लेखनको लामो समयको अन्तरालपछि खोटाङका कथाकार हिराधन राईको जन्मियो ‘खोलीबुङ’ कथा सङ्ग्रह । कथा सङ्ग्रहले खासगरी पूर्वी भेगको आञ्चलिक कथाको उत्कृष्ट स्वाद पस्किएको छ ।
‘खोलीबुङ’ले पुस्तकको शीर्षक बोकेको छ । यस भित्रका प्रायः कथा आत्मपरक शैलीमा लेखिएका छन् । खोलीबुङ कथामा कथाकार गाउँमा झुलुङगे पुलका ठेकेदार भएर पुग्छन् र पुल बनाउने ज्यामीहरूसँग आफ्नो सरल हृदयका कारण झ्याम्मिन्छन् । भर्खर यौवनको दैलो टेक्दै गरेकी एउटी युवती र प्रौढ ठेकेदारको एकोहोरो प्रेमको कथाले पाठकलाई तान्छ तर जब युवती अपहरणमा पर्छे, कथाले अर्कै मोड लिन्छ ।
राईका कथामा यौन प्रसङ्गले मनग्गे ठाउँ पाएका छन् तर श्लील ढङ्गमा । ‘राममति चौतारो र रातकी रानी’ कथा शीर्षकले नै यौन मनोविज्ञानको झल्को दिन्छ । सामान्य छाप्रो राखेर जाडँ बेच्ने राममतिको ग्राहकहरूसँग मस्किएर गफ गर्ने कला कथाकारले चिरिच्याट्ट सिँगारी दिएका छन् । राममति रातकी रानी भने होइन तर जब स्थानीय खोलामा र्याफटिङ गर्न आउने युवाहरूसँग उसको हृदय साटिन्छ, होटलमा पनि मन दिन छाड्छे । बदलामा ती युवाहरूको प्रेमको उपहार एड्स पाउँछे ‘सागरमति’ कथा अर्को होटलवाल्नीको कथा हो । जहाँ ग्राहकहरू चम्चा होइन, उनलाई नै चाटिरहेका हुन्छन् । १५ वर्षपछि कथाकार पुग्दा होटलवाल्नी त हुन्न तर सेतै फुलेकी एक वृद्धा देखिन्छिन् । ‘रुटिन बदलियो’ कथामा सन्तानको लाभ नहुँदा दुःखी दम्पतीको कथा छ । सन्तान लाभका लागि एक युवकको साथ लागेर हलेसी महादेव गएकी उनी त्यतै युवकको बाहुपासमा बाँधिन्छिन् र श्रीमान्लाई सन्तान कोसेली दिन्छिन् । उता ‘तृष्णा’ कथा यौनमनोविज्ञानले कुण्ठित एक युवतीको कथा हो । जसमा आफ्नो यौन प्यास मेटाउन धाराको टुटीमा मुख जोडेको प्रसङ्गलाई प्रतीकात्मक रूपमा देखाइएको छ । डेराघरकी आफूभन्दा बढी उमेरकी एक युवतीले म पात्रसँग सम्भोगको चाहना राखेकोमा उसले अस्वीकार गरेकोले नामर्दको संज्ञा पाएको वर्णन ‘पच्चीस वर्ष’ कथामा छ । युवतीले एक अधबैंसेको बाहिरी आवरण हेर्दा हाँसो उठेकोमा पछि उनैलाई जीवन साथीको रूपमा स्वीकार गरेको कथा ‘अद्भूत आँखा’मा छ ।
आफ्नो बासँग सल्किएकोमा श्रीमतीको हत्या गरेको विक्षिप्त पुरुषको कथ्ााबस्तु ‘अपराधी हात’ कथामा छ । घरमा काम गर्न बसेकी निशा वाबुसाहेबको बलात्कारको शिकार हुन्छे, न्याय माग्दा उल्टै घरबाट निकालिन्छे, ‘कुकुरदेखि सावधान’ यस कथामा उसले आश्रय लिएको महलमा साँच्चिकै कुकुर नभए पनि विवश महिला टोकिएको मार्मिक कथा छ । अपराधी हात, रुटिन बद्लियो, तृष्णा, कुकुरदेखि सावधान, पच्चीस वर्ष, अजम्बरी फूल, राममति चौतारो र रातकी रानी तथा सागरमति यौन कथा हो । राममति चौतारो र रातकी रानी तथा सागरमति कथामा आञ्चलिकताको सुगन्ध छ । एक मण्डले विद्यालय निरीक्षकको चरित्र चित्रण गरिएको कथा ‘फूल र पत्थरको आँसु’ तथा हिमाली आरोहीको दुःख र घरेलु माया समेटिएको कथा ‘फेरि अर्को आरोहण’ यी दुई कथा पनि आञ्चलिक नै हुन् ।
दोहोरो फायरिङ्का बेला निर्दोष रहेकी श्रीमती गुमाउनाले श्रीमतीको नाउँमा चिठी लेखेर दिनहँु हुलाकमा खसाल्न जाने विचित्र वृद्धको कथा ‘चिठी’ ले बोकेको छ । त्यस्तै सेनाले कथित माओवादीको आरोप लगाई दाजुको हत्या गर्नाले बहिनीले हतियार बोकेको प्रसङ्ग ‘साप्सुगडतिर’ कथामा पाइन्छ । यी दुई कथा बाहेक ‘खोलीबुङ्’ मा पनि युद्धको छनक पाइन्छ । शीर्षकबाटै बुझिने ‘लोकतन्त्र र लोडसेडिङ्’ कथा तथा यात्रा बर्णन समेटिएको ‘अजम्बरी फूल’ यस सङ्ग्रहका सामान्य कथा हुन् ।
तीसको दशकदेखि कथा लेख्न थालेका हिराधन राईले ढिलो गरी सङ्ग्रह निकाले पनि नेपाली साहित्यमा पढिन लायक एक उत्कृष्ट कथा कृति आएको छ । आत्मपरक शैली, यौन मनोविज्ञानलाई डोर्याई सामाजिक कथामा रूपान्तरण गर्ने कुशलता तथा आञ्चलिकतालाई टपक्क टिपेर रिपोर्टाज शैलीमा कथा बुन्न सक्ने जस्ता आफ्नो मौलिक शैलीले राईबाट थप उत्कृष्ट कथाको आशा गर्ने ठाउँ रहेको छ ।
पुस्तकको नाम ः खोलीबुङ (कथासङ्ग्रह)
कथाकार ः हिराधन राई
प्रकाशक ः खोटाङ सेवा समाज
संस्करण ः प्रथम, २०६५
पृष्ठ ः १३८+१६
मूल्य ः १०० ।-
