नवराज सुब्बा नेपाली साहित्यमा कवि र निबन्धकारका रूपमा परिचित नाम हो । ‘जीवन मेरो शब्दकोशमा’ (कवितासङ्ग्रह २०६३) र ‘मनको मझेरी’ (निबन्धसङ्ग्रह-२०६४) प्रकाशन गरेर साहित्यिक जगत्मा पृथक् पहिचान र प्रभाव देखाउन सफल नवराज सुब्बाले ‘बीच बाटोमा ब्यूँझेर’ (कवितासङ्ग्रह-२०६५) पाठकसमक्ष पस्केका छन् । विक्रम संवत् २०६३ मा लेखिएका ७६ ओटा लामा छोटा कविताहरूलाई कवि सुब्बाले यस सङ्ग्रहमा समावेश गरेका छन् । ‘बीच बाटोमा ब्यूँझेर’ नामक कविताबाट सुरू भएको कवितात्मक सँगालो ‘गाली-सराप बगाऔँ’मा पुगी समापन भएको छ । नेपाली राजनीति, समाज, अर्थतन्त्र आदि क्षेत्रमा व्याप्त समस्याहरूलाई कलात्मक स्पर्शपूर्वक काव्यिक अभिलेखन गरिएका कवितारचनाहरू यस सङ्ग्रहमा सङ्कलित छन् ।
समाजशास्त्र र जनस्वास्थ्यलाई कर्मक्षेत्र बनाएर नेपालका विभिन्न भूगोलमा पुगेका कवि सुब्बाले जहाँ जे देखे, जे जस्तो अनुभूति गरे, तिनै कुरालाई भावभूमि बनाएका छन् यस सङ्ग्रहका कविताहरूमा । यस सँगालोभित्रका कविताहरूमा कविले कोरा कल्पना होइन, जीवन र जगत्लाई प्रस्तुत गरेका छन् । उनले साहित्य साहित्यका लागि होइन, साहित्य जीवनका लागि हो भन्ने मान्यतालाई संवरण गरेका छन् । उनी स्वस्थ जीवन चाहन्छन् र त्यसका लागि सुसंस्कृत, सहिष्णु, सह-अस्तित्वयुक्त, शान्त र समुन्नत समाजको काव्यिक परिकल्पना गर्दछन् ।
कविले चाहेजस्तो, सोचेजस्तो र कल्पेजस्तो समाजको सिर्जनामा बाधक तìवका रूपमा जरा गाडेर बसेका राजनीतिक-सामाजिक-सांस्कृतिक विकृति-विसङ्गति, आर्थिक शोषण-उत्पीडन, हिंसात्मक द्वन्द्व, गरिबी, अभाव, रोग आदिजस्ता कुरूप यथार्थहरूमाथि कठोर प्रहारसमेत कवि सुब्बाका यी कवितामा गरिएको पाइन्छ । जातीय दृष्टिले सीमान्तीकृत पूर्वका सतारदेखि पश्चिमका राउटेसम्म, आर्थिक दृष्टिले शोषित सुकुम्बासी र कमैयासम्म अनि सामाजिक-सांस्कृतिक भेदभावको दुश्चक्रमा प्रताडित दलितदेखि बोक्सी प्रथासम्मलाई जीवन्त र मर्मस्पर्शी ढङ्गले कवि सुब्बाले कवितात्मक रूप दिएका छन् ।
वास्तवमा ‘बीच बाटोमा ब्यूँझेर’ कवितासङ्ग्रहमा सँगालिएका कविताहरू पढ्दा कवि सुब्बाले आफ्नो भूमिका-मन्तव्यमा पाँचओटा ‘म’ लाई लेखनको आधार मानेको जुन आत्मस्वीकृति जनाएका छन्, तिनै पाँच ‘म’ प्रत्येक कवितामा अनुभूति गर्न सकिन्छ । उनले भनेझैँ पहिलो ‘म’ म वा हामी, दोस्रो ‘म’ -माटो वा देश, तेस्रो ‘म’- मानवता वा आत्मिकता, चौथो ‘म’ – मृत्यु वा युद्ध र पाँचौँ ‘म’- माथि बसेर लेख्ने र जीवनजगत्लाई सधैँ माथि उचाल्ने भावभूमिमा यी कविताहरू रचित छन् । कवि सुब्बाको रचनाकारदृष्टि कतै अतीतका स्मृतिछालहरूमा तरङ्गिएको छ, कतै दार्शनिक बनेर अस्तित्वको खोजी गरिरहेको छ, कतै जताततै व्याप्त विकृति-विसङ्गतिमाथि कटाक्ष गर्दै छ त कतै द्वन्द्व वा हिंसात्मक युद्धको तीव्र विरोध र मानवताको खरो वकालत गर्दै छ । यसरी विषयगत विविधताका पृष्ठभूमिमा मानवीय सन्देशमूलकता कवि सुब्बाको यस काव्यसङ्ग्रहको विशेषता हो ।
प्रत्येक कवितामा नवीनता पाइनु र त्यसले पाठक वा भावकलाई रम्यताको आस्वाद गराउनु पनि यस सङ्ग्रहको अर्को महत्त्वपूर्ण पक्ष हो । गद्य वा मुक्त लयमा लेखिएका भए पनि अन्तः साङ्गीतिक झङ्कारले युक्त यी कविताहरू आयतनका दृष्टिले लामाछोटा जस्ता भए पनि कवित्वको ओजले भरिपूर्ण छन् । युगीन यथार्थको कलात्मक अङ्कनका रूपमा अभिलिखित यी कविताहरू साँच्ची नै बालकृष्ण पोखरेलले भनेझैँ अर्थवह, प्रतीकवह र भावोद्वेलक छन् । यी कवितामा निराशा, कुण्ठा, मृत्यु र पलायन होइन, सङ्घर्ष, आशा, जीवन र गतिको सन्देश पाइन्छ । परजीविता र भाग्यको सहारामा कर्मविमुख बन्दै गएको नेपाली मानसिकतामा परिवर्तनको सन्देश दिने यी पङ्क्तिहरू कविभित्रको विद्रोही चेतनाका साक्ष्य पनि हुन् ।
उफ ! मलाई बाहिर निस्कन देऊ
देखाउँदिनँ कसैलाई आफ्नो हस्तरेखा
ज्योतिषमय यो परिवेशबाट फुत्केर
म चिर्छु हत्केला
आफैँ कोर्छु हातका रेखाहरू ।
‘रेखाहरू’ कविता पृ. ११० ।
समग्रमा कवि नवराज सुब्बाको ‘बीच बाटोमा ब्यूँझेर’ कवितासँगालो भित्रका कविताहरू विषयको दृष्टिले विविधतापूर्ण, विचारका दृष्टिले प्रगतिशील मानवतावादी र कलात्मकताका दृष्टिले सुन्दर, उच्च कोटिका एवम् सशक्त छन् ।
कृति ः बीच बाटोमा ब्यूँझेर (कवितासङ्ग्रह)
कवि ः नवराज सुब्बा
प्रकाशक ः मोडर्न बुक्स
प्रकाशन ः २०६५
प्रति ः १,२००
पृष्ठ ः १४२
मूल्यः रु. १५०।-
