Skip to content


तीन वर्ष पछि म माइत आएकी थिएँ । घरमा चारैतिर मेरो आगमनले एक किसिमको रोमाञ्च छाएको थियो । विवाह भई एकपल्ट मैतालु फर्काएपछि म श्रीमान्सँगै विदेश जान पाएकी थिएँ । तीन वर्षसम्म माइत आउन नपाएकी चेली म आउने दिन र समय पनि धेरै जसोलाई कण्ठस्थ थियो । मैले पनि बा-आमा, काका-काकी, दाजु-भाउजु, ठूलोबुबा-ठूलीआमा, सानोबुबा-सानीआमा आदिलाई गच्छे अनुसारको उपहार ल्याएकी थिएँ । आफू भन्दा सानालाई मान्छे अनुसारको भागबण्डा लगाइदिएकी थिएँ । विदेशी साडी, घडी, खेलौना, कपडामा खुसीहरू साटिएका थिए । त्यो दिनभर घरका कुना-कुनामा खुसी र उमङ्गका लहरहरू फैलिएका थिए । विदेशी गफ र फोटोहरूमा घडीको सुइ चलिरहेको थियो । लोग्नेमान्छे खलक मेरा श्रीमान्सँग र स्वास्नीमान्छे खलक मसँग गफ्फिन व्यस्त थिए । मेरी काखकी छोरीले झन् सुनमा सुगन्ध छरिदिएकी थिई । मसिना केटाकेटीहरू मेरी छोरीसँग मस्त थिए । मेरो बुवाको नाक घोक्रेर घिरौँला जत्रो भएको थियो । छोरीले राम्रो जुवाइँ पाएकी अनि विदेश गएर दुइ चार लाख रुपैयाँ पनि ल्याएकी हुनाले आफैँ गर्वले फुलेर मख्ख हुनुहुन्थ्यो । मेरी आमा भने मैले ल्याएका सामानहरूको अनुमानित मोलतोल गर्दै असल कमसल मूल्याङ्कन गर्न व्यस्त हुनुहुन्थ्यो । घरका भाडावालहरू सबैका मुहारमा उत्सुकता र उमङ्गका भाव छरिएका थिए ।

पहिलो दिन कति चाँडै बित्यो मलाई पत्तै भएन । दोस्रो दिन देखि मेरो चासो र उत्सुकता घरको सँघार काटेर छिमेकीको आँगनतिर पुग्न थाल्यो । म आमासँग छिमेकीको बारेमा पनि सोधीखोजी गर्न थालें । मैले आफ्ना पुराना दिनमा छिमेकीको एउटा झ्यालसँग नाता गाँसिएको अनायास सम्झन पुगें । मेरो जीवनको पानामा त्यो झ्यालसँग अतीतका केही घटना गाँसिएका थिए । त्यहाँ सुधीरको चित्र थियो । मैले आमासँग सुधीरको बारेमा सोधीखोजी गरेँ । हाल सुधीर कुनै प्राइभेट स्कूलमा टिचिङ्ग गर्दैछ भन्ने कुरा पत्ता लगाएँ । त्यसपछि म घरायसी काममा व्यस्त भएँ । माइतमा श्रीमान्को टहल सेवा गर्नुपर्ने अभिभारा ममाथि नै थियो । साँझ पर्‍यो, हामी खाना खाएर केही छिन सपरिवार गफ्फिएर सुत्नतिर लाग्यौं ।

राति अचानक कतैबाट बाँसुरीको धुन बज्न थाल्यो । त्यो बाँसुरीको धुनसँग मेरो अतीत नाच्न थाल्यो । म छट्पटाएँ । सुत्न सकिन । मेरो श्रीमान्ले सोधे के भयो ? मैले भनें – “हेर्नोस् न कसैले कति नमीठो गरी बाँसुरी बजाइरहेछ ।” उनले सजिलै उत्तर दिए – “होला कोही आफ्नी प्रेयसीको विरहमा बजाउने ।” उनको मार्मिक उत्तरले मेरो मुटु ढुकढुक गर्न थाल्यो । कतै उनले थाहा पाए भने ! हुन त हामी यस्ता कतिपय गफहरू खुलारूपमा गर्छौं । उनी पनि विवाह अघि आफूलाई मन पराउने केटीहरूको लिष्ट नै सुनाउँथे । म पनि कम थिइन । अझ मरमसला थपेर स्वादिष्ट व्यञ्जन बनाएर पस्कन्थेँ । यस्ता व्यञ्जन पस्कने क्रममा हाम्रो होडबाजी नै चल्दथ्यो । अनि अन्त्यमा मैले नै हार खानु पर्दथ्यो ।

म सुत्न नसके पनि ओछ्यानमा पल्टेर बाँसुरीको धुन सुनिरहेँ । त्यो करुण रसले भरिएको धुनको तालसँगै मेरो अतीत तरङ्गति भइरह्यो । आज भन्दा करिब चार वर्षअघिको कुरो, म धनाढ्य बाबुकी छोरी थिएँ । सुधीर उही बाँसुरी बजाउने युवक, छिमेकमा कोठा लिएर बसेको थियो । ऊ निम्न वर्गीय थियो । हामी दुवै साइन्स क्याम्पस पढ्थ्यौं । ऊ म भन्दा एक वर्ष सिनियर थियो । प्रायः घरमा अनि क्याम्पसमा हाम्रो देखादेख हुन्थ्यो । शुरुमा म उसलाई त्यति चासो राख्दिनथें । क्याम्पसमा आफ्नै ब्याजका केटाहरू त्यसमा पनि सम्पन्न परिवारका केटाहरूसँग मात्र मेरो सम्पर्क हुन्थ्यो । उसको लवाइ साधारण थियो, तर बोलचालमा भने केही गम्भीरता र दार्शनिकता थियो । ऊ कहिलेकाहीँ आफ्नो झयालबाट हाम्रो महलको भव्यता, शान, शौकत एकोहोरो हेरिरहन्थ्यो । उ गाउँको मान्छे भएकोले ठूलो घर, ठूलो परिवार अनि ठूलै रौनक देखेर यतातिर आकर्षित भएको होला भन्ने म ठान्दथेँ । तर होइन रहेछ ऊ त विशाल आकाशमा चन्द्रमाको चाँदनीमा शीतलता अनुभव गर्न चाहँदोरहेछ । मैले पछि थाहा पाएँ, ऊ मसँग नजिक हुन चाहँदोरहेछ । क्याम्पसमा पनि के के बहाना बनाएर मसँग बोल्न खोज्दथ्यो । कहिलेकाहीँ कवि गोष्ठीमा कविता सुनाउँदा मलाई नै भनिरहेछ जस्तो भान पर्थ्यो । बिस्तारै उसको चासोको पारो चढ्न थालेको थियो । मेरो अनुपस्थितिमा उ मेरी आमासँग मेरो पढाइको विषयमा सोधीखोजी गर्दोरहेछ । साइन्स गाह्रो हुन्छ मसँग पढ्न पठाइदिनोस् म पढाइदिन्छु भन्दोरहेछ । आमा उसको कुरा फोटोकपी गरेर मलाई सुनाउनुहुन्थ्यो, तर म बेवास्ता गर्दथें ।

हाम्रो घरमा एक से एक स्मार्ट र पढेलेखेका केटाहरूको आवत जावत हुन्थ्यो । कोही काकीका भाइ, कोही भाउजूका दाजु, अनि कोही भाडावालका आफन्तहरू । सबै मसँग वैवाहिक सम्वन्ध गाँस्न केही न केही बहाना लिएर आउँदथे । बिस्तारै घरमा मेरो बिहेको कुरो चल्न थाल्यो । म भने तुरुन्त विवाह गर्ने पक्षमा थिइन । समय लम्बिदै गयो । बीचमा क्याम्पस केही दिन बन्द भयो । ऊ त्यो झ्यालमा देखा पर्न छोड्यो । मैले सोचेँ शायद ऊ घरमा चामल र खर्च लिन गयो होला । मलाई ऊ प्रति किन हो बिस्तारै दया र सहानुभूति जागेर आउन थाल्यो । केही दिन पछि ऊ पुनः देखा पर्‍यो । किनभने उसले आफ्नो पढाइ खर्च पूरा गर्न केही ठाउँमा ट्युसन पनि पढाउने गरेको थियो । घरबाट आएको दिन उसले यति मीठो बाँसुरी बजायो – म सुनिरहें । उसले बजाउन पहिल्यै नै सिकेको हुनुपर्छ । नत्रभने यति छोटो समयमा कसरी सिक्यो होला । ममा कौतूहल जाग्यो । कौतूहललाई मौनको बाकसमा बन्द गर्दै दैनिक क्रियाकलापमा आफूलाई व्यस्त बनाएँ मैले ।

उसले फेरि मेरी आमालाई मेरो परीक्षाको चिन्ता गर्दै नोटकपी लिन आउन समाचार छोडेछ । म पनि आफूलाई फाइदा हुने काममा किन पछि पर्ने भनेर एकदिन उसको कोठामा गएँ । उसको कोठामा स्टोभ बलिरहेको थियो । कराहीमा भात र तरकारी एकै ठाउँमा पाकिरहेको थियो । मैले झट्ट देखें । उसले हतारहतार छोप्यो । अनि स्टोभ बन्द गर्‍यो । शायद गफ गर्दा डिस्टर्ब हुन्छ भनेर होला । मैले ‘किन बन्द गर्नु भएको पाकोस्न’ भन्दा ‘हैन पाकिसक्यो’ भनेर पूर्णत झुटो बोल्यो । मैले त्यो काँचै छ भन्ने अनुमान लगाइसकेकी थिएँ । कुराको सन्दर्भ मोड्दै मैले आफ्नो परीक्षाको विषयमा सोधीखोजी गरेँ । उसले केही कुरा सिकाइदियो अनि नोटकापीहरू पनि दियो । त्यस समयमा म अलिक उट्पट्याङ्गे स्वभावकी थिएँ । त्यसमाथि यौवनका उन्मुक्त छालहरू हँसीमजाकमा तरङ्गति हुने समय थियो त्यो । मैले उसलाई ‘खाना खुवाउनु हुन्न ?’ भनी ठट्टा गरें । उसले मेरो कुरा नकार्न सकेन – मलाई प्लेटमा अलिकति हालेर दियो । मैले उसको खाना काँचो छ भनेर आफूले बोलेको कुरा सत्य साबित गराउन ‘खाना खुवाउनु हुन्न ?’ भनेकी थिएँ । साँच्चिकै खाना काँचो थियो । मैले ‘यो पूरै काँचै छ’ भनेर एक चम्चा मात्र मुखमा हालेर मिल्काइ दिएँ । उसलाई शायद नराम्रो लाग्यो होला । उसले अनुहार नमीठो बनायो अनि ‘फेरि पकाउँछु’ भनेर गम्भीर भयो । म भने उसको यथार्थको खिल्ली उडाउँदा र आफूले बोलेको कुरा सत्य साबित गर्न पाउँदा खुसी भएकी थिएँ । मेरो व्यवहारले शायद उसलाई चोट पर्‍यो होला, किनभने पीडा भोग्नेलाई मात्र थाहा हुन्छ पीडाको भोगाई । त्यो रात उसले रातभर बाँसुरी बजाइरह्यो । मध्यरातमा म ब्यूझिँदा पनि बजाइरहेको थियो । शायद मैले उसको विपन्नताको नचाहिँदो सङ्केत गरेर होला उसको आत्माबाट वेदनाहरू छरिएर बाँसुरीको सुरसँगै निस्किरहेका थिए । मलाई आत्मग्लानि भएर आयो । मैले आफ्नो सम्पन्नता र वैभवको मादकतामा कुनै निर्धनको उपहास गर्नु ठीक थिएन । उसले मलाई धेरै पटक सहयोग गरेको थियो । म उसलाई कृतज्ञताको बदला कृतघ्नता दिइरहेकी थिएँ । मलाई उप्रति दयाको साथसाथै माया र सहानुभूति जागेर आयो । त्यसपछि ऊ प्रत्येक रात बाँसुरी बजाउँथ्यो । कुनै रात बजाएन भने म छट्पटिन्थें, किन बजाएन भनेर , म उसलाई निकै चासो दिन थालेकी थिएँ ।

केही समयपछि ऊ क्याम्पस आउन छाड्यो । उसलाई मैले नोटकापी बुझाउनु थियो तसर्थ उसको डेरा जाने निश्चय गरेँ । योजना मुताबिक म उसको डेरामा पुगेँ । डेरामा उसकी आमा आउनुभएको रहेछ । ऊ निकै बिमारी भएको रहेछ । मैले नोटकापीहरू दिएँ र धन्यवाद पनि । ऊ निकै सिकिस्त भएको रहेछ । म पनि गम्भीर भएँ ।

“नानीको घर कहाँ हो ?” उसकी आमाले परिचयको पर्दा खोल्नुभयो । मैले पनि सम्पूर्ण औपचारिकता पूरा गरेँ । अनि उहाँ भन्न थाल्नुभयो – “हेर न नानी बाँसुरी नबजाउनू छातीको रोग छ भनेर डाक्टरले भनेको थियो, मानेन । अस्ति जबरजस्ती घर जाँदा लिएर आयो । शायद रातभरि बजायो होला । बिरामी भएछ । पढ्ने मान्छे यसरी बिरामी भएर कहाँ हुन्छ र ? म यही समाचार सुनेर आएकी नि नानी !”

उसकी आमाको कुरा सुनेर म स्तब्ध भएँ, आत्मा पोल्न थाल्यो । त्यो बाँसुरी बजाउन बाध्य पार्ने त म नै थिएँ । उसको पहेंलो अनुहार, दार्शनिक हेराई अनि अशक्तताले मलाई पिरोल्न थाल्यो । उसकी आमालाई सबै कुरा भन्न पनि सकिन अनि असामञ्जस्यको खाडलबाट उक्लदै ‘राम्रो उपचार गर्नुपर्छ’ भन्ने सल्लाह दिँदै म बाहिरिएँ । कोठाबाट बाहिरिए पनि त्यो घटना र परिवेशबाट बाहिरिन सकिनँ ।

मैले घरमा आमासँग आएर यी सबै कुरा सुनाएँ । किनभने मेरी आमा मेरो प्रत्येक क्रियाकलापको निगरानी राख्नु हुन्थ्यो र म पनि उहाँलाई अनभिज्ञताबाट टाढा राख्न सक्दिनथेँ । उहाँले मेरो र सुधीरको विषयमा भित्रभित्रै धेरै कुरा मनन गरिरहनुभएको थियो । उहाँको पनि ऊ प्रति सहानुभूति थियो । हाम्रो घरमा गाई पालिएको थियो । मैले उसलाई दूध पठाउन आमालाई भनें । आमाले पनि मैले भने मुताबिक नै गर्नु भयो । उसको कोठामा मेरो आवतजावत केही बढ्न थाल्यो । उसले बाँसुरी बजाउन छोडिसकेको थियो । कहिलेकाहीँ म उसको कोठामा जाँदा बाँसुरी हेरिरहन्थ्यो । मेरो सुधीरसँग सम्पर्क केही बढेकोले घरमा गाइँगुइँ चल्न थाल्यो । म घरकी जेठी छोरी थिएँ । मैले केही काम गर्दा पनि सबैका आँखा सतर्क हुन्थे । अनि घरभरि म सम्बन्धित कुराहरू असरल्ल छरिएका हुन्थे । त्यो समयमा छोरीले परपुरुषसँग हेलमेल बढाएको राम्रो मानिदैनथ्यो । अझ प्रेम सम्बन्धलाई त अपराध जत्तिकै मानिन्थ्यो । मेरो विवाहको कुरामा घर, खान्दान, सम्पत्तिको कुरा अगाडि आउदथ्यो । यी सब कुराको अगाडि हाम्रो प्रेम लाचार र विवश थियो । मेरी आमा यी सबै कुराबाट विज्ञ भए पनि केही गर्न सक्ने हबिगत उहाँमा थिएन । म आफैँ पनि घर, खान्दान र सामाजिक प्रतिष्ठाको बली दिएर सुधीरसँग सम्बन्ध गाँस्न सक्दिनथेँ । तर म ऊ प्रति कसरी हो धेरै नजिक हुँदै गएकी थिएँ ।

मैले वास्तविकतालाई क्षणिक प्रेमले अन्धो बनाउनु हुदैन भन्ने कुरा मनन गरेँ । उसले जस्तै म पनि उसलाई प्रेम गर्थें । तर प्रेम भनेको प्राप्ति मात्र हैन बलिदान पनि हो । प्राप्तिले भन्दा प्रेम बलिदान र त्यागले अमर हुन्छ र सधैं स्मरणीय पनि । मैले यी सबै कुरा उसलाई अवगत गराएँ । ऊ मेरा सबै जसो कुरामा सहमत भयो । मैले अब उप्रान्त बाँसुरी नबजाउनु भन्ने बाचा समेत गराएँ ।

घरमा मेरो विवाहको कुरा चलिरहेथ्यो । भनेजस्तो कुटुम्ब अनि विदेश पढ्न जाने योग्य वर सबैबाट स्वीकृत भएपछि मेरो विवाह भयो । विवाह पश्चात् म दुइपल्ट माइत आएकी थिएँ । मैले उसप्रति खासै चासो राखिन । त्यस पछि म तीन वर्षका लागि विदेशिएकी थिएँ ।

अचानक छोरीको रुवाइले मेरो तन्द्रा टुट्छ । उसले बाँसुरी बजाउन छोडिसकेको हुन्छ । म बिहान उठेर ऊसँग भेटेर गफ गर्ने निश्चय गर्दै निदाउन प्रयत्न गर्न थालें ।

बिहान म उसको कोठामा पुगेँ । कोठामा ताल्चा लगाइएको थियो । म छक्क परेँ । यति बिहानै ऊ कहाँ गयो भनेर । मैले उसको घरपटीलाई सोधें । उसको घरपटीले मेरो हातमा सानो पत्र राखिदियो ।

‘सानु, म तिम्रो जीवनदेखि धेरै टाढा जान चाहन्छु । त्यसैले यो ठाउँ छोडेर जाँदैछु । तिम्रो सफल जीवनको लागि शुभकामना ! उही सुधीर ।’

पत्र पढेर म केही छिन स्तब्ध भएँ । अनि परिचित छिमेकीसँग केही औपचारिक गफ गरेर त्यहाँबाट सधैंको लागि विदा भएँ । मन एक तमासको भइरह्यो । सुधीरको अनुहारले पछ्याइरह्यो अनि सोधेजस्तो लाग्यो – तिमीले बिर्से पनि मैले बिर्सन सकिन । अब मेरो लागि कुनै सोधखोज नगर्नू … कुनै खराब सपना देखेजस्तै गरी बिर्सनू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *