Skip to content


टेबलमा राखिएका फोन र त्यससँग सम्बन्धित यन्त्रहरू पुछपाछ गर्नेक्रममा मैले चित्रकथाको द पाइड वाइपर पुस्तक भेट्टाएँ । यो पुस्तक हिजो बेलुका फोन गर्न आउनेहरूमध्ये कसैले भूलवश छोडेर गएको हुनुपर्छ, मनमनै साँचे । सरसफाइको काम सिध्याएपछि त्यो पुस्तक पढ्न थालेँ ।

जर्मनीमा ह्यामिलिन नाउँ गरेको सहर थियो । त्यस सहरका बासिन्दा सुख शान्तिपूर्वक जीवन बिताइरहेका थिए ।

एकदिन अचानक त्यो सहरमा हजारौँको सङ्ख्यामा मुसा आए र सहरमा जताततै उत्पात मच्चाउन थाले । मुसाहरूले बच्चाहरूलाई टोक्न र बाटामा जेजे भेटियो त्यो सब नष्ट गर्न थाले । मुसाको आतङ्कबाट ह्यामिलिनबासी ज्यादै भयभित भए । मुसा आतङ्कको समस्याबाट बच्नको लागि सहरवासीले अनेक उपाय गरे तर सफल भएनन् । त्यति धेरै मुसा मार्नको निम्ति सहरमा प्रशस्त बिरालाहरू पनि थिएनन् । एकदिन मुसाका कारण उत्पन्न समस्या समाधान गर्ने उपायबारे छलफल गर्न त्यहाँका नगर प्रमुखले बोलाएको आपत्कालीन बैठकमा सहरवासीहरू भेला भए ।

ए भाइ …. ! अमेरिकाको एउटा नम्बर मिलाइदिनोस् त… ! ” भन्दै एकजना अधबैंसे व्यक्ति एक किशोरीसँगै आए र मेरो अघि नम्बर लेखेको कागज राखिदिए ।

ती व्यक्ति फोनमा बोल्न लागे । “अँ … अँ…. म बुबा बोल्या हो । के छ त तेरो हालचाल ए… काम पाइस्… ! ठीक छ, ठीक छ । अहिलेलाई जे जस्तो काम पाइन्छ त्यसैमा झुण्डी … जसरी भए पनि आफ्नो पढाइ र बस्ने खाने खर्चको जोगड गर्ने काम गर्नु । के अरे… ! अँ ….. यताको हालखबर उस्तै छ । काम र मामको समस्याले गर्दा मानिसहरूको बेहाल भएको छ । महँगीको त कुरै नगर । जनतालाई जीवन धान्नै गाह्रो छ । बेरोजगारीको कारणले गर्दा जताततै हत्या, लुटपाट, अपहरणजस्ता आपराधिक गतिविधि बढ्याको बढ्यैछ । बिहान घरबाट हिँडेको मान्छे बेलुका फर्किने हो कि होइन कुनै ठेगान हुँदैन । जे होस्, तैँले त्यहाँ दुःख गरेर केही गर्न सकिस् भने केही होला कि भन्ने आश छ नत्र त… खोइ के भन्ने ! …. ए…. ल यहाँ तेरी बहिनीले पनि तँसँग कुरा गर्ने रे ल गर… ।” त्यसो भन्दै उनले फोन युवतीको हातमा थमाइदिए “दादा … ! दर्शन… सञ्चै होइसिन्छ ? हजुर…. हजुर… हो…. मेरो पनि अब चाँडै नै रिजल्ट हुन्छ । मेरा जम्मै साथीहरू उच्चशिक्षाको लागि उतै जाने भन्दैछन् । म पनि त्यहीँ नै आएर पढ्छु है दादा… युवतीले आफ्नो दाजुसँग अनुनय गर्दै बोलिन् । ‘खोइ ल्या’ यता म बोलूँ … । युवतीको पिताले छोरीको हातबाट फोन लिएर बोले ‘के अरे …? आमाले के भन्छे भनेको … ? उही त हो नि जतिखेर पनि अब मेरो छोरोसँग कहिलेभेट हुने हो.. भनेर रोइरहन्छे । अँ … सम्झाउनुसम्म सम्झाएँ ‘हाम्रो छोरो मात्र विदेश गएको होइन, यहाँ घरैपिच्छेका छोराछोरीहरू विदेशिएका छन्’ भनेर कत्ति भनेँ तर बुझ्ने होइन । ल त अहिलेलाई फोन राख्छु । राम्ररी पढ्ने काम गर्नु । बरालिने काम नगर्नु । त्यति भनेपछि उनले फोन राखिदिए र पैसा तिरे । ती बाउछोरी गएपछि मैले फेरि द पाइड पाइपरको कथा पढ्न थालेँ ।

अचानक ह्यामिलिन सहरमा अनौठो पहिरन लगाएको मानिस आयो । त्यो नौलो मानिसले लाएको टोपीको किनारमा हरियो रङको प्वाँख सिउरेको थियो भने कम्मरमा एउटा बाँसुरी घुसारेको थियो । “म तपाईंहरूलाई मुसाको आतङ्कबाट छुट्कारा दिलाउन सक्छु ।” त्यो मानिसले भन्यो “तर त्यसको सट्टामा तपाईंहरूले मैले मागेको रकम दिनुपर्छ ।”

नगरप्रमुख र सहरवासीहरूले त्यो मानिसले भनेको शर्त माने । उसको नाउँ सोधे । ‘मेरो नाम पाइडपाइपर हो’ उसले भन्यो ।

त्यसपछि त्यो मुरलीवाला सहरको छेउ भएर बगिरहेको नदीको किनारमा गएर तन्मयताका साथ मुरली बजाउन थाल्यो ।

पाइड पाइपरले बजाएको मुरलीबाट निस्केको जादुई धुन सहरभरि तरङ्गित हुन थाल्यो । सहरका कुनाकाप्चाबाट निस्केर ताँतीका ताँती मुसाहरू मुरलीको धुनलाई पच्छ्याउँदै नदी किनारतिर लागे । नदीको किनारमा पुगेपछि सबै मुसाले नदीमा हामफाले र ती विलीन भए । त्यसपछि त्यो सहरमा एउटा मुसा पनि बाँकी रहेन ।

नगरवासीहरूले त्यो दृश्य आफ्ना घरका झ्याल, कौशी र खुला ठाउँबाट हेरिरहेका थिए । मुसाबाट छुट्कारा पाएकोमा ज्यादै खुसी भएका सहरवासीले खुसीयाली मनाए ।

“दाइ …. एउटा नम्बर मिलाइदिनुहोस् त… अमेरिका .. । एक हूल विद्यार्थी आए र जो विद्यार्थीमध्येको एकले निकै चुरीफुरीका साथ भन्यो । मैले द पाइड पाइपर बन्द गरेँ र उसले भनेको नम्बर मिलाउने प्रयत्न गरेँ । उताको घण्टी बज्न थालेपछि मैले फोन दिएँ । “को रतन दाइ हो … ? म विजय बोल्दैछु अँ …. हो…. हामी आठैजना साथीको भिसा मिल्यो । अँ… हाम्रो पूरा ‘ग्याङ्ग’ उतै आउने भयो । काम त पाइएला नि, होइन दाइ एकपटक जसोतसो त्यही छिर्न पाए त भइगयो नि…अँ मीनु दिज्यूहरू पनि स-परिवार त्यतै आउनु हुनेछ । ल…ल.. भिसा पाएको कुरा दाइलाई यसो खबर गरिदिउँ भनेर फोन गर्‍या हो । भेटमा कुरो गरौँला ।’ “के हो भाइ तपाईंहरू सबै विदेश जाने हुनुभयो कि क्या हो ?” मैले उसको हातबाट … पैसा लिँदै प्रश्न गरेँ । “अँ दाइ सबै उतै जाने भइयो…. ।’ अनुहार उज्यालो पार्दै प्रफुल्लित स्वरमा अघिकै केटो बोल्यो । “तपाईंहरू युवा जति यसरी सबै विदेशिएपछि यो देशमा को बस्ने त बूढाखाडा र अशक्तहरू मात्रै ?” मैले खुद्रा पैसा फर्काउँदै भनेँ । उसले केही उत्तर दिएन ।

उनीहरू गएपछि मैले फेरि ‘द पाइड पाइपर’ पढ्न थालेँ । पाइड पाइपरले ह्यामिलिनवासीलाई मुसा आतङ्कबाट छुटकारा दिलायो र ऊ आफूले पाउनुपर्ने रकम लिनको लागि नगरप्रमुख कहाँ गयो । नगरप्रमुख असाध्य लालची थियो । उसले पाइड पाइपरलाई आफूले कबुले जति रकम दिन मानेन । नगरप्रमुखले धोका दिएकोमा पाइड पाइपर एकदमै रिसायो । उसले सहरवासीहरूलाई सजाय दिने निर्णय गर्‍यो । ऊ सरासर सहरदेखि बाहिर गयो र एकनाससँग मुरली बजाउन थाल्यो ।

“ए भाइ ल छिटो एउटा नम्बर मिलाइदिनुस् त … ।” हत्तारिँदै आएर एकजना ग्राहकले मेरो अघिल्तिर नम्बर राखिदिए । हातमा फोन लिनासाथ उनी बेस्सरी कुर्लिन थाले । “के अरे … अरे ? पढाइ सिद्धिएपछि यतै र्फकन्छु भन्छस् अरे ? तँ आमाछोराले कुरा मिलाएर हुँदैन बाबै ! भन्दियाछु । आफू पार्टीमा लागेको हुनाले कत्रो तिगडमबाजी गरेर तँलाई पूर्ण छात्रवृत्तिमा पढ्न पठाएको । लरतरो मान्छेले गर्नै नसक्ने काम हो यो । तँ भने बडो देशभक्त बन्न खोज्ने । यहाँ न जीउधनको सुरक्षा छ, न त भविष्यको । पढाइ सिध्याएपछि पनि यता र्फकने होइन भनिदियाछु । त्यहाँ तँजस्ता लाखौँ युवा छन् आफ्नो दुनो सोझ्याउन बसेका बुझिस् ? ल पछि कुरो गर्दै गरौँला । हाँडीमा मकै पड्केको झैँ गरेर आफू मात्र एकोहोरो बोलेपछि फोन राखे उनले । ‘लौन बाबु छोरोको फोन मिलाइदिनुहोस् न । नियमितजस्तै फोन गर्न आइरहने एक बूढीआमाले मेरो अघि आएर भन्नुभयो । बिचरी बूढी आमैले आफैँले हिजो बेलुकी पनि आफ्नो एक मात्र सन्तान छोरोसँग कुरा गर्न खोज्दा उता फोन नै उठेन ।

‘बस्नोस् न आमा !’ मैले भनेँ र उनले दिएको नम्बरमा फोन मिलाउने प्रयास गरेँ । बल्लतल्ल घण्टी बज्यो तर उताबाट अहिले पनि कसैले फोन उठाएन । निन्याउरो अनुहार पारेकी बूढी आमैलाई ‘एकछिन पछि फेरि कोसिस गरौँला है त आमा’ भनेँ ।

‘यसबाजी त छोरोलाई निकै छिटो फोन गर्न लाग्नुभयो नि आमा … ।’ मैले कुरो कोट्याएँ । ‘हो बाबु, मेरा देउरानी र उनका छोरी जुवाइँ सबै तीर्थ जाने भएका छन् । मलाई पनि ‘जाउँ’ भनेका छन् । सङ्गी-साथी पाएपछि मैले पनि जाने आँट गरेकी छु । यत्रो ठूलो काम आँट्दा छोरोसँग पनि एक पटक सोध्नै पर्‍यो, उनले भनिन् । ‘तपाईंको छोरो विदेश गएको त निकै वर्ष भइसक्यो होइन आमा ?’ मैले फेरि सोधेँ । ‘हो बाबु आउँदो मङ्सिर चार गते उसले देश छोडेको अठार वर्ष लाग्छ ।’ खुइय्… गर्दै उनले भनिन् । अनि यतिका वर्ष बित्दा पनि उनी यता आउन खोज्दैनन् त …? मेरो मुखबाट कुरा फुस्कियो । ‘खोज्छ बाबु … आउन त किन नखोज्नु’ र तर खोइ कुन्नि कस्तो कागज बनाउन नसकेको हुनाले हो, आउन सकेको छैन भन्छ । बरा आफू जन्मेको, हुर्केको गाउँघर सम्झेर कति रुँदो हो उसको मन ।’ भावविभोर हुँदै भनिन् उनले । तपाईंसँग यहाँ को बस्छ त ?’ मैले फेरि प्रश्न तेर्साएँ । ‘एउटी मजस्तै बूढी छन् । हुन त उनी मेरो कतैपट्टकिो पनि नातागोता होइनन् तर बाल विधवा भएर गाउँमा साह्रै दुःख पाएर बसेकी थिइन् । उनैलाई मैले साथमा राखेकी छु । भयो, धेरै वर्ष । अब त हामी एउटै आँतका दिदी बहिनीजस्तै भएर बसेका छौँ ।

फेरि फोन लगाउने कोसिस गरेँ । यसबाजी पनि उता घण्टी गइरह्यो तर कसैले पनि फोन उठाएन । होइन यतिविधि कोसिस गर्दा पनि उता किन फोन उठेन बाबु …! कतै मेरो छोरो बिरामी परेर पो कोठामा नभएको हो कि … । ‘लौ न प्रभु’ अब म के गरौँ ?

एकाएक अधीर भएर विवशतापूर्ण स्वरमा भनिन् उनले । ‘पीर नगर्नुहोस् आमा तपाईंको छोरो अन्त कतै गएका होलान् । भरै भोलि र्फकन सक्छन् ।’ मैले उनको मडारिएको मनलाई धेरै कुरा भनेर सान्त्वना दिने प्रयास गरेँ ।

बूढीआमैले भनिन्- छोरो देश छोडेर परदेश गएको यतिका वर्ष भइसक्यो तर मेरो आँखामा भने विदेश जान ऊ हिँडेको दिनको घटना अझै पनि आँखाको अगाडि झल्झली नाचिरहन्छ । त्यस दिन उसलाई जाहाजसम्म पुर्‍याउन म पनि गएकी थिएँ । बाटाभरि ऊ मेरो हात समातेर भक्कानिएर रोइरह्यो । रुँदारुँदा मेरा आँखाहरू पनि बारुलाले डसेजस्तै गरी सुन्निएका थिए ।

जाहाज आएपछि ऊसँगै सबै यात्रुहरू लाम लागेर गए । उसले एकपटक पनि फर्केर हेरेन । उनीहरू जहाजभित्र पसे जहाजको ढोका बन्द भयो । त्यसपछि ऊ कता हरायो कता भन्दै हत्केलाले आँसु पुछ्न थालिन् । उनको अवस्था देखेर मेरो मन साह्रै नै कुँडियो ।

बूढीआमा दिउँसो फेरि आएर छोरोसँग कुरा गर्ने मनसाय जनाएर घरतिर लागिन् । त्यसपछि मैले फेरि द पाइड पाइपरको कथा पढ्न थालेँ ।

पाइड पाइपरले बजाएको एक तमासको धुन ह्यामिलिन सहरभरि गुञ्जिन थाल्यो । त्यो धुन सुनेर सहरका बालबालिकाहरू हूलका हूल बाँधेर नाच्दै उफ्रिँदै रमाइलो गर्दै पाइड पाइपर भएतिर गइरहेका थिए । आफ्ना बालबालिका पाइड पाइपरलाई पछ्याउँदै गइरहेको देखेर तिनका अभिभावकहरूले उनीहरूलाई फर्काउन अनेक प्रयत्न गरेँ तर बालबालिकाले पछि फर्केर पनि हेरेनन् ।

अन्त्यमा त्यो पाइड पाइपर बच्चाहरूसहित एउटा पहाडको नगिच पुग्यो । उनीहरू पुगेको पहाड बीचमा चिरियो । पाइड पाइपर मुरली बजाउँदै

चिरिएको ओढारभित्र पस्यो । उसको पछिपछि लाम लागेर आएका बालबालिकाहरू पनि त्यही ओढारभित्र पसे । त्यसपछि त्यो ओढारको ढोका बन्द भयो । बिस्तारै मुरलीको धुन पनि सुनिन छोड्यो । त्यसरी नगरवासीले आफ्नै आँखाको अगाडि आफ्ना लालाबालाहरू ओढारमा कता हो कता विलीन भएको देखे । अभिभावकहरू दुःख र पीडाले आकुलब्याकुल भएर शोकमा डुबे ।

मुसा आतङ्कबाट बचेका ह्यामिलिनवासीहरूले यसरी ठूलो मूल्य चुकाउनु पर्‍यो ।

मधुपर्क
कार्तिक, २०६५

1 thought on “द पाइड पाइपर”

  1. namaste … sarai nai man
    namaste … sarai nai man paryo ma ta yo lekha padda padhadai aakha rasayo mer 18 barsa sama aafno khakha bata tada vayeko choro ko maya kati amulye chha aama hune lai matrai thha hunchha ki aafno chora chori ko maya ko betha … tesaile plz janma dine aama ko man sanga kasai le pani khelbaad nagarauuu……

Leave a Reply

Your email address will not be published. Required fields are marked *