आधुनिक नेपालको राजनीतिक वृत्तमा मात्र नभई नेपाली आख्यान साहित्यमा पनि एउटा सुपरिचित एवं सुप्रतिष्ठित नाम हो विश्वेश्वरप्रसाद कोइराला । यिनले विभिन्न चरित्रका पात्रहरूको विशिष्ट मनोजगत् उद्घाटनले नेपाली कथासाहित्यमा अभिनवत्व प्रदान गरे । आफ्ना कृतिहरूको माध्यमबाट उनले जीवन, इतिहास, देश, समाज, साहित्यको साथै धर्म, नीति एवं अध्यात्म विषयमा अनुसन्धान गर्न प्रेरित तुल्याए ।
तर साहित्यकारका रूपमा यिनले आफ्नो राजनीतिक सिद्धान्त, वाद, विवाद वा आदर्शको प्रचार भने कहिल्यै गरेनन् ।
नेपालको राजनीतिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरी १०४ वर्षसम्म देशमा विद्यमान निरङ्कुश जहानिया राणाशासनमा जकडिएको नेपाललाई २००७ सालमा युगान्तकारी जनक्रान्तिद्वारा मुक्ति दिलाउने प्रजातान्त्रिक राजनेताहरूमध्ये एक हुन् उनी ।
यिनै विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ भदौ २४ गते तद्नुसार इ.सं. १९१४ मा भारतको बनारस, काशीनगरीमा भएको हो । शैक्षिक योग्यतामा उनले वी.ए., वीएल् गरेका थिए ।
वी.पी. कोइरालाले किशोरावस्थादेखि नै राजनीतिक जीवनको साथै साहित्यिक लेखनकार्य पनि थाले । सुरुमा हिन्दीमा लेखिएका केही कथाहरू तत्कालीन हिन्दी भाषाका विभिन्न पत्रपत्रिकाहरूमा छापिएका थिए ।
नेपालीमा छापिएको भने यिनको पहिलो कथा हो-चन्द्रवदन । वि.सं. १९९२ मा ऋद्धिबहादुर मल्लद्वारा सम्पादित “शारदा” साहित्यिक मासिकको मार्ग पुषको संयुक्ताङ्कमा यो कथाको प्रकाशन भएपछि रस निबद्ध यस संरचनाले नेपाली कथाजगत्मा नौलो तरङ्ग ल्यायो ।
यसपछि सूर्यविक्रम ज्ञवालीद्वारा सम्पादित एवं दार्जीलिङबाट १९९५ मा प्रकाशित “कथा कुसुम” नामक सङ्ग्रहमा कोइरालाका तीनवटा कथा समावेश गरिएको थियो । पुस्तकाकारमा भने केही कथाहरू समावेश गरी “दोषी चश्मा” शीर्षकमा २००६ सालमा प्रकाशित भयो ।
नेपाली साहित्यिक क्षेत्रमा उनको योगदानको कदर गरी २०३८ सालमा साहित्यिक पत्रकार सङ्घले सम्मानस्वरूप अभिनन्दन गर्यो ।
उनको देहावसान २०३९ मा क्यान्सरको रोगबाट भयो । विविध विधामा प्रकाशित उनका कृतिहरू यस प्रकारका छन्-
कथासङ्ग्रह- १. दोषी चश्मा
२. श्वेत भैरवी ।
उपन्यासमा- १. तीन घुम्ती,
२. नरेन्द्र दाइ ३. सुम्निमा ४. मोदि आइन
५. हिटलर र यहुदी ६.बाबु, आमा र छोरा ।
जीवनी-१ आफ्नो कथा
२. आत्मवृत्तान्त
कविता-१. विश्वेश्वरप्रसाद कोइरालाका कविता २. वी.पी. का कविताहरू दैनिकीमा १. जेल जर्नल
२. फेरि सुन्दरीजल
वी.पि. कोइरालासम्बन्धी यस सङ्क्षिप्त लेखमा उनको राजनीतिक तथा साहित्यिक मूल्याङ्कन गर्नु नभई उनका अन्य भाषा-साहित्यमा रूपान्तरित कृतिहरूको छोटो जानकारी दिने प्रयास गरिएको छ । यसक्रममा सर्वप्रथम अङ्ग्रेजी अनुवादबाट चर्चा गरौ ।
यिनका कथाहरूमा सबभन्दा पहिले ‘बहुला’ को The Mad Man शीर्षकमा एम.एल. कर्माचार्यद्वारा अनुवोदित कथा टङ्कलाल श्रेष्ठद्वारा सम्पादित VASUDHA नामक अङ्ग्रेजी मासिकको वर्ष १४, अङ्क ३, ई.सं. १९६९ मा प्रकाशित भएको पाइन्छ । समयको निकै अन्तरालपछि ‘मधेसतिर’ कथालाई Towards Madhesh शीर्षकमा मुरारिप्रसाद रेग्मीद्वारा अनुदित कथा युयुत्सु आ.डी. शर्माद्वारा सम्पादित Pratir नामक समसामयिक लेखरचनाहरूको त्रैमासिक अङ्ग्रेजी पत्रिकाको वर्ष २, अङ्क
१, १९९० ग्रीष्मको अङ्कमा प्रकाशित भएको पाइन्छ । तदनन्तर एकजना बेलायती लेखक माइकल हटले नेपाली कविता, कथा अनुवाद गर्नेक्रममा कोइरालाको ‘सिपाही’ र ‘मधेसतिर’ शीर्षकको कथालाई कयमिष्भच र त्य तजभ यिध वीलम शीर्षकमा गरेको अनुवादलाई उनैद्वारा सङ्कलित Himalayan Voices: An Introduction to Nepali Literature नामक ग्रन्थमा समावेश गरिएको छ । उक्त ग्रन्थ भारतको बनारसीदास प्रा. लि. द्वारा ई. सं. १९९६ मा प्रकाशित भएको थियो ।
यिनको अर्को कथा श्वेत भैरवीलाई Shet Bhairavi शीर्षकमै नगेन्द्र शर्माद्वारा अनुदित कथा उनै द्वारा सम्पादित Sheet of Snow : An anthology of Modern Short Stories from Himalayas नामक सङ्ग्रहमा समावेश भएको छ । उक्त सङ्ग्रह भारतको निराला पब्लिकेसनद्वारा ई.सं. १९९५ मा प्रकाशित भएको हो ।
यसरी नै उनको “एकरात” कथालाई इलभ ल्ष्नजत शीर्षकमा रमा लोहनीद्वारा अनुदित कथा सनत रेग्मी, माधवलाल कर्माचार्य तथा फिलिप पियर्सद्वारा सम्पादित नेपाली कथाहरूको सङ्ग्रह कतयचष्भक ाचom ल्भउब मिा समाविष्ट छ । उक्त सङ्ग्रह नेपाल एकेडेमीद्वारा ई.सं. २००२ मा प्रकाशित भएको छ ।
हालसम्म उनका कथामा पवित्रालाई सोही Pabitra शीर्षकमा टि.पि. कोइरालाद्वारा अनुदित र माधवलाल कर्माचार्यद्वारा सम्पादित नेपाली गद्यपद्य सङ्ग्रह Nepalese Literature नामक ग्रन्थमा समावेश भएको छ । उक्त ग्रन्थ नेपाल एकेडेमीद्वारा २००५ मा प्रकाशित भएको हो ।
यी फुटकर कथाहरूको अनुवादबाहेक पुस्तक लेखकका यिनको “दोषी चश्मा” नामक सङ्ग्रहलाई Faulthy Glass and Other Stories शीर्षकमा केसरलालद्वारा अनुदित ग्रन्थ पिल्ग्रीम्स हाउसद्वारा १९९८ मा प्रकाशित छ ।
कथा र कथा सङ्ग्रहपछि कोइरालाको उपन्याका “सुम्निमा” को Sumnima शीर्षकमै तारानाथ शर्माद्वारा अनुदित बगर पब्लिकेसनद्वारा २००६ मा प्रकाशित गरिएको छ ।
कथा र उपन्यासको अनुवादपछि यिनको आत्मकथा “आत्मवृत्तान्त”लाई Atmabritanta late lie दीक्षितद्वारा अनुदित ग्रन्थ हिमाल बुक्सले २००१ मा प्रकाशित गरेको छ ।
मैथिली भाषामा पनि “मोदिआइन” उपन्यास सोही शीर्षकमै डा. रामदयाल राकेशद्वारा अनूदित ग्रन्थ सफारी नेपालीद्वारा वि.स. २०५४ मा प्रकाशित छ ।
माथि उल्लिखित दुई भाषामा बाहेक हिन्दी भाषामा पनि एउटा कथासङ्ग्रह, केही उपन्यासका साथै एउटा दैनिकी पनि अनुदित भएका छन् ।
कथामा “विश्वेश्वरप्रसाद कोइरालाकी कहानिया” शीर्षकको सी. के प्रसाईंद्वारा अनूदित सङ्ग्रह राष्ट्रवाणी प्रकाशन, सिलगुडीद्वारा प्रकाशित भएको छ ।
उपन्यासमा “तीन घुम्ती” को “तीन पडाव” शीर्षकमा फणीश्वरनाथ रेणुद्वारा अनूदित ग्रन्थ ई.सं. १९७५ मा प्रकाशित भयो । “मोदिआइन” को “मोही” शीर्षकमा रञ्जना शर्माद्वारा अनूदित ग्रन्थ पारिजात प्रकाशनद्वारा प्रकाशित भएको पाइन्छ । “नरेन्द्रदाइ” को “सुख” शीर्षकमा अज्ञातद्वारा अनूदित उपन्यास पनि बिना मितिमै प्रकाशित भएको पाइन्छ ।
यसपछि “सुम्निमा” को सोही “सुम्निमा” शीर्षकमा कालीप्रसाद रिजालद्वारा अनूदित ग्रन्थ पिल्ग्रीम्स बुक हाउसद्वारा १९९७ मा प्रकाशित भयो ।
हालसम्ममा हिन्दीमा अनूदित ग्रन्थमा पछिल्लो पुस्तक हो “जेल जर्नल शीर्षकमा तुलसीप्रसादद्वारा अनूदित यस दैनिकीलाई जगदम्बा प्रकाशनले २०५७ मा प्रकाशित गरेको छ ।
अन्तमा वी.पी. कोइरालाका कृतिहरूका अङ्ग्रेजी, मैथिली र हिन्दीमा चौधजना अनुवादकहरूद्वारा केही कथा, उपन्यास, आत्मजीवनी र दैनिकी प्रकाशनमा आएका छन् । यी अनुवादबाट अन्य भाषाभाषीहरूले वी.पी. कोइरालाको साहित्य लेखनको रसास्वादन गर्न पाउने छन् भने अन्य कृतिहरूलाई पनि अनुवादका माध्यमबाट बढीभन्दा बढी भाषामा रूपान्तरण गर्नुपर्ने आवश्यकता देखिन्छ ।
