पढाइको सवालमा नाम मात्र लेख्न जानेका परिश्रमी कृषक विरमान माघ महिनाको तुषारोसँग अगांलो हाल्दै खेततिर गइरहेको छ । जाडोले फुटेको पाइतालामा एउटा हात्तीछाप चप्पल लगाएको देखिन्छ । आज उसको आलु रोप्ने पालो परेको छ । उनको जेठो छोरा काठमाडौमा पढ्छ भने कान्छो छोरा र छोरी गाँउकै एउटा बोर्डिङ स्कुलमा पढ्छन् । उमेरले पचास नाघिसके पनि उनको हिंडाइमा कुनै जोश मरेको देखिदैन् । ऊ आफनो खेतमा पुग्ने वित्तिक्कै चप्पल फुकाल्न थाल्छ र धमाधम आलुको डयाङ बनाउन तयार हुन्छ । बेसीको बिहानी हावा अनि सेताम्मे देखिएको तुसारोले उनलाई कुनै प्रभाव पारे जस्तो लाग्दैन । एकछिन पछि निधारको पसिना पुछेर खेतको डिलमा आराम गर्छ र पुनः आफ्नो काम तर्फ लाग्छ । त्यो दिन बिदाको दिन थियो त्यसैले उनको कान्छो छोरा र छोरी पनि आफ्नो खेतको काम गर्न बुवालाई खाना लिएर हिड्यो ।
केही छिनको काम पश्चात ऊ सरासर आएर खेतको डिलमा टुसुक्क बस्यो र खान थाल्यो । एउटै थालमा गोलभेडाको अचार, सिन्केको झोल, ढिडो र मुलाको एक टुक्रा कोचिएको थियो । विस्तारै उनको थाल रित्तिन थाल्यो । यत्तिकैमा ज्यामीहरू पनि कोही कोदालो, कोही बोरा, कोही कुटो बोकेर आईपुग्यो । उनको ३ रोपनी खेतमा आलु रोप्नु पर्ने भएकाले ज्यामीको संख्या पनि धेरै नै थियो । यत्तिकैमा साइलीले ठट्यौली पारामा भनिन “हैन यो विरमान दाइलाई निन्द्रा पनि लाग्दैन कि कसो ?” ऊ पनि के कम हसिलो जवाफ फर्काइहाली “अँ आफु चाडै आए पछि तिमरु पनि आउछ कि भनेर आ को भर्खरै आयौ क्यारे ” लगत्तै कान्छीले प्याट्ट भनिहाली “उसो भए हामीलाई भनेर ल्या को खाना त बाकी छ होला नि ? ” यी र यस्तै हो हल्ला अनि माघको महिना भएकाले बिहेको ठट्यौली गर्दै दिन पनि ढल्क्यो काम पनि लगभग सिद्धियो ।
उनले २० ओटा बाख्रा, १ हल गोरु, २ ओटा लैनो भैसी अनि कुखुरा पनि पालेका छन, यसर्थ उनि सफल, मिहेनती र इमान्दारी कृषक हुन । त्यत्तिकै मात्रामा खेतीपाती पनि गरेका छन् । ऊ जहिले पनि स्वस्थ्य देखिन्थे, दिउसो मात्र होइन बेलुका पनि अबेर सम्म उनको घरमा टुकी बत्ति पिलपिल गरिरहेकै हुन्छ । एकदिन दुध दुहुन जादा भैसीले दिन दिन मानेन तै पनि एकछिन आँट गर्दा लडाईदियो । उनको गोडामा घाउ भयो, थोरै दुध पनि छत्ताछुल्ल भयो । एउटा किसान जो दिन भरि जोतिएर आफ्नो परिवारको भोको पेट पाल्छ ऊ नै असक्त भए पछि सिंगो परिवार नै विचल्ली मा पर्छ हो त्यस्तै भयो यो परिवारलाई पनि ।झाक्रीको झारफुकले केही लागेन, भैसी विस्तारै दुब्लाउदै गयो । उता विरमानको घाउ पनि निको हुने देखिएन ।
संयोग नै भन्नु पर्छ ठिक त्यही बेला उसको जेठो छोरो घर आयो । उसले बुवाको सुन्निएर टल्केको खुट्टा देख्यो अनि भैसीको रामकहानी सुन्यो । र तत्कालै बुवालाई नजिकैको स्वास्थ्यचौकीमा लगियो फकिर्दा पशुचिकित्सकलाइृ पनि ल्याईयो र सकभर उपचार गरियो तर उपचार गर्न ढिलो भएकाले भैसीलाई भने बचाउन सकेन । आखिर धामीझाक्रीको भर पर्दा त्यो परिवारले लैनो भैसी मायाँ मार्नु पर्यो । यता विरमानका छोरा चाहि आफ्नो अध्ययन छाडेर मलेशिया जान घर सल्लाहका लागि आएका रहेछन् । उसले ढिपि गर्न थाले तर अन्तमा बीरमानले सम्झाउनु भयो यसरी । “ हेर छोरा मैले जिन्दगीभर यही पेशा गरेर तिमीहरूलाई यत्रो बनाए, यत्रो घर पनि बनाए, घडेरी किने, गाँउमा इज्जत कमाए तिमी झन पढेका मान्छे राम्ररी खेती गरे यही सुन फलाउन सकिन्छ । नपत्याए विदेश गएका हरूको आम्दानी मेरो आम्दानीको तुलना गरेर त हेर ” यस्तो कुरा सुने पछि ऊ झोक्रिएर टोलाउन थाल्यो । र आफ्नो चञ्चले मनले सोचेको मरुभूमिप्रतिको भावना र आशालाई चटक्कै त्याग गरि वैज्ञानिक रुपमा खेती गर्ने निधो गर्यो ।
साथमा छोटो कविता पनि।
नजाऊ विदेश दाजुभाइ महलको सपना बुन्दै
परुवार नै बस्नु पर्ला जुनीभरि रुदै
जति दुःख गरे पनि खाडीको त्यो घाम
सोचे जस्तो हुन्न हजुर साह्रै गाह्रो काम
मिहिनेत गरे अब फल्छ सुन यही
पैसाको लोभमा दलालको सही
आमा, बुवा दाजुभाइ आफ्नै देशमा बसौ
जे सक्दो श्रम गरी जन्मभूमि बचाऔ ।
