Skip to content


काठमाडौ, कार्तिक १९ –
‘महाकवि लक्ष्मीप्रसाद देवकोटा यही बस्थें, भौतारिँदै कविता लेख्थे अनि एक पैसामा बेच्थे,’ झन्डै चार वर्षअघि बनारसको दुर्गाघाटमा भेट हुँदा सह-प्राध्यापक डा.दुर्गाप्रसाद अर्यालले भनेका थिए, ‘सम्भव भएसम्म यता (बनारसमा) महाकविको सालिक बनाउने कोसिस गरिरहेका छौं ।’

बनारस हिन्दु विश्वविद्यालय (बीएचयू) को नेपाली विभागका अतिथि प्राध्यापक तथा नेपाल चेयर भएर सात वर्ष काम गरेपछि दुर्गाप्रसाद मुलुक फिरिसकेका छन्, तैपनि उनी त्यही सालिक र देवकोटाको बनारस बसाइ क्रमका ऐतिहासिक सन्दर्भ र सामग्री संरक्षण हुनुपर्छ भनिरहेका छन् ।

‘बनारसमै लेखक सम्मेलन हुँदा नेपाली राजदूतावासमा प्रस्ताव राखेका थियौं,’ महाकविको जन्मजयन्तीको तयारी भइरहेको बेला बुधबार उनले भने, ‘बनारसको स्थानीय निकाय, जिल्ला प्रशासन सकारात्मक छन्, हाम्रो राजदूतावासले पहल गर्ने हो सजिलै हुन सक्छ ।’ सालिक मात्रै हैन, उनी तत्कालीन नेपाली शासक (राणाहरू) को दरबार, बीपी कोइरालासँग जोडिएका ऐतिहासिक थलोसमेत संरक्षण-सम्वर्द्धन हुनुपर्ने बताउँछन् ।

मुलुकमा राणाविरोधी आन्दोलनलाई सघाएको आरोप लागेपछि महाकवि देवकोटा वि. सं. २००४ मा बनारस निर्वासित भएका थिए । उतैबाट ‘युगवाणी’ पत्रिका निकालेर प्रजातन्त्रका लागि जागरण अभियान चलाएका महाकविले बनारसमा जीविकोपार्जनका लागि पुण्यप्रसादलाई एक पैसामा कविता बेच्थे, पुण्यले त्यसलाई छापेर बिक्री गर्थे । ‘महाकवि यसरी साधना गर्थे कि’ महाकविकै निबन्ध लेखनमाथि पीएचडी गरेका दुर्गाप्रसादले भने, ‘कहिले त पुण्यले किन्नै नसक्ने संख्यामा कविताहरू हुन्थे रे ।’

बनारस बसाइ क्रममै बनारस हिन्दु विश्वविद्यालयका प्राध्यापकहरूसँग संगत भएपछि देवकोटाले बीपी, मात्रिका लगायतलाई नेपालमा यस्तो विश्वविद्यालय चाहिन्छ भनेका थिए । ‘नेपाल फर्केर उनी त्यही अडानलाई अघि बढाए, फलस्वरूप उनी शिक्षामन्त्री हुनेबेलामा त्रिभुवन विश्वविद्यालयको अवधारणा अघि बढ्यो,’ दुर्गाले भने, ‘आजको त्रिवि महाकविको बनारस बसाइकै उपज थियो ।’ ‘देवकोटाका निबन्धमा निहीत दार्शनिक चिन्तन’ माथि पीएचडी गरेका दुर्गाले महाकविलाई बनारसमा अझ फैलाउन अनेक प्रयास गरेको बताए । उनी कहिले अन्तर-देशीय साहित्यिक सम्मेलनहरूमा महाकविबारे कार्यपत्र पेस गरिरहेका हुन्थे, कहिले बीएचयूको हिन्दी विभागमा देवकोटालाई विशेष अध्ययनको रूपमा राख्नपर्छ भन्ने प्रस्ताव गर्दै । ‘हिन्दी विभाग सकारात्मक छ,’ उनले भने, ‘भारतका राष्ट्रकवि सुव्रमण्यमको लेखनशैली, चिन्तन र चरित्रसँग हाम्रा महाकविको पनि मेल खाँदोरहेछ ।’

क्रान्तिकारी, मानवतावादी, सुधारवादी चरित्रका महाकविको ‘मुनामदन’ जस्तै सुव्रमण्यमको पनि ‘पाञ्चली सपदम’ चर्चित रहेको र विश्वभरका अनेक भाषामा अनुवाद भएको दुर्गाले पाएका छन् । उनले यी दुई स्रष्टाबीच तुलनात्मक अध्ययनसमेत गरेका छन् । ‘उच्च स्रष्टाको धेरै समानता हुँदोरहेछ । राहुल सांस्कृत्यायनले त हाम्रा महाकविलाई भारतको विख्यात तीन स्रष्टा पन्त-प्रसाद-निराला’ भन्दा पनि माथि भनेर उहिल्यै लेखेका थिए ।’

वि. सं. २००० देखि बीयएयूमा नेपाली विभाग खडा गरी यतैका प्राध्यापक चेयर हुने परम्परा अन्तर्गत उनी मन्त्रिपरिषद्को निर्णयबाट बनारस पुगेका थिए । बौद्ध, वेदान्त, सांख्य, मार्क्सवाददेखि आनन्दवाद र अस्तित्ववादी दर्शनबाट प्रभावित देवकोटाको साहित्यिक रचना उच्च चिन्तन र मानवतावादमा खारिएका कारण भारतीय स्रष्टाका लागि पनि उत्तिकै चासोका विषय हुँदै गएको उनले बताए ।

सामान्यतः दुई वर्ष कार्यकाल हुने भए पनि सात वर्ष बनारसमा प्राध्यापन गरेका फर्केका उनी यतै पनि महाकविलाई नै काँध हालिहिँडेका छन् । ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको निबन्धमा निहीत दार्शनिक चिन्तन’, ‘लिम्बू भाषामा संस्कृत प्रभाव’ र ‘नेपाली-अंग्रेजी शब्दकोष’ गरी तीन अनुसन्धानपरक कृति निकालेका उनी महाकवि देवकोटा अध्ययन अनुसन्धान केन्द्रका महासचिवसमेत छन् । ‘महाकविबारे गरिएको अध्ययनको सँगालो निकाल्दै छु,’ पद्मकन्या क्याम्पस, बागबजारमा पढाउँदै आएका ५७ वर्षे गुरुले भने, ‘बाँकी समय महाकविबारेकै अध्ययन-अनुसन्धानमा लगाउँछु ।’

प्रकाशित मिति: २०६७ कार्तिक २१ ०९:५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *