै थिई, तर सरितालाई सिटामेल चाहिएकै थिएन । ऊ अघि नै आफ्नो कोठामा पुगिसकेकी थिई । उता मास्टर्नीको घरमा फोन थिएन । कुरा सुनाउने नजिकै कुनै छिमेकी आइमाई पनि थिएनन् । पल्लोघरकी उमासँग बोलचाल नै थिएन । एकपटक त झन्डै गैसकेकी सुनाउन । तर उही झगडा गरेर नबोलेकी हो, त्यसैले झुक्न मन लागेन मास्टर्नीलाई….।’ रातभर पेट ढुस्स भैरह्यो, कुरा सुनाउन नपाएर….। भोलिपल्ट आठ बज्दा नबज्दै स्कुल गएर स्टाफलाई भेला गराएर साउती गरेपछि मात्रै उसको पेट स्वाट्टै घट्यो ।

यता टोलमा भोलिपल्ट बिहानसम्मका प्रायः सबै आइमाईले शोभाका बारेमा नराम्रा कुरा सुनिसकेका, सुनिरहेका र सुनाइरहेका थिए । सबै आइमाईहरूले शोभालाई चरित्रहीनको संज्ञा दिएर गाउँबाट नै निकाल्ने कुरा गरे । टोलका सबै आइमाई थापाजीको घरमा भेला हुनथाले । उषाकी नोकर्नी मंगली पसलमा नुन किन्न गएकी थिई । पसलमा थुप्रै आइमाईको जमघट थियो र सबै शोभाका कुरामै व्यस्त थिए । उसले पनि शोभाका बारेमा गरिएका सबै कुरा बुझी पसल्नीले बाँकी कुरा सबै सुनाएर उषालाई भेला हुन चाँडै जाने अरे भन्ने खबर पठाई । मंगली हतारिँदै घरमा आई र भन्न लागि मालिक्नी त्यो थापाजीको घरमा डेरामा बस्ने शोभालाई त नि यो टोलबाट नै पो निकाल्ने अरे त…। पसलमा थुप्रै मान्छे जम्मा भएर कुरा गर्दैछन् । तपाईंलाई पनि चाँडै पठाइदिन भनेका छन् । त्यो शोभा त नि मालिक्नी….। होटल-होटल जाने दुई नम्बरी आइमाई पो अरे त…। आफ्नो लोग्नेलाई पनि उसैले मारेकी अरे….। अहिले पनि एउटा लोग्नेमान्छेसँग सधै मोटरसाइकलमा हिँड्छे अरे । कतिपटक त अस्पताल गएर भुँडी पनि पो फ्याँकेकी अरे अहिले पनि भुँडी बोकेकी पो छ रे त….। हिँजो त त्यही मान्छेसँग गोदावरीतिर जाँदा मोटरसाइकलबाट लडी अरे… । अनि बेहोस पनि भएकी थिई अरे….। मंगलीले आफूले सुनेका कुरामात्र सुनाई । उसले अन्य फूलबुट्टा भरेर कुरा लम्ब्याइन ।

रमेश पनि घरमै थियो । बाहिर बरन्डामा नै बसेर पत्रिका पढिरहेको थियो । नेपथ्यमा गरिएको मंगली र उषाको वार्ता स्पष्टसँग सुन्यो । शोभालाई पनि ऊ राम्रै चिन्थ्यो र उषाका बारेमा यस्ता कुरा सुन्दा छक्क पर्‍यो । फेरि हिँजो मोटरसाइकलबाट बेहोस भएर लडेको कुराले त उसलाई झन् आश्चर्य बनायो । उसले मंगलीलाई हकार्दै सोध्यो-ए मंगली…। शोभाका बारेमा यस्ता कुरा तँलाई कसले सुनायो हँ…?’

‘खै मलाई त पसल्नी दिदीले सुनाएको….। फेरि त्यहाँ थुप्रै आइमाई जम्मा भएका छन् । सबै जना शोभाकै बारेमा कुरा गर्दैछन् नि…। डराई-डराई भनी मंगलीले ।

रमेशलाई पनि शोभाका बारेमा जान्ने उत्सुकता बढ्यो । किनकि उसले शोभालाई पहिलेदेखि नै चिन्दै आएको थियो तर शोभा त्यस्ती चरित्रकी होली भन्ने अनुमान पनि गर्न सकेको थिएन । त्यसैले उषासँग ऊ पनि लाग्यो पसलतिर….। पसलबाट सबै आइमाई थापाका घरतिर लागिसकेका थिए । सबैजना आइमाई मात्र भएको ठाउँमा रमेशमात्र एकजना लोग्नेमान्छे देखेपछि उर्मिला काकीले अगाडि सरेर भनिन्- ल बाबु पनि आयौ ठीकै भयो…। हिँजो देख्ने त तिमी नै थियौ होइन शोभा बेहोस भएर मोटरसाइकलबाट लडेको….? टोलमा यस्तो दुर्गन्ध राखेर त हुँदैन नि…।’ त्यो शोभालाई आजै टुंगो लगाउनुपर्छ । होइन त बाबु…। तर यो नक्कली अहिलेसम्म पनि कोठामा आएकै छैने…। उर्मिलाले शोभाको कोठाबाट हेर्दै कुरा सकी ।

अघिदेखि तात्तिरहेको रमेशको पारो अहिले उर्मिला काकीको कुरा सुन्दा त अझ डिग्री नै नाघ्यो । उ एक्कासि कड्कियो-

होइन, मलाई त अहिले मंगलीले सुनाएर पो थाहा पाएँ । उसलाई यस्तो नचाहिदो कुरा कसले सुनायो…? रमेश कड्केको सुनेर मंगलीले काँप्दै पसल्नीतिर देखाई । पसल्नीले उर्मिलालाई, उर्मिलाले सरितालाई, सरिताले ललितालाई, ललिताले वकिल्नी, वकिल्नीले रमा, रमाले उषालाई  देखाई । अनि उषाले पनि डराउँदै भनी- अनि हिँजो तपाईं नै शोभा गोदावरीतिर मोटरसाइकलमा जाँदाखेरि बेहोस भएर लडेको कुरा बताउनुभएको होइन…? मैले त शोभा बेहोस भएर लडेको कुरा मात्र दिदीलाई सुनाएकी थिएँ अरू त मलाई केही थाहा छैन ।’

सबैका कुरा सुनेपछि रमेशले उषालाई गालामा एक झापड हान्यो अनि सबै आइमाईतिर हेरर जंगियो- थुइक्क….आइमाईको बुद्धि…। यति नै छिटो राम्रो कुरा पनि फैलाउनु…. विकासका कुरा गर्नु हो भने समाज यस्तै हुन्थ्यो र….? नराम्रा कुरा मात्र पाक्ने तपाईंहरूको दिमागमा राम्रा कुराहरू पनि यत्ति छिट्टै यसैगरी पाक्नुपर्ने.. । तपाईंहरूसँग क्षमता नभएको होइन… । नत्र हिँजो साँझको एउटा सियोजत्रो कुरा आज मुसल भएर निस्किएको छ…। एकैरातमा यसरी बढाउन अरू कसले पो सक्छ र…? फेरि आइमाई नै आइमाईका ठूला शत्रु हुँदा रहेछन् भन्ने सुनेको मात्र थिएँ, तर यथार्थमा हुँदा रहेछन् त्यो पनि आजदेखि कस्तो विडम्बना । अर्कालाई आरोप लगाउनुपर्‍यो भने पाँच डोका कुरा ओकल्छन् । तर आफूलाई कसैले एकरति केही भन्यो भने….अथवा आफ्नो गल्ती कसैले आंैल्यायो भने कोकोहोलो गर्छन् । यिनीहरूले कसैको बारेमा कुरा गर्न पाएनन् भने त खाएको पनि पच्दैन । उसले उर्मिला काकीतर्फ फर्किएर सम्पूर्ण महिलालाई लक्ष्य गर्दै भन्यो- छिः तपाईंहरू आइमाईको कति घिनलाग्दो सोचाइ र क्रियाकलाप ……।

‘विचरा …। त्यो शोभा पनि तपाईंहरूजस्तै होइन…? अझ उनी त बेसहारा छिन्, लोग्ने छैन । लोग्ने भनेको स्वास्नीमान्छेका लागि एउटा सुरक्षाकवच हो । शोभासँग पनि आज त्यो कवच भैदिएको भए आज तपाईंहरूको यत्रो आरोप र लाञ्छनाको तीर उसमा लाग्न सक्ने थिएन । लोग्नेबिनाकी जवान आइमाईले कसैसँग हाँस्न-बोल्न पनि तपाईंहरूकै डरले पाउँदिनन् । लोग्नेबिनाकी जवान विधवालाई समाजमा आफ्नो इज्जतसाथ बस्न कति कठिन छ तपाईहरू नै सोच्नुहोस् त….? लोग्ने नभएकी बेसहारा आइमाई विचरा त्यो शोभालाई झन् तपाइर्ंहरूजस्ता आइमाईले सहयोग गर्नु त कता हो कता…. उल्टै उसैलाई गाउँ निकाल्ने विचार कसरी राख्नुभयो ? जुन शोभालाई तपाईंहरूले पेसेवर बनाउनुभयो, अनैतिक कार्य गर्ने भन्नुभयो, चरित्रहीन मान्नुभयो, ती आइमाई कति पवित्र र उच्च भावनाकी छिन् तपाईंहरूलाई के थाहा….? तपाईंहरूले उनलाई लगाएका सबै लाञ्छना र आरोपहरू उनका चरित्र र क्रियाकलाप नभएर तपाईंहरूकै कालो र कलुषित भावना हुन् । भावनाको मानसिकताको उपज मात्र हो । ती सबै तपाईंहरूका मनगढन्ते र बुट्टेदार कुरामात्र हुन् । कसरी आफूले अरूलाई धेरै कुरा सुनाउनु…… कतिसम्म फूल पार्न सकिन्छ पारेर तल पछार्न यस्ता कुरा तपाईंका दिमागका उपजमात्र हुन् ।

हो, हिँजो मैले शोभा मोटरसाइकलबाट लडेको आफ्नै आँखाले देखेको हुँ । देखेको मात्र होइन, उनलाई उठाएर अस्पताल पनि लगेको हुँ । अझ सुन्नुहुन्छ, तपाईंहरू…? उनी मेरै मोटरसाइकलबाट बेहोस भएर लडेकी थिइन् । अनि मोटरसाइकल चलाउने व्यक्ति पनि म नै हुँ । मैले नै मोटरसाइकलमा चढाएर उनलाई गोदावरीतिर लगेको हुँ । तर किन थाहा छ…? जान्न चाहनुहुन्छ तपाईंहरू….?

ती बेसहारा आइमाईको एकमात्र सहारा उनको छोरो गोदावरीको एउटा बोर्डिङ स्कुलमा छात्रवृत्तिमा पढिरहेको छ । हिँजो अचानक एउटा दुर्घटनामा परेर उसको टाउको फुटेछ । विचरा छोरा भेट्न जान निकैबेर गाडी कुरेपछि पनि गाडी आएन । ट्याक्सी, टेम्पोको पनि हिँजै हडताल थियो । म पनि काम विशेषले उतै जाँदै थिएँ-मोटरसाइकलमा । उनी अत्तालिएर हिँड्दै थिइन् । उनको विचित्र अवस्था देखेर मैले सोधंे के भयो र कहाँ जानुभएको भनेर ? उनी मलाई देख्दा केही सहायता पाएर होला बोल्नुभन्दा पनि भक्कानिएर रुन थालिन् । बल्लबल्ल उनले सत्य कुरा बताएपछि मैले एक त छिमेकीको नाताले अर्को मानवताको नाताले म पुर्‍याइदिन्छु भनेर मोटरसाइकलमा बस्न अनुरोध गरें । तर उनले मानिनन् । उनलाई कसैले देख्छ कि भन्ने डर रहेछ । मैले अरूले भनेको कुरा ठूलो कि छोराको ज्यान ठूलो ? भनेर सम्झाएपछि मात्र उनी मोटरसाइकलमा बसेकी थिइन् । अनि उनी बाटामा बेहोस भएर लडेकी पनि कसैको कुनै नाजायज पेट बोकेर होइन । आफ्नो एउटा मात्र सन्तान र जीवनको आधारको मायाले हो । कुनै पनि आइमाईलाई सन्तानको माया कति हुन्छ ? त्यो त तपाईंहरूलाई नै थाहै होला । शोभाको कलंकको र यत्रो घटनाको जड नै म हुँ । यो कुरा मैले घरमा आएर श्रीमतीलाई नसुनाएको भए केही हुने नै थिएन । मैले नै उषालाई गोदावरीतिर जाँदा शोभा बाइकबाट लडिन् भनेको थिएँ । तर मैले सुनाएको यति जाबो कुराले यत्रो विकराल रूप लेला र शोभाको जीवन नै तहस-नहस पार्न सक्छ भन्ने मलाई लागेको थिएन । तपाईंहरूको खुवीलाई मानें मैले । बधाई छ, तपाईंहरूको क्षमतालाई अनि तपाईंहरूजस्ता शिक्षित र सभ्य महिलाको बुद्धि र शिक्षालाई पनि भन्दै सबै आइमाईतिर फर्केर रमेशले हात जोर्दै भन्यो ।

आइमाईहरू लाजले भुतुक्क भएर मुखामुख गर्न थाले । ठीक त्यसैबेला शोभा पनि एम्बुलेन्समा छोरा लिएर आइपुगी । गाडीबाट उत्रँदा घरको आगनभरि थुप्रै मान्छे देखेर ऊ आश्चर्यचकित भई । ऊ सधै आफूलाई एक्लो र असहाय मान्थी, कोही पनि आफन्त नभएजस्तो लाग्थ्यो…तर आज यत्रो मान्छेको भीड देख्दा सबै आफन्त र सहयोगी रहेछन् भन्ने भावनाले उसलाई आफूभित्रको पीडालाई पनि बिर्सी । छोरा लिएर ऊ भीड नजिकै आई । तर उसको अपेक्षानुसार कसैले पनि अघि बढेर सहानुभूतिका दुई शब्द बोलेनन् । कसैले पनि कस्तो छ छोरालाई सोधेनन् । सबै आइमाई उसलाई हेर्दै मुखामुख गरिरहे । केवल रमेशले मात्र सोध्यो-शोभा, छोरालाई कस्तो छ ? अनि तिमीलाई नि…? अब छोरा निको भएपछि तिमी पनि उतै डेरा सरेर बस है, यति भनेर रमेशले आइमाईहरूतिर आँखा फर्कायो । सबैका आँखा अपराधबोधले झुकिरहेका थिए ।

2 thoughts on “आइमाई”

  1. Mandiraji samajma ghatna
    Mandiraji samajma ghatna sakne yatharthama adharit sandeshmulak katha padna payekoma jyadai prabhabit bhaye. In future hope 2 read many more from u. Finally thanks for your nice story. keep it up.
    SABIN RANA DUBAI, UAE.

Leave a Reply

Your email address will not be published. Required fields are marked *